कला

बादलडाँडाबाट देखिने देश

पुस्तक

पर्यटनसँग सम्बन्धित पेसामा आबद्ध एक यायावर लेखक हुन् राजेन्द्रमान डङ्गोल। पेसागत जिम्मेवारी निर्वाह गर्ने क्रममा उनी बरोबर विभिन्न पर्यटकहरूको समूहसँगै यात्रामा निस्किरहन्छन्।

यात्रालाई यात्रामै सीमित नराखी यात्राका क्रममा सँगालिएका तितामिठा अनुभव र अनुभूतिलाई लिपिबद्ध गरेर पाठकलाई समेत यात्राको आनन्दानभूति गराउने प्रयत्न नियात्राकार राजेन्द्रले गर्दै आएका छन्। यही प्रयत्नको फलस्वरूप उनका नियात्रासङ्ग्रहको घुम्टो खोल्ने क्रम जारी छ।

२०७६ मा पहिलो नियात्रासङ्ग्रह ‘यात्राका पाइला’ ल्याएका राजेन्द्रले २०७८ मा दोस्रो नियात्रासङ्ग्रह ‘पैतालामा हिउँ आँखामा हिमाल’ पाठकसमक्ष ल्याएका थिए। अहिले २०८० मा तेस्रो नियात्रासङ्ग्रह ‘बादलडाँडा’ ल्याएका छन्। यसलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ।

नियात्राकार राजेन्द्र जहाँ पुग्छन्, त्यो ठाउँलाई एउटा पर्यवेक्षकको आँखाले हेर्छन्, अन्वेषकको आँखाले हेर्छन्, स्रष्टाको आँखाले हेर्छन्, द्रष्टाको आँखाले हेर्छन् र गहिरिएर सोच्छन्।

तब त उनले ती ठाउँमा अरूले नदेखेका कुरा देख्छन्, अरूले कल्पना नगरेका कुरा भेट्छन् र अरूले वास्ता नगरेका कुरालाई धेरै महत्वका साथ हेर्छन्। तब त उनी कतै हिमाल हाँसेको देख्छन्, कतै पहाड रोएको पनि देख्छन्।

कतै डाँफे मुनाल नाचेको देख्छन्, सुन्दर प्रकृतिले कम्मर भाँचेको पनि देख्छन्। हाँसो, आँसु, पीडा र वेदनाका शब्दसंयोजनमार्फत पाठकलाई संवेदित बनाउन सक्षम छन् नियात्राकार राजेन्द्र। यात्राले शारीरिक तथा मानसिक पुनर्ताजगी दिन्छ। यसको महसुस राजेन्द्रको नियात्रामा गर्न सकिन्छ।

हिमाल र हिउँ अनि पहाड र पर्वतका कुरा मात्रै होइन, एकै देशका फरकफरक भूगोलमा रहेका फरकफरक मान्छेले बाँचेका फरकफरक जिन्दगीको रहरलाग्दा र कहालीलाग्दा कथा पनि पस्किन्छन् राजेन्द्र आफ्ना नियात्रामा। जुन कथालाई राजेन्द्रले आफ्ना सुकोमल मनका सुन्दर भावनाले सजाएका हुन्छन्। साहित्यिक बिम्ब, उपमा र अलङ्कारले सजाइएका उनका नियात्राले पाठकलाई नियात्रा पठनको भरपुर आनन्द प्रदान गर्छन्।

राजेन्द्रको नियात्रामा सपाट वर्णन र विवरणमात्रै छैन। वर्णनमा मिठास भर्ने र विवरणलाई तथ्ययुक्त बनाउने प्रयास राजेन्द्रले गरेका छन्। सकेसम्म आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, प्राकृतिक विषयमा बढीभन्दा बढी सूचना दिने प्रयत्न पनि उनले गरेका छन्। जसले गर्दा उनको नियात्रा पाठकलाई केवल पठनका लागि मात्रै नभई गम्भीर चिन्तन र मननका लागि पनि योग्य बनेका छन्। अध्ययन र अनुसन्धानका विद्यार्थीका लागि पनि उपयोगी र सहयोगी बनेका छन्।

