कला

सेतो रङसँग औधी डर!

विसङ्गति

केही दिनअघि एक साँझ मुटु नै चिसो बनाउने एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट भयो। मेरो नजिकका आफन्तको परिवार नै चन्द्रागिरि दुर्घटनामा परेको खबरले मन नै स्तब्ध बनायो। डा. सृष्टिले आँखाअगाडि नै सम्पूर्ण परिवार गुमाइन्। उनको अवस्था पनि निकै गम्भीर थियो।

सेतो रङसँगको उनको नाता निकै गहकिलो थियो। सेतो कोट लगाएर उनले कैयौं बिरामीको उपचार गरिन्। कर्म गर्ने सिलसिलामा सेतो रङले नै उनको परिचय दियो। तर अचानक आज उनले लगाएको सेतो पहिरन देख्दा आफन्तहरू त्रसित भए।

रङ पनि समयअनुसार बदलिँदो रहेछ। रङका पनि आफ्नै कथा हुँदा रहेछन्। मौसमअनुसार रङले पनि भेदभाव गर्दो रहेछ। कसैका लागि यही सेतो रङ स्वच्छताको प्रतीक बन्छ भने समयले कहिलेकाहीं यही रङलाई अभिशाप बनाउँछ।

मलाई सेतो रङ देख्दा साह्रै डर लाग्छ। सेतो रङसँगको सम्बन्ध मेरो गहिराइमा छ। मेरी हजुरआमा १३ वर्षको उमेरमा विधुवा हुनुभएको थियो। उहाँले रंगीन कपडा लगाएको कहिल्यै देखिएन। जहिले पनि फुस्रो कपडा अनि रङ उडेको अनुहारमा देखिनुहुन्थ्यो।

 उहाँले रंगीन जीवनको सपना कहिल्यै देख्न पाउनुभएन सायद। त्यसपछि उमेर नै नपुगी काकाहरू र बाबाको मृत्यु भयो। मेरा आमाहरूका मिठा सपना र रङहरू बुबाहरूसँगै धुवाँमा उडेका थिए। परम्परागत संस्कारमा दौडिएका थिए आमाका पाइला। लालीगुराँसजस्ता राता र यौवनले भरिएका मेरा आमाहरूका जिन्दगीका रङ बदलिएका थिए।

मौसमजस्तै आमाका रङहरू पनि परम्पराअनुसार बदलिए। कुनै समय सौन्दर्य बनेको त्यही रङ आमाहरूका लागि वियोगको प्रतीकमा बदलियो। समयले काँचुली फेर्छ भन्थे, हो रहेछ। हामी आफैंले लगाउने कपडा पनि कहिलेकाहीं आँसु बनिदिन्छ, आफैंलाई पीडा दिन्छ।

मेरी भाउजू भन्छिन्, ‘मलाई रातो कपडा साह्रै मन पथ्र्यो। म अमेरिका बस्दा पनि म रातो पहिरन नै लगाउँथें तर त्यो रातो पहिरन मेरा लागि अभिशाप नै भयो। विवाह भएको ६ महिना नै पुग्न नपाउँदै दाइको अमेरिकामा नै हृदयाघात भएर मृत्यु भएको थियो। नाङ्गो शरीरमा सेतो धोती बेरेर १३ दिनसम्म नेपाल आएर काजक्रिया गरिन्। आज त्यो दिन सम्झँदा डर लाग्छ। त्यो सेतो रङले मनै रुवाउँछ ।

अमेरिका नै जानुपर्ने र आफ्नो पढाइलगायतका कामलाई निरन्तरता दिनुपर्ने भएकाले उनलाई सेतो रङबाट मुक्त पारियो। समाजले त वर्ष दिनभरि नै लगाउनुपर्छ भन्दै थियो तर उनकी सासूले समाजसँग लडिन्। मान्छे नहुँदाको पीडा त छँदै छ, फेरि सेतो वस्त्रले उनलाई निकै तर्साउँछ।

जीवनमा कुनै कुनै सम्बन्ध कपडाले पनि रोज्छन्। समयानुसारको पहिरहनले मानिसलाई याद बनाउँदो रहेछ। कहिले त्यही कपडा सौन्दर्य बन्छ भने कहिले त्यही वस्त्रको रङ कुरूप देखिन्छ। विपत्ति कतिबेला आउँछ, कसैलाई थाहा हुँदैन। हिजोसम्म रंगीन दुनियामा हुनेहरू आजदेखि नै रङविहीन हुन सक्छन्।

