कला

बालकृष्ण : नाट्यक्षेत्रका चहकिला बत्ती

आजसम्म पनि नेपाली नाटक साहित्यमा सममात्र यस्ता नाट्यप्रतिभा हुन्, जसले विभिन्न प्रकार र आयामका नाटक प्रकाशन गरेर नेपाली नाटकलाई योगदान दिएका छन्।

बालकृष्ण समका दुई दर्जनभन्दा बढी पूर्णाङ्की र तीन दर्जनभन्दा बढी एकाङ्की नाटकमा विषयगत आकारप्रकार, शैली, शिल्पगत प्रकार र कथानकीय परिणतिजस्ता पृथकता देखिन्छ।

केही लेखक जसले कलमबाट होइन, अन्तश्चेतनाबाट साहित्य सिर्जना गर्छन्। तिनीहरू नै चिरकालसम्म चम्किन्छन्। नियमित चर्चा पनि तिनीहरूकै हुन्छ। विद्यालयदेखि विश्वविद्यालयका किताबमा ती छाइरहन्छन्।

अतीतदेखि वर्तमानसम्म तिनीहरू नै चर्चामा रहन्छन्। तिनीहरूको चर्चा र प्रशस्तिको गाँठी कुरो सिर्जनाभित्रको गुणपक्ष हुने गर्छ। गुणात्मकता कै कारण एक शताब्दीदेखि टिकिरहेका नेपाली नाट्यक्षेत्रका चहकिला बत्ती हुन् बालकृष्ण सम।

प्रणय विषयक नाटक ‘मुटुको व्यथा’ (१९८६) छापेर सार्वजनिक भएका बालकृष्ण सम नेपाली साहित्यमा आजसम्म पनि उत्तिकै चर्चित नाटककारमा दरिन्छन्। व्यक्ति लेखक सदावहार स्वरूपमा रूपान्तरण हुने कारण उनका नाटकमा रहेको अन्तर्वस्तु, विचारधारा र दार्शनिक पक्षको गहिराइ हुने गर्छ।

समग्रमा गुण पक्ष हुने गर्छ। १९५९ सालमा जन्मेका समका गुणात्मक नाट्ययोगदानका खास प्रमुख पक्ष केके हुन् यहाँ विमर्श गरिएको छ।

कालातीत चिन्तन
मानव संसारको जुनसुकै कुनामा बाँचे पनि यसका केही चिन्तन, व्यवहार र विचारधारा समान खालका हुन्छन्। प्रकृति, प्रणय, पहिचान, आस्था आदि संसारभरका मान्छेका समान स्वभाव हुन्।

समका नाटकमा पनि यस प्रकृतिका विश्वव्यापी विषयवस्तु पाइन्छन्। नेपाली समाजमा मौलिक लाग्ने र विश्वमानव अनुभवलाई पनि छुन सक्ने सर्वव्यापी भाव समका नाटकमा प्रतिध्वनित भएको देखिन्छ।

उनका नाटकमा उठान गरिएका प्रेम, मानवीय शक्ति, ईष्र्या, महŒवाकाङ्क्षा, मूर्खता आदि संवेग कालातीत लाग्छन्। हिजोदेखि आजको समयसम्मका संसारभरका पाठकलाई उत्तिकै सान्दर्भिक र साजी लाग्ने विषयलाई नाटकीकरण गर्न सक्नु समका नाटकको गुणात्मक पक्ष हो। फलतः उनका नाटकभित्रका विषयवस्तु सदावहार लाग्छन्, स्थायी लाग्छन्।

बहुआयामिक चरित्र

समले ज्यादा दुःखान्त नाटक लेखेका छन्। उनका नाटकमा प्रयोग भएका पात्रमा गम्भीरता देखिन्छ। उनीहरूलाई गहिराइमा बुझ्दा भव्य लाग्छन्। प्रेमपिण्डको एडबिल भयानक पात्र हो। उसले नाटकमा वासनात्मकदेखि भावनात्मक प्रेमको लामो यात्रा पार गरेको छ। त्यो अद्‌भुत लाग्छ।

यसैगरी अन्धवेगको जयवीर जटिल र मनोवैज्ञानिक पात्र हो। अमरसिंह, भीमसेन थापा समका नाटकका ऐतिहासिक पात्र हुन्। समले नाटकको विषय र सन्दर्भबमोजिम पात्रचयन गरेकाले उनी बहुआयामिक पात्र छनोट गर्ने नाटककार हुन् भन्ने प्रमाणित हुन्छ।

समले आफ्ना नाटकमा मुकुन्द इन्दिराको मुकुन्दजस्तो मनमौजी, प्रेमपिण्डको नकुलजस्तो इमानदार र आन्तरिक द्वन्द्वमा हराएका पात्रहरूको प्रयोग गरेर मानवीय स्वभावको उत्खनन गर्न चाहेका छन्।

