कला

एक सूर्य

लघुकथा

१) एक सूर्य

‘एउटै छोरो त छ। त्यसका लागि मैले धेरै जोरजाम गरिसकेको छु। तर म अमेरिका आउँदा रित्तो आएको थिएँ।’ ऊ आफ्नो बखान गर्दै थियो।

ऊ याने मेरो साहु, अर्थात् शौकत।

जागिरको सवाल थियो। म ‘हो’ भावमा मुन्टो हल्लाई नै रहेको थिएँ। तर मनमनमा गुन्दै पनि थिएँ कि यो शौकतले किन आफ्नो छोराको यत्ति धेरै बयान गर्छ हँ?

त्यसैबेला साहुको छोरो गाडीबाट ओर्लियाे। स्टोरभित्र पस्नेबित्तिकै उसले बाउलाई ‘हाई ड्याड’ भन्यो।

मैले शौकतको अनुहार हेरेँ। खुसी थिएन।

शौकतले सोध्यो, ‘५ दिनदेखि घरमा थिएनौ। कहाँ गएका थियौ?’

‘गर्लफ्रेन्डलाई लिएर क्रुज गएको थिएँ। ममलाई भनेको थिएँ त।’ छोराले भन्यो।

एकछिनको सन्नाटापछि छोराले बाउलाई फेरि भन्यो, ‘ड्याड! अहिलेसम्म मेरो एकाउन्टमा पैसा किन नहालिदिएको?’

साहु एकदम रिसाइसकेको थियो। उसको अनुहार निकै अँध्यारो भइसकेको थियो। तर पनि मायालु भावले छोरालाई भन्यो, ‘बाबु! अठार वर्ष भइसक्यौ। अब यो व्यापारको जिम्मेवारी बोक्न थाल। सिक्दै जाऊ। गर्लफ्रेन्डमा त्यसरी पैसा नसक। मैले ठूलो मेहनत र बुद्धिले सिर्जिएको सम्पत्ति हो।’

‘कस्तो पाकिस्तानी जस्तो झूर कुरा गर्नुहुन्छ ड्याड? सिक्नुस् न अमेरिकी सभ्यता। तपाईंले गर्लफ्रेन्ड राख्न पाउनुभएन होला भन्दैमा मैले रमाइलो नगर्ने?’ छोराले प्रतिप्रश्न गर्यो।

शौकत पनि रिसाइसकेको थियो। अनि भन्यो, ‘हो म पाकिस्तानी हुँ। तँ पनि पाकिस्तानी होस्।’

‘कस्तो किचकिच गर्ने होला यी पाकिस्तानका मान्छेले? म पाकिस्तानी होइन। बाई बर्थ अमेरिकन हुँ।’ छोरो गडगडायो।

‘धेरै झोक चलाइस् भने म तँलाई सम्पत्तिबाट बेदखल गरिदिन्छु बुझिस्।’ शौकत रिसले आगो भयो।

‘तिम्रो सम्पत्तिको मलाई केही लोभ छैन। तिमी जन्मजात पाकिस्तानी हौ। फर्केर जाऊ आफ्नै देश। धेरै किचकिच गरेर ह्य्रास गर्‍याै भने नाइन वनवनमा फोन गरिदिन्छु।’ छोरो झन् क्रोधिलो भयो।

२) एक पुल

पुलमुनि भेटिएको माग्नेले मलाई भन्यो, ‘पैसा दिनुस्।’

‘किन चाहियो पैसा?’ मैले सोधेँ ।

‘रक्सी खान।’ उसले भन्यो।

उसको शरीरलाई मैले हेरेँ। शरीरभरि ब्रान्डेड लुगा छन्। जुत्ता नै एडिडासको लगाएको छ। तर ऊ फोहोरी छ। ननुहाएको कति दिन भयो होला! त्यसो त अमेरिकामा फोहोरी मान्छे देखे माग्ने भन्छन् भन्ने कुरा मलाई थाहा छ।

मलाई ऊसँगको कुरामा जिज्ञासा बढ्दै थियो। पाँच डलर दिएँपछि मैले सोधेँ, ‘तपाईको घर कहाँ हो?’

उसले पुलतिर देखाउँदै भन्यो, ‘यही पुलमुनि।’

मैले आश्चर्य मानेँ। अनि फेरि सोधें, ‘अनि जन्मिएको पनि यही पुलमुनि हो ?’

