‘हाम्रो लघुकथा केन्द्र’ ले केन्द्रका संरक्षक साहित्यकार राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’ काे लाेकार्पण गरेकाे छ।
हाम्रो लघुकथा केन्द्र, नेपालका अध्यक्ष लता केसीकाे अध्यक्षता तथा भाषा आयाेगका गोपाल अश्ककाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा कार्यक्रमका अध्यक्ष लता केसी, प्रमुख आतिथि गोपाल अश्क, विशिष्ट अतिथिहरू- ध्रुव मधिकर्मी, रमेश तुफान पण्डित लगायत २५ स्रष्टाले सामूहिक रूपमा कृतिको लाेकार्पण गरेका थिए।
पानसमा दीप प्रज्ज्वलन तथा लघुकथा गान बजाएर भएकाे कार्यक्रममा संस्थाका कोषाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य र सदस्य मिसु श्रेष्ठले कृतिकारको परिचय प्रस्तुत गरेका थिए।
अन्तर्वार्ताकार अपुरोकाे उक्त अन्तर्वार्तासंग्रहमा २४ स्रष्टा समाहित छन्।
कार्यक्रममा डा.शेखरकुमार श्रेष्ठ, इन्दिरा चापागाई र मनीषकुमार शर्मा समितले पुस्तककाे समीक्षात्मक टिप्पणी गरेका थिए।
विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी, रमेश पण्डित र डा. पुष्करराज भट्टले मन्तव्य राखेका थिए। मधिकर्मीले संस्थाले गर्दै आएको कामको प्रशंसा गरेका थिए। अर्का विशिष्ट अतिथि रमेश तुफान पण्डितले अन्तर्वार्ताकार अपुरोको लेखन इतिहासको सन्दर्भ कोट्याउँदै कृतिको सफलताको शुभकामना दिएका थिए।
प्रमुख अतिथि अश्कले लघुकथा उन्नयनका लागि हामी सबै लघुकथाकार लाग्नुपर्ने आवश्यकता औल्याउँदै प्रयोगको नाममा हुने नयाँ विषयले विधा नै दुर्घटित नहोस् भन्नेमा सबै सचेत रहनुपर्ने बताए।
संस्थाका सदस्य वन्दना घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा अन्तर्वार्ता दिने स्रष्टाहरू महेश प्रसाईं, दिव्य गिरी, गङ्गा कर्माचार्य पौडेल, रासा लगायत संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: ६ माघ २०८१ ०६:५८ आइतबार