कला

‘धमिलो सोच पखालौं, अनि सहर बन्छ’

हाम्रोमा नीति नियम बलियो छैन। कानुन छ। तर, त्यसको पालना हुँदैन। कानुनलाई आचारसंहिताजस्तै बनाइन्छ। यदि सरकारी निकाय र सहरवासी मिल्ने हो भने विदेशका सहरभन्दा पनि सुन्दर बन्न सक्छन् नेपालका सहर। तर, जिम्मेवार निकायले सहरको विकासमा चासो दिएन।

तपाईंको विचारमा सहर भनेको के हो ?
सहर सपना हो। सहरसँग सबैले स्तर अनुसारका सपना बुनेका हुन्छन्। कतिका सपना पूरा भएका हुन्छन्् त कतिका अधुरा हुन्छन्। सहरले सबैखाले सेवा सुविधा प्रदान गरेको हुन्छ। सहरमा हरेक किसिमका विविधता लुकेका हुन्छन्। त्यहाँ धेरैभरका मानिसको रैथानेदेखि आुधनिक संस्कृतिसम्म भेटिन्छ। राज्यले पनि सहरको सुरक्षामा उच्च निगरानी राखेको हुन्छ।

घुमेकामध्ये मन पर्ने सहर कुन हो ?
मलाई काठमाडौं नै मनपर्छ। यो सहरका केही पक्ष नराम्रा भए पनि धेरै पक्ष राम्रा छन्। सहरका नराम्रा पक्ष हामीबाटै निर्मित भएका हुन्। यी बाहेक उपत्यकाभित्रको पौराणिक र वातावरणीय पक्षलाई हेर्ने हो भने निकै सुन्दर छ यो ठाउँ। यहाँको मौसम सदावहार छ। वरिपरि हरियाली डाँडाकाँडा छन्। बसोबासको हिसाबले काठमाडौं ज्यादै राम्रो छ।

उपत्यका बाहिर मनपर्ने सहर ?
मलाई काठमाडौंबाहिर मन पर्ने सहर पोखरा र धरान हुन्। यी सहरहरूमा घुम्ने र आनन्द लिने प्रशस्त पर्यटकीय मार्ग छन्। पोखराको कुरा गर्ने हो भने त्यहाँ फेवाताल, मन्दिर, प्याराग्लाइडिङलगायत प्रशस्त पर्यटकीय ठाउँ छन्। सुविधासम्पन्न होटल छन्। पर्यटकीय सम्भावनालाई ख्याल राखेर बस्ती बसाल्ने र भवन निर्माण गर्ने हो भने पोखराको अस्तित्व रहन्छ। त्यस्तै, धरान पनि छुट्टै महत्व बोकेको सहर हो। यो सहरलाई लाहुरेको सहर पनि भन्ने गरिन्छ। लाहुरेहरूले नै धरानलाई चम्काएका हुन् भन्ने लाग्छ।

काठमाडौं कस्तो लाग्छ ?
ठीकै लाग्छ। विकास निर्माणका काम छरपस्ट भएकाले गर्दा सहर अस्तव्यस्त भएको छ। काठमाडौं देशकै सुविधासम्पन्न र मुख्य सहर हो। यहाँ सबैथोक छ। कलाकारिता क्षेत्रमा लाग्ने र समाउनेको लागि पनि यहाँ अवसर छन्।

कलाकारको नजरमा उपत्यका कस्तो ठाउँ हो ?
काठमाडौंमा पैसा भयो भने आफूले चाहेको कुरा सजिलै पाउन सकिन्छ। सुविधायुक्त विद्यालय, अस्पताल, सरकारी सेवा लगायत पक्ष हेर्दा पनि काठमाडौं राम्रो छ। अर्कातर्फ हेर्ने हो भने काठमाडौं जति सुविधायुक्त छ त्यति नै धराशायी पनि बन्दै गएको छ। सहरी इलाका पूरै अव्यवस्थित छ। मापदण्ड विपरितका भवन, खाल्डाखुल्डी सडक, मानिसको चाप, अव्यवस्थित बिजुलीका पोल, अत्याधिक सवारी–साधनलगायत पक्षले काठमाडौंलाई धरासायी बनाएको छ। यहाँ अझै पनि बाहिरबाट बसाइँ सरेर आउने क्रम रोकिएको छैन।

उपत्यका बाहिरका सहर कत्तिको व्यवस्थित लाग्छन् ?
काठमाडौं मानिसकै कारणले अव्यवस्थित भएको सहर हो। यहाँ बस्नेले सहरको विकास र व्यवस्थापनबारे सोचेनन्। खाली आफ्नो स्वार्थपूर्तितर्फ मात्रै चासो राखे। यो मेरो सहर हो यसलाई मैले नै सफा राख्नुपर्छ भनेर कसैले सोचेनन्। उपत्यका बाहिरका सहरको कुरा गर्ने हो भने यी सहर काठमाडौंभन्दा केही खुकुला छन्। जनसंख्याको चाप पनि कम छ। बनाउने हो भने हाम्रा सहर विश्वै नमुना बन्न सक्छन्। किनभने हामीलाई प्रकृतिले अरु कुनै मुलुकलाई नदिएको वरदान दिएको छ। मात्रै हामीले यसलाई जान्न र चिन्न सकेनौं। काम गर्ने हो भने १० वर्षमा हामी विदेशी सहरजस्तै बन्न सक्छौं होला। मुख्य कुरा त हाम्रोमा नीति नियम बलियो छैन। कानुन छ। तर, त्यसको पालना हुँदैन। कानुनलाई आचारसंहिताजस्तै बनाइन्छ। सरकारी निकाय र सहरवासी मिल्ने हो भने विदेशका सहरभन्दा पनि सुन्दर बन्न सक्छन् नेपालका सहर।

