नवलपरासीकी कल्पुकुमारी चौधरीले पटेरको काम थालेको ९ वर्ष पुगेको छ। सुरुमा घरबाटै पटेरका सामग्री बनाउन थालेकी उनले अहिले भने उद्योग नै चलाएकी छन्। उनले कुर्सी, गिलास, मुडालगायत सामग्रीलाई पटेरबाट कभर गर्छिन्।
उद्योगबाट राम्रो आम्दानी भइरहेको उनी बताउँछिन्। उनले उद्योगकै कमाइबाट दुई छोरीलाई फार्मेसीसमेत पढाएकी छन्। उनले पटेरको सामग्री बनाउने तालिम लिएर उद्योग चलाएको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘खेतीपाती गर्ने हामीसँग पैसा हुँदैनथ्यो। खाली समयमा पटेरको सामग्री बनाउन थालेपछि दुई÷चार पैसा हातमा प¥यो, अनि यो काममा सक्रिय भएर लाग्यौं।’
पटेरका सामग्रीबाट राम्रो आम्दानी भइरहेको उनी बताउँछिन्। पटेरको व्यवसाय गरेर नवलपरासीमा खेत किनेको बताउँछिन्, किसुनकुमारी चौधरी। गाउँमा नै तालिम लिई व्यावसायिक रूपमा अगाडि बढेको उनले बताइन्। पटेरका सामान काठमाडौं पठाउँदै आएको उनी बताउँछिन्। ‘श्रीमानसँग २/४ पैसाका लागि हात थाप्न पर्दैन। घरखर्च सबै आफैले कमाएको पैसा चलाउँछु,’ उनी भन्छिन् । पटेरको सामान फ्रेस र लामो समय टिक्ने उनको भनाइ छ।
विगत सम्झँदै किसुनकुमारी भन्छिन्, ‘पैसा कमाउने भएपछि सबैले सम्मान गर्छन्। आफ्नो छोराछोरीको रेखदेख गर्न सकिन्छ।’
कल्पुकुमारी र किसुनकुमारीले पटेरको सामग्री बनाउने तालिम दिँदै आएका छन्। देशका विभिन्न ठाउँमा तालिम दिन जाने गरेको उनीहरू बताउँछन्। ‘रुचिअनुसार सीप सिकेर आर्थिक रूपमा बलियो हुन सकिन्छ,’ उनले भनिन्।
घरेलु उद्यममा अर्काे सफल नाम हो, पार्वती गुरुङ। लमजुङकी पार्वतीले अल्लो र ढाकाको काम गर्न थालेको १३ वर्ष भयो। महिला समूहमा अल्लोको तालिम लिएर उनले उद्योगसमेत सञ्चालन गरेकी छन्। उनी विभिन्न डिजाइनका ऐनासँगै ढाकाको सामग्री बनाउँछिन्।
उनी आफूलाई आत्मनिर्भर महिला भन्न रुचाउँछिन् । ‘सुरुमा श्रीमानले समेत किन काम गर्नु प¥यो? के पुगेको छैन र? भन्नुभयो,’ उनले विगत सुनाइन्, ‘तर, मैले काम गर्ने अडान छाडेन।’ माइतीको सहयोगले काम गर्न सकेको उनी बताउँछिन्। त्यतिबेला घरको काम, बच्चाको रेखदेख सकेर काम सिक्दा निकै गाह्रो भएको उनको अनुभव छ। ‘गाउँमा प्रशस्त मात्रामा पाइने सिस्नुलाई सदुपयोग गरेर राम्रा सामान बनाउन सकिन्छ,’ उनी भन्छिन्, ‘यी सामानको मूल्य राम्रो छ भन्ने थाहा पाएपछि तालिम दिएर कामलाई निरन्तरता दिएकी हुँ।’
काठमाडौंमा आयोजना गरिएको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकी सहभागी पार्वती सामान बेच्नमा व्यस्त थिइन्। ‘संघर्ष र कामलाई निरन्तरता दिन सके आफ्नो खुट्टामा उभिन कुनै ठूलो कुरा हैन,’ उनले भनिन्।
