१) गजल
धेरैले मानेको राम बिग्रिएछ।
धेरैले जानेको नाम बिग्रिएछ।
दिउँसै रात पर्न लागेर हो कि,
धेरैले तापेको घाम बिग्रिएछ।
जो आशलाग्दो, उही जेठाजु पर्यो
हुन्छ भन्ठानेको काम बिग्रिएछ।
घरी दाह्रा किट्छन्, घरी पाउ पर्छन्
उज्यालो खोज्नेको लाम बिग्रिएछ।
कसको भर पर्नु र यहाँ ए बरै!
मायालु राधाको श्याम बिग्रिएछ।
२) गजल
‘थोत्रो राजा फाल्दियौ’ भन्थे, आफैं लाउँदै छन् हलीहरू।
हलो अड्काएर गोरु कुट्दै पप् गाउँदै छन् हलीहरू।
वर्षौंदेखि भोकतीर्खा आँसु पिउँदै बाँच्नेहरूलाई,
मनको लड्डु पो घिउसित खुवाउँदै छन् हलीहरू।
आकर्षक घोषणापत्रको सुटबुट पहिरिएर
अकर्मण्यको सुके लुतो कन्याउँदै छन् हलीहरू।
जुन जोगी आए पनि लौ, कानै चिरिएका पो रहेछन्,
दिनदिनै बिग्रिएर उग्रै गन्हाउँदै छन् हलीहरू।
शहीदहरूका सपनालाई शिशासरी फुटाएर
हाँडीगाउँको जात्रा सधैं मनाउँदै छन् हलीहरू।
३) गजल
जिन्दगीमा रहर पनि जहर हुँदोरैछ।
त्यै जहर पिउँदै बाँच्ने रहर हुँदोरैछ।
मुखमा ‘हरेराम्’ बगलीमा छुरा भएपछि
अभागीलाई कृपा पनि कहर हुँदोरैछ।
बोल्नेकै पिठो बिक्छ, जताततै जहिलै पनि
अधर्मीलाई न्याय मिल्ने ‘ठहर’ हुँदोरैछ।
दाइ गर्न खनखाँचो भएपछि के लाग्यो र!
बेलामौका बोको पनि पो बहर हुँदोरैछ।
जो आशलाग्दो उही जेठाजु परिदिएपछि
सागर पनि खुम्चिएर नहर हुँदोरैछ।
४) गजल
नपत्याउने खोलाले बगाएको देखियो।
डरपोकले मसान जगाएको देखियो।
अर्मको पर्म,पालाको पैँचो तिरेको हो कि!
रामचन्द्रले मन्दोदरी भगाएको देखियो।
एकतमासको चाकरीले झ्याउ लागेर
हनुमानले रावणलाई सघाएको देखियो।
ईर्ष्याको गुराँस फुल्छ, कुण्ठाको मरीच फल्छ
अहङ्कारको फसल पनि लगाएको देखियो।
बतुरे व्याधीले डाक्टर-वैद्य नै थला परे
अन्तबाटै धामीझाँक्री मगाएको देखियो।
५) गजल
अझै केके हुने हो, हेर्न बाँकी छ।
गिद्धहरूले घिचेको छेर्न बाँकी छ।
न्यायको नौसिङले घोचेरै मार्यो,
असत्तीको निर्णय केर्न बाँकी छ।
छाडा साँढेहरूले बाली स्वाहा पारे
कान्जीघर् मा हुलेर घेर्न बाँकी छ।
सधैंको उही, गन्हाएर उत्पात् भो!
नेतारूपी डाइपर् फेर्न बाँकी छ।
कसैलाई दशैं, कसैलाई दशा,
प्रारब्धको आदेश टेर्न बाँकी छ।
प्रकाशित: २१ आश्विन २०८१ १०:२० सोमबार