कला

पृथ्वी जयन्तीमा विविध कार्यक्रम

काठमाडौं – २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न सरोकारवालाका साथ मिलेर नेपाल प्रज्ञा प्रतिष्ठानले विविध कार्यक्रम गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले यस वर्षदेखि सरकारले दिवसका अवसरमा सार्वजनिक बिदा दिएकाले पनि बृहत् रूपमा दिवस मनाउन थालिएको जनाएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समिती, नेपाल इतिहास संघ, गोरखा सेवा समाज, लायन्स क्लब, नागरिक समूह, उज्यालो नेपाल, नेपाल निर्माण व्यवसायी महासंघ लगायतसँग मिलेर यसवर्षदेखि बृहत् रूपमा दिवस मनाउन सुरुवात गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए ।

उनले पुस २४ गते देखि २७ गतेसम्म विविध कार्यक्रमको आयोजना गरिने उल्लेख गरे । पहिलो दिन २४ गते आजको सन्दर्भ र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठी, २५ र २६ गते प्रतिष्ठान परिसरमा चित्रकला प्रदर्शनी तथा पुस्तक प्रदर्शनीको आयोजना गरिँदैछ । त्यसैगरी २७ गते बिहान दश बजे प्रतिष्ठान परिसरबाट प्रभात फेरिको आयोजना गरी सिंहदरबारको पश्चिम गेट स्थित पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण कार्यक्रम गरिने बताइएको छ । सोही दिन दिउँसो राष्ट्रिय सभा गृहमा नागरिक सभाको आयोजना गरी शाहको योगदानको बारेमा चर्चा गरिने जनाइएको छ ।

यस वर्षदेखि सार्वजनिक बिदा सरकारले दिएकाले पनि शाहको नेपाल एकीकरणको योगदानले कदर पाएको उप्रेतीले बताए । शाहले साना टुक्रे राज्यमा रहेको नेपाललाई एकै देशका रूपमा समाहित गरेका थिए ।

 

प्रकाशित: २४ पुस २०७४ ०५:३९ सोमबार

पृथ्वी जयन्तीमा विविध कार्यक्रम