नियात्राकार राजेन्द्रमान डङ्गोलको पछिल्लो नियात्रासङ्ग्रह ‘बादलडाँडा’ मा ‘तनहुँमा तन्मयता’, ‘चित्रवनको चित्र’, ‘बेंसी देखाउने दुर्बिनडाँडा’, ‘सुनको घर, सुनकै छाना’, ‘खुलेको गगन, हाँसेको पुङ्गेन’ र ‘भैंसी खर्कको कथाव्यथा’ आदि छ वटा मूल शीर्षकभित्र २१ वटा विविध शीर्षकका नियात्रा सङ्गृहीत छन्।

यस सङ्ग्रहमा नियात्राकार राजेन्द्रले आफूले पाइला टेकेको भूगोल, पर्यावरण, समाज, जीवनशैली, कला, संस्कृति र सम्पदाको सुललित वर्णन सँगसँगै आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, पौराणिक आदि विषयवस्तुलाई समेत टपक्क टिपेर यथास्थानमा यथोचितरूपमा वर्णन गरी तत्तत् विषयमा यथासम्भव जानकारी दिने प्रयत्न गरेका छन्।

साँच्चै भन्ने हो भने अघिल्ला नियात्रासङ्ग्रहमा जस्तै ‘बादलडाँडा’ मा पनि नियात्राकार राजेन्द्रले देश चियाउने प्रयत्न गरेका छन्। ‘बादलडाँडा’ मा देशको मुहार झल्किएको छ।

मानवीय संवेदना, दुःख, पीडा, व्यथा र वेदनाबाट आफू पनि प्रभावित भई सहानुभूति र संवेदना प्रकट गर्नुलाई राजेन्द्रले आफ्नो कर्तव्यको रूपमा लिएको आभास हुन्छ। आफूले भेटेका पात्रको दुःखप्रति उनले हार्दिक सहानुभूति र संवेदना प्रकट गरेका छन्।

पाठकलाई स्वयं आफैं पनि लेखक पुगेकै ठाउँमा पुगेको अनुभूति गराउन सक्नु र ती ठाउँको वर्णनसँगसँगै पाठकका आँखामा तिनै वर्णित स्थानहरू आइरहनु लेखकको लेखनी प्रभावशाली रहेको प्रमाणका रूपमा लिन सकिन्छ।

पुर्खाले जोगाएर राखेको भूमिमा अर्कैको दाबी सुनेर पीडाको अनुभूति गर्छन् नियात्राकार। सरकार निर्लज्ज र निरीह छ। अस्ति भर्खरै पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी र लिपुलेक भ्रमण गरे, नेपाल सरकारलाई पत्तै नदिई।

छिमेकी प्रधानमन्त्रीले आफ्नो भूमिमा भ्रमण गरिसकेपछि पनि औपचारिक रूपमा दुई शब्द बोल्न सकेन नेपाल सरकार। छिमेकीसामु कति निरीह छ हाम्रो सरकार ! यस्तै यस्तै देशभक्तिका भावनाहरू पनि छन् राजेन्द्रका नियात्रामा।

हाम्रो देशका शासक र तिनले गर्ने शासनप्रति असन्तुष्टि पनि छ राजेन्द्रलाई। शासकहरूलाई धमिरासँग तुलना गर्दै राजेन्द्र लेख्छन्, ‘धमिराले चपाउँदा चपाउँदै कालान्तरमा भकुन्डोजस्तै गोलो बन्न पुग्छन् रुखका ठुटा। ख्याल सुन्दर लाग्दैन बाहिरबाट हेर्दा, तर भित्रचाहिँ खोक्रो।

