नेपाली सुगम संगीतका जादूगरी स्वरकी धनी मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक भएको छ। गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज तथा लुमन स्थापितको रेकर्डिङ छ। गीतको भिडियो डिजाइन र सम्पादन संजीतकुमार घिसिङले गरेका हुन्।
गीतकार खड्काले दिवंगत आमा अप्सराको वार्षिकीको छेको पारेर आमाकै सम्झनामा गीत तयार पारेका हुन्। गीतको भिडियो लिरिकल शैलीमा तयार पारिएको छ। गीतमा गायिका मेनुका, गीतकार मनोज र संगीतकार कल्याण समेटिएका छन्। भिडियोमा गीत रेकर्ड गर्दाको क्लिपहरू राखिएका छन्।
नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालले आयोजना गरेको कार्यक्रममा गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालले गीत सार्वजनिक गरेका थिए। कार्यक्रममा वरिष्ठ गीतकार रिजालले खड्काको गीति लेखनको प्रशंसा गर्दै थप सिर्जनाको अपेक्षा गरेको बताए।
वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले ‘तेजस्वी अप्सरा’ शब्द, संगीत र स्वरको संगमले सिंगारिएको गीत रहेको बताए। वरिष्ठ गीतकार एसपी कोइरालाले यो गीतले साहित्य, समाज र संस्कृतिलाई जोडेको उल्लेख गरे। भारतमा रहेकी गायिका मेनुकाले अडियो सन्देश पठाउँदै एउटा राम्रो शब्दमा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन्।
गीतका गीतकार खड्काले आत्मीय व्यक्ति गुमाउँदाको पीडाको भावलाई समेटेर ‘तेजस्वी अप्सरा’ लेखिएको बताए। ‘यो गीत मेरा लागि शब्द र मेलोडी मात्र भन्दा पनि पिस अफ हार्ट हो। आमा गुमाउँदाको पीडालाई गीतमा उतार्न प्रयास गरेको छु। आफ्ना आत्मीयजन गुमाएका श्रोता दर्शकले यो गीतको थप गहिराइ महसुस गर्न सक्नुहुन्छ’, उनले भने। उनले आफूले गीत लेख्दा पीडा र ऊर्जालाई सन्तुलनमा राख्ने कोसिस गरेको बताए।
गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएडको मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन्। विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रही नेपाल लगायत विभिन्न देशहरूको कार्य अनुभव बटुलेका खड्काले विशेष गरेर सम्बन्धका पाटाहरू, प्रेरणाका स्रोतहरू, वैदेशिक रोजगार जस्ता समाजका आयामहरूलाई मिहीन ढंगले गीतमा उतार्ने गरेका छन्।
दर्जन हाराहारीमा गीत रेकर्ड गराइसकेका गीतकार खड्काको रामकृष्ण ढकालको स्वरमा रहेको ‘गाउँघरले सोध्यो परदेशीलाई’, र प्रमोद खरेल तथा डा. त्रिशला गुरुको युगल स्वरमा रहेको ‘तिमी जे बन उदाहरण बन’ चर्चामा छन्।
प्रकाशित: १६ कार्तिक २०८१ १३:०९ शुक्रबार