कला

साधारण मान्छे असाधारण जीवन

पुस्तक

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बहुआयामिक व्यक्तित्व हुन् भन्ने तथ्यलाई उनकै बहुआयामिक कर्म र कृतिहरूले पुष्टि गरिसकेका छन्। उनले नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा अमूल्य योगदान गरेका छन्।

जीवनको अन्तिम क्षणसम्म पनि उनी नेपाली भाषा, साहित्य र संस्कृतिबारे चिन्तनशील थिए। सादा जीवन र उच्च विचारको आदर्शलाई पछ्याएका सत्यमोहन स्वयं पनि अरू धेरैका लागि आदर्श बनेका छन्। त्यसैले उनी धेरै नेपालीको मनमा बस्न सफल भएका छन्।

सत्यमोहन जोशी शताब्दीसम्म बाँचे। एउटा साधारण मान्छे असाधारणरूपमा शताब्दीसम्म बाँच्नु र बाँचेर निरन्तर नेपाली भाषा, साहित्य र संस्कृतिका लागि आफ्नो सोच, समय र श्रमको उपयोग गरिरहनु असाधारण शक्ति र सामथ्र्यको उदाहरण हो।

 कहिल्यै नथाकी, कहिल्यै नहारी र कहिल्यै नरोकिई आफ्नो कर्ममा जुटिरहनु सत्यमोहन जोशीको दरिलो आत्मबलको परिणाम हो। ‘चिन्ता नलिनू चिन्तन गर्नू’ भन्ने उनको आफ्नै विचार र सिद्धान्तको परिणाम हो। ‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले ‘सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई सङ्घर्ष सिकाए’ भनेर लेखेका छन्।

साँच्चै नै सत्यमोहन जोशीले आफ्नो जीवनमा धेरै सङ्घर्ष गरेका छन् र धेरै सफलता पनि प्राप्त गरेका छन्। आफूले गरेको सङ्घर्षबाट अरूलाई सङ्घर्ष नै सिकाए। त्यसैले सत्यमोहन जोशी अरू धेरैका लागि प्रेरणा र आदर्श पनि बनेका छन्। सत्यमोहन जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिबारे धेरै कुरा लेखिसकेका छन्। धेरै कुरा बोलिसकेका छन्। उनीबाट धेरैले धेरै कुरा सुनिसकेका छन्।

सत्यमोहन जोशी स्वयं खुला किताबजस्तै हुन्। धेरैले पढिसकेका छन् उनलाई। उनीबारे धेरैले धेरै कुरा थाहा पनि पाइसकेका छन्। उनीबारे जान्नुपर्ने अथवा सुन्नुपर्ने नयाँ कुरा सायद छैन पनि होला। उनका वैयक्तिकदेखि सामाजिक जीवनका धेरै कुरा सार्वजनिक भइसकेका छन्। तैपनि उनीबारे जिज्ञासु पाठकका लागि थप केही नयाँ कुरा दिन सकिन्छ कि भन्ने प्रयासमा धेरैले उनका बारेमा लेख्ने प्रयास गरेका छन्।

सत्यमोहन जोशी स्वयं नै एउटा गहकिलो र ओजपूर्ण पुस्तक हुन्। उनको जीवनबाट धेरैले धेरै कुरा सिक्न सक्छन्, बुझ्न सक्छन् र जान्न सक्छन्। यस्ता मान्छेका बारेमा लेखिने र पुस्तक प्रकाशित हुने क्रम जारी नै छ। यसै क्रममा साहित्यकार एवम् पत्रकार जितेन्द्र रसिकद्वारा लिखित पुस्तक ‘सत्यको खोज’ भर्खरै प्रकाशित भएको छ।

सत्यमोहन जोशीको जन्म कहिले भयो? कहाँ भयो? कस्तो कुल र परिवारमा जन्मिए? उनको बाल्यकाल कसरी बित्यो? शिक्षादीक्षा कहाँ र कसरी प्राप्त गरे ? कतिसम्म अध्ययन गरे? उनी कस्ता विद्यार्थी थिए? पारिवारिक अवस्था कस्तो थियो ? पढाइपछि के–के गरे ? कहाँ–कहाँ जागिरे बने? नेपाली लोकसाहित्यको सङ्कलन, संरक्षण र सम्वद्र्धनमा कसरी प्रेरित भए? कसरी खरिदारबाट एकैचोटि पुरातत्व विभागको निर्देशक बने ? केका लागि उनी जन्मथलोबाट तनहुँ र लमजुङ पुगे ? किन न्युजिल्यान्ड गए ? कसरी नेपाली भाषा पढाउन चीन पुगे र अरनिकोको बारेमा अध्ययन गरे ?

केके पुस्तक लेखे ? कहिले नेपाल राजकीय राजकीय प्रज्ञा–प्रतिष्ठानको सहप्राज्ञ बने ? कुन–कुन कृतिका लागि मदन पुरस्कार पाए ? राज्यबाट केके सम्मान पाए ? कहिले र किन वाङमय शताब्दी पुरुष घोषित भए ? यी यावत विषयमा विस्तृतमा जान्नका लागि यो पुस्तकले सघाउनेछ। जीवनभर सादा जीवन र उच्च विचारको सिद्धान्तलाई अपनाएका, अत्यन्त शालीन व्यक्तित्वका रूपमा आफ्नो परिचय स्थापित गरेका र अरू धेरैका लागि अनुकरणीय र अनुशरणीय व्यक्तित्वका रूपमा चिनिएका सत्यमोहन जोशीको इतिवृत्त जान्नका लागि यो पुस्तक उपयोगी हुनेछ।

