कला

स्टिमर चढेर सेतीबेनी

ध्रुब केसी
यसपाली हाम्रो यात्रा अलि पृथक थियो। हामी पदयात्रा गर्ने साथीहरुले यसपाला चाहिँ मोटरबाइकमा लामो यात्रामा निस्कने निर्णय गर्यौं। हामी ६ जना काठमाडौँदेखि पोखरा, स्याङ्गजा, पाल्पा, बुटवल, लुम्बिनी, चितवन, हेटौंडा हुँदै काठमाडौं फर्कने योजना बन्यो।

झोलामा सामान बोकेर बाइकमा निस्कियौं हामी। पहिलो दिन काठमाडौंदेखि पोखरासम्म। हामी एक दिन पोखरामा बस्यौं। घुम्यौं। कुमारी माछापुच्छे« हिमालको आँगनमा रमायौं। भोलिपल्ट हामी पोखराको छोरेपाटन हुँदै लाग्यौं स्याङ्गजातिर। गल्याङ्ग पुगेपछि साथीहरुलाई एउटा नयाँ ठाउँमा घुमाउने सोच अनुसार गल्याङ्गबाट जिरो किलोमा पुग्यौं। साथीहरुलाई कालिगण्डकी हाइड्रो पावर मिर्मीतिर लगें। पोखराबाट र्मिर्मी करिब सय किमी रहेछ।
सार्बजनिक यातायातमा जान पोखराबाट स्याङ्गजाको जिरो किमीसम्म पुग्नु पर्छ। त्यहाँबाट भने जीप चढ्नु पर्ने हुन्छ। सानो, घुमाउरो पिच बाटो हुँदै थोरै उकालो लागेपछि ओरालो झर्नु पर्ने। बाक्ला बस्ती रहेछन् पहाड नै पहाड भए पनि। हामी र्मिमी पुग्यौं, कालीगण्डकीको हरियो पानी देखे पछि साथीहरु झन रमाइलो मान्दै थिए। हामी त्यहाँ बाइक रोकेर गल्लीगल्ली हुँदै झरेर खोलामा पुग्यौं। त्यहाँबाट हामीले स्टिमर पानीजहाजको टिकट किन्यौं। एक जनाको दुई तर्फी टिकटको दुई सय रुपैयाँ तिर्नु पर्दो रहेछ। टिकट काटेर हामी स्टिमरमा चढ्यौँ। एक घण्टामा लाग्दो रहेछ स्टिमर।

स्टिमर चढेर शालिग्राम शिलाको दर्शन गर्न पाउँदा खुसी लाग्यों। साँच्चै प्रकृतिको अलौकिक बरदान रहेछ त्यो शिला।

एकैछिनमा स्टिमर स्टार्ट भयो। डिजेलबाट चल्ने स्टिमरले अधिकतम १३० जनासम्म मान्छे बोक्दो रहेछ। करिब १० बर्ष अघिसम्म आसपासका ठाउँमा यो नै यातायातको साधन रहेछ। हाल आएर सडक ट्रयाक खोलिएका छन्। त्यहि पनि सेतीबेनीका लागि त यो नै एउटा सजिलो यातायातको साधन बनेको छ।  
स्टिमर चल्न थालेको पनि तीन दशक हुन लागि सक्यो। बिज्ञहरुका अनुसार यसको सम्भाब्यता चितवनको देबघाटसम्म रहेछ। हामी स्टिमरमा चढेर दायाँबायाँ हेर्दै गयौँ। ६ किमीको जलयात्रा गर्न लगभग ३५ मिनेट लाग्दो रहेछ। दायाँबायाँ आकाश छुने पहाड। बीचमा ठूलो कालीगण्डकी जहाँ हाम्रो स्टिमर कुदिरहेको छ। अहिले सम्झँदा पनि मन लोभिन्छ। सेतिबेनीमा पुगेर हाम्रो स्टिमरलाई किनारा लगाइयो अनि हामी र्ओलियौ। यसो हेर्दा बगरमात्र जस्तो देखिने थोरै अगाडि टन्न घरहरु थिए। गल्ली पनि सफा। स्टिमर चालक त्यहीँ बसे।

एक घण्टा पछि त्यो जहाज फर्कने रहेछ। हामी अरु यात्रीहरुसँगै लाग्यौ। प्रायः यात्री बुटवल, पाल्पा, पोखरा र स्याङ्गजाका रहेछन्। मान्छेहरु धेरै देखे पछि बल्ल थाहा भयो त्यहाँ त प्रसिद्ध धार्मिक तीर्थस्थल पो रहेछ शालिग्राम शिलाको। दुइटा खोला कालीगण्डकी र सेतीको छेउमा ठूलो ढुंगाको चट्टान र पिपलको रुख जहाँ बिष्णु भगवानको मन्दिर वरीपरी थुप्रै मन्दिर, चौतारा र धारा छन्। कति आनन्दको ठाउँ।
शालिग्राम स्याङ्गजा जिल्लामै पर्दो रहेछ। मन्दिर  दाँयाबायाँको खोला सेतीले चाहिँ गुल्मि र कालीगण्डकीले चाहिँ पर्वत जिल्लाको सिमाना छुट्टाएको रहेछ। हातखुट्टा धोएर हामी शालिग्राम शिलाको पूजा गर्न लाग्यौं। काचोँ धागोले शालिग्राम वरीपरी बेर्ने गरिँदो रहेछ। हामी पनि वरीपरी घुम्दै त्यसो गरी पूजा सक्यौं। पवित्र धार्मिक स्थलमा नयाँ वर्ष, जनैपूर्णिमा, ठूलो एकादशीमा भव्य मेला लाग्दो रहेछ।
शनिबार यहाँ करीब चार सय हाराहारीमा तिर्थालु आउँदा रहेछन्। घुमफिर सकेर हामी खाजा खान होटलतिर लाग्यौं।  करीब एक घण्टाको हाम्रो जहाजले हर्न बजायो। हामी जहाजतर्फ लाग्यौं। जहाजमा साथीहरुसँग गफिँदै फर्कियौं। साथीहरु भन्दै थिए, एउटा छुट्टै संसारमा पुगेको अनुभव भयो। जहाजबाट फर्केर हामीले पुनः यात्रालाई निरन्तरता दियौं।

प्रकाशित: ३० चैत्र २०७५ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App