कला

बेलायतका क्याम्पिङ र क्यासल

नियात्रा

बेलायतको इस्ट ससेक्समा अवस्थित बोडियम क्यासल। तस्बिर: कृष्ण बजगाईं

जीवनको पहिलो अनुभव कस्तो होला? छोटो जीवनमा पहिलो अनुभव गर्नुपर्ने वस्तुहरू कति छन्? के ती सबैको अनुभव लिन सम्भव होला? सम्भव भएसम्मका जीवनोपयोगी र आनन्ददायी अनुभवहरू सँगाल्नु जिउनुको सार्थकता हो। त्यस्ता अनुभवहरू हृदयको क्यानभासमा सजाएर मस्तिष्कमा भण्डार गर्न सके एक्लोपनमा काम लाग्ने साथी कमाउनु पनि हो।

जीवनको पहिलो अनुभव बटुल्न क्याम्पिङका लागि आफूलाई तयार पार्छु। क्याम्पिङ जानका लागि वर्षौंदेखि मलाई उक्साउने बेलायती गोर्खा सेनाका निवृत्त सिनियर सैनिक अधिकृत मामा वसन्त लुइँटेलले भनेको सम्झन्छु, ‘भान्जा, क्याम्पिङबाट फर्केपछि ताजा भइन्छ। तनाव कम हुन्छ।’ मामाका कुरालाई पत्याउँदै उहाँलाई पछ्याउन तयार हुन्छु।

वसन्त मामाले क्याम्पिङका बारेमा उक्त कुरा भनेपछि त्यसको फाइदाका बारेमा जानकारी लिन हौसायो। उहाँको अनुभवलाई समर्थन गर्ने वैज्ञानिक तथ्यहरू पनि रहेछन्। वैज्ञानिक शोध अनुसार ‘फरेस्ट थेरापी’ले डिप्रेसन, एन्जाइटी र पीडा कम हुने साथै स्ट्रोक भएका बिरामीहरूलाई स्वास्थ्य लाभ हुने कुरा बताइएको छ।

युगल जोडीहरू क्याम्पिङमा जाँदा उनीहरूको ‘सेक्स लाइफ’ सुध्रिएको पत्ता लागेको छ। त्यति मात्र होइन, अनुसन्धानबाट थाहा लागेअनुसार प्राकृतिक प्रकाशमा ब्युँझदा शरीरमा स्फूर्ति प्राप्त हुने र राति स्वस्थ निद्रा प्राप्त हुन्छ।

शरीरको प्राकृतिक घडीलाई जबर्जस्ती अलार्म लगाएर ब्युझाउनु राम्रो कुरा होइन भनेर शोधकर्ताहरूले भनेका छन्। तिनीहरूले भनेर मात्र कहाँ हुन्छ र ? घडीको अलार्ममा नब्युँझिए मेरो त घरबार चल्दैन।

उत्तरआधुनिक समयको अति व्यस्त जीवनमा काम, परिवार, साहित्य, संगठन, समाज, भर्चुअल संसारमा भागदौड गर्दागर्दै बेसरी थकान महसुस हुन्छ। नलिऊँ न त तनाव भन्दा पनि कहाँबाट आउँछ थाहै हुन्न। ती सबैबाट केही दिन मुक्त हुनका लागि क्याम्पिङको तयारी थाल्छु।

टेन्ट, म्याट्रेस, फोल्डिङ टेबुल र कुर्सी, टर्चलाइट लगायतका सामानहरू किनेर घरमा भित्र्याइसकेको थिएँ। क्याम्पिङका सामान, लगाउने कपडा र खानेकुरा कारमा राखिसकेपछि यात्राका लागि सञ्जु र म तयार हुन्छौं।

घरबाट एक सय पचहत्तर किलोमिटर टाढा क्याम्पिङ साइटमा पुग्नु छ। कारमा लगाएको नेभिगेटरले अढाई घण्टामा पुगिने बताएको छ। कार स्टार्ट गर्छु। व्यस्त बजारको साँघुरो बाटोमा ट्राफिक लाइटको निर्देशन पर्खंदै तोकिएको सीमित गतिमा केहीबेर कार सुस्त गतिमा चल्छ। एकछिनपछि हाइवेमा पुगेपछि त कार हुइँक्याउन थाल्छु बेस्सरी।