‘होइन नि सर! पहिला त मेरा बाबुआमाको काम थियो। घर थियो। पैसा थियो नि।’ उसले नधकाई भन्यो।

‘अनि श्रीमती नि?’ मेरो प्रश्न अझै थियो।

‘श्रीमती पनि थिइन्। बडो राम्री र मायालु थिइन्। तर मेरो ताल देखेर मलाई डिभोर्स गरी हिंडिन्।’ उसले निर्धक्क भन्यो।

‘अनि उफ! श्रीमतीले पो छोडेको?’ म चिन्तित भएँ।

‘नछोडेर के गरोस् त सर? आखिर उसले एकपल्टको जुनी मजाले भोग्नुपर्‍याे नि’ ऊ निष्फिक्री देखियो।

‘अनि तपाईले काम किन नगरेको त?’ मैले सोधेँ।

‘आ सर! हाम्रा समस्या सरकारले पूरा गरिहाल्छ। को काम गर्ने टेन्सन लेओस्? कुरा रह्यो रक्सीको। त्यो त मागेरै पुगिहाल्छ। मेरी गर्लफ्रेन्डले पनि ल्याउँछे नि अलिकति पैसा।’ क्या स्वादले भन्यो उसले।

‘उफ! तपाईकी गर्लफ्रेन्ड पनि छ?’ म आश्चर्यचकित भएँ।

‘छ नि सर। नभई कसरी हुँदो हो?’ उसले जीवनको कुरा बतायो।

‘उफ! अनि अमेरिका जस्तो देशमा पनि यत्ति धेरै गरिब?’ मैले अमेरिकालाई नै होच्याउने पारामा भनेँ।

‘मेरो देशलाई केही नभन्नु सर। म अमेरिकन हुँ। मेरो देश महान छ।’ ऊ गौरव गर्न थाल्यो।

यो बेला मैले आफैंले आफ्नो देश काम नलाग्ने भनेर छोडेर अमेरिका आएको सम्झेँ।

३) एक भेद

महिला सिकारीले भनी, ‘ती चरामा भाले कुन हो पोथी हुन हो? छुट्याउनुपर्छ पहिले।’

पुरुष सिकारीले भन्यो, ‘हामी त सिकारी पो त! भालेपोथीको हामीलाई के मतलव?’

‘शास्त्रमा पोथीलाई नमार्नु भन्ने छ। त्यसैले युद्धमा पुरुष मात्र पठाइने कुरा तिमीलाई थाहा छैन?’ महिला सिकारीले भनी।

भाले मनुष्य सिकारीले पोथी मनुष्य सिकारीलाई बेस्सरी हकार्यो।

पोथी मनुष्य सिकारी दुःखी भई।

विविध चरा सिमटारीमा भेला भएका थिए। जोडी सिकारी तिनै चराको लाट हेरेर बसिरहेका थिए।

अन्त्यमा केही गरे पनि भालेपोथी छुट्टिएन। किनकि ती चरा उनीहरूले देखेकोभन्दा अलग भूगोलबाट आएका थिए।

सिकारीका कुरा ती चराले सुनिरहेका थिए। चराहरूका लडाकु आक्रमणका लागि तयार थिए। चरानेताले मनुष्य रूपधारण गर्‍याे।सिकारीलाई चेतावनी दिँदै भन्यो, ‘हे मनुष्य! तिमीहरू दुवै भालेपोथीले हामीलाई मार्ने सोचिरहेका छौ। तर हाम्रो लडाकु दस्ताले पनि मनुष्य रूप धारण गर्ने छन् र तिमीमाथि जाइलागे भने तिम्रो बेहाल हुन्छ। राम्रो यही हुन्छ कि तिमी मनुष्यका भालेपोथी आफ्ना घर फर्क।’

चरा बोलेको देखेर सिकारीका भालेपोथी अचम्ममा परे। र, भने, ‘हो, तिम्रा लडाका पक्का पनि भाले मात्र होलान्। हामी तिनै भाले लडाकालाई सिकार खेल्छौं अब।’

चरा नेताले भन्यो, ‘अरे! मनुष्यका भालेपोथी, तिमीहरूलाई थाहा छैन, हामी चरामा प्राकृतिक अधिकारबाहेक अन्य कुरामा भाले तथा पोथीमा भेद छैन भन्ने कुरा?’

