१) सजाय
“मेरो नाति अहमदले मार्थासँग बिहे गर्ने भयो। दुई वर्षसम्म सँगै बसेपछि बल्ल बिहे गर्दैछन्। हामी अमेरिका आएको बेलामा विवाह सम्पन्न गर्ने विचार छ।” नाजिबुल्लाहले भने।
म केही बोलेको थिइनँ, कफीको चुस्की लिँदै उनैले भने, “हामीले आफ्नै जातकी केटीसँग बिहे गराउन बल गरेका थियौँ तर अहमदले मानेन। अहमद र उसका साथीहरूले भनेका ‘अमेरिकामा जातपात चल्दैन रे! मैले पनि त्यस्तै देखेँ!”
नाजिबुल्लाह मसँग निकै खुलिसकेका छन्। नोरमेन सहरको एउटा नेवरहुडमा एक महिनादेखि हरेक बिहान नजिबुल्लाहसँग मेरो भेट भइरहेको छ।
म उनका कुरा धेरै सुन्छु। उनी भन्छन्, “देश दुनियाँ देखेपछि मान्छेलाई धेरै कुरा थाहा हुने रहेछ। खासमा बन्द आँखा खुल्ने रहेछन्?”
“के भयो त्यस्तो मिष्टर नाजिबुल्लाह?” मैले जिज्ञासा राखेँ।
“मेरो आँखा बन्द भएको रहेछ। अब खुल्यो। देश दुनियाँ देखेँ, बुझेँ तर मैले आफैंले राखेको भार भने मेरो छातीबाट हट्ने छैन। यो भारले चैनसँग बस्न पनि दिने छैन?”
“के भार हो त्यस्तो?” म झनै जिज्ञासु भएँ।
“आजभन्दा चालिस वर्ष पहिलेको कुरा हो। मेरो देशको एक गाउँ जहाँ मेरो घर अहिले पनि छ, त्यहाँ मेरो आदेशमा एक युवतीलाई बोराभित्र हालेर, ढुङ्गाले हानेर उसको प्राण लिइएको थियो।”
“ती युवतीको कसुर के थियो?” आत्तिंदै मैले सोधें।
लामो सास फेर्दै नजिबुल्लाहले भने, “अविवाहित अवस्थामा त्यस युवतीले एक पुरूषसँग सहवास गरेकी थिई।”
२) दोषी को?
“अपराधीलाई मृत्युदण्ड दिने निर्णय भएको छ।” न्यायाधीशले फैसला सुनाए।
“ममाथि अन्याय भएको छ श्रीमान्!” अपराधीको भनाइले न्यायाधीशको ध्यान आकृष्ट भयो।
“कसरी?” न्यायाधीशले प्रश्ने गरे।
“म हत्यारा हुँ! मैले पाँच जनाको हत्या गरेको हुँ तर त्यो हत्या मेरो मनस्थितिले गरेको हो। मेरो शरीरले गरेको होइन। तर तपाईले त मेरो शरीरलाई दण्ड दिइरहनुभएको छ। मेरो शरीरले त हत्या गरेको नै होइन। मेरो शरीरले मस्तिष्कको आदेश पालन मात्र गरेको हो। मेरो शरीर मेरो मनस्थिति दुई पृथक् अस्तित्व हुन्। होइन र श्रीमान्?” अपराधीले जिकिर ग¥यो।अपराधीको प्रश्नले न्यायाधीशको दिमाग फनफनी घुम्यो।
“मेरो विचार परिवर्तनशील छ तर मेरो अनुहार, मेरो शरीर परिवर्तनशील छैन। हत्यारा या अपराधीहरुको बिचमा बसेपछि म पनि हत्यारा हुन सक्छु। उनीहरूको विचार मेरो मनस्थितिमा प्रवेश गरेर उनीहरुको विचारले मलाई पनि अपराधी तुल्याइदिन सक्छ तर मेरो शरीर अपराधीहरूको माझमा भए तापनि मेरो शरीरमा कुनै पनि किसिमको परिवर्तन आउन सक्तैन। त्यसकारण मेरो शरीर निर्दोष छ। बरू मेरो मनस्थितिलाई दोष दिनुस्। त्यस्तो गर्न सकिँदैन भने यो न्याय व्यवस्थामा सुधार गर्नुहोस्।” अपराधीले थप तर्क राख्यो।
“मृत्युदण्ड जस्तो ठुलो सजाएँ सुनेर यो व्यक्तिको मानसिक सन्तुलन बिग्रेको छ। यसलाई पहिले अस्पताल पु¥याउनु। उपचारपछि यसलाई पुनः अदालतमा उपस्थित गराउनू।” न्यायाधीशले आदेश दिए।
३) आँधी
“परिवार त्यागेँ। गाउँ त्यागे। देश पनि त्यागेँ। अनेक कुरा त्यागेँ।” उमेश काकाले भनेका कुराहरू मैले बुझ्न सकेको छैन। उहाँको प्रफुल्लित मुद्रा म केवल हेरिरहेको छु।
“आफन्त त्यागेँ। छोरा त्यागेँ। छोरी त्यागेँ। पत्नी पनि त्यागेँ।” अझै पनि काकाको कुरा बुझ्न सकेको छैन।
“जे कुरा पाउनका लागि मैले अनेक कुराहरू त्यागेको थिएँ, आज त्यही कुरा त्यागेर आएँ।”
मैले प्रश्न गरेँ “आज के कुरा त्यागेर आउनुभयो काका?”