पटकपटक कार चलाइरहेको बाटोमा उही दृश्यहरू पुनरावृत्ति भइरहन्छन्। झन्डै एक घण्टा कार चलाएपछि म कहिल्यै नपुगेको हाइवेमा कार दौडिन्छ। खेतका फाँट देख्छु। देख्छु सडकमा बत्तिएका गाडीका ताँतीहरू। कारमा गीत घन्किरहेको छ-ट्याक्सी गुडाउँदै, बाइरोडको बाटोमा धुलो उडाउँदै ...।

बेलायतको सफा हाइवेमा धुलो होइन, कार उडाउँदै छु म।  ‘कति धेरै स्पिडमा कार चलाइस्या। जरिवाना आउला नि।’ सञ्जुले मलाई सचेत गराउँछिन्।

गीतको सुरमा निकै हुइँक्याएछु कार। अलिकति ब्रेक दबाएर कारको गति घटाउँछु।

अलिक बेरपछि हाइवे छाडेर नेभिगेटरले सानो बजारतिर प्रवेश गर्ने निर्देशन दिन्छ। सानो बजारलाई सरसर्ती नजर लगाउँछु। त्यस बजारको बाटोमा पहिलो पटक प्रवेश गरे पनि अरू ठाउँभन्दा खासै भिन्नता देख्दिनँ।

हुन त हातले स्टेयरिङ समाएपछि बाहिरी दृश्यमा मन लागुन्जेल आँखा डुलाउन पाइँदैन। मन, मस्तिष्क, हात र खुट्टाको संयुक्त योगले मात्र ड्राइभरले सुरक्षित यात्रा गराउन सक्छन्।

‘क्याम्पिङबाट शरीर र दिमागलाई ठुलो लाभ मिल्छ। क्याम्पिङ जाँदा रात टेन्टमा बिताए पनि वरिपरिको नयाँ ठाउँ घुमिन्छ। वरपरको हिँडाइ र कुदाइले शारीरिक व्यायाम मिल्छ। त्यहाँको वातावरणमा नयाँ कुरा सिक्न सकिन्छ। सहरमा बस्दा प्रकृतिबाट टाढा हुनेहरू प्रकृतिसँग जोडिन्छन्।

जमिनमा पैतालाले स्पर्श गर्छ। त्यसले स्वास्थ्यलाई धेरै फाइदा गर्छ। त्यहाँका रुखबिरुवा, फूलको गन्ध, ताजा हावाको स्पर्श शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ। अझ नदीको कलकल र चराचुरुंगीको आवाज सुन्न पाए तनाव हटाउने संगीतको काम गर्छ। रातमा जुनकिरीको प्रकाश देख्न पाए त्यसले बेग्लै आनन्द दिन्छ’ क्याम्पिङ गइरहने बेलायती मित्र मार्टिनलाई क्याम्पिङ जान लागेको कुरा सुनाएपछि उनले मलाई क्याम्पिङको फाइदा बताएको कुरा सञ्जुलाई सुनाउँछु।

‘प्रकृतिसामु गरिने ध्यान मानसिक स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ। प्रकृतिसँगको सामीप्यले चित्तवृत्ति केन्द्रित गर्छ। प्रकृतिमा रमाउँदा होस् वा क्याम्पिङमा रात बिताउँदा, मानिसले आफ्नो विगत बिर्सन्छन् अनि आफ्नो ध्यान वर्तमानमा केन्द्रित गर्न सक्छन्। विगतका असफलता, पीडा र गुनासाले हो मानिसलाई तनाव दिने। वर्तमानमा बाँच्न सके आधा तनावबाट मुक्ति मिल्छ।’ बेलायतमा एक योग–गुरुले भनेको कुरा स्मरण गर्छु।

आजकल साथी वा आफन्त भेटेर गफ गर्नुभन्दा फोन वा भिडियो कल गरेर सम्बन्ध कायम गर्ने खराब बानीको विकास हुन थालेको छ। घरमा हामीहरू नै निकैबेर आआफ्नै मोबाइल र ल्यापटपमा रमाइरहेका हुन्छौं। यतिसम्म कि खाना तयार छ, खान आउनू भन्ने खबर अर्को कोठामा बसेकालाई फोन गरेर पठाउने स्थितिमा पुगिसक्यौं। अहिलेको डिजिटल दुनियामा मानिसहरू भर्चुअल सम्बन्धमा रमाएका छन्। त्यस्तो सम्बन्धमा पछुताउनुबाहेक अरू केही हुँदैन।आफ्नै उक्त खराब बानी सम्झेर दिक्क लाग्छ।