पुस्तकमा बोली र आवाज सत्यमोहन जोशीकै छ तर शब्द भने लेखक जितेन्द्र रसिकका। सत्यमोहन जोशीले बोलेकै कुरालाई लेखक रसिकले लिपिबद्धमात्रै गरेका छन्। प्रथम पुरुष शैलीमा लेखिएको यो पुस्तक पठनका क्रममा पाठकलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्वयं नै बोलिरहेझैं लाग्नेछ। आख्यानात्मक शैलीमा लेखिएको यो पुस्तक वास्तवमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी पुस्तक नै हो। यसमा उनको साङ्गोपाङ्गो जीवनकथा नै आएको छ।

पुस्तकलाई सात खण्डमा विभाजित गरिएको छ। पहिलो खण्डमा सत्यमोहन जोशीको बाल्यकाल, शैक्षिक यात्रा र सरकारी सेवामा प्रवेशबारे उल्लेख गरिएका छन्। दोस्रो खण्डमा जोशीको जन्मथलोबाट लमजुङ, न्युजिल्यान्ड र पोखरा भ्रमण गर्दाको रोचक जानकारी दिइएको छ।

काठमाडौंबाट हिँडेरै तनहुँ र लमजुङसम्म पुग्दाका रमाइला सन्दर्भहरू यस खण्डमा उल्लेख गरिएका छन्। यसैगरी न्युजिल्यान्डको ‘वैतोमो’ गुफाभित्र पस्दाका रोमाञ्चक क्षणहरूको पनि रोचक वर्णन पनि छ। पोखरास्थित ‘साहुको भ्वाङ’ नामक गुफाको नाम कसरी महेन्द्र गुफा रहन पुग्यो भन्ने रोचक कथा पनि छ।

पुस्तकको तेस्रो खण्डमा खरिदार पदमा कार्यरत सत्यमोहन जोशीलाई पुरातत्व तथा संस्कृति विभागको निर्देशक बनाइएको रमाइलो प्रसङ्गसँगसँगै तत्कालीन राजा महेन्द्रले गरेको राजनीतिक ‘कू’बारे विस्तारमा उल्लेख गरिएको छ। साथै सुगौली सन्धिपछि ब्रिटिस इन्डियाद्वारा नेपालमा पहिलापटक ब्रिटिश कूटनीतिक नियोगको स्थापना र ब्रायन हड्सन राजदूत भएर आएको सन्दर्भसँगसँगै राष्ट्रिय नाचघरको स्थापना, राष्ट्रिय नाचघरमा आगलागी आदि सन्दर्भहरूको वर्णन पनि यस खण्डमा छ।

चौथो खण्डमा ‘विश्व बौद्ध सम्मेलन र चीनमा अरनिकोको खोज’ शीर्षकमा अन्य विविध सन्दर्भहरूको वर्णन गरिएको छ। यस खण्डमा नेपालमा प्रथमपटक विश्व बौद्ध सम्मेलन गरिएको, सत्यमोहन जोशी प्रथमपटक चीन गएको, पछि नेपाली भाषा पढाउन फेरि चीन गएको र तीनपटकसम्म चीन गएको प्रसङ्गसँगसँगै अरनिकोबारे उल्लेख गरिएका छन्।

पाँचौं खण्डमा ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा मेरो यात्रा’ शीर्षकमा राजा महेन्द्रलाई साहित्यप्रेमी राजाको रूपमा सत्यमोहन जोशीले गरेको अनुभव र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान स्थापनामा राजा महेन्द्रको योगदानबारे र जोशीको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान प्रवेश, त्यहाँ बसेर उनले लोक संस्कृतिबारे गरेको अनुसन्धान, सिन्जाको यात्रा आदिबारे महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गरिएका छन्।

छैठौं खण्डमा सत्यमोहन जोशीले तीनपटक मदन पुरस्कार पाएको विषयलाई मुख्य केन्द्रविन्दुमा राखेर अरू धेरै रोचक प्रसङ्गहरू उल्लेख गरिएका छन् भने सातौं खण्डमा विविध विषयअन्तर्गत बागमती सभ्यता र जीवन, १९९० सालको भूकम्प, २०७२ सालको भूकम्प, जीवन तत्त्व र जगत् तथा सलहले आकाश ढाकेको विषयमा सत्यमोहन जोशीका विचार, अनुभव र अनुभूतिहरू प्रस्तुत गरिएका छन्।

यसैगरी सत्यमोहन जोशीले वाङ्मय शताब्दी पुरुषको उपाधि पाएको, काठमाडौं उपत्यकालाई विश्व सम्पदा सूचीमा समावेश गरिएको, उनको लामो आयुको अनुसन्धान आदि विषयमा उपयोगी जानकारीहरू दिइएका छन्। पुस्तकको अन्त्यमा सत्यमोहन जोशीको जीवनसँग सम्बन्धित विभिन्न समय र सन्दर्भमा खिँचिएका महŒवपूर्ण तस्बिरहरूका साथै सत्यमोहन जोशीको वैयक्तिक विवरण र उनका कृतिहरूको विवरण प्रस्तुत गरिएका छन्।

सिङ्गो पुस्तक सत्यमोहन जोशीको जीवनी हो। उनको जीवनभित्र धेरै सत्य कुराहरू जोडिएर आएका छन्। दुर्लभ ऐतिहासिक तथ्यहरू पनि रोचक प्रसङ्गसहित आएका छन्। भाषा, साहित्य, सङ्गीत र लोकसंस्कृतिबारे उपयोगी प्रसङ्गहरूलाई रोचक सन्दर्भहरूसँग जोडेर प्रस्तुत गरिएको यो पुस्तक अन्य खोजकहरूका लागि पनि सन्दर्भ सामग्री बन्नसक्नेछ।  

प्रकाशित: १५ भाद्र २०८१ ०९:३० शनिबार

# Muktak sangraha # Poem # Gajal