“अस्ट्रेलियाको पासपोर्ट”, काकाले भन्नुभयो, “त्यस देशको दुतावासमा पुगेर परित्याग गरेर आएँ। आजदेखि म पुनः नेपालको नागरिक भएको छु। म अब नेपालमा नै बस्छु, आफ्नै परिवार, समाजसँग।”
मलाई काकाको भनाइ अनौठो लाग्यो, फेरि जिज्ञासा राखेँ, “अस्ट्रेलिया कति वर्ष बस्नुभयो काका?”
“बिस वर्ष।”
“त्यत्रो वर्ष बसिसकेका ठाउँको पासपोर्ट त्याग्नुको कारण के हो त काका?”
काकाको जवाफ आयो, “मैले अस्ट्रेलियाको पासपोर्ट पाउन जेजे कुरा त्यागेँ, तिनै त्यागहरूले मेरा मनमा यस्तो आँधी ल्याइदिए कि पासपोर्ट त्याग्नुबाहेक मेरो अर्को विकल्प रहेन।”
४) दुःखी मन
नितालाई मनपर्ने कुराहरूको सूची लामो छ। उनलाई थरीथरीका गहना लगाउन मन पर्छ। नयाँनयाँ फैसनका कपडा लगाउन मन पर्छ। महँगो कार चढ्न मन पर्छ। ठुलो र अनेक सुविधाहरूले युक्त घरमा बस्न मन पर्छ।
अमेरिका आएपछि भने नितालाई आफूलाई मन पर्ने ती सबै कुराहरू प्राप्त गर्न ज्यादै सहज भएको छ। आफूले मन पराउने हरेक कुराहरु उनीसँग छन्।
अमेरिका आएपछि निताले चाहना गरेको केवल एउटा कुरा उनीसँग छैन र नभएको त्यही कुराले उनलाई बेलाबेलामा अति दुःखी तुल्याउने गर्छ।
नेपालमा हुँदा निताले कुनै नयाँ साडी लगाउँदा, ‘यो साडी कतिमा खरिद गरेको दिदी?’, कुनै गहना लगाउँदा, ‘यो गहना कति मूल्यमा, कहाँ र कहिले खरिद गरेको बैनी?’ जस्ता प्रश्नहरू गर्ने बिसौँ, पच्चिसौँ जना हुन्थे। ती प्रश्नहरू सुनेर नितालाई झर्को होइन खुसी लाग्थ्यो। तर अहिले, अमेरिकामा उनलाई त्यस्ता प्रश्न सोध्ने कोही पनि छैन। उनको यो स्थितिले उनलाई अति नै दुःखी तुल्याउने गर्छ।
५) इन्ट्रान्जिट
“अमेरिका के गर्न जान थाल्नु भएको विनय बाबु ?” दोहा एयरपोर्टबाट न्युयोर्कका लागि उड्न लागेका विनयलाई दोहाबाटै काठमाडौँका लागि उड्न प्रतीक्षारत सुन्दरमणिले सोधे।
“पिएचडी गर्न, सुन्दर अङ्कल।”
“अनि तपाई काठमाडौँ किन जान थाल्नुभएको नि?”