प्रह्लाद नाटकको प्रह्लादजस्तो पात्रको सूक्ष्मताको चित्रणबाट सम पात्रलाई गहिराइमा अवलोकन गर्ने नाटककार हुन् भन्ने बुझिन्छ। नाट्यविषय अनुसार क्रूर, सरल, मनोवैज्ञानिक, इमानदार पात्रलाई प्रयोग गरी उनले नाटकलाई थप गुणात्मक बनाउन चाहन्छन्।

अति भयानक र अति निरीह पात्रको उच्चता देखाउनु समको एउटा विशेष नाटकीय पक्ष हो। दैवी गुणदेखि मानवीय त्रुटि भएका बहुआयामिक पात्रलाई प्रयोग गर्नु समको नाटकको गुणपक्ष हो।

भाषिक कुशलता

सम भाषिक शिल्पी हुन्। उनी साहित्यमा परिष्कार रुचाउने स्रष्टा हुन्। उनी नाट्यउपयोगी र निपुण भाषाको प्रयोग गर्छन्। समको भाषा काव्यात्मक, वाक्पटु, प्रभावकारी र मादक देखिन्छ।

उनको लालित्यपूर्ण भाषाले नाटकमा भावनात्मक प्रभाव बढाउँछ। उनको भाषा श्रुतिमय लाग्छ। उनका संवाद लामो समयसम्म स्मरणीय छन्। फलतः बालकृष्ण समका नाट्यांश ऋचाजस्ता, उद्‌धरण गरूँगरूँ लाग्ने खालका हुन्छन्।
जस्तैः 
दुःखीको घरमा मात्र तेरो बास हुने भए,

हे ईश्वर दया राखी मलाई अझ दुःख दे 
०००
ज्ञान विज्ञानको हात जोड्नु पर्छ कर्ममा
०००
सहू, सहू, सहू बाबु, सहनै नसके पनि
०००
बच्चा छौं अझ, कच्चा छ उमेर, 
अहिल्यै तिमी, घच्चा सहन सक्तैनौ, 
के सच्चा राह पाउँछौ 
०००
भाषा हो सभ्यता हाम्रो सारा उदय, 
उन्नति जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी।
समका नाटकका संवादात्मक भाषा पाठकदर्शकमा स्थायी प्रभाव छोड्ने खालका हुन्छन्। उनको भाषा गद्यात्मक र पद्यात्मक दुवै तहमा उत्तिकै विलक्षण देखिन्छ। 

मानव स्वभावको उत्खनन

समले आफ्ना नाटकमा मानव स्वभावको उत्खननमा जोड दिन्छन्। उनी मानवतावादी नाटककार हुन्। उनका नाटकमा मानवतालाई उच्च स्थानमा राखिएको छ।

प्रणय आशक्त हुँदाका मान्छेका स्वभाव, लडाइँमा हुँदाको मनोवृत्ति, पतिपत्नी भक्तिको स्वभावलाई नियालेर समले मानव व्यवहार, नैतिकता र व्यक्ति कमजोरी अनि छनोटबाट प्राप्त नतिजाहरूको जटिलताहरूमा ध्यान दिन्छन्।

पात्र र कथानकमार्फत उनले मानव अवस्थाको गहिरो अन्तर्दृष्टि प्रदान गर्छन्। दर्शकलाई पात्रको गुण र दुर्गुणलाई सपाट प्रतिबिम्बित गरिदिन्छन्। पात्रलाई अनावश्यक लेपन नगरेर मान्छेका साझा स्वभाव, चिन्तन, दायित्व, व्यक्तिगत कमजोरी आदिलाई उनले नाटकमा प्रस्ट देखाइदिन्छन्।

देश, देशभक्ति, परिवार, पारिवारिक ममता, नीति, नीतिचेतना, परिवार, पारिवारिक बन्धन र विश्वासघातका यावत तरेली उनका नाटकमा देख्न सकिन्छ।

नाट्यढाँचामा विविधता

समका नाटकमा संरचनागत विविधता, विषयगत बहुलता, प्रस्तुतिगत पृथक‌‌ता देखिन्छ। उनका नाटक विषयगत आधारमा धेरै प्राचीन समाजलाई प्रतिनिधित्व गर्नेदेखि आधुनिक र समसामयिकतालाई सम्बोधन गर्ने नाटक पनि देखिन्छन्।

