कला

ऊ मेरी स्वास्नी होइन!

कथा

म ती सबै कुरा सुनिरहेको थिएँ। मुण्टो उठाउन भएको थिएन। चेतनभित्र अचेतन थिएँ। मलाई भने साथीहरू उठाईउठाई पियाइरहेका थिए। मेरा साथीहरूको सम्वाद यस्तो थियो:

-आज, यस्तरी खुवाउनुपर्छ कि, सालेलाई बक्न लगाउनुपर्छ। जहिले पनि साले चोखो बन्छ।

-होहो, आज त ऊ बक्छ बक्छ।

-ए रामे, भन् त, तेरी स्वास्नीले तँलाई जाड खाएर गएका दिन कुट्छे कि कुट्दिन? हाम्राले त कुट्छन् बाई।

-यसलाई यसरी धतुरो मिसेर नख्वाउन भनेको थिएँ, मानेनौ। अब हेर त यो रामे त इन्तु न चिन्तु भयो।

-छोड्न यार यो जोइटिङ्ग्रे बाहुनलाई। यो राम शरणेलाई त स्वास्नीशरणे भन्नुपर्ने। तब त जागिर पनि हुलाकमा भेटेको छ। यसो हाकिम रिझाउन, तलमाथि गर्न जान्दैन गधा, अनि त्यस्तालाई के बकाउँछौ तिमीहरू?

म सुनिरहेको थिएँ। तर बोल्न सक्ने अवस्थामा थिइनँ। तर ती मेरा साथीहरूलाई बोल्ने मात लागेको थियो । ती अझै बोल्दै थिए:

-आज हामी यहाँ छौं, हाम्रा स्वास्नीले पो कतै नाठो खेलाइरहेका छन् कि? कसको के जिम्मा लिने यार यो कलियुगमा।

-आ होस्, हामी पनि त खप्पीस छौं नि त, एकबारको जुनी हो केको चियोचर्चो गर्नु त? तैं चुप, मै चुप फर्मुला जीवन बाँच्ने सबभन्दा गतिलो हो।

-तर यो रामे पो त, जहिले पनि श्रीमतीको केही राम्रानराम्रा गुण नै भन्दैन। जोइटिङ्ग्रे मोरो।

-रामे कि त स्वास्नी पनि कस्ती काँठे छ हगि। मातेर घर पुगेको लोग्नेसँग पनि रिसाउँदिन भन्या। हाम्रा त काली देवी पल्टिन्छन्। पैसाको पोको नदेखाई त देवी शान्त नै हुँदैनन्।

–यो रामेकी स्वास्नीलाई एकदिन मैले भनेको थिएँ-ए भाउजू, त्यो रामशरणको जागिर हुलाकमा छ। के कमाउँछ र त्यो? त्यसलाई तपाईले अलि गाली गर्नुपर्‍याे। त्यो रक्सी खाने बानीमा पनि अलि कन्ट्रोल गर्नुपर्‍याे।

यसो भनेको त भाउजूले मलाई त उल्टै थर्काएर ‘उहाँ मेरो श्रीमान्, मलाई कुनै गुनासो छैन भने तपाईहरूलाई किन टेन्सन’ पो अरे।

मलाई त्यही तन्द्रामै पनि लागेको थियो-यी सालेहरू आफ्नी स्वास्नीसँगका ओछ्यानदेखि रछ्यानसम्मका सबै कुरा नाङ्गो पार्दैछन् बेवकुफहरू।

