कला

हनुमानढोका दरबारमा ‘वसन्त राग’

संस्कार

काठमाडौंको मध्य भागमा रहेको हनुमानढोका दरबार मल्लकालिक तथा शाहकालिक दरबारको अद्वितीय कला क्षेत्र हो। यहाँ लिच्छविकालदेखि नै दरबार रहेको प्रमाण दिने अभिलेखहरू पनि पाइएका छन् तर त्यस बेलाको दरबार संरचना भने अहिले छैनन्।

यो दरबार राजाहरूको वासस्थान मात्र नभई धार्मिक तथा सांस्कृतिक महत्त्व भएको स्थान भएको हुँदा यहाँ वर्षभर नै विभिन्न पर्वोत्सव मनाउने गरिन्छ। यिनै उत्सवमध्ये वसन्त श्रवण पनि एक हो।

वसन्त श्रवण वसन्त पञ्चमीको दिन मनाइन्छ। यस दिन सरस्वती पूजाको दिन पनि हो। यहाँ मनाइने वसन्त श्रवणमा सरस्वती पूजासमेत गरिने भए पनि यस बेला गीतगोविन्द वसन्त रागमा गाउने परम्परा मुख्य हो। जसलाई वसन्त श्रवणको नामले चिनिन्छ।

पहिला यो पर्व मनाउन राजकीय साजसज्जामा दरबारको नासल चोकमा मनाइन्थ्यो जहाँ राजा, राजपरिवारका सदस्य साथै भाइभारदारहरूको उपस्थिति रहन्थ्यो। आजभोलि राष्ट्राध्यक्षलगायतका गण्यमान्य व्यक्तित्त्वहरूको उपस्थितिमा मनाउने गरिएको छ।

गीतगोविन्द वसन्त रागमा गाइन्छ। भारतको जगन्नाथ हिन्दु परम्परामा विशेष गरी ओडिसा राज्यमा पूजा गर्ने देवताको मन्दिरमा यो राग गाउने परम्परा रहेको छ।

 गीतगोविन्द १२ औं शताब्दीमा भारतमा जन्मेका कवि जयदेवले संस्कृत भाषामा रचेको कविता हो। यस कविताले वसन्त ऋतुमा राधा र कृष्णको प्रेम भावनाको वर्णन गर्छ।

भारतीय शास्त्रीय संगीतमा यस भावको वसन्त रागमा विभिन्न नाटक, नृत्यहरू प्रदर्शन हुने गरेको छ। यसको रचनाकालदेखि नै यहाँको मन्दिरमा गीतगोविन्द गाउने परम्परा छ। यसलाई वसन्त रागमा गाउने हुनाले जगन्नाथ, गीतगोविन्द र वसन्त रागबिचको सांस्कृतिक र सांगीतिक सम्बन्ध रहेको मानिन्छ।

 गीतगोविन्दका श्लोकहरूले वसन्त ऋतुमा राधा र कृष्णको दिव्य प्रेमलाई चित्रण गरेका छन्। त्यसैले यस प्रेमलाई वसन्त रागमा संगीतमय प्रस्तुतिका साथमा प्रस्तुत गर्ने गरेको विश्वास गरिन्छ।

संगीतमा वसन्त रागको विशेष महत्त्व रहेको पाइन्छ। वसन्त ऋतु प्रेमको ऋतु भएकाले यस मौसममा वसन्त रागको अति नै महत्त्व रहेको हुन्छ। यसको श्रवणले मन प्रसन्न हुने विश्वास गरिन्छ। यस राग रातको अन्तिम प्रहरमा गाइन्छ।

यसलाई अति प्राचीन राग पनि मानिन्छ। वसन्त ऋतुमा भने यो राग चौबीसै घण्टा गाउन/बजाउन सकिने मान्यता रहेको छ। ऋतुका राजा वसन्त भएकाले वसन्त रागलाई रागका राजा मान्ने गरिन्छ। यो राग सबै प्राणीका लागि पनि आनन्ददायी एवं स्वास्थ्यवर्धक मानिन्छ।

यस दिन सर्वसाधारणहरू भने सरस्वती वन्दना ‘सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी, हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे’ र ‘ॐनमोः बागीश्वराय नमः’ मा ज्ञानकी देवी सरस्वतीको पूजा अर्चना गरी बालकलाई अक्षरारम्भ गराउने, सबै ज्ञानका प्रेमीहरू सरस्वती थानमा गई पूजा अर्चना गरी वसन्त पञ्चमीमा सरस्वती पूजा मनाउने गर्छन्। यस दिन सरस्वती थानका कुण्डमा नुहाउने पनि चलन छ। यस दिन ललितपुरस्थित लेलेको सरस्वती कुण्डमा मेला लाग्छ र बालबालिकालाई यस कुण्डको जल खुवाउने पनि गरिन्छ।

