कला

दस वर्षमा यसरी जन्मिन् कान्छी

नेपालमा लामो समय पत्रकारितामा सक्रिय वीना पुनको अंग्रेजी उपन्यास ‘कान्छी’ फ्रान्स को प्रख्यात प्रकाशक ह्याचेटले प्रकाशन गरेको छ । हाल अमेरिकाको मेरिल्यान्ड, बाल्टिमोरमा स्थायी बसोबास गरिरहेकी वीनाको यो उपन्यासलाई ह्याचेट यूकेको भारतीय शाखा ह्याचेट इन्डियाले दक्षिण एसियाली, सिंगापुर र मलेसियाका बजारमा ल्याएको हो ।  

पछिल्लो समय नेपाल र नेपाली पृष्ठभूमिका कथाहरु भारतस्थित अन्तर्राष्ट्रिय प्रकाशकहरुले नेपाली लेखकका सिर्जनालाई महत्वका साथ प्रकाशन गर्दै आउन थालेका छन् ।  

नेपाली अभिभावकले अंग्रेजीमा पठनपाठनलाई महत्व दिन थालेको झण्डै चार दशकको अवधिमा नेपालले अंग्रेजीका पाठकहरु मनग्य उत्पादन गरिसकेको छ । अंग्रेजी बुझ्ने पुस्ताका लागि उनीहरुकै कथा पस्कने क्रम पछिल्लो समय बढेको छ । यही कारणले नेपालका बहुचर्चित नयाँ पुस्ताका उपन्यासहरु पनि अनूदित भई प्रकाशन हुन थालेका छन् ।  

यही सिलसिलाको पछिल्लो कडी वीना पुनको ‘कान्छी’ उपन्यास बन्न पुगेको छ ।

वीनाको उपन्यास प्रकाशन गर्ने डेढ दशक लामो प्रयास बल्ल सफल भएको छ । काठमाडौँको साँगास्थित दीपेन्द्र प्रहरी स्कूल (हालको नेपाल प्रहरी विद्यालय) पढ्दादेखि नै उनी अंग्रेजी उपन्यासहरु खोजी खोजी पढ्थिन् । उनको पठन रुचि देखेर उनका शिक्षकहरुले पनि सहयोग गर्थे । उपन्यास पढ्ने हुटहुटी यति थियो कि उनी पछि ब्रिटिश काउन्सिलको सदस्यसमेत बनिन् । यही अवधिमा उनले संसारभरिका ‘क्लासिक’ उपन्यासहरु पढ्ने मौका पाइन् ।

क्लासिक उपन्यास पढ्दाको फाइदा उनलाई के भयो भने भाषा राम्रो बन्यो । उनलाई लाग्यो, म लेख्दा आफूलाई राम्रोसँग अभिव्यक्त गर्न सक्छु ।  

अन्य नेपाली युवालाई जस्तै उनलाई पनि अमेरिकामा पढ्न रुचि थियो । त्यसैले यहाँ ए लेभल  पास गरिसकेपछि उनी सन् २००५ मा स्टानफोर्ड विश्वविद्यालयमा मनोविज्ञान र जीवविज्ञान  विषय पढ्न भर्ना  भइन् । पहिलो वर्षमै क्रिएटिभ राइटिङ कक्षा लिन थालेपछि भने उनको मन बदलियो र अंग्रेजी साहित्यमा मेजर गर्ने सोच बनाइन् ।  

तेस्रो  वर्षमा भने इङ्लीश डिपार्टमेन्टले उपन्यास लेख्न चाहनेका लागि ५ हजार डलर सहयोग गर्ने थाहा पाएपछि कलेजको समर छुट्टीमा अरु काम खोजेर दुःख गर्नुभन्दा उनलाई यही ग्रान्ट लिएर उपन्यास लेख्नु उचित लाग्यो ।

यही बेला उनी पर्वतस्थित मामाघर गइन् । त्यहाँ सामान्य शोध गरिन् र ग्रान्ट पाएपछि उपन्यास  लेख्न बसिन् । लेख्दै जाँदा अंग्रेजी जान्नु र पढिने उपन्यास लेख्नु धेरै फरक रहेछ भन्ने बुझिन् । लेख्दै गएपछि कलेजले जे कुरा सुझायो, त्यसबाट थाहा पाइन्– उपन्यास लेख्नु सजिलो रहेनछ । पात्र र परिवेशका हरेक ससाना कुराहरु पनि गहिरो शोधखोज र अनुसन्धान गर्नुपर्ने रहेछ । यसअघि उपन्यास लेख्न ‘रिसर्च’ गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन ।

