कला

२०९ वर्षअघि आजकै दिन नालापानीमा जे भयो!

पुस्तक ‘मुकाम रणमैदान’को आवरणमा प्रयुक्त नालापानी किल्लामा भएको नेपाल–अंग्रेज युद्धको चित्रकला। सचिन योगल श्रेष्ठ

इतिहास बताउँछ, २०९ वर्षअघि मंसिरको आजको दिन नेपालीले फेरि कहिल्यै आफ्नो नहुने गरी नालापानी युद्धमा हार बेहोर्‍यो। करिब पाँच सयको नेपाली फौजलाई नालापानीबाट धपाउन अंग्रेजहरूका १० हजार सैनिक खटिएका थिए। कात्तिक १० बाट धुवाँदार तोप बर्सन थाल्यो। नेपाली फौजले ठुलो क्षति बेहोर्‍यो, उता अंग्रेज आच्छुआच्छु भइरहेको थियो। पाँच दिनसम्म पानी पनि पिउन नपाएपछि मंसिर १७ गते ७० जना नेपाली फौज किल्ला छाड्न बाध्य हुनुपर्‍यो। किल्ला आफ्नो बनाई छाड्न अनेक रणनीतिहरू नेपाली फौजले बनायो।

 त्यसका लागि उनीहरू अलि माथिकोे पहाडतर्फ लागे। बलभद्र कुँवर र रिपुमर्दन थापाहरूको समूहलाई नरोके, नेपालबाट मगाइएका थप ३०० सैनिकसँग यिनीहरू मिसिने छन् र उनीहरूको मोर्चा सशक्त हुनेछ भन्ने अंग्रेजलाई लाग्यो। त्यसैले उनीहरूले नेपाली फौजलाई अझै खेदिरहेका थिए।

बिचबिचमा हुने जम्काभेट र लडाइँले नेपाली फौज तितरवितर भयो। अचानक भएको आक्रमणमा रिपुमर्दनको दाहिने हातमा गोली लाग्यो। यसपछि पनि उनी अरूलाई सुरक्षित रहन लगाए भने आफू दुस्मन आउने बाटोमा बसे ताकि उनीहरूबाट पक्राउ पर्नुभन्दा सिधासिधा गोली खान तयार थिए। यसका लागि उनले साथमा चार वटा ढुंगा छेउमा राखे। अंग्रेज आए, त्यही ढुंगा हानेर उनीहरूलाई गोली हान्न उक्साउने र सहिद हुने उनको इच्छा थियो तर उनको योजना सफल भएन।

गुहारका लागि मगाइएका फौज पहिल्यै आएको भए किल्ला छाड्नु पर्दैनथ्यो भन्ने थकथकी लागेर त्यहाँबाट उनीहरू श्रीनगरतर्फ जाने मिति नै मंसिर २३ बन्न पुग्यो।

प्रसङ्ग नालापानीको हो तर सन्दर्भ हो मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखानको, जसले हामीलाई नेपाल अंग्रेज युद्धको महŒवपूर्ण नालापानी युद्धलाई आफ्नै आँखाले देखेजसरी दुरुस्त र हुबहु गराउँछ। यहाँनेर नागरिककर्मी अच्युत कोइरालाले हालैमात्र प्रकाशित यो पुस्तकका लेखक मोहन मैनालीसँग त्यो नालापानी युद्ध, नेपालीको अदम्य साहस अनि हार र इतिहासलेखाका अनुभवबारे केही जिज्ञासा राखेका छन्।

१८७१ साल कात्तिक १० गते सुरु भएको नालापानीको युद्ध मंसिर १७ मा अन्त्य भएको देखिन्छ। युद्धमा बाँकी बचेका ५०–६० गोर्खाली सेना अंग्रेजको घेराबाट निस्किएर अलि माथि दाउ लगाएर बसे तर यहाँ महत्त्वपूर्ण तिथि बनेर मंसिर २३ पनि आउँछ। आजैका दिन घटेको त्यो के थियो?

