कोरोना महामारी सुरु हुनुअघि ७० वर्षे बुद्धिराम पौडेल क्यान्सरले थलिए। उनले छोरालाई भने, ‘माइला ! परिवारमा सबैको राम्रो बन्दोबस्त भयो, तेरोचाहिँ हुन सकेन। तेरो राम्रो बन्दोबस्त भएको हेर्ने रहर थियो।’ माइला छोरा सरोज पौडेललाई त्यो कुराले यति छोयो कि उनले बाल्यकालदेखि बुवा बुद्धिरामले आफ्ना सन्तानका लागि गरेका अनेक दुःख सम्झिए। उनी बुवाका कुरामा दुःखी त भए तर सम्झने र भक्कानिने ठाउँ भने उति पाएनन्। उनी जीवनमा जुन क्षेत्रमा लागिरहेका थिए, त्यसबाट सफलता हात परिरहेको थिएन । बुवाका लागि मात्र भए पनि एउटा हिट फिल्म देखाउने उनको इच्छा थियो।
फिल्म क्षेत्रमा एक दशकदेखि संघर्ष गरिरहेका सरोजले हरेक बुवाले छोराछोरीप्रति राख्ने भावनालाई समर्पित गरेर एउटा कथा लेखे। कथामा बुवाले सन्तानप्रति देखेको सपना र त्यसका लागि गरेको संघर्ष समेटिएको थियो। उक्त कथा बोकेर उनले फिल्म निर्माताहरूका अफिस चहारे। केहीले कथा रुचाए तर ‘पैसा कमाउने’ मसला फेला पारेनन्। पछि सेभेन सिजका विनोद पौडेल र प्याट्रिक सुवेदी भने लगानी गर्न तयार भए। पटकथा र संवाद लेखनमा महेश दवाडी थपिए। फिल्म बनेर जब लक्ष्मीपूजाका दिन रिलिज भयो तब त्यसले एकपछि अर्को कीर्तिमान कायम गर्यो।
यतिबेला यो फिल्मले संसारभर ६० करोड रूपैयाँ हाराहारीको व्यापार गरिसकेको छ। नेपालभित्र ३० करोड र बाहिर २९ करोड रूपैयाँ कमाउने यो पहिलो फिल्म बन्न पुगेको छ। ‘मैले त बाउ–छोराको एउटा सामान्य कथा भनेको हुँ, दर्शकको मन छोएछ,’ फिल्मको सफलताप्रति आश्चर्य व्यक्त गर्दै निर्देशक सरोजले भने, ‘यो तहको सफलताबारे मैले त सपनामा पनि सोचेको थिइनँ।’
हुन पनि यसअघि उनले नै निर्देशन गरेको फिल्म ‘वेल कम टु हेम्जाकोट’ले बजारमा खासै चमत्कार गर्न सकेन। तर चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०८० मा सो फिल्मले उत्कृष्ट नेपाली फिल्मको अवार्ड भने जित्यो। गाउँ फर्कनुपर्छ भन्ने सन्देश बोकेको सो फिल्मले अवार्ड हात पारेपछि भने सरोजलाई आफूले सिनेमा बनाउन जानेको रहेछु भनेर आत्मविश्वास दिलायो। त्यही आत्मविश्वासका साथ ‘पूर्णबहादुरको सारंगी’को कथा बोक्दै उनी निर्माताहरूको अफिस दौडिरहेका थिए।
फिल्म रिलिजसँगै जब त्यसले आक्रामक व्यापार गर्न थाल्यो, केहीले उपन्यासको विषय चोरेको आरोप लगाए त केहीले फिल्मको कथानक चोरी भएको बात लगाए। पौडेल भन्छन्, ‘मैले न त यस्तो विषयवस्तुमाथिको उपन्यास पढेको छु न त कसैले भनेजस्तै कथा उडाएको छु। मैले त मेरो बुवाको सपना खोज्ने क्रममा दलित पृष्ठभूमिको कथा राख्दा ठीक होला भनेर सोचेको हुँ।’