उनी काठमाडौंमा जन्मे हुर्केकी, गाउँ त चिनेकै थिइनन् । दशैंमा वा कुनै छुट्टीमा केही दिन मावली गाउँ बसेका भरमा उपन्यासमा गाउँले परिवेशको गहिराई आउँदैनथ्यो । जसोतसो ग्रान्टको नियम र शर्तअनुसार उपन्यास तयार पारेर दिइन् तर उनका प्राध्यापकहरुले धेरै मिहिनेत गर्नुपर्ने महसूस गराइदिए ।

‘हाम्रो यहाँजस्तो तैंले लेखेर खान सक्तिनस् भनेर हिम्मत तोडिदैन,’ उनले नागरिकसँग ह्वाट्सएपमा सुनाइन्, ‘के गर्दा लेखन या कथामा सुधार आउँछ भन्ने उपाय सुझाइन्छ र त्यो गर्न मिहिनेतबाहेक अरु केही काम नलाग्ने महसूस गराइन्छ ।’

अहिले बजारमा आएको ‘कान्छी’को मूल कथा त्यहीबेला लेखिएको उपन्यास हो । ‘तर त्यो बेलाको ‘कान्छी’ र अहिले छापिएको कान्छीबीच धेरै फरक छ,’ वीना भन्छिन्, ‘गाउँले परिवेश उही भए पनि पात्र र कथा, तिनको मझाइ निकै धेरै छ ।’

अमेरिकाबाट ‘कान्छी’को पहिलो ड्राफ्ट र छापिने लेखक बन्ने हुटहुटीले उनी नेपाल आइन् । यहाँ उनले हिमाल साउथ एसियनमार्फत पत्रकारिताका क्षेत्रमा काम गर्न थालिन् । पत्रकारिता गर्दा उनलाई लेखाइ मोह त माथ्र्यो तर उपन्यास प्रकाशन गर्ने बाटो खुलिरहेको थिएन ।  

कलेजमा पढ्दा उनका प्राध्यापकहरुले भन्थे, ‘तिमी साँच्चिकै लेखक बन्ने हो भने गरिवीबाट नडराउनू । किनभने, लेखेर कोही पनि धनी बनेको छैन । लेखेरै धनी हुनु दुर्लभ घटना हो । लेखक हुनका लागि पूर्णकालीन रुपमा लेख्न जरुरी छ ।’

तापनि भनेजस्तो सजिलो छैन । धनी बन्ने सपना नभए पनि जीवन गुजारा त गर्नै प¥यो । पूर्णकालीन रुपमा लेख्न नसक्दा वीनाको मन भाँडिएर कहिलेकानून पढ्न नेपाल ल क्याम्पस भर्ना भइन् त कहिले लोकसेवा परीक्षा दिन फर्म भरिन् । यसैबीच स्टानफोर्डको स्नातक र यहाँको स्नातकको इक्युभ्यालेन्ट गर्न पनि धेरै दुःख पाएको उनले स्मरण गरिन् । पछि त उनले प्रमाणपत्र नै लिइनन् ।  

काठमाडौंमा पत्रकारिता गर्दा रमाइला दिन थिए । त्यसैले उनले काठमाडौं पोस्ट पत्रिकामाकाम गर्दाकादुई वर्ष उपन्यासको एक  अक्षर पनि लेखिनन् । तर भित्रभित्र उनलाई अक्षरहरुले सधैं तनाव दिइरहन्थे । उनले अमेरिकामै छँदा बरु आफू गरीव नै हुने तर लेखक बन्ने लिएको कसमले दुःख दिइरह्यो ।

काठमाडौं पोस्ट पत्रिका उनले लेखक बन्नलाई नै एक महिना बिदा लिएर काम छाडिन् । यसैबीच २०७२  सालको भूकम्प गयो । नेपालमा अन्योलका बीच उनी अमेरिकाको कर्नेल युनिभर्सिटीमा क्रिएटिभ राइटिङमा एमएफए पढ्न गइन् ।