पोथी सिकारीले हत्त न पत्त सोधी, ‘हाम्रो मनुष्य चोलामा त भाले र पोथीमा धेरै भेद छ त! तिमी चरामा चाहिँ किन नभएको त्यो भेद?’

चरा नेताले भन्यो, ‘अहिलेसम्म मनुष्यका पोथीले नबुझेको कुरा भनेको प्रकृतिले दिएको आफ्नो अधिकार पुरुषसत्ताले दिन्छ भनेर विश्वास गर्नु हो। अनि हामी त स्वतन्त्र चरा हौ, विभेद गर्ने मान्छे हौँ र?’

४) एक अट्टहास

‘ह्याप्पी थ्याङ्स गिभिङ’ भन्दै जोनसनले स्कचको ग्लास उठायो।

‘चियर्स’ भन्दै हामी पाहुनाहरूले ग्लासलाई ठोक्कायौं।

म हेरिरहेको छु। डाइनिङ टेबुलमा गाईको रोस्टेड र सग्लो फिला तेर्स्याइएको छ। उसका घरपरिवार तथा आमन्त्रित पाहुना त्यही रोस्टकै वरिपरि बसेका छन्। छुरी र काँटाको उपयोगले त्यही फिलालाई उदरस्त गरिरहेछन्। र, भन्दै छन्, ‘टेस्टी बनेछ यो बिफ।’

मेरो फोनको घण्टी बज्यो, ‘हेलो।’

‘हजुरबुवा!’

‘अम्रिका पुगेको छस्। गाईको मासु खालास्। होस गर्। नेपालमा पो त आफ्नो देश खान्न भन्दा धर पाइन्थ्यो। कुइरेका मुलुकमा जबर्जस्ती गर्लान्। ख्याल राखेस्।’ हजुरबुवाको आवाज आदेशात्मक थियो।

फोनको कुरा सकेर डाइनिङ हलमा पुगेँ।

जोनसनले मलाई पनि कुर्सी देखाएर छुरीकाँटा दिंदै भन्यो, ‘खेम! तिमी यहाँ बस’

मैले अलि सङ्कोच मान्दै भनेँ, ‘सरी, म बिफ खान्न यार!’

‘ए हो र! किन? मन पर्दैन? कि स्वास्थ्यले दिंदैन?’ उसको जिज्ञासा।

‘होइन। कहिल्यै खाएकै छैन। नखाएपछि मन पर्ने र नपर्ने कुरै हुन्न।’ मैले भनेँ।

त्यहाँ उपस्थित सबैले मुखको गाँस रोकेर मलाई अनौठो पाराले हेरे। उनीहरूको अनुहारले सायद ‘बिफ पनि नखाने कस्तो मान्छे हो यो?’ भन्दै थियो।

त्यसपछि जोनसनले मलाई भन्यो, ‘पहिला खाएर त हेर। मन नपरे नखानू नि।’

मैले भनेँ, ‘तिमी कुरा बुझन जोनसन। आई एम सरी, म बिफ खान सक्दिनँ।’

‘किन खाँदिनौ? कारण त बताऊ।’ उसले नम्र भएरै भन्यो।

‘रिलिजियस म्याटर हो।’ मैले साँचो कुरा भनेँ।

उसले फेरि भन्यो, ‘ओह! आई एम भेरी सरी खेम! वी आर भेरी सरी खेम। रिलिजियस म्याटर हो भने हामीले वल गर्नु पनि हुन्न। आस्थाको कुरा हो, के खाने? के नखाने मान्छेको स्वतन्त्रता हो।’

मेरा दिमागमा पहिले शाकाहारी हुँदा मलाई आफ्नै देशका साथीहरूले ‘तँ बाहुन भई खाको’ भन्दै सुँगुरको मासु कोच्याएको कुराले अट्टहास गरिरह्यो।

५) एक समय

साह्रै टेन्सन भएको बेला हबल्दार काका भनिरहन्थे, ‘के टेन्सन लिन्छस् केटा? समय बलवान् छ। समयसँग सबै कुराको निकास छ। तेरो समस्याको समाधान पनि समयसँगै छ।’

