कला

म हर्ष मनाउँ कि बिस्मात, सुनको भाउ घटेको बेला!

मुक्तक

१) मुक्तक

चिरा परेको छ यो मन, बाहिर खुशी झल्किए पनि

धुवाँ बाहिर देखिन्न कतै, भित्र मन सल्किए पनि

पारखी मन पो चाहिन्छ, हीरा र कीरा चिन्नलाई

यो मन जस्तो त्यो मन छैन जतिसुकै टल्किए पनि।

२) मुक्तक

सुख थोरै दुख धेरै, जीवनमा चाखेको छु मैले

देऊ अझै अरू दुख, देउता भाकेको छु मैले

सबै भोगी सिद्ध्याए जिउनुको अर्थ रहन्न

बाँच्नलाई केही दुख अझै साँचेको छु मैले।

३) मुक्तक

आफूले चाहेको जस्तो संसार बदलिने भए

बोलेको कुरा जस्तो विचार बदलिने भए

कति धेरै चेहराहरू नाङ्गिन्थे होलान् यहाँ

मन बदलिएको जस्तो अनुहार बदलिने भए।

४) मुक्तक

सत्कर्म गर्ने चाहना सब मन पवित्रबाट उठोस्

भलो गर्ने भावना अन्तस्करण भित्रबाट उठोस् 

अग्लो त छायाँ पनि हुन्छ, मनले ठूलो हुनू

बास्ना तिम्रो शरीर होइन, चरित्रबाट उठोस्।

५) मुक्तक

अमृत किन चाहियो निरोगी काया भए पुग्छ

अँध्यारोमा साथ दिने आफ्नै छायाँ भए पुग्छ

हजार बाटो पनि कम लाग्ला छोडेर जानेलाई

साथ नछोड्नेलाई यहाँ एउटै माया भए पुग्छ।

६) मुक्तक

आफ्नो पराया छुट्टिन्छ खूनको भाउ घटेको बेला

म हर्ष मनाउँ कि बिस्मात, सुनको भाउ घटेको बेला

महँगीको नाममा सधैं एकछाके बस्नुपर्छ गरीबले

पेटभरि खान्थ्यो कि बरु नूनको भाउ घटेको बेला।

७) मुक्तक

मतलबी छौं हामी सबै यो सारा जगत स्वार्थी छ

पूजाले मात्रै प्रसन्न हुने देउतै फगत स्वार्थी छ

लिएको सास नछोडेसम्म पाइन्न अर्को सास पनि

कति अनौठो आफ्नै हाड, मासु, रगत स्वार्थी छ।

८) मुक्तक

धेरै विन्ती गरें काललाई मान्छ कि भनेर

मलाई पनि बरु आफूसँगै लान्छ कि भनेर

तिमीलाई जस्तै धेरै माया गरें दुखलाई पनि

तिमीले जस्तै मलाई छोडी जान्छ कि भनेर।

९) मुक्तक

अरूको डाह गर्दै सिङ्गो उमेर गुजार्ने पनि देखें

अर्काको रिसले आफ्नै घर बिगार्ने पनि देखें

अनुभवकै कुरा न हो, उमेर किन बित्नुपर्‍याे

जीवन नबुझ्दै जीवनलाई सपार्ने पनि देखें।

१०) मुक्तक

आफ्नो दुनो सोझ्याउन नानाभाँतीको कुरा गर्छन्

अमान्छे हुन् ती जो धर्म जातीको कुरा गर्छन्

मुखमा राम अनि मनमा हराम राख्ने मान्छेहरू

सङ्कुचित मन लिएर चौडा छातीको कुरा गर्छन्।

प्रकाशित: १४ आश्विन २०८१ ११:५१ सोमबार