यसपछि मैले उनीहरूका कुरा सुन्न छोडेको थिएँ। म एकप्रकारले बेहोसीको तन्द्रामा पुगेंछु। सिनेमाको रिलजस्तै सम्झन थालेको रहेंछु- म बाह्र पुगेर भर्खर तेह्र लागेको थिएँ। घरैमा चण्डी, रुद्री, कौमुदी, कर्मकाण्ड पढेको थिएँ। बाबा जजमानी गर्ने भएकाले म सानैदेखि बाबालाई सघाउँथें। बाबाले मलाई गुरुकुल विद्यालयमा पठाएर संस्कृत पढाउने र जजमानीमा लगाउने योजना गर्नुभयो। त्यो बेलासम्म मैले बाबाले सिकाएर लेख्न, पढ्न र अलिअलि कर्मकाण्ड पनि खुट्याउन थालेको थिएँ। गुरुकुल विद्यालयमा घरबाट आउनजान सकिने थिएन। त्यसैले म छात्रावासमा बस्न थालेको थिएँ। अब म गुरुकुलमा गएपछि बाबालाई घरमा काम गर्ने मान्छे चाहिएको थियो। त्यसकारण बाबाले मेरो बिहे गरिदिने र बुहारीलाई घरव्यवहारको काममा लगाउने सोच बनाउनुभयो।

मङ्सिरको महिना थियो। म दौरासुरुवाल लगाएर बेहुला बनेको थिएँ। डोलीमा चढेको थिएँ। अर्को डोली रित्तो थियो। त्यो बेहुली ल्याउनका लागि थियो। गाउँकै पञ्चेबाजा बजाएर अघि लागेका थिए। मैले बेहुली देखेको थिएन। त्यो बेला बेहुलाले बेहुली हेर्नु सम्भव थिएन।

बाबाले भन्नुभयो, मैले बिहे गर्नु नै पर्थ्याे। गरें। बिहेमा घुम्टो ओढेको हुनाले मैले बेहुलीको अनुहार हेर्न पाइनँ। बेहुली लिएर आउँदा ठूलो साँझ परेको थियो। बेहुलीसँग दुई लोकन्ती आएका थिए। बिहेको काम सकिएको थियो। म दुलान फर्काउन ससुराली पुगें। मैतालुलाई ससुरालीमै छोडेर घर आएँ। र पर्सिपल्ट गुरुकुलतिर लागेको थिएँ।

गुरुकुलमा पढ्दा मैले घरव्यवहार केही सम्झिनँ। श्रीमतीलाई पनि सम्झिनँ। उत्तरमध्यमाको परीक्षा दिएर म घर गएको थिएँ। यसअघि म आक्कलझुक्कल घर जान्थें। तर, संयुक्त परिवार भएकाले श्रीमतीसँग केही कुरा गर्ने सम्भावना हुन्थेन। बिहे भएको चारपाँच वर्ष बितिसकेको थियो। म अलि लामो समय घर बस्न पाएको थिएँ यो बेला। मैले मेरी श्रीमतीलाई परबाटै हेरेको थिएँ। बाह्रहाते फरियामा लतारिएर काम गर्नुपर्थ्याे। गाई, भैंसी, बाख्रा, मेलापात, घरवनका साथै जजमानीबाट आएका सामान पनि स्याहार्नुपर्थ्याे। बैंसमै अुनहारमा कालो पोतो थियो। खुट्टा पटपटी फुटेका थिए। जुत्ताचप्पल लगाउने चलन थिएन। उसले घाँसको ठूलो भारी आँगनमा बिसाई। उसको निधारमा नाम्लोको बिटको डाम परैबाट देखिन्थ्यो।

एकरात ऊ घरधन्दाको काम सकेर ताप्केमा तेल लिएर मसमक्ष आएकी थिई। म त लगभग निदाइसकेको थिएँ। ऊ मेरो खुट्टामा तेल लगाउन खोज्दै थिई। उसका खस्रा हातले मेरो गोडा स्पर्श गरेपछि म बिउँझिएँ। निकै रात बितिसकेको थियो। उसको अवस्था देखेर मलाई किन हो किन माया लागेर आयो। दया पलाएर आयो। मेरो ज्ञानले उसलाई अर्धाङ्गिनी ठान्न थालेको थियो। उफ, मेरी अर्धाङ्गिनीको यो हालत? यद्यपि बिहे गर्ने बेलामा मेरा बाबाले भन्नुभएको थियो -अहिले यही केटी बिहे गरी राख। पछि आफू सुहाउँदी गर्लास्। आखिर खुट्टा भए जुत्ता कतिकति।