श्रीमान्को मोटरसाइकल दुर्घटनामा मृत्यु भयो। २२ वर्षकी थापा थर भएकी युवती भण्डारेश्वर क्रियापुत्री भवनमा काजक्रिया बसेकी रहिछन्। अन्तरजातीय विवाह गरेकी उनको वैवाहिक जीवन सात महिनामै टुगियो। उनकी आमा भन्छिन्, ‘के देख्नुपर्‍यो मैले। कस्तो पीडा? के खाऊँ के लाऊँ भन्ने उमेरमा छोरीको यो अवस्था भयो। सेतो वस्त्रमा बेरिएकी उनकी आमा भन्छिन्, ‘सधैं रोजी रोजी लगाउँथी कपडा तर आज उसको मर्जी कहाँ चल्यो र? यो सेतो कपडामा बेरिएको उसको रूप देखेर नै डर लाग्छ।’

छोरीले बेरेको सेतो धोतीले उनलाई निकै गाह्रो बनाएको छ।

हामी जन्मदेखि मृत्युसम्म सबै परम्परा र विधि गर्छौं। यसबिच धेरै उतारचढाव आउँछन्। कहिले रोइन्छ, कहिले हाँसिन्छ। सबैको आआफ्ना कथाव्यथा छँदै छन्। कति रहरले सेतो कपडा किन्छन्, कतिलाई यही सेतो कपडा बाध्यता बनिदिन्छ।

९३ वर्षमा ८० वर्षकी बुढी आमाका श्रीमान् बिते। १३ वर्षमा विवाह गरेकी उनले कहिल्यै सेतो वस्त्र लगाएकी थिइनन्। शिरदेखि पाउसम्मै सधैं रातो कपडा लगाउँथिन्। जीवनको सबैभन्दा नजिकको पात्र गुमाउनुपर्दाको पीडा, त्यसमाथि सेतो वस्त्र। सेतो पहिरन हेरेर बुढी आमा सधैं रुन्छिन्।

किन लगाइन्छ सेतो वस्त्र? मैले गरुड पुराण सुनाइरहेका एक गुरुलाई सोधें। सेतो रङ पवित्र मानिन्छ रे। जुन समय मान्छेलाई दुःख परेको हुन्छ, त्यतिबेला मनको चञ्चलतालाई धैर्य र शान्त पार्ने काम सेतो रङले गर्ने भएकाले यस्तो अवस्थामा सेतो वस्त्र लगाइन्छ भनेर पण्डितले जवाफ दिए।

हुन त समय परिवर्तन भइसकेको छ। कठोर मानसिक सोच बन्द हुँदैछन्। परिवर्तनका शृंखला क्रमबद्ध रूपले बढिरहेका छन्। कठोर यातना बन्द हुने क्रममा छन् तर पनि कतै कतै सङ्कुचित सोच यथावत् छन्।

हुन त सबैलाई अरूको भन्दा आफ्नैको माया बढी लाग्छ। मरेर जाने गइसक्यो तर बाँच्नेलाई कति गाह्रो छ? भोग्नेलाई थाहा हुन्छ। हाम्रो सोचले कर्म निर्धारण गर्छ। सोचलाई राम्रो बनाउनु आफूलाई पूर्ण बनाउनु हो।

परिस्थितिले कसैलाई सही वा गलत ठाउँमा पुर्‍याउँदैन, त्यसलाई सामना गर्ने तरिकाले गन्तव्य निर्धारण गर्छ। शाश्वत सत्य हो मृत्यु तर कसैलाई गुमाउनुपरेको अवस्थामा यसको बोध गर्नु र स्वीकार गर्नु नितान्त गाह्रो विषय हो।

मृत्युले ढिलोचाँडो भन्दैन, उमेर पनि हेर्दैन। यो आफ्नो गतिमा चलेको छ। मर्दा तेरा आफ्नालाई पीडा हुन्छ भनेर पनि सायद मृत्युले सोच्दैन। त्यति सोच्ने भए अल्पायुमै कसैको मृत्यु हुँदैनथ्यो।

जन्ममृत्यु आफ्नो ठाउँमा छ, संस्कार आफ्नो ठाउँमा छ, परम्परा आफ्नो ठाउँमा छ। विधि र परम्पराको नाउँमा वस्त्रको रङ हेरेर रुन कसैलाई नपरोस्। जीवनमा पाउनु र गुमाउनुका अर्थ धेरै छन्। कसैले लगाइरहेको पहिरन वा सौन्दर्य कसैको मृत्युसँगै जान्छ र?  

प्रकाशित: १९ फाल्गुन २०८० ०९:०९ शनिबार

सेतो रङसँग औधी डर! विसङ्गति