“त्यत्तिकै, परिवार, छिमेकी र समाजसँग भेटघाट गर्न। म अब अमेरिका फर्किन्नँ, नेपालमा नै बस्छु। परिवारका कुनै सदस्य नेपाल नआए पनि म नेपालमा नै बस्छु।”
कुराकानीको क्रम रोकिएको छ। दुवैजना शान्त छन्। केवल चिन्तन गर्ने कार्य भइरहेको छ। विनय सोचिरहेको छ, ‘अहिले संसारभरिका मान्छे अमेरिका जान हुरूक्क भइरहेका छन्। यी बुढालाई अमेरिका किन मन नपरेको होला? फर्किने कारण के होला?’
त्यसपछि विनयले सोध्यो, “अमेरिका कति वर्ष बस्नु भयो अङ्कल ?”
“तिस वर्ष।”
“तिस वर्षमा निकै कमाउनुभयो होला। यहाँ कमाएको सम्पत्तिले नेपालमा बसीबसी खान पुग्छ होला?”
“त्यस्तो होइन बाबु, नेपालमा हुँदा बरू मालामाल थिएँ। परिवारका सदस्यहरू साथमा थिए। अमेरिका आएपछि उल्टो भयो। झन् कङ्गाल भएँ।”
“कसरी अङ्कल?”
“अमेरिकामा हामी केवल दुई जना पतिपत्नी बस्छौँ। त्यो पनि एउटा सानो सहरमा। छोराछोरीहरू आआफ्नो परिवारका साथ अर्कै सहमा बस्छन्।”
“ए त्यस्तो पो?”
“हजुर, एक्लिएर बस्नु कङ्गाल हुनु होइन र?”
६) सपनाको भारी
“सामानको भारीले भन्दा सपनाको भारीले मान्छे थिचिने रहेछ र त्यो भारीले थिचेपछि उठ्न असम्भव नै हुने रहेछ।” विवेकले भनेको कुरा बुझ्न मलाई सकस भयो।
“मेरै उदाहरण हेर्दा हुन्छ। म गायक हुन र नेपालमै बस्न चाहन्थें तर मेरो बुबाको इच्छा फरक भयो। उहाँ मलाई ख्याति प्राप्त डाक्टर भएको र थुप्रो पैसा कमाएको देख्न चाहनुहुन्थ्यो। त्यसैले बुबाको इच्छा पूरा गर्न म अमेरिका आएको हुँ। अमेरिका आएर डाक्टर भएँ, नाम र पैसा कमाएँ तर ...।”
विवेकले के भन्न खोजेको हो, अहिले भने मलाई केही प्रष्ट भएको छ। म र विवेक दुवै जना डाक्टर हौं। हामी ओक्लोमा सिटीको एउटै अस्पतालमा काम गर्छौ। कहिलेकाहीं संयोगले हामी कार्यरत अस्पतालमा भेटघाट हुन्छ। आज संयोगले हाम्रो भेट भएको छ।
“मनिष, तिमी आफ्नै इच्छाले डाक्टर भएका हौ वा अरू कसैको इच्छाले?” विवेकले मलाई प्रश्न गरे।
“मेरो पनि कथा त्यस्तै छ। म ठुलो भएर धेरै पढ्ने, डाक्टर हुने र धेरै पैसा कमाउने इच्छा थियो मेरी आमाको। मैले पनि मेरी आमाको सपना पूरा गरिदिएँ बस्।” मैले उत्तर दिएँ।
“मनिष, तिमी र मबिच धेरै समानता रहेछ।”
“एउटा अर्को झन् ठुलो समानता रहेछ।” मैले थपेँ।
“के हो त्यस्तो ठुलो समनाता?” मनिषले प्रश्न तेर्स्या ए।
“हामी दुवै जना आमा र बुबाको सपनाको भारीले जिन्दगीमा कहिले पनि उठ्न नसक्ने गरी थिचिएका रहेछौँ”, मैले भनेँ।
७) डिभी
“नेपालमा हुँदा मेरो आफ्नै रेष्टुरेन्ट थियो। म साहु थिएँ। अमेरिका आएपछि अर्काको रेष्टुरेन्टमा काम गरिरहेको छु। कर्मचारी भएको छु। अमेरिका आएपछि मैलै प्राप्त गरेको उपलब्धि यही हो।”
जहिले पनि भेट हुनासाथ निरवले हामी साथीहरूलाई यो कुरा सुनाउन छुटाउँदैनन्।
आज मैले सोधेँ, “त्यस्तो थियो भने किन आएको त अमेरिका? नेपालमै किन नबसेको?”