अमेरिकामा सिर्जनात्मक लेखन पढ्ने, मास्टर्स इन फाइनआर्ट तथा पिएचडी  गर्ने, आफू पनि लेख्ने र कलेज वा युनिमा लेख्न सिकाउनेहरुको सूचीमा वीना पनि थपिइन् । त्यसयता उनले केही समय अरुलाई पनि पढाउने र आफू पनि पढ्ने गर्दै लेख्ने समय निकालिन् ।

सिर्जनात्मक लेखन पढाएकी  हुनाले नागरिकले उनलाई सोध्यो, ‘मान्छे जन्मदै लेखक हुन्छ कि उसलाई लेख्न सिकाउन सकिन्छ ?’

वीना भन्छिन्, ‘लेख्ने कीरा चाहिँ जन्मदै हुनुपर्छ या भनौं बाल्यकालको परिस्थितिले लेखक बनाउँछ तर समयक्रममा त्यो कीरा मर्न सक्छ । त्यसलाई मर्न नदिन क्रिएटिभ राइटिङ पढ्दा सहयोग पुग्न सक्छ  । युवावस्थामा लेख्ने हुटहुटी मर्न नदिन नै वास्तवमा यस्ता क्रिएटिभ राइटिङ पढ्नुपर्ने या क्रिएटिभ राइटिङ समुदाय खोज्नुपर्ने रहेछ ।’

उनको धारणामा लेख्न सिकिदैन । लेख्ने प्रतिभा छ भन्ने थाहा पाएपछि प्राध्यापकहरुले आफ्ना विद्यार्थीलाई उत्साही बनाइरहनु पर्छ । युवाहरुले समयमै क्रिएटिभ राइटिङ पढे भने प्राध्यापकहरु र क्रिएटिभ राइटिङसमुदायबाट पाइने निरन्तर प्रोत्साहनले लेख्ने बानी नछुट्ने वीनाको धारणा छ ।

उनी भन्छिन्, ‘हरेक दिन लेख्ने बानी गर्नुपर्छ । कुलतको हदसम्म लेख्ने बानी भएपछि र लेख्न अनुभवी भएपछि भोलि लेखूँला भन्ने बहाना हुँदैन र लेख्नबाट केहीले÷कसैले छेक्न सक्दैन ।’

पछिल्लो समय क्रिएटिभ राइटिङ पढ्नेहरुलाईकेही विश्वविद्यालयले थोरै रकम दिन्छन् । त्यही रकम लिएर विद्यार्थीहरु लेख्न बस्छन् । वीनाको धारणामा, ‘त्यो रकमले रोजीरोटीकोे संघर्ष गरिरहेकाहरुलाई ठूलो सहयोग गर्छ ।’

अमेरिकामा कोभिड १९ को बन्दाबन्दीका बेलामा उनको भर्खर बिहे भएको थियो । त्यो बेला अन्तकतै काम पनि थिएन । उनले आफ्नो लेखनलाई निरन्तरता दिइरहिन् । यही बीचमा उनलाई उपन्यास तयार भयो भन्ने लागेपछि उनले १०÷१५ जना एजेन्टलाई आफ्नो उपन्यास पठाइन् । ती मध्ये एक एजेन्ट थिए, कनिष्क गुप्ता । उनले उपन्यासको सम्भावना देखेपछि विभिन्न प्रकाशककहाँ पठाए र दक्षिण एसिया, मलेसिया र सिंगापुरमा प्रकाशन गर्ने अधिकार ह्याचेट इन्डियालाई बेचे ।  

यसपछि किताब गएको मार्चमा सम्पादनप्रक्रियामा गयो र सेप्टेम्बरमा बजारमा आइहाल्यो । यो किताब लेख्न उनलाई एक दशकभन्दा बढी लागेको थियो । सम्पादककहाँ पुग्दा लगभग पूर्ण उपन्यास नै थियो ।  

क्रिएटिभ राइटिङ पढ्दा उनले बुझेको कुरा चाहिँ, ठूला प्रकाशकले सिधै लेखकलाई भेट्दैनन् । उनीहरु एजेन्टमार्फत काम गर्छन् । साना प्रकाशकहरुलाई भने लेखकले सिधै सम्पर्क गर्न सक्छन् ।