‘डिजिटल दुनियाको टिभी, ट्याबलेट, मोबाइल फोन आदि उपकरणबाट उत्सर्जित निलो प्रकाशबाट टाढा रहनाले आँखा र मानसिक स्वास्थ्यमा राम्रो फाइदा पुग्छ। राम्ररी निद्रा पर्छ।’ सञ्जुले डिजिटल उपकरणको बेफाइदाबारे जानकारी दिन्छिन्।

कार चलाउँदै गर्दा मैले पत्रपत्रिका र पुस्तक पढेर थाहा पाएको थप कुरा सञ्जुलाई सुनाउँछु, ‘आजकल इमेल, फोन, सोसियल मिडिया आदिले मानिसलाई तनाव थपेको छ। फेरि आधुनिक जीवनमा यी नभई बाँच्न पनि सकिन्न। कुनै काम अगाडि बढ्दैन। त्यसबाट मुक्ति पाउन मोबाइल फोनको नेटवर्क नटिप्ने, इन्टरनेट नहुने, डिजिटल डिस्कनेक्सन हुने ठाउँमा होलिडे जानेहरूको संख्या बढिरहेको छ।

‘डिजिटल डिटोक्स’ शब्द आजकल निकै प्रचलित छ। यसको मतलब डिजिटल संसारका इमेल, टिभी, कम्प्युटर, फोन, इन्टरनेट आदिलाई बन्द गरेर बस्नु या अनलाइनमा बस्ने समय घटाउनु हो। त्यसो गर्दा मानिसलाई तनावबाट मुक्ति मिल्छ र खुसी प्राप्त हुन्छ। के थाहा म पनि त्यसै गर्ने छु? कुनै दिन डिजिटल संसारसँग सम्पर्क नहुने ठाउँमा होलिडे जाने छु।’ सञ्जुलाई सुनाउँछु।

‘बिहान उठेदेखि राति सुत्नुभन्दा अघिसम्म मोबाइल फोन र ल्यापटपमा झुन्डिनेको कुरा कसले पत्याउला?’ सञ्जुले मेरो कुरा हाँसेर उडाइन्।

हुन त मैले चारपाँच घण्टाभन्दा बढी डिजिटल दुनियाबाट टाढा बसेको सम्झना छैन। सायद सक्दिनँ कि? त्यसको बेफाइदा जान्दाजान्दै पनि मैले व्यवहारमा लागु गर्न सकेको छैन। हुन त उनी पनि कहाँ कम छिन् र? मोबाइल फोनमा झुन्डिई बस्छिन्। सबै कुरा थाहा हुँदा हुँदै पनि हामी दुई एकअर्कालाई खुब सल्लाह दिन्छौं।

यस्तै गफ गर्दै करिब तीन घण्टाको कार यात्रापश्चात् ‘रोम्नी मेडोज क्याराभान पार्क’ लेखेको क्याम्पिङ साइटमा पुग्छौं। त्यही थियो हाम्रो गन्तव्य। भित्र पुगेपछि लहरै पार्क गरेर राखिका थुप्रै क्याराभानहरू देख्छु। क्याराभानका लाइन सकिएपछि टेन्टको लाइन सुरु हुन्छ। त्यहाँ पनि करिब बाह्र-पन्ध्र जति टेन्ट देख्छु। तोकिएको स्थानमा कार पार्क गरेर वसन्त मामालाई फोन लगाउँछु।

‘टेन्टहरू भएतिर आउनु भान्जा,’ मामाले फोनमा भन्नुभयो।

त्यहाँ पुग्दा पूर्व सिडिओ, लेखक तथा राजनीतिज्ञ पुष्पप्रसाद लुइँटेल, उहाँका जेठा छोरा वसन्त र बुहारी सीता, कान्छो छोरा हेमन्त, नाति कृत्तिवाशा, नातिनी स्वेडा र ज्वाइँ चिराग थिए। हामी पनि उहाँहरूकै आफन्ती। उहाँहरूलाई भेट्दा पारिवारिक मिलन भएजस्तै लाग्यो।

