कला

श्रमको सवाई

कविता

चरचर हस्तरेखा

थरथर शरीर

बुख्याचाझैं खडा छ कान्छाको काया।

घामको झुल्का ओर्लनै नसक्ने

साँघुरो गल्ली

महलको सेपले ओसिलो बनेको

रामझुपडी

अँध्यारै अँध्यारो छ

कान्छाको जीवनको पाखाभरि।

फुर्तीबहादुर घाम ओढेर

कान्छालाई दप्काउँछ

मानौं कि

यो नै हो उसको नैसर्गिक अधिकार!

उफ्, यो कस्तो नसा हो!

मान्छेको पसिनामा पौडी खेल्ने

उफ्, यो कस्तो रहर हो!

मान्छेका खुसीहरू लुट्ने

उफ्, यो कस्तो नियत हो

ठट्टामजाकमा उडाउने मान्छेको सास्ती!

ए समय!

तैंले त बुझ्नुपर्ने पसीनाको मूल्य!

कान्छाको शरीरबाट

कत्रो भेल बग्यो होला पसिनाक !

कत्रो दह बन्यो होला रगतको!

र कति पटक ढोलिए होलान् सपनाका बिस्कुनहरू!

अझै बेखबर प्रतीत छन्

असङ्ख्य कान्छाहरू

जसको श्रमको ढाडमा टेकेर

अग्लिरहेछन् फुर्तीबहादुरका महलको धुरी।

प्रकाशित: १९ वैशाख २०८१ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App