विदेशी मुलुकका कुन–कुन सहर घुम्नुभएको छ ?
केही देशका सहर घुमेको छु। मलेसिया, कतार, दुबई लगायत सहर पुगेको छु। मरुभूमिको देश भनेर चिनिएका मुलुक अहिले हरियाली भएका छन्। प्लेनबाटै माटो बोकेर बोटबिरुवा रोपेका छन्। हामीकहाँ प्रकृतिले निःशुल्क दिएको वरदान पनि प्रयोग गर्न जानिएन। यो ज्यादै दुःखको कुरा हो।

के गरियो भने हाम्रा सहर व्यवस्थित बन्लान् ?
विदेशका सहरमा नीति नियम र कानुन कडा पारिएको छ। सहरमा कसैले पनि मनपरी गर्न पाउँदैन। सहरी इलाकामा हरेक सुविधा हुन्छन्। स्वच्छ हावा पाइन्छ। सडक पनि चिल्ला र सफा हुन्छन्। त्यहाँ फोहर फाल्नेलाई तुरुन्तै समाइन्छ। विदेशका सहर शान्त छन्। सहरमा बस्नेलाई कुनै पनि समस्या छैन। सहरमा बस्नेले मनपरीरूपमा कुनै पनि नकारात्मक काम गर्न पाउँदैनन्। कडा कानुन भएकाले कोही पनि कानुनविपरित चल्न चाहँदैनन्।  हामीले पनि यसैगरी सहरमा नीति नियम र विकास काम गर्न आवश्यक छ।

सहर व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
सरसफाइ, बाटोघाटो निर्माण, पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ। अर्को कुरा, सहरमा जथाभावी फोहर फाल्नु हुन्न भन्ने नागरिकमा चेतना आउनु पर्छ। हाम्रा सहरमा यस्ता मानिसहरू बस्छन्, जो शिक्षित भएर पनि अशिक्षितले जस्तै व्यवहार देखाउँछन्। यहाँको नीति नियमको पालना नगर्नु र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्नुले काठमाडौं व्यवस्थित हुन नसकेको हो।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरका समस्या हामी सहरवासी नै हौं। हामी सहरवासी सारै अल्छी र गैरजिम्मेवार छौं। सहर बिग्रनुको मुख्य कारक सहरवासी पनि हुन्। यदि आफ्नो घरको फोहर सटरबाहिरको सडकमा नफाल्ने, कही जाँदा निस्केको फोहर सम्बन्धित ठाउँमा मात्रै फाल्ने गरेको भए सहर यति फोहर र गन्हाउने हुने थिएन होला। त्यस्तै, सहरमा बस्ने धेरैले मानवीयता दर्शाउँदैनन्।  

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
म बसेको सहरमा सफा र सुविधायुक्त होस्। सबैखाले सेवा पाइयोस्। यातायातको सहज पहुँच सबैतिर पुगोस्। सहरमा बस्नेले एकैखाले सेवासुविधा उपभोग गर्न पाउन्। सहरमा विभेद नदेखियोस्। सडक छेउछाउ हरियाली होस्। स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधायुक्त हौंन। यति भयो भने सहरमा बसेको छु भन्ने महसुस हुन्छ।

उपत्यकाको मन पर्ने पक्ष के हो ?
यहाँको मनपर्ने पक्ष हावापानी नै हो। गर्मीमा ठिक्क गर्मी र जाडोमा ठिक्क जाडो हुन्छ। यहाँका पुराना मठ–मन्दिरले पनि नेपालको मौलिकता झल्काएको छ। जात्रा पर्वमा बज्ने बाजाहरूले सहर गुन्जायमान भइरहेको हुन्छ।  उपत्यकामा पाइने यी कुरा विश्वमै पाइन्नँ।

मन नपर्ने पक्ष के हो ?
ट्राफिक जाम, धुलोधुवाँ, भीडभाड र अस्तव्यस्ता उपत्यकाको सबैभन्दा मन नपर्ने पक्ष हो। ढल तथा बिजुलीका तार पनि अव्यवस्थित छन्। सहरको विकासका सरकारी निकायबीच समन्वय भएको छैन। जसले गर्दा एक निकायले बनाउने र अर्को निकायले खन्ने भइरहेको छ। बाग्मती सरसफाइकै कुरा गर्ने हो भने सरकारले ढल निकासबिनै सफाइको कदम चालिरहेको छ। पहिले ढल व्यवस्थापन गरेर नदी सरसफाइमा लागेको भए समस्या बढ्ने थिएन होला।

सहरलाई सफा राख्न के गर्नुपर्ला ?
सहरलाई चिटिक्क राख्न सरकार मात्रै होइन, नागरिक पनि जागरुक हुनु पर्छ। जथाभावी फोहोर फाल्ने प्रवृत्ति हटाउनुपर्छ।

उपत्यकाभित्र कतै घुम्न जानुप-यो भने कता जानुहुन्छ ?
कहिलेकाहीँ समय मिल्यो भने ह्वाइट गुम्बा र स्वयम्भूतिर जान्छु।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई नेपालकै केही ठाउँ घुम्न मन छ। डोल्पा र रारा ताल पुग्ने पहिलेदेखिको रहर हो।

सहरको मिठो लाग्ने खानेकुरा के हो ?
पहिले मःमः खाइन्थ्यो। तर, अहिले खान छाडेको छु।

प्रस्तुतिः शिवहरि घिमिरे
 

प्रकाशित: ४ चैत्र २०७५ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App