रसुवाकी लहात्पा तामाङलाई घर खर्चका लागि अरुको भर पर्नु पर्दैन। ऊनको सामान बनाउन थालेदेखि उनी आत्मनिर्भर बनेकी हुन्। १० वर्षदेखि ऊनका सामान बेच्दै आएकी उनले यसकै कमाइबाट तीन छोराछोरी पढाएकी छन्। यसबाट सन्तुष्ठ रहेको उनले बताइन् । ‘आफ्नो सीप बेचेर खान पाउँदा सुखको अनुभूति हुने रहेछ। आर्थिक रूपमा मात्र नभई मानसिक रूपमा पनि जान्नेबुझ्ने भइन्छ,’ उनले भनिन्।
दिदीबहिनी भान्छाको काममा मात्र सीमित नभई सीपमूलक काम गर्नु पर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘म पढेको छैन तर तीन छोराछोरीलाई पढाएकी छु। उनीहरूको इच्छाअनुसार पढाउने छु।’
टोखाका महिलाहरू धान भुटेर ओखलमा चिउरा कुट्न व्यस्त देखिन्थे। समूहकी सदस्य चक्नावती श्रेष्ठ चिउरा कुट्दै थिइन्। महिला समूह गठन भएको ६ वर्ष भएको बताउँछिन्, चक्नावती। उनी भन्छिन्, ‘नयाँ पुस्तालाई परम्परागत तरिकाले चिउरा बनाउने तरिका देखाउन विभिन्न प्रदर्शनीमा जान्छौं। नयाँ पिढीलाई यसबारे जानकारी होस् भनेर नै चिउरा बनाएर देखाउँछौं।’
टाइचिन चिउरा मानाको एक सय रूपैयाँमा बेच्ने बताउँछिन्, समूहकी सदस्य गंगा श्रेष्ठ। समूहमा मिलेर परम्परागत तरिकाले चिउरा बनाउन पाउँदा खुसी लाग्ने उनी बताउँछिन्। ‘हरेक वर्ष हामीलाई प्रदर्शनीमा बोलाउँछन्, हामी सबै दिदीबहिनी आएर पुरानो तरिकाले चिउरा कुटेर देखाउँछौं।’
बिएनएन फेल्ट ह्यान्डी क्राफ्टकी सञ्चालक गोमा तामाङ फेल्ट र ढाकाका सामान उत्पादन गर्छिन्। बजारको माग अनुसार नयाँ सामान उत्पादन गर्ने गरेको उनी बताउँछिन्। फेल्ट तथा ढाकाका सामान उत्पादन गरेर आफ्नो आर्थिक स्तर बढेको उनी बताउँछिन्। ‘व्यावसायिक रूपमा पाएको सफलताले आफूले गरेको मिहेनत र परिश्रमप्रति सम्मान जागेर आउँछ,’ उनले भनिन्, ‘लगनशीलतालाई निरन्तरता दिन सकियो भने हरेक काम गर्न सकिन्छ।’
झापाकी नैनाकला तिम्सिना गौतम घरपरिवार र आफन्तसहित ट्रेन्डी इको फ्रेन्डली प्रडक्टकी सञ्चालन गर्दै आएकी छन् । ट्रेन्डी इको फ्रेन्डली सञ्चालन गरेको डेढ वर्ष भएको उनले बताइन् । उनी सुपारीको पातबाट भाँडा, सजावटका सामान बनाउँछिन्। पार्टी समारोहमा विशेष प्रयोग गरिने सुपारीको पातका भाँडा (प्लेट, कटौरा)को राम्रो माग रहेको उनी बताउँछिन् । बजारमा पाइने प्लास्टिकका भाँडा सस्तो हुने भएर सुपारीको पातबाट बनेका भाँडाको बजार राम्रो हुन नसकेको उनले गुनासो पोखिन्। उनी भन्छिन्, ‘प्लास्टिकका भाडाभन्दा सुपारीको पातबाट बनाइएका सामान प्रयोग गर्नु स्वास्थ्यको हिसाबले राम्रो मानिए पनि प्रयोग कम भएको छ, तुलानात्मक रुपमा प्लास्टिकको भाँडाभन्दा सुपारीको पातबाट बनेका भाँडाको मूल्य पनि बढी छ।’
सामानको गुणस्तरलाई भन्दा मूल्यलाई ध्यान दिने चलन बिस्तारै कम भए पनि गुणस्तरीय सामानमा ध्यान दिने कम रहेको उनी बताउँछिन्।
प्रकाशित: १७ चैत्र २०७४ ०२:५० शनिबार