म फेरि शास्त्री पढ्न शहरको विद्यापीठ पुगें। किनकि बाबा मलाई पण्डित बनाउन चाहनुहुन्थ्यो। म विदाका बेला घर जाँदा श्रीमतीलाई जुत्ता तथा केही खानेकुरा लगिदिन थालेको थिएँ। तर उसले त्यो बेला भनेकी थिई -भो यो जुत्ता, यो टीको, यो नयाँ पोते मैले लाउनु हुन्न। बज्यैले नदिई मैले लगाएँ भने बाजेबज्यैले निको मान्नु हुन्न। यो जुत्ताले मलाई समस्या पार्छ। बरु बज्यैलाई दिनुहोस्। उहाँले दिनुभयो भने लाउँछु।

अनि मैले आमालाई भनेंथे -आमा, यो जुत्ता शान्तेलाई ल्याइदिएको ऊ त लाउँदिन अरे। यो पोते र टीका पनि लाउँदिन अरे। तपाईँले दिए मात्रै लाउँछे अरे।

आमाले भन्नुभएथ्यो -के गर्छे त्यो यो जुत्ता लाएर? भकारो नसोहोरी हुन्न। अनि कहाँ जानु छ र यो टीकोपोते पनि। खोई ले त्यो, म छोरीलाई दिन्छु। अहिलेदेखि नै स्वास्नीलाई माथामा चढाइस् भने डुब्लास्। स्वास्नीका मुतमा बग्लास्। होस गर् है।

यसरी मैले लगिदिएका सारी, जुत्ता उसले लाउन हुन्थेन। आमाले खटाएर दिएको खानुपर्थ्याे। लगाएको अह्रनी गर्नुपथ्र्यो । नन्द आमाजू थिए। देवरहरू थिए। उसले ती सबैको चित्त बुझाउनुपथ्र्यो। नत्र घर खाने सम्भावना नै हुँदैनथ्यो।

यसै बिच भाइको बिहे भएको थियो। देउरानी आएपछि घरमा ऊमाथि सबै खनिन थालेका थिए। माइतीमा भएकी एउटी वृद्ध आमा पनि उसलाई भन्नुहुन्थ्यो रे -छोरी, मन नमिलेर, झगडा गरेर र भागेर माइत नआएस्। जसरी भए पनि घर खानुपर्छ। पण्डित खलकमा पारेकी छु। होसियार हुनू। छोरीका लागि घर भएन भने माइती पनि हुँदैन भन्ने कुरा बुझिराख् तैंले।

म यो दृश्य टुलुटुलु हेरिरहेको हुन्थें। उसले कहिल्यै केही गुनासो गरिन। जिन्दगीसँग उसको कुनै गुनासो थिएन। म बुझ्दै थिएँ, बिस्तारैबिस्तारै घरबाट ऊ अपहेलित हुन थालेकी थिई। तर बिलकुल मुख फर्काउँदिनथी। मसँग भेट हुँदा पनि ऊ कहिल्यै परिवेश बताउँदिन थिई।

एकदिन आमाले मलाई भन्नुभएको थियो -जेठा, तेरी स्वास्नी अचेल अटेरी भएकी छे। काम पनि राम्रोसँग गर्दिनँ। त्यो हल्लनटाटकी छोरीले दाइजो पनि ल्याएकी होइन। अब पण्डित हुन आँटिहालिस्, सालबोटे अधिकारीकी छोरी दिंदैछन्। एक्ली छोरी रे। बिहे गर्नुपर्छ। राम्री पनि छे। अलिअलि पढेकी पनि छे रे। दाइजो सम्पत्ति पनि आउँछ।

