कला

साहित्य पोस्टद्वारा तीन डेब्यु लेखक पुरस्कृत

साहित्यपोस्टले हरेक वर्ष डेब्यु लेखकहरुलाई प्रदान गर्दै आएको तीन पुरस्कार नवलेखकहरुमा अर्पण गरेको छ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवास तथा दहीचिउरा खाने दिनको अवसरमा एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजित एक कार्यक्रमका पुरस्कार अर्पण गरिएको हो।

कार्यक्रममा विजेता घोषणाका साथै पुरस्कार वितरण गरिएको हो। घोषणाअनुसार यस वर्षको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ लाई प्रदान गरिएको छ भने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ सागर खड्काको उपन्यास ‘राइपाली भन्ज्याङ’ लाई प्रदान गरिएको छ।

त्यस्तै, ‘साहित्यपोस्ट उत्तम गैर–आख्यान पुरस्कार’ उमाकान्त पौड्यालको अनुसन्धानात्मक कृति ‘बुद्धकालीन समाज’ लाई प्रदान गरिएको छ। विजेता कृतिका लेखक तथा कविले जनही ५० हजार राशिका साथमा प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रममा काव्यतर्फको पुरस्कारको घोषणा साहित्यपोस्टको अङ्ग्रेजी संस्करण सम्पादक महेश पौड्यालले गरेका थिए भने आख्यानतर्फको पुरस्कारको घोषणा साहित्यपोस्ट नेपाली संस्करणका सम्पादक कृष्ण ढुङ्गेलले गरेका थिए।

त्यस्तै, गैर–आख्यानतर्फको पुरस्कारको घोषणा पत्रकार तथा लेखक केदार वाशिष्ठले गरेका थिए। कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला र काव्य पुरस्कारका प्रायोजक उत्तम भौकाजीले संयुक्त रुपमा विजेताहरुलाई नगद राशिका साथमा प्रमाणपत्र प्रदान गरेका थिए।

विधागत रुपमा काव्य, आख्यान र गैरआख्यान विधाका उत्कृष्ट तीन डेब्यु कृतिका नवलेखकलाई साहित्यपोस्टले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ।

यसअघि प्रत्येक विधाका तीन–तीन उत्कृष्ट पुस्तकका रुपमा ‘नवरत्न २०८०’ जारी गरिएकोमा त्यसैमध्येबाट सर्वोत्कृष्ट कृतिमा रुपमा तीन कृतिलाई पुरस्कृत गरिएको हो।

कार्यक्रममा पुरस्कारको अन्तिम सूचीमा अटाएका कृतिका लेखकहरुलाई प्रमाणपत्रका साथमा सम्मान गरिएको थियो।

भाषासेवी प्रा.डा. सनतकुमार वस्तीले शुभकामना मन्तव्य राखेकी थिइन्। कार्यक्रमको सञ्चालन साहित्यपोस्टको आख्यान सम्पादक तैं तैं धितालले गरिन्।

कार्यक्रममा डा. देवी नेपालले ‘नितान्त नयाँ’ स्तम्भ सुरु गरिने उद्घोषसमेत गरे। यस स्तम्भका डेब्यु लेखकका पहिलो किताबको क्रमैसँग साप्ताहिक रुपमा समीक्षा प्रकाशित गरिने छ। नेपालका अनुसार आउँदो शुक्रबारबाटै यो अभियान सुरु गरिने छ।

प्रकाशित: १५ असार २०८१ २०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App