जे समस्यामा पनि समय भनिरहने उनको यो तरिका थियो। ऋण लागेकोदेखि केटी नपाएकोसम्म, रोग लागेकोदेखि शोक लागेकोसम्म सबै कुरामा उनी समयलाई अगाडि सार्थे। काकाको समय कस्तो आयो मैले थाहा पाइनँ। तर उनी रोगाएर विक्षिप्त भएर बिते।

मेरा लागि राम्रो समय आएन। अनि म समयको तपस्यामा बसेँ। समयको प्रतीक्षामा बसेँ। मान्छेको जीवनमा कुनै न कुनै दिन राम्रो समय आउँछ भन्ने कुरा पत्याएर समयलाई नै कुर्न थालें। मेरो तपस्याबाट समय खुसी भयो र प्रकट भयो।

मानवीकृत समयले भन्यो, ‘के समस्या पर्यो र मलाई सम्झिस् खेम?’

मैले अत्यन्त विस्मयका साथ हतारहतार भने, ‘हे समय देव! मेरा जीवनमा समस्याका चाङ छन्। यताबाट सँगेटेर ल्याउँछु, उता फुस्किन्छ। समाज, आफन्त, जागिर सबैसबै मेरा समस्या हुन्। त्यसमाथि शरीरले बोकेको रोगले त उम्कनै दिएन। योबाट मुक्त हुने केही उपाय बताइदिनुपर्‍याे समय देव!’

समयले जुँघामा ताउ दिएर भन्यो, ‘हे मनुष्य! म नै शक्तिशाली छु। म क्रूर पनि छु। सबै समस्याको निकास मसँग छ। तर समय पर्खिनुपर्छ।’

‘कति कुर्नु समय देव! आफ्नो समय नै चिप्लिसक्यो।’ मैले समयमाथि दबाब हालेँ।

‘समयले आंशिक रूपमा त सधैं समस्याको निकास निकाल्छ। तर पूर्ण निकास निकाल्नचाहिँ चिहान यात्रा नै कुर्नुपर्छ।’ समयले निर्मम तरीकाले बतायो।

मैले डराइडराई सोधेँ, ‘समय देव! चिहान यात्रामा जान अब कति समय छ मेरो?’

समयले अट्टहास गरी हाँस्यो र भन्यो, ‘मनुष्य ! म बलवान् त छु तर स्वयं मैलाई समयका बारेमा केही थाहा हुँदैन।’

६) एक अस्तित्व

रत्नाले श्रीमान्सँग भनिन्, ‘मलाई तपाईले डिभोर्स दिनुहोस्।’

श्रीमान्ले भने, ‘के कुरामा कमी भयो रत्ना? भन त।’

‘के कुरामा भन्नु नि अब? सबै कुरामा त असमानता छ नि! मैले तपाई भन्नुपर्छ, तपाईले मलाई तँ वा तिमीभन्दा पुग्छ। के यही विभेद भएन र?’ रत्नाले भनिन्।

‘तिम्रा लागि सुखसुविधाका सरजामहरूको व्यवस्था गरेकै छु। माया गरेकै छु। काम पनि केही गर्न लगाएको छुइनँ मैले। दरबारजस्तो घर छ। काम गर्ने मान्छेको पनि कुनै कमी छैन। आनन्दले रानी भएर बस न। केही फुर्माइस चाहियो भने भन बरु।’

यही वादविवादका बिचमा घरमा काम गर्ने हरिप्रिया आइपुगी।

रत्नाले हरिप्रियालाई सोधिन्, ‘सदा त तिम्रो लोग्ने आउँथ्यो त आज के काम पर्यो उसको?’