छेउमा बसेर बाबा मुसुमुसु हाँस्तै हुनुहुन्थ्यो। म केही बोलिनँ। किनकि मैले बाबाआमालाई मुख फर्काएको थिएन। म नबोलेको देखेर बाबाले भन्नुभएथ्यो– के सोचिरहन्छस् जेठा, कि धन ससुराली, कि अपुताली भन्छन्। सालबोटेको अपुताली खर्लप्पै आउने भएपछि नाइँनास्ति किन, खुरुक्क बिहे गर्छु भने भइहाल्यो नि।

म के भनूँभनूँ भएको थिएँ। तर तत्काल भनेको थिएँ-अरू कुरा जे भन्नुस् मान्छु, तर अर्को बिहेचाहिं गर्दिनँ।

मैले यसो भन्नुको कारण मेरो शास्त्रीको पढाइ थियो। पूर्वीय सभ्यतामा बिहेलाई प्रणय भनिएको थियो।  

प्रणयको अर्थ रतिराग मात्र थिएन, एक अर्कामा समर्पण भाव थियो। प्रणयको समर्पण भावमा प्राप्ति वा अप्राप्ति, राम्री वा नराम्री, पढेकी वा नपढेकी, धनी वा गरिब केहीले अर्थ राख्दैनथ्यो। एक अर्कामा गरिने समर्पणभाव जत्तिको मीठो परिवेश अन्यत्र पाइने सम्भावना थिएन। यो समर्पण भाव नै प्रणयको मूल मन्त्र थियो।

तर मैले अर्को बिहे नगर्ने भनेपछि बाबा र आमा मिलेर मेरो सातो टकटक्याउनुभयो। मेरी श्रीमतीलाई पनि गाली गर्नुभयो र भन्नुभयो -यो काल्जिब्रेले मेरो छोरालाई के टुना लाई कुन्नि? मेरो छोराको खुट्टामा पनि नसुहाउने छे, टुनामुना त जानेकी रहिछे। हुन त त्यसकी आमालाई पनि बोक्सी नै भन्छन्, त्यो गाउँमा। आफ्नो घरमा भुटेर खाने भटमास छैन, हाम्रो घरको सम्पत्ति खान आएकी। थारै बस्ने भइस्। भन्, तेरो पोइलाई अर्को बिहे गर्न भनेर, नत्र तेरो उठिबास हुन्छ।

यसपछि मेरो पनि बाबा आमासँग केही ठाकठुक भयो। तर ऊ भने चुपचाप सुनेर बसी। सहेर बसी। बरु ऊनै पो मलाई सम्झाउन थाली-भैगो न सानो मन नगर्नू। आमाबाबा हुनुहुन्छ उहाँहरू। उहाँहरूले भनेको हामीले सहनुपर्छ । दैव छन् भने एकदिन सबै राम्रो हुन्छ।

म रिसले त्यत्तिकै घर छोडेर निस्केँ र विद्यापीठतिर लागेँ। उता बाबाआमाले मलाई याने कि उसलाई छुट्याइदिनुभएछ । मानोचामल अलग गरिदिनुभएछ। प्याङ्खर बारी मेरा फाँटमा राखेर अरू सबै आफूलाई र भाइलाई भागबण्डा गर्नुभएछ।

यो कुरा थाहा पाएर म घर पुगेको थिएँ। म बाबुआमासँग वार कि पारको झगडा गर्ने मुडमा थिएँ। तर उसैले भनी-जे परे पनि सहनुपर्छ। बाबुआमासँग झगडा गरेर वरत्र मात्र होइन, परत्र पनि बिग्रन्छ। बाबुआमासँग झगडा गर्ने मान्छे सोझै नर्कमा पुग्छन्।  

त्यसैले उसको कारणले म बाबुआमासँग धेरै झगडा नगरी विद्यापीठतिर फिरेँ। तर म अब श्रीमती लिएर घरगाउँ छोड्नुपर्छ भन्ने विचारमा लागेँ।