जस्तैः बालुवाटार, सिंहदरबार र संसद भवन...। फरक यति मात्र हो, वर्गका हिसाबले दुईखुट्टे धमिराहरू स्तनधारी प्राणीमा पर्छन् भने धमिरा किरा प्रजातिमा। दुईखुट्टे धमिराहरू चुस्छन् भने यिनीहरू चपाउँछन्। धमिराले बनाएको देवल र वर्तमान नेपाल उस्तै लाग्छ मलाई यतिखेर।’ (पृष्ठ ६०)

यसैगरी नेपालको पछिल्लो चरणको विकासप्रति पनि राजेन्द्रलाई असन्तुष्टि छ। उनी आफ्नो असन्तुष्टि यसरी पोख्छनु, ‘नेपालको पछिल्लो चरणको विकास हो भ्यु टावर।

यसमा भएको लगानी शिक्षा र स्वास्थ्यमा गरेको भए जनतालाई कति राहत हुन्थ्यो होला। समय र पुँजीको चरम दुरूपयोगबाहेक केही होइन भन्ने लाग्छ मलाई यस्ताखाले विकास। कुन्नि कहाँबाट आउँछ होला सरोकारवालालाई यस्तो बिब्ल्याँटो बुद्धि ! तीनछक पर्छु म।’ (पृष्ठ ९८) 

राजेन्द्रका नियात्रा उद्देश्यमूलक लाग्छन्। उद्देश्य हो पर्यटन प्रवद्र्धन। उनी पेसाले पर्यटनकर्मी र रहर अथवा सोखले यायावर लेखक। उनको यायावरी रोचक छ, रोमाञ्चक छ। आफ्नो यायावरीय वर्णनमा रोचकता भर्न उनी सिपालु छन्। आफूसँगसँगै पाठकलाई पनि यात्रामा डो¥याउने खुबी छ उनको यायावरीय लेखनीमा।

उद्देश्यमूलक यात्रा भएकाले हृदयको भावनालाई स्वतःस्फूर्तरूपमा अभिव्यक्त नगरी अलिकति आफ्नो उद्देश्यपूर्तिमा मद्दत पुग्नेगरी चलाखीपूर्ण रूपमा आफू पुगेको, आफूले टेकेको र आफूले देखेको ठाउँको ‘मार्केटिङ’ गर्न पुग्छन् राजेन्द्र। पर्यटनका सम्भावनाहरू उजागर गरिदिन्छन् र पर्यटकहरूलाई ती ठाउँको भ्रमण गरी आनन्द र रोमाञ्चक अनुभूति सँगाल्न प्रेरित पनि गर्छन्।

उनको यात्रावर्णनमा मिठास छ। लेखनशिल्प परिपक्व छ। साहित्यिक बिम्ब, उपमा र अलङ्कारको प्रयोगले यात्रावर्णनमा काव्यिक मिठास र आनन्द प्राप्त गर्न सकिन्छ।

यात्राका क्रममा आफू पुगेको, देखेको र भोगेको अनुभव र अनुभूतिलाई यथेष्ट सूचना र जानकारीसहित प्रस्तुत गर्ने उनको निजात्मक खुबीले पाठक पनि लाभान्वित हुन्छन्।

सम्बन्धित ठाउँको भौगोलिक विविधता र प्राकृतिक सौन्दर्य मात्रै होइन, त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विषयमा तथ्यपरक विवरणसहित आफ्ना अनुभव र अनुभूति अभिव्यक्त गर्नसक्ने खुबीले गर्दा राजेन्द्रका नियात्रापठन हरेक दृष्टिकोणले आनन्ददायी मात्रै होइन, उपलब्धिमूलक पनि लाग्छ।