युद्ध त खासमा मंसिर १७ का दिन नै सकिएको हो। गोर्खालीहरूले अब सकिएन, धेरै मात्रामा मारिए भनेर हार खाएको दिन पनि हो। त्यो राति उनीहरूले सुटुक्क किल्ला छाडे। बाँकी बचेका सेनाहरू थप गोर्खालीहरू आउलान् भनेर अलि माथि कुरेर बसे।

सरसहयोग पाइने अपेक्षा अब पूरा नहुने देखेपछि मंसिर २३ गते बलभद्र कुँवर र उनको टोलीले त्यो ठाउँ छाडेर हिँडे। यसपछि चाहिँ अंग्रेजले अब बलभद्रहरूलाई नखेद्ने, यो पूरै क्षेत्र हामीले जित्यौं भनेर घोषणा गरेको दिन पनि हो, २३ गतेचाहिँ।

खासमा अंग्रेज पनि डराएका थिए, नेपालीहरू पनि डराएका थिए। अंग्रेजहरूले खेद्दै जाँदा एक ठाउँमा झडप हुँदा रिपुमर्दन थापाको हातमा चोट पनि लाग्यो। त्यसपछि खोज्दा पनि गोर्खालीलाई फेला नपारेपछि अंग्रेजले आफ्नो ‘प्याकअप’ गरेको दिन मंसिर २३ गते हो।

पूरै युद्धमैदानको रिपोर्टिङ हेरिसकेपछि के लाग्यो?नेपालीहरूको आत्मबलचाहिँ खत्रै रहेछ भन्ने लाग्यो। त्यसपछि हामीलाई पहाडले निकै साथ दिएको हो। अंग्रेज तोपभन्दा एक कदम अघि नबढ्ने, त्यसका लागि उसले बाटो खन्नु र बनाउनुपर्‍यो। त्यस्तो नभए यो युद्ध धेरैअघि सकिन्थ्यो। नालापानीमै पनि कति खँदारिए, कति लडे, भागाभाग हुँदा उनीहरूलाई पनि निकै गाह्रो भयो। ती सबै कुरामा ‘लोकेसन’को भूमिका रह्यो।

स्कुलमा पढिएको ‘नालापानी किल्ला’को कविता र वास्तविक इतिहासमा के कति फरक रहेछ?

कवितामा बढाइचढाइ हुनु स्वाभाविकै मानिन्छ। साहित्यमा काल्पनिक सत्य र वास्तविक सत्यको मिश्रण हुन्छ। कविलाई त्यसको छुट पनि हुन्छ। बालबालिका सुर्‍याउन लेखिएको कविता र वास्तविक इतिहासमा फरक हुनु स्वाभाविक हो। तर नेपालीहरूले विश्वकै शक्तिशाली मुलुकसँग भिडेका थिए, आफ्नो मुलुक जोगाउन प्राणको आहुति दिएका थिए भन्ने त सत्य हो नि! त्यति वीरतापूर्वक नलड्नुपर्ने हो, त्यति वीरतापूर्वक मान्छेले लड्न सक्तैन भन्ने यो किताब लेख्दै गर्दा लाग्यो।

नेपालीले यति आच्छुआच्छु पारे कि आगराबाट ठुलो तोप मगाउनुपर्‍यो। तोप भयो भने मात्र जित्न सकिन्छ, नत्र सकिन्न भन्ने मनोदशामा अंग्रेज छ। आठ केजीका गोला हाल्न मिल्ने तोपले तपाईं मैदानमा टिक्नै सक्नुहुन्न।

यता नेपालीहरूले चाहिँ सकेसम्म बन्दुक, नभए पनि धनु र काँड, काँडमा लगाउने विष पठाइदिनु भनेर मगाएका छन्। फेरि माग्दा पनि कसरी मागेका छन् भने हुन त अन्यत्र पनि लडाईं भइरहेको छ। त्यहाँ पनि चाहिएला। त्यता पनि विचार गरेर पठाउन आग्रह गरिएको छ।

 यस्तो युद्ध नेपालीहरूले कसरी लडे होलान्? यो त असमान युद्ध भयो नि?

