कला

दूरदराजमा उर्वर बझाङ

अनुभूति

उमेर ढल्किँदै जाँदा काठमाडौंबाट बझाङ जान र त्यताबाट फर्कन निकै टाढा लाग्न थालेको छ आजकल। २०/२५ वर्षदेखि ४०/४५ वर्षको उमेर छँदा देउडा गीत संकलन, गीति क्यासेट बिक्रीवितरण गर्न वर्षको ५/६ पटक मेरो वास सुदूरपश्चिम र हालको कर्णाली प्रदेशका जिल्लाका गाउँमा नै हुने गर्थ्याे। गाउँ पुगेपछि सबै मानिस आफ्ना लाग्थे। ती रमाइला गाउँबस्ती, हिमाल–चुचुरा, नदीखोला, हरिया वनजंगल, गाइवस्तु र चरण क्षेत्रका हरियाली चौरहरू सबै आफ्ना लाग्थे।

देउडागीतको आँगनीका कारण काठमाडौं उपत्यकाभन्दा दूर रहेका रमणीय बस्तीले मन लोभिन्थ्यो। तर अहिले गाउँ बिरानो लाग्न थालेको छ। सेताम्मे हिमशिखर काला देखिन थालिसके। खेती गर्ने मानिसको कमीले खेतबारी बाँझो देखिन थाले। बस्तीमा बुढाबुढी, महिला र ससाना बालबालिका मात्र देखिन्छन्। मान्छे मरेको खण्डमा परदेशबाट छोरो नआउन्जेल केही दिनसम्म मुर्दाघरमै राखेको दृश्य देखिन्छ। कस्तो अनौठो ? बिसु, गौरा, दसैं तिहार, माघीजस्ता पर्वमा देखिने नरनारीको उपस्थिति र रामरमितामा कमी आएको हो कि भन्ने आभास मिल्दैछ।

कैलालीदेखि चैनपुरसम्म

वर्तमानमा काठमाडौंको नागढुंगादेखि बुटवलसम्मको सडकको यात्राको सास्ती सम्झेर सुदूरपश्चिमका अधिकांश यात्रुहरू हवाईमार्गको यात्रा गर्छन्। भाडा महँगो छ तर सुविधा छ राजधानीदेखि कैलालीको धनगढी एयरपोर्ट पुग्न। धनगढीबाट दुई सय ६९ किलोमिटरको दुरी पार गर्दै सार्वजनिक गाडीमा उकालो लाग्नुपर्छ बझाङ सदरमुकाम चैनपुर पुग्न।

 अत्तरिया चोकबाट उत्तरतिर लागेपछि गोदावरी पुगिन्छ। अनि सुरु हुन्छ उकालो। नागबेली आकारको सडकसँगै रमाइला वनजंगल हेर्दै जिल्लावासीका मिठा कुरा सुन्दै गाडीमा यात्रा गर्दाको सुखद अनुभूति जोकोहीले पाउन पनि गाह्रो छ। खानीडाँडा, फलटुडे, भासुको भिर, गैरा, चुरे शृङ्खला, भातकाँडा, साउखर्क, स्याउले पार गरेपछि पुगिन्छ डडेलधुरा। पहिले डडेलधुराको बजार र सडक निकै साँघुरो थियो। सडक विस्तारका क्रममा हाल चौडा पारेकाले डडेलधुरादेखि खोड्पेसम्मको सडक सुविधाजनक देखिन्छ। दिनमा डडेलधुरा बजार निकै व्यस्त रहे पनि राति फुर्सदिलो देखिन्छ।

जाडोका कारण स्थानीय वासिन्दा समयमा नै न्यानोको ओत लाग्छन्। खोड्पे बजार भने चितवनजस्तै राति निदाउँदैन। खोड्पेबाट पश्चिमतिरका गाडीहरू हुइँकिन्छन् बैतडी र दार्चुलाका लागि। बझाङ जाने सवारी साधन खोड्पेबाट साँघुरो सडक हुँदै पूर्वी दिशा लाग्छन्। सुरुवाती दिनहरूमा मापदण्ड विपरीत सडकमा डर मानी मानी यात्रा गर्नुपर्थ्याे। हाल केही चौडा पारिएको सडकमा जंगल पार गर्दै अघि बढ्नुपर्छ। त्यसभन्दा अघि स्याउले बजारबाट क्रान्तिपुरुष भीमदत्त पन्तको सालिक देब्रे पार्दै डोटी, अछाम र बाजुराका लागि यात्रा गर्छन् यात्रु।

