काठमाडौं – अग्लो उचाई र हँसिलो अनुहारका नायक आशिरमान देशराज जोशीले फिल्म ‘ग्याङस्टार ब्लुज’बाट अभिनयमा ‘डेब्यु’ गरे। एक्सन लभस्टोरी फ्लेभरको यो फिल्म पछि उनी ‘दी ब्रेकअप’मार्फत दर्शकमाझ आउँदैछन्। आगामी शुक्रबार अर्थात् फागुन १७ गतेबाट रिलिज हुने फिल्ममा हेमराज बिसीको निर्देशन छ। आशिरमान अभिनित अघिल्लो फिल्म ‘ग्याङस्टार ब्लुज’को निर्देशन पनि हेमराजले नै गरेका हुन्।
आशिमानका लागि ‘डेब्यु’ फिल्म र रिलिज हुन लागेको फिल्म ‘दी ब्रेकअप’मा काम गराईको अनुभव फरक छ। ‘ग्याङस्टार ब्लुज पहिलो फिल्म भएर सबैसँग घुलमिल हुन गाह्राे भयो। त्यो बेला ममा प्राविधिक कुराको पनि ज्ञान थिएन’, आशिरमानले भने, ‘तर दी ब्रेकअपमा चाहिँ हेमराज दाईसँग चाहिँ मेरो डेब्यु फिल्ममा पनि काम गरेको हुनाले सुटिङमा सजिलो भयो। अघिल्लो भन्दा यो फिल्ममा फरक भुमिका छ।’
फिल्ममा आशिरमान लभरब्वाईको भुमिकामा देखिएका छन्। ‘मलाई दर्शकले लभरब्वाईकै भुमिकामा अभिनय गर्न आग्रह गरे। किनभने अहिलेसम्म लभरब्वाईको भुमिका निर्वाह गरेको छैन। दर्शककै आग्रहमा म लभरब्वाई भएँ’, आशिरमानले भने, ‘लभरब्वाईको भुमिका चाहिँ इमोसनल्ली टाइट हुँदैन रहेछ। यसमा इमोसनमा बढी खेल्नुपरेन। बढी रमाइलो नै हुँदो रहेछ।’
नायक अनमोल केसी अभिनित तीन फिल्म ‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’को निर्देशन गरेका हेमराज कामको हिसाबले आशिरमानको कामबाट सन्तुष्ट छन्। ‘व्यवहारको कुरा गर्दा अनमोल र आशिरमान दुवै राम्रा छन्। स्क्रिप्टका आधारमा दुवैले राम्रो काम दिनसक्छन्’, हेमराजले भने, ‘तर ग्याङस्टार ब्लुजदेखि दी ब्रेकअपसम्म आइपुग्दा आशिरमानको कामबाट प्रभावित छु।’
फिल्मकी नायिका शिल्पा मास्केले राम्रो टिमसँग काम गर्ने मौका पाएकोले आफु खुशी रहेको बताइन्। ‘एउटा फिल्म बन्नका लागि राम्रो टिम र मेहनतको खाँचो पर्छ। यो मामलामा हामी परफेक्ट छौं। त्यसकारण पनि दी ब्रेकअपबाट म सन्तुष्ट छु’, उनले भनिन्।
फिल्ममा इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाललगायतको अभिनय छ। रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीकै लगानी रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ।
प्रकाशित: १६ फाल्गुन २०७५ ०६:२२ बिहीबार