हिन्दु मान्यताअनुसार सरस्वतीको उत्पत्तिका सन्दर्भमा जब ब्रह्माजीले सृष्टिको रचना गरेका थिए तब सबैतिर शान्ति व्याप्त थियो। त्यही समय भगवान् विष्णुको आज्ञाले ब्रह्माजीले आफ्नो कमण्डलुको जल धरतीमा छरेका थिए। त्यसबाट एक अद्भुत शक्ति भएका चार भुजामा वीणा, माला, पुस्तक लिएकी नारी अवतरित भइन्। तब ब्रह्माजीले देवी सरस्वतीको नाम दिए, जसलाई ज्ञान, संगीतकी देवी भनेर चिनियो। सरस्वतीको उत्पत्ति भएको दिनका रूपमा यस दिन सरस्वतीलाई पूजा गरी श्रीपञ्चमी मनाउने गरियो।

यस दिनलाई प्रायः सबैले आआफ्नो धर्म–परम्पराअनुसार बालबालिकालाई अक्षराम्भ गराई सरस्वतीको पूजा आराधना गरी ज्ञान हासिल गर्ने दिनका रूपमा मनाइन्छ। बौद्ध नेपाली समुदायले श्रीमहामञ्जुश्रीलाई प्रथम गुरु मानेर अक्षरारम्भ गर्ने चलन छ।

बौद्धहरूले माघशुक्ल श्रीपञ्चमी तिथिलाई मञ्जुपञ्चमी पनि भन्ने गर्छन्। यस दिन सरस्वतीको पूजा आराधना गरी व्रत बस्ने, विद्या आरम्भ र अभक्ष्य भोजन त्यागि सिद्धि प्राप्त गर्न सक्ने तथा विद्याले पूर्ण हुने विश्वास गरिन्छ।

वसन्त पञ्चमीदेखि वसन्त ऋतुको आरम्भ हुने हुँदा शिशिर ऋतुको जाडो कम हुँदै जान्छ। यस ऋतुको आगमनसँगै प्रकृतिमा परिवर्तन आई नयाँ नयाँ पालुवाले रमणीय बनाउँछ। यसले मानिसको जीवनमा नयाँ दृष्टिकोण र ऊर्जा प्रदान गर्छ। नव विवाहिताको नयाँ जीवनको शुभारम्भदेखि साहित्यकला र विज्ञानमा समृद्धि, सफलता र उन्नति प्राप्त गर्नका लागि पनि यो ऋतु उत्तम मानिन्छ।

वसन्त पञ्चमीका हरेक पक्ष अद्वितीय र महत्त्वपूर्ण हुने हुनाले श्रीमद्भागवत गीतामा श्रीकृष्णले वसन्त मेरो रूपमा एक हो भनेका छन्। पूmलमा कमल, ऋतुमा वसन्त मानेको देखिन्छ। ६ ऋतुहरूमा (वसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त र शिशिर ) श्रेष्ठ ऋतु भएकाले सम्पूर्ण जीवात्माका लागि आनन्दमय मौसम भएकाले यसलाई नवयौवनको पर्व पनि भनिन्छ। त्यसैले यस ऋतुलाई ऋतुराज भन्ने गरिन्छ। पाँचवटा ऋतुले आठ आठ दिन वसन्त ऋतुलाई उपहार दिएको हुनाले चालीस दिन बढी पाएकाले चैत्रबाट सुरु हुने ऋतु माघ शुक्ल पञ्चमीदेखि सुरु भएको भन्ने भनाइ पनि रहेको छ।

वसन्त पञ्चमीको दिनलाई श्रीपञ्चमी, सरस्वती पूजा र मञ्जुपञ्चमीका नामले पनि चिनिन्छ। हाम्रो समाजमा मनाउने विभिन्न पर्वपूजा र जात्रा चन्द्रमाको गतिअनुसार मनाउने गरिन्छ।

विभिन्न तिथिमा मनाइने पर्वमध्ये शुक्ल पञ्चमी तिथिलाई महत्त्वपूर्ण मानिन्छ। पञ्चमीहरूमध्ये महत्त्वपूर्ण पञ्चमीमा नागपञ्चमी, ऋषिपञ्चमी, विवाहपञ्चमी, श्रीपञ्चमी अथवा वसन्तपञ्चमी पर्छन्। श्रीपञ्चमीलाई श्रीदेवी, भूदेवी र वाक्देवीको संगम पनि मानिन्छ।

हनुमानढोकाको नासलचोकमा वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमीका लागि चार दिनअघिदेखि नै नास द्यःको अगाडितिरको भुईं लिपेर चोखो बनाइन्छ। यसरी चोखो बनाइएको ठाउँमा हरियो बाँसपालुवासहितको लिङ्गो गाडेर ६ वटा चँदुवा झुन्याई सम्पूर्ण देवदेवीलाई आह्वान गरिन्छ।

