कला

मोफसलका दर्शकसँग ‘कान्छी’

मकवानपुर – नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका हलबाट राम्रो प्रतिक्रिया पाएकी श्वेता अहिले मोफसलका हलमा प्रतिक्रिया लिन दौडाहामा छिन् । हल व्यवस्थापकसँगै दर्शकसँग प्रतिक्रिया लिन उनी शुक्रबार हेटौंडा पुगिन् । शनिबार उनले चितवनका दर्शकसँग फिल्म हेरेकी थिइन् । आइतबार बुटवल पुगेर काठमाडौं फर्किने उनले बताइन् । शुक्रबार हेटौंडामा फिल्म हेरेर हलबाट निस्कदै गरेका दर्शकसँग उनले फोटो खिचाएर खुशी साटिन् । उनलाई साथ दिन फिल्मका निर्देशक आकाश अधिकारीसँगै कलाकारहरू विनोद न्यौपाने र दीलिप पन्त पनि उपस्थित थिए।

करिब २ करोड रुपैंयामा बनेको फिल्मले राम्रो व्यापार गरेको बताउँदै उनले दर्शकले फिल्मलाई रुचाएको प्रतिक्रिया दिइन् । ‘कान्छीलाई माया गर्नु भए दर्शकलाई भेट्न पूर्वी नेपाल पनि जान्छु  ’ उनले रमाइलो गर्दै भनिन्, ‘सबैतिरबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु।’

शुक्रबारबाट प्रदर्शनमा आएको ‘साढे ७’ र ‘पञ्चेबाजा’ फिल्मसँग प्रतिष्पर्धा गरिरहेको ‘कान्छी’ले राम्रो व्यापार गरेपछि आफू उत्साहित भएको खड्काले बताइन् । ‘दर्शक अभाव भएकाले अरु २ फिल्मको शो रद्ध भएर कान्छी चलाइरहेको पाएँ ’ खुशी हुँदै उनले भनिन्, ‘कान्छीमा राम्रो कथा र सन्देश छ, किताव जस्तै हो,  धेरै कुरा सिक्न पाइन्छ।’

‘कान्छी २’ बनाउन दर्शकहरूले हौसला दिएकोसमेत बताउँदै उनले लगानी सुरक्षित भइसकेको भन्दै दोश्रो सातामा पनि राम्रो कमाई भइरहेको दाबी गरिन् । गत शुक्रबारदेखि देशभरका १ सय ७ हलमा प्रद्धर्शन भइरहेको फिल्म पूर्वी नेपाल, चितवन र पोखरामा सबैभन्दा राम्रो व्यापार गरिरहेको उनले बताइन्।

मुस्ताङ, जोमसोम र काठमाडौंमा खिचिएको फिल्ममा श्वेता ‘कान्छी’को शीर्ष भूमिकामा छिन् । फिल्ममा नायक दयाहाङ राई, कलाकार नीर शाह, कामेश्वर चौरसिया, नायिका अनु शाह, कलाकार आशान्त शर्मा, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरी लगायतले अभिनय गरेका छन् ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:२७ आइतबार

मोफसलका दर्शकसँग कान्छी