एउटा साथीले सुनायो-चितवनमा राप्ती खोलाको किनारको फाँटमा सुकुम्वासी बस्ती छ। म त्यहीँ बस्छु। अलिकति जग्गा चर्चेको छु। सरकारले त्यो जग्गा नापी गरिदिने भन्ने सुनेको छु। नापी गरिदियो भने त, मधेसमा जग्गा पो पाइन्छ त। अहिले झुप्रो हालेर बस्न भइहाल्यो। पछि नापी भएपछि महँगो दाममा बेचेर सहर पसे पनि भयो।

मलाई साथीका कुरा चित्त बुझ्यो। अनि म पहाड गएर श्रीमतीलाई लिएर आउने विचार गरेँ। उसले भनी-कहाँ जानु परदेशको ठाउँमा? न घर छ, न जग्गा जमिन छ, न आफन्त छन्। कम्तीमा यहाँ बस्ने थातथलो त छ। झुप्रो भए पनि घर छ। प्याङ्खर भए पनि जग्गा छ। गाउँमा इज्जत छ। फेरि बाबुआमा बूढो हुँदै हुनुहुन्छ। हाम्रो सेवा चाहिन्छ।

अनि मैले उसलाई धेरै आकाशपाताल देखाएर राजी बनाएँ। कुम्लोकुटुरो बोकेर चितवनको राप्ती खोलाको किनारमा उही साथीकोमा पुग्यौं। एक हप्ता साथीकै झुप्रोमा बसेपछि साथीसहित लागेर हाम्रो पनि झुप्रो बन्यो। झुप्रो राम्रो बनाउनु हुन्नथ्यो। आफूलाई सुकुम्बासी देखाउनुपर्थ्याे।

सुकुम्बासी बस्तीमा सरेपछि ऊ आफ्नो घरको खास मालिक्नी भएकी थिई। उसले त्यो झुप्रालाई भित्र बाहिर लिपनपोतन गरेर चिटिक्क पारेकी थिई।

एक महिना बितेको थियो। एक रात सुकुम्बासी टोलका कुकुरहरू धेरै भुकिरहेका थिए। सिमसिम पानी परिरहेको थियो। पुलिसले सुकुम्बासी बस्ती घेरेको थियो। पुलिसका हात्तीहरू दनादन ती झुप्रा घरहरू भत्काइरहेका थिए। पुलिसले आगो लगाइरहेका थिए। पेट्रोल छर्केर आगो लाएपछि त सिमसिम पानीमा पनि बल्दो रहेछ।

 हेर्दा हेर्दै हाम्रा घरहरू खरानी भएका थिए। एउटा धोक्रोमा हतारहतार केही लुगा, भाँडाकुँडा निकाल्न पाएका थियौं। मान्छेको चिहिलबिहिल भएको थियो। पुलिस तथा सरकारलाई सरापिरहेका थिए। भगवान भाकिरहेका थिए।

हाम्रा गुहारगुहारहरू कसैले सुनेका थिएनन्। सुनेर मौन बसेको थियो भगवान्। डढाएर फर्केको थियो सरकार। हामी त्यही रात एउटा सालको फेदमा बसेका थियौं। पानी अझै विदो भइसकेको थिएन। पानीका थोपा तपतप गर्दै थिए। रुखको फेदमा ऊ मेरो काखमा सुतेकी थिई। म उसलाई पानीले नभिजाओस् भनेर छाता ओढाइरहेको थिएँ। करिब एक घण्टा सुतेपछि ऊ उठी र मलाई भनेकी थिई-आउनुस्, अब सुत्ने तपाईको पालो। म छाता ओढाउँछु, तपाईँ मेरो काखमा सुत्नुहोस्।

मेरा आँखाबाट अनायास आँशु आएछन्। मैले त्यही ओसिलो रातमा उसलाई अँगालो हालेर रोएको थिएँ र भनेको थिएँ -शान्ते, मलाई माफ गरी दे। मैले तँलाई निचुलोसँग एक धरो लाउन र एक गाँस खान दिन पनि सकिनँ। मलाई मेरो भाग्यले यस्तै बनायो। मेरो भाग्यका दशामा तँ पनि मुछिइस्। घर छैन, बारी छैन, जागिर छैन, इलम छैन। यही मेरो विपर्यास जिन्दगीसँग तैंले दुःख भोग्नुपर्यो। मलाई माफ गरिदे।