यसरी राखिएको चँदुवाको कलश तलतिर चोखो पारिएको जमिनमा रेखी कोरी देवताका लागि आसनी बनाइन्छ।

यसमाथि तयार पारिएको पूजा सामग्री राखी दियो बालेर पूजा आरम्भ गरिन्छ। यसपछि गणेश, दियो, चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद) प्रतिस्थापन गरेर पूर्वमा ॐ श्री गणेशाय नमः, ॐ श्री सरस्वतीय नमः, पश्चिममा ॐ श्री वृस्पतय नमः, उत्तरमा ॐ श्री रती कामदेवाय नमः, दक्षिणमा ॐ श्री शुक्राय नमः र बिचमा ॐ श्री ब्रह्माय नमः, ॐ श्री वृहस्पय नमः भनी पूजा गरिन्छ।

यस उत्सवका लागि पूजा स्थानको दक्षिणमा रहेको डबली र डबली नजिकै सेनाको दरबन्दीअनुसारको व्यान्ड बाजा बजाउने टुकडी रहन्छ। पहिले पहिले यस समारोहमा नेपाली सेनाको सबै निसानी ल्याउनुपर्ने भनिए पनि स्थान अभावका कारण मूल निसानी (पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि पहिलोपल्ट यहाँ आउँदा साथमा ल्याएको निसानी) र सबै युनिटको प्रतिकात्मक ३७ वटा निसानी ल्याई डबलीमा राखिन्छ।

डबलीसँगै राष्ट्रप्रमुखको सलामीका लागि नेपाली सेनाका जवानहरूको डफ्फा रहन्छ। राष्ट्राध्यक्षलगायत नेपाल सरकारका उच्च पदका कर्मचारीहरू गृह मन्त्रालयको सूचनाबमोजिम तोकिएको समयमा उपस्थित हुने गर्छन्।

मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति भएपछि प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपतिको सवारी भएपछि सेनाको एकाउन्न जनाको टुकडीले सलामी चढाउँछ।

यसपछि नेपाली सेनाको व्यान्डले राष्ट्रिय धुन बजाई शुभसाइतको संकेत गर्छ। यसपछि ब्राह्मणले गीतगोविन्द (वाचन) पाठ गर्छन्। यसपछि राष्ट्राध्यक्षबाट पूजा संकल्प गराई दियो–कलश, गणेश र सरस्वतीलाई पूजा गरिन्छ।

सबै पूजा सकिएपछि पहिले ढाडी (लोक संस्कृति) गाउने चलन थियो भने अहिले यो चलन हराइसकेको छ तर गीतगोविन्द वाचन गर्ने चलन भने अहिलेसम्म छ (दरबारका पुजारीका अनुसार)। यसलाई नै वसन्त श्रवण भन्ने गरिएको छ। यसपछि कलाकारहरूबाट वसन्त रागका धुन बजाउने गरिन्छ। अन्तमा अर्घ विसर्जन, टीका–प्रसाद राष्ट्रपतिलगायत उपस्थित सम्पूर्णलाई दिएपछि उत्सव सम्पन्न हुन्छ।  

वसन्त राग वसन्त ऋतुको परिचायक राग भएकाले पनि यस रागलाई यसै ऋतुमा गाउने गरिन्छ। हरेक ऋतुले मानिसको जीवनमा असर पार्ने हुनाले ऋतुअनुसारको संगीतको धुनमा गीत गाउने गरिन्छ।

वसन्त रागलाई अति पुरानो राग मानिन्छ। राग वसन्त हिन्दुस्तानी शास्त्रीय संगीत प्रणालीको एक राग हो। यसको आरोहीमा पाँच नोट र अवरोहीमा सात नोट हुन्छन्। यो खुसी र उत्साहको राग हो। यसलाई गाउदा र सुन्दा मन प्रसन्न हुने जनविश्वास छ।

यो राग गाउने समय रातको अन्तिम प्रहर मानिएको छ तर वसन्त ऋतुमा भने जुनसुकै समयमा पनि यसलाई गाउन सकिने विश्वास छ। ऋतुका राजा वसन्त भएकाले वसन्त रागलाई रागका राजा मान्ने गरिएको छ। यस ऋतु हरेक प्राणीका लागी उत्तम एवं स्वास्थ्यवर्धक मानिन्छ।  

