कला

आँसु दिएर गए, सपना भुलाई सारा....

सपना भुलाई सारा, आँसु पिएर जाऊ....भन्ने चर्चित गीतका गायक योगेश वैद्यले संगितप्रेमी स्रोताका आँखामा आँसु दिएर गएका छन्। नेपाली आधुनिक सङ्गीतका सदाबहार गायक एवं वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधनसङै उनी अव संगितप्रेमीको मन मन्दिरमा तस्बिर बनेर रहने छन्।

जनम जनम नखुल्ने, आँखा दिएर जाऊ ...भन्ने यी गायक आफै आँखा कहिल्यै नखोल्ने गरी अनन्त यात्रामा निस्किएका छन्। एक सुर बाँसुरीको बिन्ती सुनेर जाऊ..भन्ने उनी  पीडाको लामो सुस्केरा दिएर हिडेका छन्।

नेपाल मेरो तिमीलाई उपहार भो यो जिन्दगी...गाउँदै गरेका गायक अपनाउँ नअपनाऊ सर्वस्व जे जति....भन्दै सबैसँग बिदा भएका छन्।

अँगालो अँगालोमा रुने... रहर पालेका यी गायक मृत्युको अँगालोमा बाँधिएका छन्। ए जून ए तारा गइदिनु बत्तीहरू नबाल्दिनु...भन्ने उनी मेरो रात त्यसै उज्यालो छ मेरो दिल जलीरहेकोले.....भन्दै बिदाइ भएका छन्।

खोला जस्तै बगिरहेछु अनिश्चित बाटाहरूमा...भन्ने यी गायक मेरो बिदाइलाई साइत रति नखोज्नु भन्दै गुनगुनाउँथे। बाग्मतीको किनारको कलकलमा आज उनको अन्तिम बिदाइ हुँदै छ। 

दिवङ्गत गायक योगेश वैद्यका नेपाली र नेपालभाषामा अन्य थुप्रै लोकप्रिय गीतहरू रहेका छन्। नेपाली भाषामा उनका ‘सपना भुलाइ सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू पनर्क लोकप्रिय छन्। त्यस्तै नेपालभाषाय् ‘जय नमो सिरी बुद्ध भगवान्’, ‘जिमी यःम्ह थौं जिथाय् वइ’ आदि अत्यन्त लोकप्रिय छन्।

बिहीबार राति १२ः३० काठमाडौँको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा उनको निधन भएको हो। ७७ वर्षीय गायक वैद्य लामो समयदेखि मधुमेह रोगबाट ग्रसित थिए। उनको आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी रहेको जानकारी पारिवारिक स्रोतले दिएको छ।

एक लासको चिताको बत्ती निभाई जाऊँ भन्ने यी गायक चितामा आफै बलेर गएका छन्। खोला जस्तै बगिरहेछु अनिश्चित बाटाहरूमा.. भन्ने  यी गायक मेरो बिदाइलाई साइत रति नखोज्नु भन्दै गुनगुनाउँथे। बागमतीको किनारको कलकलमा आज उनको अन्तिम बिदाइ हुँदैछ।  

प्रकाशित: ५ माघ २०८० ०४:४८ शुक्रबार

सपना भुलाई सारा आँसु पिएर जाऊ गायक योगेश वैद्य योगेश वैद्य स्रोता आँखा आँसु