त्यै त भनेको! एकातिर विश्वशक्ति राष्ट्र, अर्कोतिर भर्खरै विस्तार भएको सानो टुक्रे राज्य। एउटासँग साधन, स्रोत र सम्पत्तिको कुनै कमी छैन, अर्कोतिर नेपालसँग एकीकरणका लागि जनतासँग चन्दा उठाउनुपर्ने अवस्थाबाट आएको छ।

मलाई त आश्चर्य केमा लागेको छ भने जति दिन टिके, त्यो नै ठुलो कुरा मात्र होइन कि आच्छुआच्छु पारेका थिए भन्ने कुरा बेलायती चिठीपत्रहरूबाट थाहा हुन्छ। भोलिका दिनमा शत्रुलाई महान् बनाएर मानपदवी पाउँछौं भनेर ती लेखिएका चिठी होइनन्।

दिनभरि युद्ध गर्दा राति कस्तो मनोदशामा थिए, त्यस्तो अवस्थामा लेखिएका चिठी हुन्। तिनले त्यो बेला पक्कै झुटो बोलेनन्। तिनलाई साँच्चै आच्छुआच्छु पारेका रहेछन्। यो गर्वको कुरा हो।

खासमा नालापानीमा लड्ने नेपाली सेना कति थिए?

अमरसिंह थापाले लेखेको एउटा चिठीमा बलभद्र कुँवरले नालापानीमा ६०० को सङ्ख्यामा मान्छे भए पनि साँच्चै लड्नेभिड्नेहरू ५०० मात्र थिए भनी लेखेको पाइएकाले त्यही सत्य होला। किनभने, लड्नेभिड्ने सिप नभएका, सामान ओसारपसारका लागि पनि केही थिए होलान्। त्यो पनि पछि थपिएका सेनाहरूको सङ्ख्या हो।

अनि, त्यहाँ महिला र बालबालिका पनि थिए भन्ने कुरा पनि आउँछ नि?

त्यतिबेला कबिलाहरू पनि थिए। कबिलाहरूको काम भनेको राज्यले बोलाएका बेला निस्कने जाति हो। सायद तिनीहरूसँगै महिला पनि मिसिए होलान्, काखे बच्चा पनि हुँदाहुन्। परिवारको मूली नै युद्धमा गएपछि उसकी पत्नी र बालबालिका पनि सँगै लागेको देखिन्छ।

न सेना गतिलो छ, न त बन्दोबस्तीका सामान छन् र पनि ब्रिटिसहरूसँग भिड्नु दुस्साहस होइन?

संसारको सबैभन्दा ठुलो फौज भएको अंग्रेजसँग भिड्नु अहिलेको अवस्थामा त दुस्साहस नै हो। अवधका नबाबलाई ऋण चाहियो भनेर बेलायतीहरूसँग माग्दा तुरुन्त दिएको थियो। कुस्त पैसा लिएर बसेको थियो, अंग्रेज। उसका विरुद्ध सानो फौज, सानो स्रोत, त्यसमाथि ढाक्रे, झाराली (बोलाएको बेला लडाइँमा जाने सिप बिनाका सैनिक, हल्ला गर्न मात्र काम लाग्ने), त्यस्ताको भरमा लडिएको थियो।

त्यो बेला नेपालीहरूको युद्ध-रणनीति के रहेछ?

नेपालीसँग ठुलो सैन्यशक्ति छ भन्ने अंग्रेजी फौजले सोचेका रहेछन्। जो जति युद्धका क्रममा पक्राउ परेका थिए, उनीहरूले नै तिमीहरूले गोर्खालीसँग सक्तैनौ, तिमीहरूको भन्दा विशाल सैनिक कुरिरहेका छन् भनेर भनिदिने रहेछन्।

उता अंग्रेजहरूचाहिँ आरामले लड्ने, सुस्ताई सुस्ताई लड्ने, गोर्खालीहरू भने झ्याम कि झ्याम डट्ने। हल्ला ज्यादै ठुलो गरिदिने। यति ठुलो कि, उनीहरूलाई संख्याको भ्रम पर्ने। अत्याउने रणनीति थियो नेपालीको।

