कला

आजदेखि रोङमा कला–साहित्य महोत्सव

महोत्सव उद्घाटन स्थल झन्डीडाँडा। तस्बिर : नागरिक

कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा आज कला–साहित्य महोत्सव  सुरु हुँदै छ। महोत्सवको सबै तयारी पूरा भएको आयोजक वडा कार्यालयले जनाएको छ।

इलामस्थित चेतना नाट्य समूह र झापाको ट्रेक–८५८६ को समन्वयमा वडाले माघ २९ सम्म वडामा महोत्सव आयोजना गरेको हो।

रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवका विषयवस्तु पनि स्थानीय विषयसँगै सम्बन्धित रहने वडाध्यक्ष सत्यम राईले बताए। उनका अनुसार फरक किसिमले कला, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा वडाले प्रयास गरेको हो। ‘यो वडा देशकै लोपोन्मुख लेप्चा समुदायको थातथलो रहेको ठाउँ पनि हो’, उनले भने, ‘तामाङ, राई, लिम्बू, राई, नेवारलगायत विभिन्न जाति र संस्कृतिका झाँकीसमेत प्रदर्शन गरिने छन्।’

सरकारको जिम्मेवारी नागरिकका लागि रोजगारी सिर्जना गर्नु पनि भएकाले कला–संस्कृति र कृषिमा नागरिकलाई स्वरोजगार बनाउन महोत्सवले सहयोग गर्ने वडाले अपेक्षा गरेको छ। ‘रोजगारी पाउनु भनेको कुनै कारखाना र उद्योगमा बिहान १० देखि बेलुका ५ बजेसम्म काम गर्नु मात्रै होइन’, उनले भने, ‘आफूसँग भएको कला र मेहनत बेच्न सक्यो भने व्यक्ति स्वरोजगार बन्छ, अवसर नपाएर कतिपय प्रतिभा गाउँमै लुकिरहेका छन्, उनीहरूको कला उजागर गर्न सघाउनु पनि हाम्रो लक्ष्य हो।’

महोत्सव आयोजनाका लागि नवीन तामाङको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समिति सदस्यमा धिरेन सुन्दास र धनवीर राई छन्। झाँकी प्रदर्शनका लागि उपसमिति गठन गरिएका छन्। उपसमितिले सम्बन्धित समूहलाई प्रशिक्षित गर्दै नयाँ पिँढीलाई कला–संस्कृति सिक्ने अवसरसमेत प्रदान गर्नेछन्। महोत्सवमा लेप्चा समुदायको नृत्य, साकेला नृत्य, च्याबु्रङ, तामाङ सेलो, मारुनीलगायत प्रस्तुत गरिने उनले जनाए।

महोत्सवको उद्घाटन आज पर्यटकीय झन्डीडाँडामा गरिने छ। उद्घाटनपछि आजै साहित्यकार राजन मुकारुङले मुख्य वक्ताका रूपमा ‘रैथाने ज्ञानको आवश्यकता’ विषयमा मन्तव्य राख्नेछन्। ‘कृषि ः सम्भावना, समस्या र सीमा’ विषयमा डा.योगेन्द्रमान श्रेष्ठ, टंक थापा र सीमा कार्कीबीच बहस हुनेछ। ‘कला–साहित्यभित्र गाउँको चित्रण’ विषयमा हाङयुग अज्ञात, प्रतिभा पौडेल र कुमारी लामाबीचको बहस पनि हुनेछ।

दोस्रो दिनको कार्यक्रम सलकपुरमा आयोजना गरिएको छ। त्यस दिन ‘कविहरू जब गाउँ फर्किन्छन्’ कार्यक्रम सञ्चालन गरिनेछ। यसमा खेम साम्पाङ, बन्दना राई र एन्जिला थामबीचको बहस हुनेछ। ‘विश्वव्यापीकरणभित्र गाउँ’ शीर्षकमा डा.तारालाल श्रेष्ठ र मानुसी यमी भट्टराईबीच छलफल हुनेछ। ‘गाउँ–सहरका महिला र पुरुष’ विषयमा कैलाश राई र कविता पोर्तेलबीच भलाकुसारी हुनेछ। ‘हामी इतिहासमा बाँच्छौं’ विषयमा वीरबहादुर लेप्चा, निरज कट्टेल र मोहनसिंह थेबेबीचको बहस पनि हुनेछ। यही दिन १० स्थानीय र १० गैरस्थानीय कवि–कवयित्रीले आफ्ना रचना सुनाउनेछन्।

पर्सिको कार्यक्रम सांस्कृतिक सर्किटको जौबारीमा हुनेछ। ‘एक चित्रकारले देख्ने गाउँ’को प्रदर्शनी (चित्रकला) गरिने छ। यसमा २० स्थानीय तथा गैरस्थानीय चित्रकार सहभागी हुनेछन्। र, त्यही दिन स्थानीय विषय समेटिएको नाटक मञ्चन गरिने छ। नाटकमा चेतना नाट्य समूह र स्थानीय कलाकार नै रहनेछन्।

वडाको कला–संस्कृति प्रचार गर्न विषयवस्तु यहाँकै राखिने उनले बताए। ‘एक कलाकारले वा कविले यो वडाको विषय लेखिँदिँदा, बोलिदिँदा र चित्र बनाइदिँदा ठूलो प्रचार हुन्छ’, उनले भने, ‘त्यसैले सबैलाई हामी गाउँकै विषय उठान गरिदिन अनुरोध गर्नेछौं।’ स्थानीय कलाकारलाई जीविकोपार्जनसँग जोड्न पनि महोत्सवले सहयोग गर्ने वडाध्यक्ष राईको भनाइ छ।

जति पुस्तान्तरण हुँदै जान्छ, गाउँको इतिहास र कथावस्तु क्रमशः हराउँदै गएको भन्दै वडाले महोत्सवमार्फत् इतिहास, कला र संस्कृतिको जगेर्ना प्रयास गरेको हो। ‘यसअघि पनि बाँस, अलैंचीको सुन्तलालगायत स्थानीय कच्चा पदार्थलाई सामग्री बनाएर व्यावसायिक बन्नेबारे तालिम, गोष्ठीहरू भए तर उहाँहरू अझै व्यावसायिक बन्न सक्नुभएको छैन’, वडाध्यक्ष राईले भने, ‘यो पटक क्षमता हुने व्यक्तिको सीप प्रदर्शन गर्ने अवसर पनि हो यो।’

स्थानीय विषयमै नाटकको तयारी गरेका निर्देशक अन्वेश थुलुङले अहिले जसले पनि ठूला–ठूला भौतिक पूर्वाधारलाई मात्रै ‘विकास’को नाम दिएकाले गाउँको कला–संस्कृति संरक्षणमा चुनौती रहेको बताए। ‘कला–संस्कृति भनेकै समाजलाई बचाएर राख्ने माध्यम हो’, उनले भने, ‘गाउँ, कुनाकन्दराका सयौं–हजारौं कथा अझै बाहिर आउन सकेका छैनन्, तिनलाई पर्यटनसँग जोड्न पनि प्रचारको आवश्यकता छ।’

प्रकाशित: २७ माघ २०८० ०९:५१ शनिबार

कला–साहित्य महोत्सव संस्कृति कला कृषि रोङ गाउँपालिका इलाम चेतना नाट्य समूह ट्रेक–८५८६