यसअघि ‘संग्रामपुर’का उपन्यासकार डा. शिवशंकर बस्याल र फिल्ममेकर अजित लामिछानेले आफ्नो कथा चोरी भएको फेसबुकमार्फत आरोप लगाएका थिए। दुवैलाई फिल्मका निर्माता विनोद पौडेलले कपिराइट दाबी गर्न आग्रह गरेका थिए। फिल्मको स्क्रिप्टिङदेखि बसेको हुनाले अरूका सिर्जना चोरी हुनै नसक्ने उनले दाबी गरेका थिए।
निर्देशक पौडेलले पनि यी सबै कुरा नेपालीको आम समस्या भएकाले सबैले यही रूपमा सोच्ने बताउँछन्। अझ केही दलित अध्येता र अभियन्ताहरूले त यो फिल्म गन्धर्वहरूमाथि बनाइएको भए पनि उनीहरूको खास समस्या र जीवन नबुझी पटकथा तयार पारिएको समेत टिप्पणी गरेका छन्। आफूले पनि फिल्मका पात्र दलित भए पनि बाबुछोराको सम्बन्धलाई देखाउन खोजेको बताउँछन्।
स्कुल पढ्दादेखि नै पठनपाठनभन्दा अतिरिक्त क्रियाकलापमा रमाउने सरोजले फिल्म उद्योगमै केही गर्ने उद्देश्य लिएका थिए। भारतको बैंगलोरमा सामान्य फिल्ममेकिङको अध्ययनपछि उतै विज्ञापन एजेन्सीका लागि छोटा फिल्म बनाउँदाबनाउँदै नेपालमै केही गर्ने उद्देश्यले उनी फर्किएका थिए। २०८० जेठमा रिलिज भएको ‘वेलकम टु हेम्जाकोट’ फिल्म फ्लप भएको दुई वर्ष बेरोजगार हुँदा ‘पूर्णबहादुरको सारंगी’माथि काम गर्ने पर्याप्त समय पाएको उनी बताउँछन्।
फिल्मको सफलताप्रति उनी भन्छन्, ‘यो फिल्म सर्वोत्कृष्ट होइन तर दर्शकले बनाइदिनुभयो। प्राविधिक रूपमा भन्दा पनि यो भावनात्मक रूपमा बनाइएको फिल्म भएकाले दर्शकले रुचाएको हुन सक्छ।’
सुरुमा त फिल्मले व्यावसायिक सफलतामा निर्माताहरू पनि विश्वस्त थिएनन्। त्यसैले कुनै फिल्म फेस्टिभलमा देखाउने सोच थियो। ओखलढुंगाको रुम्जाटारमा ४८ दिनको सुटिङपछि सामान्य सम्पादन हेर्दा फिल्मले व्यावसायिक चर्चा बटुल्ने विश्वास हुन थालेपछि सोचेभन्दा चाँडै रिलिज गरिएको निर्देशक पौडेल बताउँछन्। फिल्मको बजेट डेढ करोड रहेको उनको दाबी छ।
पछिल्लो समय नेपाली फिल्मको बजार बढ्दै गएकाले लगानीकर्ताहरू दिल खोलेर खर्च गरिहेका छन्। पछिल्लो समय मीन भामको ‘शाम्बाला’ र दीपेन्द्र के. खनालको ‘मेयर’ फिल्मको बजेट कम्तीमा पाँच करोड रूपैयाँ देखिन्छ। बजारले त्यत्तिको लगानी उठाउँछ भन्ने विश्वासका साथ लगानी हुन थालेको हो। यसअघि सामान्यतः फिल्मको बजेट एक करोड हाराहारीमा हुने गथ्र्यो। यही फिल्म पनि कम बजेटमा सक्ने चटारो निर्देशक पौडेललाई थियो तर पछि पात्र र परिवेश थपिँदै जाँदा बजेट पनि बढेको बताउँछन्। फिल्म सफल त भयो तर यो सफलता हेर्न सरोजका बुवा छैनन्।
उनी भन्छन्, ‘आमाले केही दिनअघि फोन गरेर बोलाउनुभएको छ, सफलताको अबिर लगाइदिन्छु भनिरहनुभएको छ। दर्शकसँगै एउटा फिल्ममेकरका रूपमा बुवाआमाको नजरमा म बल्ल पास भएकोमा मलाई खुसी लागेको छ।’
प्रकाशित: २ मंसिर २०८१ ०५:३३ आइतबार