हरिप्रियाले भनी, ‘घरै बसेको छ ऊ। मैले नै आज घर बस भनेको नि दिदी।’

‘किन र?’ रत्नाले सोधिन्।

‘ऊ मुर्दार त मलाई घरबाट बाहिर कतै ननिस्कोस् भन्ने चाहन्छ नि।’ हरिप्रियाले भनिन्।

‘अनि किन काममा आएकी त हरिप्रिया?’ प्रभातले भने।

‘आच्या! सधैं त्यही घरमा कोचिएर बस्नु त? मलाई त कसैले घाँटी अँठ्याएको जस्तो लाग्छ सधैं घर बस्दा। तेल्ले पनि स्वाद पाओस् न घरमा काम गरेर बस्नुपर्दा कस्तो हुन्छ भनेर!’ हरिप्रिया बोलिन्।

‘तिमी महिलालाई पनि जति गरे पनि नहुने। घरैमा मजाले बस भन्दा पनि नहुने।’ प्रभातले आफ्नी श्रीमतीको रिस हरिप्रियामाथि पोखे।

‘साब! धेरै महिला महिला भनेर न उल्किनु नि! महिला भनेको पिंजडामा बस्ने चरा हो र? म दुःखै भए पनि आफ्नो स्वतन्त्र अस्तित्व आफैं निर्माण गर्न सक्तिनँ र?’

७) एक यात्रा

म जति बेलै टेन्सनमा हुन्छु। ऊ याने हड्सन अलमस्त हुन्छ। म ऊसँग दाँजिन्छु,

-  उसकोभन्दा मेरो जागिर राम्रो छ। आम्दानी राम्रो छ।

- मसँग श्रीमती सँगै छ। ऊ आफ्नी स्वास्नीलाई डिभोर्स गरेर बसेको छ।

- मसँग मेरा बाआमा सँगै हुनुहुन्छ। उसको बाबु कता आमा कता केही पत्तो छैन।

-मेरो राम्रो घर छ। उसको घर एकदम सामान्य छ।

-मसँग परिवारको माया छ। ऊ एक्लै बस्छ।

- ऊभन्दा म भौतिक तथा स्वरूपमा नै राम्रो छु।

सोच्दै थिएँ । हड्सन ‘हाई’ भन्दै हँसिलो मुद्रामा आइपुग्यो। मेरो रुन्चे र चौलानीजस्तो पयाँलो अनुहार देखेर भन्यो, ‘के भयो खेम?’

मैले भनेँ, ‘टेन्सनमा छु यार!’

‘के भयो यार?’ उसले छोटो सोध्यो।

मैले टेन्सनका कारण बताएँ:

-जागिरमा प्रमोसन भएन।

-आमा बिरामी हुनुहुन्छ

-घरको काम भ्याइएन।

-श्रीमती खर्चालु परी।

-छोराछोरीलाई स्विमिङ पुलवाला घर चाहियो रे।

हड्सनले मलाई हकार्यो, ‘चुप साला! चाहिने नचाहिने कुरा दिमागमा कुहाउँछ अनि रुन्छ। रुन्चे साला।’

अनि मैले भनेँ, ‘परिस्थिति बुझ्न यार! जिन्दगीलाई यसरी हल्का फुल्का नले न।’

ऊ झन् मुर्मुरियो र भन्यो, ‘चुपचाप हिँड् डाउनटाउनको बारमा। अनि बल्ल जिन्दगीको यथार्थ धरातलमा आउँछस्।’

ऊ बेस्सरी हाँस्यो। फेरि अलिकति सिरियस देखियो र भन्न थाल्यो, ‘जिन्दगी एक यात्रा त हो खेम!’

‘कसरी?’ मेरो जवाफ।

उसले लामो सास तानेर भन्यो, ‘आमाबाबु, साथीसँगी, लोग्नेस्वास्नी, छोराछोरी, देश, समाज, परिवार आदि सबै यही यात्राका दौरान भेटिएका अलग तथा स्वार्थी यात्रु त हुन्। अनि केको टेन्सन?’

८) एक एम्ब्यासडर

बेस्सरी मातिए पनि बकबक नगरी क्रिसमस इभ मनाएको देखेर म गोरासँग अचम्मित भइरहेको थिएँ।

अनि जोन्सनले त्यहाँ उपस्थित सबैलाई सम्बोधन गर्‍याे र भन्यो, ‘खेम नेपालको हो। तिमीहरू पुगेका छौ नेपाल? म तीनपल्ट पुगेको छु। ज्यादै सुन्दर देश हो नेपाल। अग्र्यानिक सुन्दर।’

मैले त्यहाँ उपस्थित पाहुनाहरूका माझमा भनेँ, ‘जोन्सन नेपालको मित्र हो। नेपालको पर्यटन प्रवर्धनमा जोन्सनले राम्राे भूमिका निर्वाह गरेको छ। ऊ मेरो नेपालदेखिकै साथी हो। नेपालको पर्यटन प्रवर्धन गर्ने एम्ब्यास्डर अफ टुरिज्म हो।’