नेपालीले समनपुर र पर्सामा गरेको आक्रमणबाट ब्रिटिसहरू आत्तिएका थिए। त्यसपछि उनीहरू त त्यहाँ छिर्न नै डराउने! धुरुक्कै पारेका रहेछन्। मार्लीले त त्यसपछि त्यता छिर्ने आँट कहिल्यै गरेन। गोर्खालीले मनोवैज्ञानिक रूपमा उनीहरूलाई यति दबाबमा राखेका थिए कि थुरथुर कँपाएका नै थिए।

कसैले मर्नसँग डराउँदिन भन्यो भने पत्याउँदिन, गोर्खालीचाहिँ अपवाद हुन सक्छन् भन्ने एउटा जुन भाष्य छ, त्यो नेपाल-अंग्रेज युद्धमा मेल खान्छ?

यहींबाट त सुरु भएको हो। यत्रा ठुला तोपका बाबजुद पनि जाबो धनुकाँणले युद्ध लड्नु सानोतिनो आँट होला त? मलाउको किल्ला, जहाँ भक्ति थापा सहिद भए, अथवा नालापानी होस्, ढुंगा र भालाले प्रतिकार गर्नु सानोतिनो आँटले काम गर्दैन।

लेखक माेहन मैनाली/  नालापानी युद्धमा गोर्खाली सेनाद्वारा मारिएका मेजर जनरल जिलेस्पीको चित्रकला। तस्बिर स्रोत हिस्ट्री अफ इन्डिया/ जेम्स ग्रान्ट

 कुनै सैनिकलाई पक्राउ गरेर यातना दिएर कुरा ओकल्न लगाउँदा मैले राजाको नुन खाएको छु, मारे मार भन्थे। त्यस्तो ज्याद्रोपन देखेर पनि होला, त्यो ज्याद्रोपन चाहिँ सबै गोर्खालीमा त्यो बेला देखिन्छ।

कात्तिक १३ बाट नालापानीको युद्ध भएको देखिन्छ। युद्ध गर्न नसकेर हार खाएको अवस्था चाहिँ मंसिर २१ देखिन्छ। युद्धका लागि त्यो समय, वातावरण के देख्नुभयो ?

त्यो वर्ष दसैं ढिला रहेछ। अंग्रेज सेना अघि बढ्यो भन्ने खबर पाएपछि दसैंको साइतको टीका लगाएर युद्धका लागि नेपाली सेना हिँडेको देखिन्छ। तिहार पनि उनीहरूको युद्धकै मैदानमा बित्यो।

अंग्रेजले यो समय किन छान्यो होला?

वर्षामा औलो पनि लाग्छ। त्यसमाथि बाटोघाटोको समस्या थियो। भएन, पानी पर्नेबित्तिकै ह्वात्तै बाढी आउने कुलोकुलेसा, नदीनाला थिए। त्यो बेला युद्ध गर्दा धेरै क्षति हुने उनीहरूले ठानेका हुनाले हिउँद सबैभन्दा उत्तम समय थियो। त्यसका लागि उनीहरूले एक वर्षअघिदेखि रेकी गरेको बुझिन्छ। अर्को कुरा, मंसिरमा युद्ध घनीभूत भयो।

मंसिरमा शीत पर्‍यो, हाम्रा सेनालाई ओढ्ने ओछ्याउने, रातभर जाग्राम बस्नेहरूलाई समस्या पर्‍यो भनेर धेरै गुनासो अंग्रेजी फौजले गरेको देखिन्छ। खासगरी झाम्टाको लडाइँमा हिउँदे झरीको निकै कडा वर्णन पाइन्छ। झरीका कारण खाने, बस्ने, न्यानोको अभाव भयो भनेर अंग्रेज पक्षले चिठीमा धेरै गुनासाहरू गरेको देखिन्छ। यता नेपाली पक्षमा त्यस्तो कुनै गुनासो देखिँदैन।

तपाईंले यी सारा युद्ध, त्यसबेलाको अवस्था देख्दा जुन बेला सुगौली सन्धि भयो, हामीले अंग्रेजसँग मोलमोलाई गर्ने ठाउँ कति थियो जस्तो लाग्छ?