“मैले डिभी नपाएको भए हुन्थ्यो। त्यही डिभीले मलाई तानेर अमेरिका ल्यायो!” विरक्त भावले निरवले भने। निरव अमेरिका आउनुको कारण मलाई अब थाहा भयो।
“डिभी परे पनि अमेरिका नआएको हुन्थ्यो नि!” मैले जिस्क्याएँ।
“तिमीले भनेको ठिक हो। डिभी पाएपछि पनि छ महिनासम्म अमेरिका आउने सुरसार नै गरेको थिइनँ। के गर्नु, आफन्त, परिवारका सदस्य, साथीभाइ साराले मलाई दिनहुँ ‘अमेरिका कहिले जाने?’ भनेर सोधिरहे।
‘डिभी पाएर पनि अहिलेसम्म अमेरिका जाने सुरसार किन नगरेको?’ यस्तै प्रश्न गरेर मलाई हैरान पारे। म अमेरिका न आएको भए सबैले मलाई मूर्ख नै घोषण गर्थें होला!”
मेरो मुखबाट झ्वाट्ट प्रश्न बाहिर आयो, “किन?”
लामो सास फाल्दै निरवले भने, “अहिले नेपाली समाजको सोचअनुसार डिभी पाएर पनि अमेरिका नजानु मूर्ख हुनु हो।”
८) भोको राष्ट्रियता
‘खाली पेट नाम गरेको मान्छे अचम्मको हुन्छ। त्यो मान्छेको देश हुँदैन। राष्ट्रियता हुँदैन। भाषा अनि संस्कृति पनि हुँदैन। मेरो नाम खाली पेट भएर नै म नेपालबाट मलेसिया आएको हुँ। मेरो नाम, परिचय र राष्ट्रियता सबै खालीपेट हो। पेट भरिएपछि मात्रै देश, राष्ट्रियता, भाषा, संस्कृति आदिको महत्त्व हुने रहेछ। यस कारणले गर्दा नै खालीपेट नाम हुनेहरू आफ्नो जन्मभूमि छोडेर संसारका अनेक देशहरुमा पुगेका छन्।’
काम गर्ने कम्पनीले दिएको सानो कोठाको सानो खाटमा सुतेर रामानुज यादव यस्तैयस्तै सोचिरहेको छ। उसका दिमागमा यस्तैयस्तै विचारहरू आइरहेका छन्।
रातिको बाह्र बजिसकेको छ। उसलाई निद्रा लागेको छैन। रेडियो खोल्छ।
रेडियोले भन्छ, “तिन सय मानिसहरू अटाउने बोटमा एक हजारभन्दा बढी मानिसहरू चढेका हुँदा बोट डुबेर सबै जनाको मृत्यु भएको छ। उनीहरू गैरकानुनी तरिकाले लिबियाबाट इटालीको लाम्पाडुसा जान थालेको थिए। उनीहरू लाम्पाडुसा हुँदै जर्मनी जानु र जर्मनी पुगेपछि शरणार्थीको दर्जा माग्नु थियो । मर्नेहरू सबै अफ्रिकन नागरिक रहेको बुझिएको छ। पूर्ण परिचय भने खुल्न सकेको छैन।”
‘भोको पेटको राष्ट्रियता हुन्छ वा हुँदैन? यो प्रश्न आफूलाई सोध्दै रामानुज निदायो। सपनामा एउटा नेताले भाषण गरेको सुन्यो, ‘आफ्नो भाषा आफ्नो भेष, आफ्नो भूमि आफ्नो देश, प्राणभन्दा प्यारो हुन्छ।’
९) भलादमी
“दादा तिमी निकै भलादमी छौ। सबै नेपालीहरू भलादमी हुन्छन् है।” उसले मलाई देख्नासाथ यस्तै भन्छ। म जहिले पनि उसको यस भनाइको उत्तर केवल हाँसेर दिन्छु।
ह्युस्टनको गेलेरिया मलमा हामी दुवै जना वरपरको स्टोरमा काम गर्छौ। ऊ अर्थात् अहमद एक कन्भेनियन्स स्टोरमा काम गर्छ। म ज्वेलेरी स्टोरमा।
‘अहमद ज्यादै भलादमी छ।’ मेरो मूल्याङ्कनले यस्तै निष्कर्ष निकालेको छ।
ऊ अमेरिकन होइन। यतिसम्म थाहा छ। तर ऊ किन, कहिले र कसरी अमेरिका आयो, मैले सोधेको छैन। आज फेरि अहमद मेरा नजिक आइपुगेको छ। हाल खबर सोध्दै छ।
केही खाने कुरा मेरा हातमा राखिदिएको छ र त्यही कुरा दोहो¥याइरहेको छ, “दादा तिमी निकै भलादमी छौ। सबै नेपालीहरू भलादमी हुँदा रहेछन्।”
यस पटक थपेको छ, “तिमीलाई मैले आफ्नो साख्यै दाजु मानेको छु।”
अहमदलाई नदेखेको एक महिना भयो। खोजखबर गर्ने विचार गरेँ। अति दुःखित हुँदै अहमदको सहकर्मीलाई सोधेँ, “अहमदलाई देखिरहेको छैन। कता गयो त्यो महफुज?”