‘वाओ! एम्ब्यास्डर अफ टुरिज्म! चियर्स।’ एकपल्ट फेरि हामी सबैले चियर्स गर्‍याैं।

ऊ पनि नेपालको बारेमा यसरी बोल्दै थियो मानौ कि ऊ नेपालको पर्यटन प्रवर्धन गर्ने साँच्चैको एम्ब्यासडर हो।

‘आज म तिमीहरूलाई नेपालबारे फोटो तथा भिडियो देखाउँछु।’ भन्दै उसले कम्प्युटरलाई ठूलो टिभी स्क्रिनमा जोड्यो।

फोटाहरू टिभी स्किनमा देखिए। राराको, फेवाको, हिमालको, वसन्तपुरको, स्वयम्भूको, बौद्धनाथको, पशुपतिको आदिआदि। त्यहाँ उपस्थित सबै रोमाञ्चित भए। भन्न थाले, ‘स्वर्ग रहेछ यार नेपाल त। जीवनमा त एकपल्ट जानै पर्ने ठाउँ रहेछ।’

म नेपाली हुनुमा गर्व गर्न थालेँ। आफैँभित्र फुलेल बेलुनजस्तो भएँ।

त्यसपछि जोन्सनले अर्को फाइल खोल्यो। त्यहाँ पशुपतिका बाँदरको सम्भोगको, सडकमा हगिरहेका सडक बालबालिकाको, भित्तामा मुतिरहेका वयस्क र सुकिलामुकिलाको, नाकबाट सिंगान झरिरहेका गरिब बालबालिकाको, लोग्नेले स्वास्नी कुटिरहेको, बुथ कब्जा गर्दे गरेको, प्रदूषित वाग्मतीको, प्रदूषित हिमालको, बालश्रमको, सडकमा थुपारिएको फोहोरको, शालिक भत्काउँदै गरेको, रेलिङ भाँच्दै गरेको आदिआदि फोटाहरू थिए। भिडियोहरू थिए।

मैले भने निगुरमुन्टी लगाएको थिएँ। मेरो फुलेल बेलुनका हावा खुस्कँदै थियो।

ऊ भने अझै फलाकिरहेको थियो, ‘मैले त यी फोटाको पोस्टर र पोस्टकार्ड बनाएर बेचेँ । नेपाल गएको खर्च सबै उठ्यो। अलिकति जोगियो पनि।’

९) एक विजय

‘पुरुषसत्ता नै महिलामाथि हुने अन्यायको कारण हो।’ एक अनुसन्धाताको निष्कर्ष थियो त्यो।

होमा हो मिलाउने अन्य अनुसन्धान तथा अभियन्ताले विद्रोहको शिखर छोइरहेका थिए। जति विद्रोह, सेमिनार तथा गोष्ठी, नाराजुलुस निकाले पनि पुरुषसत्ता टसमस भएको थिएन। यो अचम्म नै भएको थियो।

तर विद्रोह जारी थियो। पुरुषसत्ताको परिभाषा फैलिएर व्यक्ति पुरुषसम्म पुगेको थियो। पुरुष भन्नु र पुरुषसत्ता भन्नु लगभग एउटै जस्तो बताइन थालेको थियो। यति गर्दा पनि महिलाको अधिकार कुण्ठित भइरहेको थियो। यो पनि अर्को अचम्मको कुरा थियो।

उनीहरूका मनमा एउटै भय आइरहन्थ्यो कि महिलाले पूर्ण अधिकार कहिल्यै पाउन्नन्?