उसले मलाई त्यही अँगालाका बिचमा भनेकी थिई -कस्तो कुरा गर्नुहुन्छ तपाई? म निरक्षर र गरिब टुहुरी केटीलाई बिहे गर्नुभयो। आश्रय दिनुभयो। बिहे हुनेबित्तिकै म हुनेखाने पण्डित परिवारमा पुगें। म त समाजको नजरमा एकाएक धनी भएँ। एकधरो लाउन नपाएको र एक गाँस खान नपाएको कुनै दिन छैन। बाँकी रहेको यो सुखदुःख भन्नु पनि सोचाइ मात्र हो। मेरा लागि तपाई हुनुहुन्छ। तपाईँको काख छ। तपाईको माया छ। तपाईको काखमा सुतेको यो क्षण मेरो जीवनको ज्यादै सुन्दर क्षण हो। यसरी विपतका रातमा पनि आफ्नो श्रीमानको काखमा निदाउन पाउनु भनेको संसारको सबैभन्दा ठूलो खुसी हो मेरा लागि।

मैले भनेको थिएँ -होइन शान्ते, तँलाई काम खान बिहे गरिएको थियो। मैले यतिका धेरै वर्ष पढाइका लागि तँलाई त्यत्रो बुहार्तनमा हालिदिएँ। व्यवहार चलनका अग्गेठमा जाकिदिएँ। तर तैंले केही गुनासो गरिनस्। अँध्यारो अनुहार पनि लाइनस्। तँ महान होस्। अहिलेको यो घडीमा तँ मात्र नभएको भए म आत्महत्या गर्ने थिएँ। आत्महत्या नगरे पनि पक्का जोगी हुने थिएँ। तँ छेस, तेरो सहनशीलता र आदर्श छ र मात्र म बाँचेको छु। तँ मेरो लागि धन्य छेस्। तँ मेरो लागि विधाता होस्।

उसले भनेकी थिई -त्यस्तो होइन, म निरक्षर छु, तर तपाईँसँग बिहे भएकैले म पण्डितनी भएकी छु। मान्छेले सम्मान गरेका छन्। नत्र त मेरो के थियो र? न समाउने ठाउँ न टेक्ने ठाउँ।

गाउँमा श्रीमती छाडेर शहर पढ्न गएका प्रायः सबैले आफूअनुकुलको अर्को बिहे गरेका छन्। तपाईँले अर्को बिहे गरेको भए पनि मैले सहनुपथ्र्यो। सहेकै छन्। तर तपाईँले मलाई जिन्दगीको पाटोमा डोर्याउनुभयो। नत्र त एक्लै पनि त बाँच्नुपथ्र्यो।

त्यसैले म त जता तपाईँ जानुहुन्छ, त्यतै जान्छु। तपाईँको स्नेहपूर्ण काख नै मेरो सर्वस्व हो। ढुङ्गा, माटोले बनाएको घर पनि कतै घर हुँदो हो?

यसपछि हामी कुम्लोकुटुरो बोकेर काठमाडौंको यात्रा गरेका थियौं। असनको एउटा गल्लीमा डेरा लिएका थियौं। त्यो डेरामा घामको मुख हेर्न पाइन्न थियो। धाराबाट पानी कहिलेकाहीं मात्र आउँथ्यो। त्यो ओसमा हामीले जिन्दगी बिताएका थियौं। स्थायी रोजगारी केही थिएन। म कर्मकाण्ड गर्न पशुपतिमा धोती र कमेज लगाएर जान्थें। कहिलेकाहीं जजमान भेटिन्थ्यो। केही पैसा र चामल प्राप्त हुन्थ्यो। यसले जिन्दगी बाँच्न धेरै मद्दत गरेको थियो।

