कला

फेसन सिक्रेटसमा डिजाइनरका पहिरन

काठमाडौं– नयाँवर्षको अवसर पारेर राजधानीमा हालै ‘फेसन सिक्रेटस् टु’ नामक फेशन सोको आयोजना गरिएको छ । राजधानीमा फेसन डिजाइनमा आबद्ध विभिन्न डिजाइनरहरुको सहभागिता रहेको सोमा मोडलहरुले डिजाइनरका आकर्षक डिजाइनमा र्‍याम्प नापेका थिए।

डिजाइनर नुदिना राईको कलेक्सन ‘स्ट्रिट वेयर’को स्ट्राइप्स, चेक्स, प्रिन्टेन्ड शैलीमा मरुन, ब्लु, व्हाइट डिजाइनको पहिरनमा मोडलहरु आकर्षक देखिएका थिए । त्यस्तै डिजाइनर सुमन शर्माको इन्डो वेस्र्टन शैलीको डिजाइनमा ह्यान्ड इम्ब्रोइडरी प्याटर्नको विशेषता देखाइएको थियो।यस्तै डिजाइनर विजय कहरको कलेक्सनमा युरोपियन छापको झल्को दिएको थियो । यो फेसनमा फ्लोर लेन्थ गाउन र थ्रीपिस सुटको संयोजन गरिएको थियो।

अर्की डिजाइनर अनिता लोहनीले हलिउड शैलीबाट प्रभावित फ्लोर लेन्थ गाउन, जम्पसुट, कोट पाइन्ट आदिको कलेक्सनलाई ‘रेड कार्पेट’मा प्रस्तुत गरेकी थिइन् । उत्कृष्ट वीरविक्रम खड्काको फेसन सिर्जना स्ट्रीट वेयरबाट प्रभावित हुँदा उनको पहिरनमा कलरफुल फ्याब्रिक र प्रिन्टहरुको सुन्दर संयोजन प्रष्ट देखिन्थ्यो।

ड्रिस सर्च एजेन्सीको सहकार्यका नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजनामा भएको कार्यक्रममा डिजाइनर अन्चु पाण्डेको किड्स वेयर कलेक्सन सोको अर्को आकर्षण थियो । जस अन्तर्गत ब्ल्याक एण्ड व्हाइट कलरको फ्युजन रहेको सेमिफर्मल स्टाइलमा बालबालिकाहरु रनवेमा देखिएका थिए । कार्यक्रम क्यास्टिलो क्यासमिरको पस्मिना वेयरको प्रस्तुति तथा बिइङ ह्युमनको क्याजुयल वेयर कलेक्सनको प्रस्तुतिसँगै बिट मारेको थियो।

कार्यक्रमका इभेन्ट म्यानेजर आशिष पाण्डेले सोमा २४ युवती र ११ युवा मोडलले डिजाइनरहरुले तयार पारेका पहिरनहरुलाई आफ्नो मोडलिङ कला र सीपमार्फत् प्रस्तुत गरेको बताए । सोको कोरियोग्राफी पुरन जोशी र स्वस्तिका लामाले गरेका हुन्।
 

प्रकाशित: ७ वैशाख २०७५ ०२:४६ शुक्रबार

फेसन सिक्रेटसमा डिजाइनरका पहिरन