कला

यहाँ पुज्दा पुज्दैको भगवान् हराउँछ!

मुक्तक

१) मुक्तक

फोस्रो आडम्बर र तामझाम केका लागि

अनेक खुराफात  र छलछाम केका लागि

घर नै पवित्र मन्दिर हो, बाआमा भगवान्

र पनि दर्शनार्थ मन्दिर र चारधाम केका लागि!

२) मुक्तक

हरेक दिन आँगनमा, नयाँ अखबार आउँछ

सधैँ फूल लुटिएको दु:खद् समाचार आउँछ

अहँ, कुनै रात ढुक्कसँग निदाउन सकिएन

सपनामा तर्साउन, डरलाग्दो अनुहार आउँछ।

३) मुक्तक

अनेकथरी जिम्मेवारी काँधमा फसेको छ

बग्नुपर्ने नदी पनि बाँधमा फसेको छ

फूल जस्तै बाँच्नुपर्ने सुन्दर जीवन पनि

मर्ने र बाँच्नेको दोसाँधमा फसेको छ।

४) मुक्तक

फूल फुलेपछि हो आँगन रमझम हुने

अभाव नै रहेछ गरिबसँग हरदम हुने

सोच्दैछु पर्खिन मात्र गाह्रो छ समयलाई

अँध्यारामै त हो जून पनि अनुपम हुने।

५) मुक्तक

घाउ दुखेपछि मलम किन्दा हजारको नोट सकियो

सोच्थेँ यति भएपछि अब प्रहारको चोट सकियो

चहलपहल छ यतिबेला जङ्गलमा बाघ र सिंहको

सोच्दै छु,चुनावमा यो पटक बजारको भोट सकियो।

६) मुक्तक

नदी र किनाराबीच साँच्चै असामान्य प्रीत हुन्छ

नदी बगिरहन्छ बगेन भने नियमित विपरीत हुन्छ

सतही आँखाले कहाँ देखिन्छ हृदयको घाउ

जूनको आँसु पनि भुइँमा झरेपछि शीत हुन्छ।

७) मुक्तक

कोही आहा भन्छन् कोही जल्ने गरेका छन्

प्रगतिमा ईर्ष्यालु आँखा बल्ने गरेका छन् 

हात्तीको बुई चढी भ्यागुताको ट्वार्ट्वार सुन्दा

देउता पनि बेहोस भई ढल्ने गरेका छन्।

८) मुक्तक

जब समस्याको समाधान हराउँछ

ओठमा फक्रिएको मुस्कान हराउँछ

भक्तहरू बेइमान भई दिएपछि यस्तै हो

यहाँ पुज्दा पुज्दैको भगवान् हराउँछ।

९) मुक्तक

कागको  बथानमा बकुल्लाको खिलाप हुन्छ

साझा स्वार्थ भएसम्म मेल अनि मिलाप हुन्छ

कहिलेकाहीँ औँला दिंदा हातै निल्न खोजेपछि

लोभले लाभ अनि लाभले बिलाप  हुन्छ।

१०) मुक्तक

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ

मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ

सपनामा के देख्यौ भनेर नसोध्नू मलाई

सपना देख्न त निद्रा पो लाग्नुपर्ने रहेछ।

प्रकाशित: २७ कार्तिक २०८१ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App