“अहमदले यो स्टोर छाडिसक्यो। कहाँ गयो, के गर्दै छ? हामीलाई केही पनि थाहा छैन।”
उल्टै महफुजले मलाई प्रश्न सोध्यो, “किन सोध्नुभएको दादा?”
अहमदले मसँग दुई हजार डरल पैँचौ लिएको र केही दिनभित्र फर्काउँछु भनेको कुरा मैले महफुजलाई भनिनँ।
“अहमद त निकै भलादमी देखिन्थ्यो, हैन?” प्रश्न मात्र गरेँ।
महफुजले भन्यो, “केको भलादमी हुनु, त्यो त फटाहा हो। यस स्टोरबाट केही पैसा र सामान पनि चोरेर लग्यो रे !”
महफुजले फेरि भन्यो, “भलादमी हुनु र भलादमी छु भनी देखाउन खोज्नु दुई अलगअलग कुरा हुन्। अहमद भलादमी थिएन, केवल भलादमी छु भनी देखाउन खोज्थ्यो। तिमी जस्तो सोझो मान्छेलाई यस्तो पेचिलो कुरा थाहा हुँदैन।”
मेरो मुखबाट रोक्तारोक्तै फ्याट्ट आवाज निस्क्यो, “लौ जा महफुज! मेरो दुई हजार डलर डुब्यो त!”
१०) रेसिङ हर्स
“तिमीले यस्तो घोडा देखेका छौ जसलाई लगाम लगाइएको हुँदैन तर पनि त्यो घोडा घोडासवारको इच्छा अनुसार निर्देशित दिशामा दौडिन्छ। घोडसवारले जता हिँड् भन्छ उतै हिँड्छ। रोक भने रोकिन्छ, दौड भने दौडिन्छ।” निरञ्जन काकाले भने।
निरञ्जन काकाको कुरा सुनेपछि हाँस्दै मैले भनेँ, “काका पनि अचम्मको कुरा गर्नुहुन्छ।”
प्रश्न गरेँ, “लगाम नलगाई कसरी घोडालाई दौडाउन सकिन्छ? लगाम नभएको घोडाले त सवारलाई उल्टो लडाइदिन्छ, जथाभावी दौडेर। होइन र?”
“मैले भनेको घोडा अचम्मको घोडा भएकोले नै मैले अचम्मको कुरा गरेको हुँ।” काकाको यो कुरा पनि बुझ्न सकिनँ मैले।
“म मेरी पत्नी रमाको घोडा हुँ। उनले भनिन्, ‘गाउँको घर छाड’ मैले छाडेँ।
‘सहरतिर दौड’ भनिन् काठमाडौँतिर दौडिएँ। काठमाडौँ आएपछि ‘अमेरिका दौड’ भनिन्, अमेरिका आएँ। अमेरिका आएपछि पनि दौडेको दौड्यै छु। कहिले यो कार्यालय पुग्छु कहिले त्यो कार्यालय पुग्छु। रमाले जता दौड भन्छिन् म उतै दौडिरहेको छु।”
“... ।”
“मैले भनेको अचम्मको घोडा म नै हुँ भन्ने कुरा अब त बुझ्यौ होला नि!”
मेरो ट्वाल्ल परेको अनुहार हेरेर काकाले नै सम्झाउनुभयो।
(लघुकथाकार विश्वराज अधिकारीको आधुनिक मुगलान लघुकथासंग्रहमा सङ्गृहीत।)
प्रकाशित: ४ माघ २०८१ १३:१२ शुक्रबार