नाचन्थली, मुसे, ढोल्याको मोड, वित्थड, चिर द्यौलेक, धरान, सुनकुडा हुँदै कतै घुमाउरा र कतै डरलाग्दा भिरहरू पार गर्दै बझाङको बाघथला पुगिन्छ। वर्षामासमा पनि जाडो लाग्ने यी ठाउँमा कुनै बेला हिउँदमा चारपाँच फिटसम्म हिउँ जम्थ्यो। बाटो अवरुद्ध हुन्थ्यो। चिसोका कारण कतिपय मानिसको अकालमै ज्यान जान्थ्यो। हिउँले चिप्लिएर कति पटक त सवारी साधन दुर्घटनामा परेका खबरहरू नसुनिएका होइनन्। मौसममा बढ्दो तापक्रमका कारण पछिल्ला वर्षहरूमा अप्रिय घटना सुन्नमा आएका छैनन्। वित्थडबाट देखिने साइपाल र अपीको हिमचुचुरीले सबैलाई लोभ्याउने गर्छ। हातले छोलाझैं लाग्ने हिमालको दृश्य जुनेली रातमा अझ चम्केको देख्दा आँखा त्यतैतिर दौडिन्छन्।

विभिन्न कलाकारले गाएका देउडा गीत बजाउँदै गाडी चालक यी डरलाग्दा डाँडा र भिर पार गर्न सिपालु छन्। रात्रिकालीन यात्रा गर्दा चिरवित्थडमा पचास रूपैयाँ तिरेपछि पुराना ओढ्ने ओढेर एकछिन सुस्ताउन पाइन्छ। मुढाको आगो ताप्दै तात्तातो चिया पिउन पनि पाइन्छ। जीवन जिउने कला हो, जसरी पनि जिउन जान्नुपर्छ। आनन्द यसैमा छ।

कालंगा नदीस्थित बाघथला हुँदै देउरा पुगेपछि सेती नदीलाई दायाँ पारेर हुइकिन्छ गाडी चैनपुरसम्म। जयपृथ्वी राजमार्गका नामले परिचित सो सडक कहिल्यै विश्राम पाउँदैन। सयौं पटक यात्रा गरिसकेको छु मैले पनि मातृभूमिको यो सम्झनलायक राजमार्ग भएर। बाउलीगाडको छेउमा रहेको बसपार्क पुगेपछि लामो सास फेरेर सदरमुकाममा पाइला टेक्छन् यात्रु।

चैनपुरदेखि तलकोटसम्म

सदरमुकाम चैनपुरबाट उत्तरपूर्वतर्फ हिमाल हाँसेको देखिन्छ। त्यसैको फेदीमा रमणीय भूमि तलकोट दरा (बस्ती) अवस्थित छ। सेती नदीलाई दायाँ पारेर अघि बढ्नुपर्छ। सुनिगाड तरेपछि तलकोट गाउपालिका सुरु हुन्छ। सुनिकोट, शेरागाउँ, धमेनागाउँ, कुवरगाउँ, वस्टी, रूपातोलाको गाउँ पुगेपछि हिमनदी सेतीपारि रमणीय थुम्को देखिन्छ। जसलाई कोट भनिन्छ। दसैंको बेला यो रमणीय कोटमा मेला लाग्छ। पञ्चायतकालमा तलकोटी राजाले तलकोटी जनतामाथि न्याय निसाफ दिन्थे।

तत्कालीन राजा जंगबहादुर सिंहले कोटनजिकै थलारा प्राइमरी स्कुलको स्थापना गरे। त्यही विद्यालयलाई बेदकालीगाउँ निवासी शिक्षासेवी स्व. देवीचन्द्र जोशीले दुर्गाभवानी मिडिल स्कुलमा परिणत गरे। शिक्षाका अगुवा उनैले हालको दुर्गाभवानी उच्च माविमा परिणत गरे। यस क्षेत्रको शिक्षाको आधारशीला उक्त विद्यालयमा १६ वर्षसम्म प्रधानाध्यापक भएर सेवा गरेका देवीचन्द्र जोशीलाई श्रद्धापूर्वक सबैले सम्मान गर्छन। तलकोटी जनताको पनि ठुलो योगदान रहेको छ सो विद्यालयको विकासका लागि।

सदरमुकाम चैनपुरदेखि २३ किलोमिटरपूर्वमा पर्छ तलकोट। २०६६ सालमा रातापानी भन्ने स्थानमा पक्की पुल निर्माण गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पंक्तिकारको नेतृत्वमा प्रतिनिधि मण्डल पुग्यो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले दश करोड रूपैयाँ निकासा गराउनुभयो।

राजनीतिक विवादका कारण पुल निर्माण हुन सकेन। हाल दैवसैन नामक ठाउँमा बेलिब्रिज निर्माण गरिएको छ। त्यही पुलबाट सेती नदी तरेर तलकोट दरा पुगिन्छ। यात्रा निकै जोखिमपूर्ण छ। चट्टानीय भूभाग र भिरहरू पार गरेर जानुपर्छ। तल सेती नदी बगिरहेकी देखिन्छिन्। मस्टादेवका कृपाले आजसम्म अप्रिय घटना घटेको छैन। किमुडाको मस्टो, राउणीको मस्टो, कालिका, मालिकाका शक्तिपीठ र छणाखेती देवताका ऐतिहासिक मन्दिर तलकोट गाउँपालिकामा पर्छन्। तलकोट दराबाट उत्तरतिर साइपाल गाउँपालिका र पूर्वी भागमा बाजुराको बलकाडा, जुगाडा, मानाकोट पुगिन्छ।