उनी विषयवस्तुका आधारमा भीमसेनको अन्त्य, अमरसिंह, भक्त भानुभक्त, मोतीराम रणदुल्लभजस्ता ऐतिहासिक नाटक लेख्छन्। ध्रव, म, प्रह्लाद, अजजस्ता पौराणिक नाटक लेख्छन्। तानसेनको झरी, मुटुको व्यथा, अमलेख, प्राणदान, स्वास्नीमान्छे, प्रेमपिण्ड, अन्धवेग, बोक्सी, मुकुन्द इन्दिराजस्ता सामाजिक नाटक लेख्छन्। आकारका दृष्टिले समका नाटकहरू लघु एकाङ्की, एकाङ्की र महानाटकको संरचनामा देखिन्छन्। 

प्रस्तुतिका दृष्टिले हास्य, इतिहास र रोमान्ससहितका विविध स्वरूपमा फैलिएका हुन्छन्। उनी अन्धवेगजस्तो श्याम त्रासद, मजस्तो हास्य, प्रेमपिण्डजस्तो बेसर्त प्रेमको प्रयोग गरिएका नाटक लेख्छन्। यी विविध गुणले सामूहिक रूपमा समका नाटकमा मानवीय स्वभावलाई सम्बोधन गर्न सक्ने महŒवका देखिन्छन्। उनका नाटकमा दर्शक मोहित पार्ने तागत देखिन्छ।

आजसम्म पनि नेपाली नाटक साहित्यमा सममात्र यस्ता नाट्यप्रतिभा हुन्, उनले विभिन्न प्रकार र आयामका नाटक प्रकाशन गरेर नेपाली नाटकलाई योगदान दिएका छन्।

बालकृष्ण समका दुई दर्जनभन्दा बढी पूर्णाङ्की नाटक र तीन दर्जनभन्दा बढी रहेका एकाङ्की नाटकमा विषयगत आकारप्रकार, शैली, शिल्पगत प्रकार र कथानकीय परिणतिजस्ता पृथकता देखिन्छ। यसले उनलाई सदाबहार नाटककार बन्न सहयोग गरेको छ।

परम्परामा सम

समको आगमनभन्दा पूर्व पनि नेपाली नाटकको झन्डै एक शताब्दी लामो इतिहास छ। नेपाली नाटकको प्राथमिक कालमा हास्यकदम्ब (१८५५) र मुद्राराक्षस (१८९२) जस्ता नाटकहरूको उपस्थिति छ।

तिनीहरू नाटकीय गुणबाट पर भागेर आख्यानात्मक पाठ्यकृतिको नजिक आएकाले नाटककार समसँग यी नाटकको तुलना हुँदैन।

माध्यमिक कालमा मोतीराम भट्ट, पहलमानसिंह स्वाँर, सूर्यविक्रम ज्ञवाली, शम्भुप्रसाद ढुङ्गेलजस्ता नाटककारले नाटक सिर्जना गरेका छन्। यी नाटककारका नाटक कतिपय अनूदित थिए भने कतिपय मौलिक पुट भएका थिए।

यद्यपि गुणात्मकताका हिसाबले समका नाटकका छेउछाउ पुग्न पनि सकेनन्। नाट्य शिल्प, प्रस्तुति र विचारका दृष्टिले समका नाटक नै अब्बल देखिएका छन्। 

समका समकालीन भीमनिधि तिवारी साथै मसान (२००३) र यो प्रेम (२०१५) जस्ता नाटक लेख्ने गोपलप्रसाद रिमाल देखा पर्दछन्। गङ्गालालको चिता (२०१६) जस्तो नाटक लिएर प्रगतिशील धारणासहित हृदयचन्द्रसिंह प्रधानको आगमन हुन्छ।

समका नाटकहरू परिष्कारवादी र आदर्शवादी रहँदारहँदै पनि मुकुन्द इन्दिरा, मजस्ता नाटकमा नारीसमस्यालाई ज्वलन्त रूपमा उभ्याइएको छ। तलमाथिजस्ता नाटकमा प्रगतिवादी चेतना पनि प्रस्फुटित भएको देखिन्छ।

यसरी आधुनिक कालमा पनि समको प्रकारगत नाट्यलेखनका कारण विभिन्न खालका मूल्यहरू स्थापित भएका छन्। यसले पनि उनका नाटकका गुणहरू स्थापित हुन सहयोग गरेकै छन्।

क्रमशः नेपाली नाट्यसाहित्यमा भुसको आगो (२०१३), च्यातिएको पर्दा (२०१६), दोष कसैको छैन (२०१७) जस्ता नाटकहरू लिएर गोविन्दबहादुर मल्ल ‘गोठाले’ प्रकृतिवादी नाट्यविशेषतासहित देखा पर्छन्।