संसारभरिबाट महिला अभियन्ता, चिन्तक तथा अनुसन्धाता भेला भएर यो समस्याको निकास खोज्न थाले। विविध देशका आआफ्ना सामाजिक मान्यता अनुरूपका विचारहरू आए। महिलाका बारेमा, महिला मात्र उपस्थित भएको भेलामा, महिलाका अभियन्ता, चिन्तक तथा अनुसन्धाता मात्र उपस्थित भएको त्यो सभा टुङ्गोमा पुगेन। झन् भाँडियो।

उनीहरूले एकले अर्कालाई आरोप लाउँदै रहे। कसैले परम्परा बिगार्ने, संस्कार बिगार्ने, प्रचलन बिगार्ने, सभ्यता बिगार्ने, समाज बिगार्ने आदिआदि आरोप लगाइ नै रहे।

सभाहलमा एकएका बत्ती गयो। त्यो अँध्यारोमा नारी कल्याङमल्याङ आवाजले उधुम मच्चायो। तर त्यही अँध्यारोमा विविध सत्ता र बहानामा मृत्यु भएका विविध देशका महिला आत्माहरू एकैपल्ट चिच्याए र भने, ‘हो, महिलाको अधिकार कुण्ठित गर्ने पुरुषसत्ता हो। तर त्यो पुरुषसत्तामाथि विद्रोह थाल्नुभन्दा पहिले महिलाले परम्परादेखि बोकेर ल्याएको आफ्नै वैचारिक लासमाथि विजय प्राप्त गर्नुपर्छ। यत्ति कुरा पनि नबुझ्ने तिमीहरू के महिला? के महिलावादी?’

१०) एक सिर्जना

मेरो आत्मा मेरै अगाडि ठिङग उभियो।

मानवीकृत आफ्नै आत्मालाई सामुन्नेमा देखेर मेरो मन अतालियो। मन अतालिएको देखेर उसले भन्यो, ‘तँ को होस् खेम?’

मैले एकसरो परिचय दिएँ। नाउँ, गाउँ, जात, थर, राष्ट्रियता, नागरिकता, पेसा, बाबुआमा, श्रीमती, छोराछोरी, कुलगोत्र, पढाइ, गराइ आदि।

उसले भन्यो, ‘गफाडी। तँचाहिँ को होस्? त्यो भन् न।’

आपत् आइलाग्यो मलाई। जुक्ति खियाएँ। अनि प्रतिप्रश्न गरें, ‘मेरै आत्मा तँ उन्मुक्त भएर टन्डेली मारिरहेको छस्। मन भौंतारिएर बिजुली पङ्खी भएको छ। यो थोत्रो शरीर लिएर बसेको छु। अनि तँलाई कुन परिचय दिऊँ? तेरो कि मनको? शरीर कि श्वासको?’

ऊ अट्टहास गरेर हाँस्यो र भन्यो, ‘मलाई मात्र थाहा छ तँ को होस् भनेर।’

‘लौ खालो सार न त आत्मामनुष्य।’ मैले पनि झ्वाँक निकालें।

उसले एउटा जादूछडी दियो र भन्यो, ‘अब यो छडी बोकेर आफूलाई सम्झी। म त्यही छडी हुँ।’

छडी लिएर आफैँलाई सम्झेर हेर्दै छु,

- म अरूलाई महिलाको सम्मान गर भनेर अर्ती दिँदै छु-तर आफू तरुनी निचोर्नै लोभमा छु।

-म अर्कालाई नचोर्ने सल्लाह दिंदै छु-तर म सुटुक्क चोर्दै छु।

-म अर्कालाई ढाँट्नु हुन्न भनेर सिकाउँदै छु- म आफू भने ढाँट्न माहिर छु।

- म काम, क्रोध, लोभ, मोहबाट मुक्तिको कुरा जीवनको नश्वरताबारे धार्मिक प्रवचन दिइरहेको छु- तर दाताको देह र दानको दुनु हेर्दै छु।

...।

म आफ्नै कर्तुतले आफ्नै आत्मासमक्ष गलित भएको छु। ग्लानि भइरहेको छु।

मेरो मानवीकृत आत्माले मलाई फेरि सोध्यो, ‘अब भन्, तँ को होस्?’

म अलमल्ल परें अनि उसले नै मलाई भन्यो, ‘चिन्ता नगर खेम! तँ साहित्यकारको एक सिर्जनाजस्तै होस्।’

‘मतलब?’ मैले सोधेँ।

‘हुने एक देखिने अनेक, भनिने अनेक।’ उसले उत्तर दियो।

(कथाकार पाेखरेलकाे लघुकथासङ्ग्रह ‘एकालाप’ मा सङ्गृहीत।) 

प्रकाशित: ७ भाद्र २०८१ १२:५६ शुक्रबार

# Laghukatha # Poem