प्रेमले हेर्ने हो भने संसार नै आनन्द लाग्छ। प्रेममा कति शक्ति हुन्छ? यसको वर्णन गरेर साध्य नै छैन। मायाले अनेक महारोगको औषधीको काम गरेको हुन्छ। मुनामदनको प्रेम कहानी, रोमियो–जुलियटका प्रेमले भरिएका कथा धेरै छन्। प्रेमलाई कुनै विश्वविद्यालय वा कुनै निजी विद्यालयमा पढाउनुपरेको छैन। आचार्य, गुरु, शिक्षक कसैले पनि प्रेम गर्न सिकाउन परेन।
प्रेम हृदयबाट निस्कने नदी हो। प्रेमले न धनी भन्यो, न गरिब, न जात हेर्यो, न त धर्म नै। यसले न बाउ भन्यो, न छोरा। प्रेमले न राजा भन्यो, न दासी। प्रेमको महिमा अपार छ।
हामीले प्रेमबारे ठुलाठुला कुरा गर्छाै। प्रेमबारे बोल्न डिग्री चाहिँदैन, जान्नका लागि धेरै ज्ञान लिएको हुनु पर्दैन। प्रेम हृदयको नदी हो। यो जोसँग पनि बग्न सक्छ। यो अनेकौं बाधाअड्चन तोडेर सलल बग्छ।
माया अमर छ। मान्छे संसारबाट छोडेर गए पनि सम्झने माया नै हो। यो विश्वास सबैमा अडेको छ। जो किताबमा पनि बाँचेका छन्, हृदयमा बसेका छन् र तस्बिरमा झल्केका छन्। तर आज कहानीमा जस्तो माया कहाँ पाइन्छ र ? देखावटी र मृगतृष्णाजस्तै छ आजभोलि माया।
प्रेमको सिधै सम्बन्ध मनसँग जोडिएकाले यही प्रेम पलभरमै जोडिन र फुट्न पनि सक्छ। आजभोलि माया उपहारमा टिकेको छ। आजको सम्बन्ध सामाजिक सञ्जालमा मात्र सीमित छ।
प्रेम हृदयस्पर्शीभन्दा पनि बिकाउ प्रवृत्तिको छ। चाहे प्रेमप्रेमिकाको होस्, चाहे छोराछोरीको होस्, चाहे आफन्तको होस्, आजभोलि मायामा जालो लागिरहेको छ। आज वास्तविक माया हराउँदै छ, कठोर बन्दै छ। मायामा विश्वासघात बढिरहेको छ।
हामी देख्दै नदेखेको भगवान्लाई पनि प्रेम गर्छौँ। आस्था राख्छौं, उनको नाममा गाउँछौं नाच्छौं। उनलाई हेरेर मनमा आनन्द लिन्छौं। यद्यपि त्यहाँ न भगवान् देखिन्छ, न त आस्था नै मर्छ। झन् झन् प्रेम बढ्दै जान्छ।
तर अहिले निःस्वार्थ माया कहाँ पाइन्छ र? अहिले मायाको मोलमोलाइ बढी देखिन्छ। एउटी आमाले नौ महिना गर्भमा राखेको बच्चालाई जंगलमा छोडिदिन्छिन्। प्रेमीले प्रेमिकाको हत्या गर्छन्, वृद्ध बाआमालाई सडकको वास बनाउँछन्।
मान्छेको सृष्टि अपार छ। मान्छेले हरेक कुरामा प्रश्न खोज्छ। हामी जन्म लिन्छौं, हुर्कन्छौं, स्कुल जान्छौं, जागिर खान्छौं, घर किन्छौं। सपनाहरू पूरा गर्न लडिरहन्छौं।
जीवन यात्राका क्रममा आफ्नालाई घृणा गर्छौँ, आफन्तलाई चोट पुर्याउँछौं। तर यो जीवन कसैलाई घृणा गर्न बनेको होइन, कसैबाट घृणित बन्नका लागि पनि होइन भन्ने थाहा हुँदाहुँदै पनि हामी धेरैलाई ठेस पुर्याउँछौं। यसबिच धेरै आफ्नालाई बहिष्कार गर्छौँ धनका लागि, मानका लागि। माया त केवल मोह मात्र जताततै। अब माया अजम्बरी पनि छ जस्तो लाग्दैन। प्रेम आज फेसन भएको छ।
मन्दिरको आकार सानो–ठुलो भन्ने हुँदैन, भगवान्प्रतिको आस्थामा भर पर्छ। त्यही आस्थाले हामीलाई बाँच्ने आधार दिएको छ। मन्दिर अलग होला, आस्था–विश्वास उही नै हुन्छ। ‘ज्ञ’पछि कुनै शब्द नभएजस्तै मायाबिना जीवन अपुरो हुन्छ। माया यस्तो होस्, रोमियो–जुलियटका जस्तो, श्रवणकुमारका जस्तो कहानी बनोस्। मायामा अग्निपरीक्षा दिन नपरोस्।
प्रकाशित: २१ पुस २०८० ०६:१० शनिबार