त्यति धेरै राम्रो अवस्था थिएन। हेटौंडा आएर विध्वंश मच्चाइसकेको थियो, सिन्धुलीमा नेपालको शर्मनाक हार भइसकेको थियो। मकवानपुरमा हारिसक्दा अब उनीहरूले साँच्चिकै चाहने हो भने त काठमाडौं हान्न त्यति गाह्रो पनि थिएन। केही महिना वा वर्षको कुरा मात्र थियो।

 काठमाडौंमा सैनिक थिएनन्। पाल्पामा अलिकति थिए होलान्। भएका सेना पनि धेरैतिर छरिएका थिए। जे जति थिए, उनीहरूसँग पनि उति धेरै शक्ति थिएन। ऊ त ठुल्ठुलो तोपै लिएर आएको थियो। तोप हुँदैनथ्यो र बन्दुक मात्र थियो भने त गोर्खालीले तह लगाइहाल्थे नि! उसको बल नै तोप थियो। ऊसँग जति पनि रासन थियो, जति पनि स्रोत साधन थियो। नेपाल टिक्न सक्ने अवस्थामा थिएन।

नेपालमा इतिहासप्रति खासै चासो राखेको देखिएन। खास इतिहास किन पढ्ने ? तपाईंको किताब किन पढ्ने?

इतिहास विषय ऐच्छिक होइन, अनिवार्य हो। कैयौं अनिवार्य विषयहरूझैं यो पनि अनिवार्य विषय हो। किनभने इतिहास भनेको विगत मात्र होइन, वर्तमान मात्र पनि होइन, यो त भविष्य हो। आफूलाई पहिले के के परेको थियो भन्ने नजाने, भविष्यको बाटो थाहा पाउनुहुन्न। त्यो पनि १०० मा ३३ ल्याउनुपर्ने होइन, १०० मा १०० नै ल्याउनुपर्ने विषय हो। केही समयअघि टिस्टामा नराम्रोसँग पहिरो गयो। नेपालीहरूलाई यो कुनै चिन्ता र चासोको विषय लागेन। उत्तराखण्डमा पनि त्यस्तै भयो तर पनि नेपालीहरूले उफ् समेत भनेनन्। किनभने, इतिहासप्रतिको उपेक्षा र अन्धकारले यस्तो हुन्छ। त्यत्तिको बाढी हाम्रो सरहदभित्रका नदीमा आएको हुन्थ्यो भने सरसहयोग त्यति नै हुन्थ्यो, जति पश्चिम नेपालमा भूकम्प आउँदा हामी चल्मलाउँथ्यौं।

अंग्रेजसँगको युद्धपछि सुगौली सन्धि जुन भयो, त्यसपछि हामीलाई यसरी बाँध्यो कि महाकाली र मेची नदीपारि नसोच भन्ने बनाइदियो। टिस्टा पनि नसोच, महाकालीपारि पनि नसोच, जबकि ती पनि त मान्छे हुन्।

यति विघ्न संकुचित बनाएको घटना के हो ? सरकार, जनता सबैलाई संकुचित बनाउने विषयको किताब नै ‘मुकाम रणमैदान’ हो। हाम्रो दिमागलाई डोर्‍याउने र अन्धो बनाउने घटनामाथिको यो पुस्तक हो।

हामीकहाँ इतिहास एक त पूर्ण लेखिएका छैनन्, जनताको इतिहास लेखिने कुरा त धेरै परको कुरा भयो। नेपालमा काम गर्न धेरै बाँकी छ है?