संसारभर नै दुई किसिमका आख्यान लेखिन्छन् । एउटा लोकप्रिय आख्यान र अर्को चाहिँ साहित्यिक आख्यान । झुक्किएर मात्र साहित्यिक आख्यान लोकप्रिय बन्न पुग्छन् । त्यसैले साहित्यिक आख्यानका लेखकहरु लोकप्रिय हुने चाहना राख्दैनन् । त्यही हिसाबले उनीहरुलाई तालीम दिइएको हुन्छ । अहिले उनको उपन्यासको चर्चा नेपालमा भइरहेको छ भने भारतका प्रख्यात पत्रिकाहरुले समालोचना गरिरहेका छन् । यसमा उनी सन्तुष्ट छिन् ।

अहिले उनी अर्को उपन्यासमाथि काम गरिरहेकी छन् तर ‘कान्छी’कै प्रचारमा पनि लागिरहेकी छन् ।‘कान्छी’ उपन्यास भने पहाडकीकान्छी नामक पात्रले गरेको संघर्षको कथा हो । छोरी हुनुको दुःख र तिनका सानाठूला दुःख र सपना उपन्यासको मूलकथा हो । माओवादी द्वन्द्वको पृष्ठभूमिर उनकी आमाका  संघर्षलाई पाठकले रुचाउलान् भन्ने वीनाको अपेक्षा छ ।

‘आफूजस्ता पाठकका लागि मैले यो लेखेकी हुँ,’ वीना भन्छिन्, ‘नेपाली पाठकलाई नै दिमागमा राखेर लेखिएको उपन्यास भएकाले पाठकले रुचाउलान् कि ?’

नेपाल मात्र होइन, संसारभर नै पठन संस्कृति घट्दै गइरहेकोमा चिन्ता छ तर उनलाई भने त्यसको चिन्ता छैन । उनी भन्छिन्, ‘हाम्रो पालामा भन्दा अहिलेका नयाँ पुस्तालाई पढ्न सजिलो छ । किताब खोज्दै हिँड्ने दुःख कम गर्नुपर्छ । नेपालमा पहिलेको तुलनामा अंग्रेजी उपन्यास पढ्ने संस्कृति पनि अझ बढेको छ । त्यसैले मेरो उपन्यास पनि खोज्लान् नि, हैन ?’

कुनै बेला आफू विद्यार्थी छँदा विदेशी कथामा सधैँ आफ्नो गाउँघरका कथा खोज्थिन् । धेरै पछि मात्र उनले जब अरुन्धती रोयको ‘गड अफ स्मल थिङ्स’ पढिन्, त्यसबेला मात्र यो त हाम्रैजस्तो कथा रहेछ भन्ने लागेको थियो । नेपालको कथा अंग्रेजीमा लेख्यो भने जसरी आफूलाई रोय पढ्दा खुशी लागेको थियो, आफ्नो उपन्यास पढ्दा उसरी नै कुनै नेपाली पाठक खुशी होला भन्ने उनको अपेक्षा छ ।

‘मात्र ती पाठकसम्म कसरी पुग्ने हो भन्ने चिन्ता छ,’ उनी आफ्नो जायज चिन्ता सुनाउँछिन् ।

उनले यही मेसोमा मञ्जुश्री थापा, नारायण वाग्ले र बुद्धिसागरलाई धन्यवाद दिन बिर्सिनन् । उनले भनिन्, ‘पहिलो किताब निस्किरहेको छ, यस्तोमा आफूभन्दा पहिले नै उपन्यास लेखेर चर्चामा आएका लेखकले सानो टिप्पणी लेखिदिए कति जाती हुन्थ्यो भन्ने सोचेर उहाँहरुलाई केही लेख्न अनुरोध गरेँ । नभन्दै छोटो समयमै उहाँहरुको टिप्पणी आइहाल्यो ।’

मन परेका लेखकबाट सानो ब्लर्ब पाउँदा उनी खुशी भइन् । अर्को वर्ष नेपाल आउँदा भेटेरै धन्यवाद दिन मन छ उनलाई । नेपाल आउँदा एउटा लेखकका रुपमा पाठक जन्माउने उद्देश्यसमेत रहेको उनी बताउँछिन् ।

प्रकाशित: २२ पुस २०८१ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App