कला

चित्रकलामा आमाको थैली

काठमाडौं - कलाकार सौरगंगा दर्शनधारीको आमाको थैलीसँग पुरानो निकटता छ । बालक उमेरमा आमाको थैलीभित्र बज्ने सिक्काको खनखन्को आवाज अझैपनि उनको मस्तिष्कमा ताजै छ । 

आमासँगको त्यो नोष्टाल्जियालाई उनले आफ्नो चित्रमा उतारेकी छन् । सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको उनको कला प्रदर्शनीमा आमाले बोक्ने रंगीचंगी थैलीहरूलाई प्रशस्त हेर्न पाइन्छ । इचिङ विधिबाट बनेका चित्रसँगै काष्ठकलामा समेत उनको आमाको थैलीलाई स्वरूप दिएकी छिन् । ‘त्यो बेला थैलीभित्र बज्ने आवाजैले पैसाको अस्तित्व बोध गराउँथ्यो’, उनले भनिन्, ‘अहिले हाम्रा बालबालिकाका लागि पैसा केबल एटिएमबाट झिक्ने कागजको मुठा भएको छ ।’ सौरगंगालाई आमाको थैलीको आकार हेरेरै त्यो पाउने एकप्रकारको लालसाले सधैँ आमाकै फरियाको फेर समाएर अघिपछि घुमेको याद आउँछ । प्रदर्शनीमा राखिएका १२ वटा थैलीका चित्रसँगै काष्ठकलाको फरक नमूनामा धेरैको आँखा पर्छ । 

उनकी आमा मनरमा दर्शनधारीले समेत छोरीले बनाएका चित्र हेरिन् । आफुले बोक्ने थैली चित्र र काष्ठकलामा देख्दा उनलाइ नौलो लाग्यो । ‘कथाहरू’ शिर्षकको कला प्रदर्शनीमा उनले जीवनको निरन्तरको यात्रालाई समेत इंगित गरेकी छिन् । ‘जहाँ हाम्रो जीवन चलिरहेको छ । यसअघि अर्कै पुस्ताको जीवन चलेको थियो’, उनी प्रष्ट्याउँछिन्, ‘पछि नयाँ पुस्ताको जीवन यसैगरि चलिरहन्छ ।’ धर्तीको त्यो स्थल कुनैपनि बेला खाली नहुने भाव उनको कलाले देखाउँछ । कलात्मकतामा थप भाव भर्दै उनले समाजमा पाउने मानसम्मान, उर्जा र निरन्तरतालाई पानीको छाल, कमलको फूल, कुकुर, मयुर लगायतका चराचुरुंगीलाई मानिससँगै चित्रमा उतारेकी छिन् । 

अर्को जीवनको लर्कोमा भने उनले अझै समाजमा कायम रहेको पितृसत्तात्मक सोचको परिणाम व्यक्त गरेकी छिन् । चङ्गा उडाउने, भकुण्डो खेल्नेजस्ता क्रियाकलापको प्रतिक अझैपनि पुरुषलाई नै मानिन्छ । महिलाले त्यस्ता खेल खेलेर अस्तित्व बनाएपनि पुरुष सोचको असर उस्तै रहेको अनुभुत उनले आफै पनि गरेकी छिन् । यी दुई चित्र बनाउन मात्र उनलाई दुई महिना समय लाग्यो । 

उनले थप आमाहरू, चकलेट, गमला, प्रकृति, संघर्षलगायतका चित्रले समेत नेपाली समाजको प्रतिनिधित्व गर्छ । प्रविधिको चपेटामा परेको नेपाली जनजीवनको चोटिलो चित्रांकन उनले चित्रमार्फत गरेकी छिन् । जसमा मानिस र मानिसबीचको सम्बन्ध अब प्रत्यक्ष नभई तेस्रो पक्षको उपस्थितिमा हुने गरेको उनको प्रष्ट्याई छ । मानिसको शरीरका हरेक अवयवलाई सामाजिक सञ्जाल र प्रविधिले आफ्नो घेराउमा पारिसकेको भान त्यो चित्रले दिन्छ । 

उनले मानिसको संस्कृति, सुन्दरता, खाद्यान्नसँगको आत्मनिर्भरता र परनिर्भरतालाई आफ्ना चित्रमा स्थान दिएकी छिन् । चित्रकारितमा इचिङ विधि महंगो र कठिन विधि हो । सामान्य चित्रकारिता गर्दा रङ कुची र क्यान्भासमा खेल्दा पुग्छ । तर इचिङ गर्दा जिङ्क पातामा चित्र कोरेर त्यसलाई रेजिन र रसायनसँग खेल्दै फेरि कागजमा उतार्नु समय र मेहनतका हिसाबले पनि महत्वपूर्ण मानिन्छ । 

सानो खालको चित्र उतार्न सक्ने मेसिनको मात्र दुई लाख रुपैयाँभन्दा बढी पर्ने सौरगंगा बताउँछिन् । अझ सौरगंगाले बनाएजस्ता ठुला चित्र बनाउने मेसिनको अभाव नेपाली चित्रकारितामा उस्तै छ । कला प्रदर्शनीमा ३८ वटा चित्रहरू राखिएका छन् ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०३:४४ बिहीबार

आमाको_थैली चित्र कला_प्रदर्शनी