नेपाली साहित्यको आधुनिक कालको पछिल्लो चरणको सुरुवाततिर ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा, सरुभक्त, गोपाल पराजुली विसङ्गतिवादी अस्तित्ववादी नाटकहरू लिएर देखा पर्छन्।

त्यो एउटा कुरा (२०३०) र भस्मासुरको नलीहाड ध्रुवचन्द्र गौतमका चर्चित नाटकहरू हुन् भने जेमन्त (२०३९), यातनामा छटपटाएकाहरू (२०३९) एकै सालमा मञ्चित मोहनराज शर्माका नाटक हुन्।

वैकुण्ठ एक्सप्रेस (२०४०), यमा (२०४०) जस्ता चर्चित नाटक पनि शर्माका प्रकाशित र मञ्चित नाटक हुन्। यसपछि आधुनिकताको नयाँ आयामसहित नाटककार सरुभक्त देखापर्छन्। उनका निमावीय, मलामी, युद्ध उही ग्याँस च्याम्बरभित्रलगायत उनका थुप्रै नाटकहरू प्रकाशित तथा मञ्चित छन्।

सत्य कुरा हो समसामयिक कालखण्डका अत्याधुनिक नाटकहरू समका नाटकका तुलनामा प्रविधिमैत्री र प्रयोगशील देखिएलान्् तर समका सफल र उच्च महŒवका नाटकहरूको सङ्ख्या जति छ, त्यति नै पश्चवर्ती नाटककारहरूको नाटकले उचाइ भेट्टाउन सकेका छैनन्।

मुटुको व्यथा, प्रमेपिण्ड, अन्धवेग, भीमसेनको अन्त्यजस्ता विश्वप्रकृतिका दुःखान्त नाटक र मुकुन्द इन्दिरा, म, प्रह्लादजस्ता सुखान्त नाटकको गुणात्मक मूल्यलाई आजसम्म भेटाउन सकेको देखिँदैन।

यसर्थ समको गुणात्मक योगदानको पुष्टि गर्न सजिलै सकिन्छ। आज पनि विभिन्न धार र धारणामा नाटकहरूको सिर्जना भएकै देखिन्छ। अशेष मल्ल, गोपाल पराजुली, अविनाश श्रेष्ठ, शिव अधिकारी, अभि सुवेदी, विजय विस्फोट, कृष्ण शाह ‘यात्री’, गोपी सापकोटा, सुधा त्रिपाठी, प्रवीण पुमा, शारदा सुब्बा, पुरु लम्साल, खेम थपलिया, डिबी किराती आदि नाटककारले नाटकलेखन निरन्तर रूपमा गरेकै छन्। उनीहरूमा आआफ्नै मौलिकता हुँदाहुँदै पनि समको थोरबहुत प्रभावलाई छोड्न सकेका छैनन्।

यसरी समभन्दा डेढ सदीअगिदेखि माध्यमिक कालको करिब सात दशकको समयसम्म पनि समका नाटकमा भएको गुणात्मक सफलतालाई र नाटकीय मूल्यलाई आजसम्म कुनै पनि नाटककारले भेटाउन सकेको देखिँदैन।

नाट्य इतिहासको एउटा क्यानभासमा समले कालातीत चिन्तनका नाटक लेखे। उनका शब्दहरूमा मानव कल्याणको सन्देश गुन्जियो। लागिरह्यो, उनका ती पात्र हाम्रै समाजमा मनोदशा बाँचिरहेका छन्।

सदाकालको सामूहिक चेतना बोकिरहने ती पात्र जीवन्त पनि लागे। समको भाषामा भावनाको सुसेली सुसाइरह्यो। नाटकमा जादुमय रूपकको प्रयोगले भाषामा मिठास थपिरह्यो। नाट्य स्वरूपमा सम विविध आकार र आयाममा हिँड्न चाहे।

त्यो संरचनाभित्र मानव जीवनभित्रकै सुखदुःख र विरोध अन्तर्विरोध बोल्न चाहिरहे। फलतः शताब्दीदेखि निरन्तर अतीत र वर्तमानमा पनि समले आफूलाई साबित गरिरहे।

सम्भवतः यति लामो समयसम्म टिकिरहने सम नै त्यस्ता ज्याद्रो नाटककार हुन्, जसले नवपुस्तालाई अगाडि बढ्ने उज्यालो देखाइरहे। अगाडि बढ्न प्रेरित गरिरहे। यसबाट सजिलै भन्न के सकिन्छ भने समको गुणात्मक योगदान नेपाली नाट्यसाहित्यलाई रहेको छ। खासमा सम नेपाली नाटक साहित्यका दैला बत्ती नै हुन्।

–लेखक थापा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका उपप्राध्यापक हुन्।

प्रकाशित: २० माघ २०८० ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App