राजेन्द्रले आफ्ना नियात्रामा प्राकृतिक सौन्दर्यको वर्णन राम्रैसँग गरेका छन्। तर त्यही प्राकृतिक सौन्दर्यले भरिपूर्ण भूगोलमा दुःख र कष्टपूर्वक बाँचेका मान्छेको गरिबी र दुःखको सौन्दर्यको बयान गर्नमा अलिकति कन्जुस्याइँ गरेका हुन् कि जस्तो लाग्छ।

गरिबीको सौन्दर्य र दुःखको सौन्दर्यका बारेमा पनि थोरै लेखिदिएको भए प्रकृतिको सौन्दर्य वर्णनबाट अभिभूत भएका पाठक गरिबीको सौन्दर्य र दुःखको सौन्दर्यका बारेमा पढेर थोरै संवेदित पनि बन्ने र मानवीय संवेदनाप्रति थोरै जागरुक हुने थिए कि ?

बादलप्रतिको बुझाइ फरक छ राजेन्द्रको। ‘मान्छेको मुड जाँच्ने आरसी हो रे बादल। निरस लाग्छ रे सफा बादल। मन खुसी भएको बेला मिठो लाग्छ रे मडारिएको बादल। हिमालको दृश्य नदेखेपछि बादलमै ठोकिन पुग्छ मेरो नजर। रहस्यमय बादलको बान्की र बिम्ब हेर्दा आनन्द आउँछ।

बादलको आकृति हेरेरै कल्पनाको सागरमा डुब्दा मज्जा लाग्छ। बादलको जीवन्त दर्शनको एउटा भिन्न अनुभूति हुन्छ। देउरालीलाई बादलडाँडा पो भन्न मन लाग्छ मलाई।’ (पृष्ठ ९९) तर नियात्रासङ्ग्रहको नामकरणचाहिँ कास्की जिल्लाको सिधिङस्थित ‘बादलाडाँडा’कै नाउँबाट जुराएका छन्।

राजेन्द्रका नियात्रा पढ्दा उनले ‘एक पन्थ दो काज’ अर्थात् ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझैं गरेको महसुस हुन्छ। एकातिर उनले आफ्नो पर्यटन कर्म गरेका छन् भने अर्कातिर यायावरका रूपमा रोमाञ्चक यात्रा पनि गर्न भ्याएका छन्। ‘दुवै हातमा लड्डू’ भनेझैं भएको छ नियात्राकार राजेन्द्रलाई। नियात्रा पठनको अवसर दिएर राजेन्द्रले पाठकलाई पनि लाभान्वित तुल्याएका छन्।

एउटा स्वतन्त्र यायावरको भन्दा पर्यटनकर्मीको भावना, अनुभव र अनुभूति बढी मुखरित भएको पाइन्छ राजेन्द्रका नियात्रामा। त्यसैले स्वतन्त्र यायावरको अनुभूतिभन्दा एउटा पर्यटनकर्मीको अनुभूतिले प्रधानता पाएको महसुस हुन्छ।

नेपालको प्राकृतिक सम्पदा चिन्न, पर्यटकीय सम्भावना उजगार गर्न र पर्यटनको महŒव बुझ्न सघाउँछ राजेन्द्रका नियात्रा र यो नियात्रासङ्ग्रहले। साँच्चै हो, राजेन्द्रका नियात्रामा प्रकृतिको जीवन्त तस्बिर भेटिन्छ। यात्राका दौरान भेटिने मानव जीवन र त्यसका विविध आयामको प्रतिच्छवि देखिन्छ।

हिमाली–पहाडी जीवन, प्रकृति, इतिहास, भूगोल र संस्कृतिको उज्यालो चहक र समकालीन नेपाली जीवनको मिठो महक पाइन्छ। यति हुँदाहुँदै पनि राजेन्द्रका नियात्राहरूमा उस्तै लाग्ने विषय, सन्दर्भ र संवादहरूले पठनको आनन्दमा केही असर गरेको आभास पनि हुन्छ।

प्रकाशित: ३० मंसिर २०८० ०२:२७ शनिबार

अक्षर