मल्लकालीन दरबारमा ३२ थरीका राग गाउने चलन रहेकोमा आजभोलि केही राग मात्र गाउने चलन छ। पाटन दरबारमा ज्याः पुन्हि अर्थात् जेष्ठ पूर्णिमाका दिन सिद्धिनरसिंह मल्लद्वारा रचिएको राग गाउने चलन अहिलेसम्म यथावत् नै छ। यस दिन राग मल्हार गाएर रोपाइँका लागि पर्याप्त पानी माग्ने गरिन्छ। मेघ मल्हार घाटु राग पानीसँग सम्बन्धित भएकाले यो राग गाएपछि पानी पर्छ भन्ने जनविश्वास रहेको छ।

त्यस्तै हनुमानढोका दरबारको नासलचोकमा भने वसन्त पञ्चमीका दिन वसन्त कामदेवको पूजा गरी वसन्त राग गाउने चलन अहिलेसम्म रहिआएको छ। हनुमानढोका दरबारको मनमोहनचोकमा रहेको शिलापट्टमा पनि उल्लेख भएको छ।

उक्त शिलापट्टमा ‘पञ्चमी कुन्हु श्री ३ वसन्त कामदेवन पूजा यायमाल’ भनी वसन्तऋतुमा कामदेवको पूजा गर्ने विषयमा लेखिएको छ। यसमा पूजाको विषयमा मात्र लेखिएको छ तर कहिलेदेखि यस दिनमा वसन्त राग गाउने चलन चल्यो भन्ने स्पष्ट देखिँदैन।  

१२ औं शताब्दीमा दक्षिण भारतमा जन्मिएका हिन्दु कवि जयदेवद्वारा रचना गरिएको कृति ‘गीतागोविन्द’ हो। प्रसिद्ध सन्त यीजयदेव बंगालका राजा लक्ष्मण सेनका दरबारका कवि थिए। जयदेवको कृष्णभक्तिले उनको मानसपटलमा राधाकृष्णको वनविहार प्रेमालापको सचित्र वर्णन गीतगोविन्दमा छ।

त्यस्तै यसको रचना गर्ने क्रममा अन्तिम श्लोक पूरा नहुँदा अलमलमा परेका कृष्ण स्वयम् उनको शरीरमा प्रवेश गरी रचेको भन्ने गरिएको हुँदा गीतगोविन्दलाई साक्षात् राधाकृष्णको भक्तिरस पनि मानिन्छ।

गीतगोविन्दलाई बाह्र अध्यायमा लेखिएको छ। प्रत्येक अध्यायलाई विभाजन गरिएका छन्। उनीद्वारा रचिएको काव्यचित्र गीतगोविन्द शृङ्गार रसमा रचित महाकाव्य हो।

शृङ्गार रसमा रचित महाकाव्य गीतगोविन्द हनुमान ढोका दरबारमा गाउने परम्पर राजा प्रताप मल्लले नै बसाएका हुन् भनी अनुमान गर्न सकिन्छ किनभने यिनै राजाको समयमा दरबारको प्राङ्गणको विष्णु मन्दिर (दुई तहको छाना भएको विष्णुको यस मन्दिरमा जगन्नाथको मूर्ति स्थापना गरिएपछि यस मन्दिरलाई जगन्नाथ मन्दिर भन्न थालेको देखिन्छ।

यस मन्दिरमा विष्णुको चतुर्मूर्ति १६१९ सालमा महेन्द्र मल्लको समयमा नै भएको कुरा यहाँ रहेको अभिलेखमा उल्लेख भएको छ।) मा जगन्नाथको मूर्ति पनि स्थापना गरिएबाट त्यतिबेला दरबारमा भारतीय कविहरूको पहुँच रहेको अनुमान गर्न सकिन्छ।

 राजा प्रताप मल्ल सौखिन राजा भएकाले यस किसिमको चलन उनै राजाले दरबारमा चलाएको अनुमान गर्न सकिन्छ। हनुमानढोका दरबारबाहेक काठमाडौंका धेरै ठाउँमा जगन्नाथका मन्दिरहरू बनाइएका छन्। तर यी मन्दिरमा गीतगोविन्द गाउने वा वाचन गर्ने परम्परा भने रहेको देखिँदैन।

भारतको उडिसास्थित जगन्नाथ मन्दिरमा हरेक रात जयदेवको गीतगोविन्द वसन्त रागमा गाउने परम्परा छ। जुन परम्परा जयदेवको समयदेखिकै निरन्तरता मानिन्छ। यस मन्दिरको जगन्नाथ मूर्तिमा त्रिकुट (भाइ बलभद्र, सुभद्रा र कृष्ण) देखाइन्छ। जगन्नाथलाई राम र कृष्णको निराकार रूप पनि भन्ने गरिन्छ। यसको चलन १२औं शताब्दीदेखिकै रहेको बुझिन्छ।

प्रकाशित: ५ फाल्गुन २०८० ११:०७ शनिबार

हनुमानढोका दरबारमा ‘वसन्त राग’ संस्कार