कला

आइपुग्यो ‘अडिएका पाइला’

विश्लेषक विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ शनिबार लोकार्पण गरिएको छ। लोकार्पण मञ्जुश्री थापा र विष्णु सापकोटाले गरेका हुन्। ‘अडिएका पाइला’ सापकोटाको पहिलो उपन्यास हो।

नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आयोजित उपन्यास लोकार्पण कार्यक्रममा लेखक तथा अनुवादक थापाले उपन्यासमा बौद्धिक तहका युवा पुस्ताको चित्रण रहेको बताइन्। ‘विश्लेषणात्मक विचार लेख्नुहुने विष्णुजीले किन उपन्यास लेख्नुभयो? गैरआख्यान विधामा पनि लेख्न मिल्थ्यो’, मञ्जुश्रीले भनिन्, ‘पढ्दै जाँदा थाहा पाएँ, उपन्यासको विषय भावना हो, हरेक पात्रका भित्री संसार खुलाएर नजिकबाट लेख्न मिल्छ। उहाँले प्रेममा हुने भावनात्मक गल्तीलाई नजिकबाट उपन्यासमा दर्शाउनुभएको छ।’

उपन्यासमा त्रिविको आन्तरिक वातावरणको चित्रण गरिएको छ। ‘यो क्याम्पस नोबेल हो, यो एउटा प्रेम कथा हो। यो उत्तरद्वन्द्वकथा हो, यस उपन्यासमा क्रान्तिपछिको युवा पुस्ताले खोजेको परिवर्तन र उनीहरूका दुविधा चित्रण गरिएको छ’, थापाले भनिन्, ‘हाम्रो समाज कति तरल छ भनेर त्रिविका माध्यमबाट देखाइएको छ।’

‘अनौठो प्रेमकथालाई सूक्ष्म रूपमा बुनिएको उपन्यासमा पात्रका सम्बन्ध पटाक्षेप हुँदै गर्दा पाठकले एउटा बौद्धिक उडान भरेको महसुस गर्नेछन्’, फाइन प्रिन्टद्वारा प्रकाशित उपन्यासको ब्याक कभरमा लेखिएको छ।

उपन्यास लेखक विष्णु सापकोटा आजबाट उपन्यासका पात्रलाई बिदाइ गरेको भन्दै भावुक भए। ‘मैले उपन्यास लेख्नुपर्ने भएर लेखेको हुँ’, उनले भने, ‘सपनामा मैले एक चित्र देखें, जुन बारम्बार स्मरणमा आइरह्यो। कथा घट्यो अनि उपन्यास लेखें। लेख्न बसौं भनेर उपन्यास लेखेको हैन।’

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका लेखक सापकोटा दर्शन र सिद्धान्तमा रुचि राख्छन्।त्रिविमा केही वर्ष अंग्रेजी साहित्य प्राध्यापन गरेका उनी हाल एक अन्तर्राष्ट्रिय संस्थामा क्याम्बोडियामा कार्यरत छन्। 

प्रकाशित: १० मंसिर २०८० ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App