तर किन हो कुन्नि, हाम्रा सन्तान भएका थिएनन्। यो बुँदामा आएपछि ऊ उदास देखिन्थी। काठमाडौं पुगेपछि हामीले डाक्टर देखायौं। संयोग डाक्टरले दिएको औषधि सेवनले ऊ फेरिएकी थिई। र गर्भवती भएकी थिई। म सोचिरहेको थिएँ कि यो काठमाडौंको टिपौवा जजमाने इलमले के होला र? अनि म लोकसेवा तयारी गर्न थालेको थिएँ। भाग्य थियो मेरो, मैले नासुमा लोकसेवा पास गरेको थिएँ। यसपछि म हुलाकमा पोस्टिङ भएको थिएँ। त्यहाँ काम कम समय ज्यादा हुँदा शाखा अधिकृत पास गर्न पनि सजिलो भएको थियो। त्यही लोकसेवा पास नै मेरो जीवनको उकालो थियो। तर ऊ भन्थी –सरकारी कर्मचारीले घुस खाएर दुःख दिन्छन् भनेको सुनेकी छु। हरामको खाना खान हुँदैन। जति खान पुग्छ, बरु त्यति मात्र खाने, तर हराम नगर्ने।

जागिरको नियुक्ति लिनु र उसले छोरा पाउनु एकै दिन परेको थियो संयोग। उसले फेरि छोरी पाई। हामी दुवै आरामले बसेका छौं। एउटा सानो घर छ। छोरा छोरी छन्।

समय धेरै बितेको छ। छोराछोरी अहिले त दर्घदिशा लागिसकेका छन्। ऊ छे। म छु। सानो घर छ। उसले बनाएको एउटा संसार छ। हामी यसैमा रमाएका छौं। म उसले बेरेको झ्याङ्मा अमरलत्ती भएको छु। 

जागिर खाने क्रममा म पार्टीहरूमा अलिअलि रक्सी खान थालेको थिएँ। पण्डितले रक्सी खाने भनेको कुरा समाजले अपहेलना गर्न थालेको थियो। तर उसलाई केही फरक परेको थिएन। एकदिन उसलाई छिमेकी दिदीले भनेकी थिइन्- हेर है शान्ता बहिनी, तिम्रा बुढा अचेल रक्सी खानथालेका छन्। अलि नियन्त्रण गर्नुपर्छ। दशा घडीपला हेरेर आउँदैन।

उसले छिमेकी दिदीलाई जवाफ फर्काएकी थिई – उहाँ कमाउनुहुन्छ। यो सारा परिवारको बोझ उहाँले एक्लै थाम्नुभएको छ। कहिलेकाहीं पिउनुहुन्छ त के फरक पर्छ? मान्छेको जीवनमा रामरउसको पनि त केही अर्थ हुन्छ। साथीसँगी हुन्छन्। आफ्नो जिन्दगी त बाँच्नुपर्यो नि। उहाँ त मेरो देवता हो। देवतालाई केको नियन्त्रण, केको अनुशासन? केको चियोचर्चो? केको दण्ड?

मलाई झाँगलझुँगल पारेर ट्याक्सीमा हालेर मेरो घर पुर्याइदिएका रहेछन् टोलीले। म घरमा सोफामा सुताइएको रहेछु। ती साथीहरू मातेका भए पनि मेरो वरिपरि निन्याउरो मुख लगाएर उभिइरहेका रहेछन्। शान्ते मेरो टाउकोमा भिक्स लाइदिंदैरहिछे। शान्तेको औंला मेरो निधारमा पर्नेबित्तिकै मेरो बेहोसी तन्द्रा एकाएक हराएछ। टाउको टनटनी दुखिरहेको रहेछ। म भने अचम्मसँग कराइरहेको रहेछु - भो साले हो, धेरै कुरा नगर, ऊ मेरी स्वास्नी होइन, विधाता हो।  

प्रकाशित: २४ श्रावण २०८१ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App