राजालाई महान् बनाउने, अलौकिक शक्ति भएका भनेर लेख्ने, लेखिने चलन छ। यो पुस्तक चाहिँ लडाईंका बारेमा हो। नालापानीको युद्धभन्दा अगाडिको पृष्ठभूमि के थियोदेखि लिएर विवादका कारण केलाउँदै नालापानीको लडाईंदेखि हरिहरपुरगढीको युद्ध, अक्टरलोनीलाई राजाले सुगौली सन्धिको प्रतिमा लालमोहर बुझाएको क्षणसम्मको कथा यसमा छ।

अहिलेलाई तपाईं म दुइटा थिएँ भन्ने मान्नोस्। एउटा म, नेपालीहरूसँग लड्दै थिएँ, अर्को ब्रिटिसहरूसँग बसेर लड्दै थिएँ। त्यो बेला दुवैतर्फको मैले के के देखेँ, लडार्इंका क्रममा दुवै तर्फका सिपाहीले के के भोगे, देखे त्यो अवस्थामा कसकसले के के लेखे, त्यसमाथि यो पुस्तक लेखिएको हो। उनीहरूको आँखाबाट, उनीहरूको मनोदशा केलाएको पुस्तक हो।

एउटा पत्रकारलाई इतिहास लेख्नुको अप्ठेरो के रहेछ?

मैले प्रतिप्रश्न गर्ने ठाउँ रहेन। पत्रकारितामा सधैं प्रतिप्रश्नको ठाउँ रहन्छ तर इतिहासमा नरहँदो रहेछ। घटना २०० वर्षअघिको हो, त्यो मान्छे सम्भवतः १५० वर्षअघि नै मरिसक्यो होला। अब कसलाई प्रतिप्रश्न गर्ने? लेख्दै जाँदा सूचना पुगेन भने कसलाई सोध्ने? एउटा सानो उदाहरण, एक ठाउँमा किल्ला बनाउँदै जाँदा यति उचाइ र चौडाइको बनाए भन्ने लेखिएको रहेछ।

मैले त्यही लेखेँ। जब मेरा सम्पादकले यसको लम्बाइ खोई भनेर सोध्नुभयो, म फेरि त्यो मूल स्रोतमा फर्किएँ। तलदेखि माथिसम्म हेरेँ, स्रोतमै लेखेको रहेनछ। अब आफैंले थप्ने कुरा भएन। तर ती व्यक्ति जीवित भएको भए त मैले फोन गरेर सोध्न मिल्थ्यो नि ! पत्रकारितामा यो ‘मिसिङ इन्फरर्मेसन’लाई पूरा गरेर लेख्छौं तर इतिहासमा त्यसो गर्न मिल्दैन। जे छ, छ। पत्रकारिता र इतिहासमा यत्तिको फरक हुने रहेछ। यस्तो अवस्थामा मैले अंग्रेजहरूको स्रोतमा मात्रै भर पर्नुपर्‍यो। नेपालीले चिठी लेखेका थिए, त्यो देखिन्छ, पछिसम्म पनि थियो भन्ने लाग्छ तर धुलिए, नासिएका हुनसक्छ।

पत्रकारिताबाट अचानक इतिहास लेख्न तपाईंलाई के कुराले प्रेरित गर्‍यो?

कोरोनाकालमा संसारै आक्रान्त भएका बेला म राष्ट्रिय अभिलेखालय केही कामले जाँदा त्यहाँ क्याटलग देखें। हेर्दै जाँदा ‘हामीलाई गाह्रो भयो, पठाइदिनुपर्‍यो’ लगायतको बान्कीका चिठी थिए। कुनै प्राइममिनिस्टर भीमसेन थापालाई लेखिएको, कुनै राजामा बिन्ती बिसाइएको।

 मलाई यो विषय रोचक लाग्यो। ती चिठी लडाईंको मैदानबाट लेखिएका थिए। रणभूमिमा लडाईं हुँदै गर्दा तात्तातो लेखिएका थिए। दिनभरि लडाईं हुन्थ्यो र राति दिनभरिका घटना लेखी पठाइन्थ्यो। त्यतिबेला लेख्नेले जे भोग्यो, त्यही लेखेको छ। यसले त्यतिबेलाको मनोविज्ञान बताउँछ। यसका आधारमा केही त लेख्नै पर्छ भन्ने लाग्यो। किताबै लेखुँला भनेर त आँकेको थिइनँ।

यसअघिका तपाईंका किताब र यसमा के फरक दुःख महसुस गर्नुभयो?

