कला

राष्ट्रकविलाई ‘नाजिकाजी स्मृति अभिनन्दन’

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘नातिकाजी स्मृति अभिनन्दन’बाट अभिनन्दन गर्दै संगीतकार शम्भुजीत बासकोटा। तस्बिरः नागरिक

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नातिकाजी स्मृति समाजले अभिनन्दन गरेको छ। नातिकाजीको ९३ औं जन्मजयन्तीको अवसर पारेर शनिबार नातिकाजी निवासमा ५० हजार रुपैयाँ नगदसहित दोसल्ला ओढाएर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरिएको हो। समाजले नातिकाजी र राष्ट्रकविको सांगीतिक यात्राले नेपाली संगीत क्षेत्रले उत्कृष्ट सिर्जना पाएकाले घिमिरेलाई अभिनन्दन गरिएको जनाएको छ। 

कार्यक्रममा २०७४ सालको ‘नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान’बाट लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीलाई सम्मानित गरियो। यस्तै ‘नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मान’बाट गायनतर्फ गायक एवम् हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र गायक रामप्रसाद (प्रसाद) श्रेष्ठलाई सम्मानित भए। त्यस्तै गीतकारतर्फ चिकित्सक गीतकारद्वय डा. भोला रिजाल र डा. अरुण सायमी सम्मानित भए।

यसैगरी ‘नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मान–२०७४’ बाट संगीततर्फ स्व. रमेश ताम्राकार र  पत्रकारितातर्फ पत्रकार एवम् कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठ सम्मानित भए। ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७४’ बाट गीतकारतर्फ गीतकार सुवासचन्द्र ढुँगेल, गायत तथा संगीततर्फ गायिका एवम् राष्ट्रिय सभाकी सांसद कोमल वली र गायक राजेशपायल राई पुरस्कृत भए। उनीहरूले जनही २० हजार एक रुपैयाँ र ताम्रपत्र पाए।

यसैगरी ‘नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार–२०७४’बाट संगीततर्फ नेपाल संगीतकार संघका अध्यक्ष एवम् संगीतकार लक्ष्मण शेष (बिडारी), गायकतर्फ गायक प्रमोद खरेल र गायिकातर्फ अवार्ड मीना निरौला पोखरेल पुरस्कृत भए। तीनै स्रष्टाले जनही ११ हजार १ सय ११ रुपैयाँसहित ताम्रपत्र प्राप्त गरे।

कार्यक्रममा समाजलाई निरन्तर सहयोग पु-याउनेहरूमध्येबाट यसपटक झापा, सुरुङ्गाका शिक्षासेवी द्विराज शर्मा शिवाकोटी सम्मानित भए। सम्मानित र पुरस्कृतलाई राष्ट्रकवि घिमिरेले सम्मान तथा पुरस्कार प्रदान गरे। राष्ट्रकवि घिमिरेले नातिकाजी जस्ता अजर स्रष्टाको सम्झनामा स्थापित नातिकाजी स्मृति समाजबाट अभिनन्दित हुँदा खुसी लागेको बताए। उनले आफ्ना गीतहरूमा निकै कर्णप्रिय संगीत भरेर गीतलाई नातिकाजीले नै उत्कृष्ट बनाएको बताए।

गीतकार डा. रिजालले नेपाली संगीतको विकासमा नातिकाजीको उल्लेख्य योगदान रहेको र उनको स्मृतिमा स्थापित सम्मान एवम् पुरस्कार आफुहरूले प्राप्त गर्दा गर्व लागेको बताए। 

समाजका अध्यक्ष एवम् संगीतकार शम्भुजीत बासकोटाले नेपाली संगीत क्षेत्रमा आ–आफ्नो क्षेत्रबाट विशेष योगदान पु-याएको कारण सम्बन्धित स्रष्टालाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको बताए। गायिका एवम् सांसद वलीले संगीतको महाविद्यालय स्थापना गर्न आफुहरूले निरन्तर पहल गरिरहेको बताइन्। गायक राजेशपायल र गायिका मिनाले नातिकाजीको स्मृतिमा उनीद्वारा संगीतबद्ध केही गीतहरू सुनाएका थिए।

प्रकाशित: १ पुस २०७५ ०३:२७ आइतबार

राष्ट्रकवि माधवप्रसाद_घिमिरे अभिनन्दन