कला

एक सय साेह्राैं देवकोटा जयन्तीमा गुञ्जिए कविता

‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले

डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले।।।’

कवि रामचन्द्र शर्मा एक सय साेह्राैं देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत भए। बागलुङको विद्यामन्दिर पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पारेर आयोजना गरेको प्रतियोगितात्मक कविता गोष्ठी एवं परिचर्चा कार्यक्रममा उनीसहित दर्जनजति कविका कविता गुञ्जिए। शर्माले छन्दमा लखेको उक्त कविताले प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्‍याे।

कवि गोविन्द सुवेदीले अनुष्टुप छन्दको कविता ‘सुन्दरी कृष्णागण्डकी’ वाचन गरे। छन्दोबद्ध शैलीमा उनले सुनाएको कविताले दशर्कदीर्घा मुग्ध देखिन्थे। हिमालय क्षेत्र भएर बहने पवित्र कृष्णागण्डकी नदीको महिमाबारे कवि सुवेदीले कविताका सुललित पङ्क्ति यसरी प्रस्तुत गरे।

‘बग्छिन्, चेली हिमाली यी

नाम काली पुकारियो

खेग्दै गिरि शिलासाथ

हिँड्ने बानी छँदै थियो

दरौँदी र त्रिशुलीका प्रवाह

यिनका सखी

कल्याणी हुन् यी सबैकी

सुन्दरी कृष्णागण्डकी।।।”

कवि सुवेदीको उक्त कविताले प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्‍याे। कवि मुकेशचन्द्र राजभण्डारीले इजरायल र हमास बिचको द्वन्द्वबाट निम्तिएको मानवीय सङ्कटलाई कवितामार्फत अभिव्यक्त गरे। ‘प्लालेस्टाइनी जनताको नाममा’ शीर्षकको कवितामा उनले न्याय, मुक्ति र स्वाधिनताका पक्षमा आफूलाई उभ्याए। कवि यामनाथ आचार्यले ‘प्रकृति’ शीर्षकको कविता गोष्ठीमा पाठ गरे।

‘आहा रमणीय प्रकृति देखियो शोभायमान अति

नाचेका मयुर डाँफे मुनाल गीत गाउँदै कति हो कति

हिमचुली दखियो सफा अनि सेतै टल्क्यो बिहानी बेला

झुल्को किरणको पर्यो हिमालमा मोती भए पहेँला।।।’

आचार्यका कविताका हरफ हुन् यी। उनको कविताले तृतीय स्थान हासिल गर्‍याे। गोष्ठीमा कवि चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, विजय राना, पुष्पिका सुवेदी लगायतले कविता वाचन गरेका थिए। स्रष्टाहरूले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए। केही अप्रतियोगी रचनासमेत प्रस्तुत गरिएका थिए।

कुनै सिर्जना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित थिए। भिन्दा भिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे। रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहीवाही पाए। धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रूपमा चित्रित गरे।

पाण्डेयले बहुआयमिक प्रतिभाका धनी देवकोटा जत्तिको व्यक्तित्व न पहिले रहेको र भविष्यमा पनि पाउन मुस्किल हुने उल्लेख गरे। वरिष्ठ साहित्यकार प्रेम छोटाले विभिन्न विधामा अमर कृति दिएर देवकोटाले नेपाली साहित्यलाई समृद्ध तुल्याएको बताए। संस्कृतका छन्द, लयात्मकता, झ्याउरे लोकगीत र क्रान्तिकारिताजस्ता विशेषताका कारण देवकोटाका सृजना सशक्त रहेको उनको भनाइ छ।

नेपाली जनजीवनका भोगाइलाई सरल र मिठासपूर्ण शैलीमा सम्प्रेषण गर्ने खुबीका कारण देवकोटा सर्वप्रिय बनेको छोटाले बताए। बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले महाकवि देवकोटा लगायत विशिष्ट साहित्यिक प्रतिभाहरूको जन्मजयन्ती मनाएर पुस्तकालयले सरहानीय कार्य गरेको बताए।

देवकोटा जयन्ती संयोजक समितिका संयोजक काजी रोशनले पुस्तकालयले साहित्यकाहरूका जयन्ती नियमित रूपमा मनाउँदै आएको बताए।

प्रतियोगिता कविता गोष्ठीका विजेता सर्जकलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताए। पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ। विसं २००३ मा स्थापना भएको विद्यामन्दिर पुस्तकालयले स्थापनाको सुरुदेखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ। विसं २०६२ मा देवकोटा जयन्ती संयोजन समिति नै बनाएर यस जयन्तीलाई अझ व्यवस्थित रूपमा मनाउन सुरु गरिएको हो।

 -रासस

प्रकाशित: १६ कार्तिक २०८१ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App