फलफूलका लागि प्रख्यात

तलकोटका विभिन्न बस्तीमा फलफूल पाकेर रुखहरू पहेँला देखिन्छन्। यसो त बझाङ फलफूलका लागि उर्वर छ। ठुलाठुला अमिला ज्यामिर र सुन्तलाका दानाले हाँगा नुहेका देखिन्छन्। महिला, बुढाबुढी र केही राष्ट्रसेवक कर्मचारीबाहेक गाउँमा युवा देखिन्नन्। मिठो स्वादका सुन्तलालगायत फलफूल किलोको ५०/६० रूपैयाँमा पाइन्छ।

कागती पाकेर भुइँमा खसेका देखिन्छन्। किन्ने चलन छैन। सित्तैमा बाँडेर खाने, चुक बनाउने गरिन्छ भन्छन् कृषक जयकृष्ण जोशी। कुनै बेला मंसिरमा नै सेताम्मे देखिने घोडीलेक र साइपालको दक्षिणी मोहोडाको हिमाल आजकल नाङ्गा देखिन्छन्। सुनिकोट, मेलाता, वेदकाली गाउँ फलफूलका लागि प्रख्यात मानिन्छन्। बडीगाउँ, किदन्न, लोकन्न, स्याडा र पडाल्त मह, घिउ र आलु उत्पादनमा अगाडि छन्। दाँतोला गाउँको सिरानबाट झर झखांरी झर्ने झरनाको दृश्यले सबैलाई लोभ्याउँछ। प्रचारको अभावमा सो झरना प्रकृतिको गर्भमा लुकेको छ। यसैगरी कुवरगाउँ, धमेनागाउँ, लुगाडी र मेलबिसौना गाउँको सौन्दर्यले मन छुन्छ।

बाढीपहिरो र भूकम्प आइरहने ठाउँ

गत साल असोज १६ र १७ गते आएको भूकम्पले तलकोट र मस्टा गाउँपालिकामा धेरै क्षति पुर्‍यायो। दिनमा आएकाले कुनै मानवीय क्षति नभए पनि भौतिक संरचना धेरै ध्वस्त भए। तलकोट गाउँपालिकाको वडा नम्बर तीनदेखि सातसम्म धेरै घरहरू बस्न नहुने भए। यसैगरी रिलुका प्रायः सबै घरमा क्षति पुर्‍यायो। जयपृथ्वी नगरपालिकाका पनि धेरै वडामा घरहरू निकै क्षति भएको जानकारी नगरपिता चेतराज वजालले बताए। पटकपटक आइरहने भूकम्पबाट मानिसहरू त्रसित छन् तर विकल्प नहुँदा डर मानीमानी चर्केका घरमा बस्न बाध्य छन् बझाङी जनता।

बाढीपहिरोको त कुरा गरीसाध्य छैन। राष्ट्रिय बजार पनि मानिएको चैनपुरबाट दायाँ बायाँ नियालेको खण्डमा बस्तीहरू कुरूप देखिन्छन्। चार वर्ष पहिले लाक्षीगाडले क्षति पुर्‍याएका घर र खेतीयोग्य जमिन पूरै बगरमा परिणत भएको छ। खप्तडछान्ना गाउँपालिकाको बिच भाग भएर बग्ने गाडले शिक्षाविद् एवं देउडागीतलाई अंग्रेजीमा लेखी पुस्तक प्रकाशित गर्ने धनराज जोशीलगायत पाँच जनालाई बगायो।

१४ वटा घट्ट, ३५ नाली (पाथी) धानको बिउ छर्ने मलिलो खेती अहिले पनि पूरै बगरमा परिणत भएको देखिन्छ। थलाराको डिक्लामा माथिबाट आएको पहिरोले गाउँ पुरिँदा १७ जना मानिसको मृत्यु भएको, एक सयभन्दा बढी चौपाया मरेका, अनाज सबै बगाएको घटना बिर्सन गाह्रो भइराखेको बताउँछन् खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकाया। सिन्धुपाल्चोक, दोलखा, धादिङ लगायतका बाढीपीडितले राहत पाउँदा यो जिल्लाले सहुलियत नपाएको गुनासो गर्छन् समाजसेवी वर्क रोकाया।

साइपालबाट बग्दै आएकी सेती नदी यी सबै घटनाहरूको साक्षी भएर जिल्लाको बिचभाग भएर बगेकी छन्। ठाउँठाउँमा सेतीले पनि कम दुःख दिएकी छैनन्। आफ्नो गर्भबाट निस्केका माछाले चैनपुर, तमैल, देउरा, भाण्याबगर, झोताबजार लगायतका बस्तीमा पाहुनालाई रक्सीको चुस्कीसँगै मुख मिठो पार्छन्। चैनपुर बजार सुतेका बखत ससाना बजार भने अबेरसम्म रङ्गीन भएका देखिन्छन्। जसका साक्षी निलो गगनबाट चम्किरहेका तारा र नक्षत्रगण छन्। 

प्रकाशित: ५ माघ २०८१ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App