यसअघिका किताब लेख्दा किताबकै लागि भनेर ज्यादै थोरै सूचनाहरू खोजेँ। ९० प्रतिशत जानकारी पहिल्यै थिए। थोरै नपुगेका र थपथापका लागि १० प्रतिशतका लागि मात्र मिहिनेत पर्‍यो। तर यो किताबका लागि त ‘क’देखि ‘ज्ञ’सम्मै संकलन गर्नुपर्‍यो। संकलन गरेर मात्र भएन, ती पत्रहरू पढ्न पनि जान्नु सक्नुपर्‍यो। नेपालीले त्यो युद्ध जसरी चाहिनेभन्दा बढी धैर्यका साथ लडे, मैले यो किताब निकाल्ने लडाईं उत्तिकै धैर्यका साथ लडेँ भन्ने लाग्छ।

यो किताब तयार पार्दै गर्दा धेरै सूचनाहरू परराष्ट्रले गोप्य भनेर राखेको पाउनुभयो। त्यसको कारण चाहिँ के होजस्तो लाग्छ?

त्यसको जवाफै छैन। २०० वर्षअघिका पत्रहरू किन ‘क्लासिफाइड’ राखेको हो त्यो कसैलाई थाहा छैन।

किन?

किनभने वास्तवमा नेपालमा प्रजातन्त्र आएकै छैन। हामी अहिले पनि निरंकुश छौं। एउटा मान्छेको मुड चल्यो, उसलाई चित्त बुझेन भने उसले नदिन सक्छ। जबकि त्यो पब्लिक प्रोपर्टी हो।

जनतालाई आफ्नो इतिहासका बारेमा बताएर भविष्यमा यस्तो हुन्छ, यता जानुपर्छ भन्ने जानकारी एक जना मान्छेको लहडका भरमा ताला लगाएर नदिने व्यवस्था प्रजातन्त्र होइन नि! यो त सुडोडेमोक्रेसी हो। जुन पत्रहरू बेलायतीहरूले युद्ध सकिएको आठ वर्षमै क्लासिफाइड लेटरहरू किताबमा छापे, नेपालीहरूले अझै पनि २०९ वर्षपछि पनि तिनलाई गोप्य ठानिरहेको छ। जबकि गोप्य ठानिनुपर्ने चिज अरू नै थियो।

नेपालको वास्तविक इतिहास कसरी लेख्ने?

हालसम्म गोप्य ठानिएका यस्ता पत्र, जानकारी, लालमोहरका सबै खोल्नुपर्छ। त्यसका लागि ३०–४० जना मूर्धन्य इतिहासकारहरू तीन चार वर्ष बिताउनुपर्छ। उनीहरूले विभिन्न पाटाहरू यसैगरी फस्टह्यान्ड इन्फर्मेसनमा आधारित रहेर इतिहास लेख्नुपर्छ।

अघि गोप्य ठानिनुपर्ने चिज अरू नै थियो भन्नुभयो, त्यो के हो?

वास्तवमा लुकाउनुपर्ने चाहिँ दिव्योपदेश थियो। यो पो नेपालको रणनीति हो त। कसलाई के गर्न नदिने, कस्तो व्यवहार गर्ने, आफूले भित्र लिने कुरा, मनन गर्ने कुराचाहिँ बाहिर किताब छापेरै ल्याएको छ। अनि, जाबो चिठीपत्रहरू चाहिँ, घटनाविवरणहरू चाहिँ गोप्य ठानेर थुनेर राखेको छ।

अब अर्को पनि इतिहास लेख्नु हुन्छ कि?

यस्तो इतिहास लेख्ने काम हामीजस्तो पत्रकारले एक जुनीमा एकपटक मात्र गर्नुपर्छ। एक्लो प्रयास हो यो। विश्वविद्यालय र अन्य रिसर्च इन्स्टिच्युटले प्रयास गर्नुपर्ने हो यो। यता ध्यान दिँदा एउटा पत्रकारले अन्य काम गर्न पाएन, यसको परिश्रम कम्पन्सेट भएन। एक्लो प्रयास, एक जुनीमा एक पटक मात्र गर्ने हो।

प्रकाशित: २३ मंसिर २०८० ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App