हामीभन्दा एक घण्टाअघि पुग्नु भएकाले उहाँहरूको टेन्ट तयार भइसकेको रहेछ। म पनि कारबाट क्याम्पिङका सबै सामान उतार्छु। उहाँकै छेउमा टेन्ट ठड्याउँछु। क्याम्पिङ साइटमै सफा शौचालय, स्नानगृह, पानी, बिजुली सबै उपलब्ध रहेछ। त्यसको चिन्ता लिन नपरेपछि एउटा ठुलो बोझबाट मुक्ति मिल्यो।

‘भान्जाभान्जी भोकाएर आउनुभयो होला?’ सीता माइजूले सोध्नुभयो।

‘छैन माइजू,’ मैले भनें।

थकित सूर्यको बादलसँग लुकामारी चल्दाचल्दै साँझ परिसकेको छ। साँझको सुन्दरता ओर्लेको छ धरतीमा। आगो बालेर सेकुवा पोल्छौं। साथमा लगेको ग्यासको चुलोमा खाना पाक्न थाल्यो। केही बेरपश्चात् खाना तयार भयो। सञ्जुले घरबाट बनाएर लगेको र सीताले माइजू ल्याउनुभएको खानाका साथमा तातो खाना खाँदै गफगाफ सुरु हुन्छ। खाना एकदम स्वादिष्ट छ। सेकुवा, वाइन, बियर, विभिन्न परिकारका स्वादिष्ट खानाहरू केके खाइयो खाइयो पत्तै भएन।

भनिन्छ, घर र रेस्टुरेन्टको मिष्टान्न भोजनभन्दा क्याम्पिङ वा घरदेखि अलिक पर पिकनिकमा बनाएको खाना मिठो हुन्छ। त्यहाँ प्रकृति, साथीसँगी र पारिवरिक सम्पर्क पनि मजबुत हुन्छ।

खानपिनकै क्रममा हामीले नेपालको समसामयिक राजनीति, धर्म, दर्शन, अर्थतन्त्रका विषयमा गफगाफ गर्छौं। स्वेडा बहिनी र मेरो फेमनिज्मका बारेमा एकछिन् तर्क चल्छ।

क्याम्पिङ साइटमा हाम्रा नजिकका क्याराभान र टेन्टहरू पनि जागै छन्। त्यहाँ पनि खानपिन र गफगाफको रमाइलो चलिरहेकै छ।

रातको करिब बाह्र बजेतिर सुत्नलाई आआफ्नो टेन्टमा प्रवेश गर्छौं। करिब चारपाँच डिग्री सेल्सियस तापक्रम भएकाले मौसम चिसो छ। शरीरमा न्यानो लुगा, टाउकोमा ऊनको टोपी र खुट्टामा मोजा लगाएर हामी सुत्छौं।

‘पातलो म्याट्रेसमा ढल्केपछि घरको आरामदायी ओछ्यानको सम्झना आएन?’ सञ्जुलाई जिस्क्याउँछु।

हामी सुतेको टेन्टको छेउमा केही रुखहरू जागै छन्। ती रुखका छिमेकीका रूपमा खेतीपाती गरिने फराकिलो जमिन छ। त्यस जमिनमा गहुँ लगाइएको छ। परपरसम्म गहुँ बारी छ। परिपक्व हुन गहुँले बैंस पर्खेर बसेको छ। हाम्रो टेन्टभन्दा अलिक पर समुद्र छ। समुद्र मस्त निद्रामा सुतेको होला र त चालचुल छैन। माथि कालो आकाशमा केही ताराहरू टिलपिल गरिराखेका छन्। कैयौं वर्षपछि बेलायतमा त्यसरी तारा हेर्ने अवसर जुरेपछि ती हाम्रै लागि चम्केका होलान् भनेर आफ्नै मनसँग ठट्टा गर्छु।

प्रकृतिका समीपमा बसेर तिनलाई स्मरण गर्दैगर्दा एकछिनमै भुसुक्क निदाइएछ। बिहान करिब पाँच बजेतिर चराको चिरबिरले बिउँझिएँ। मेरो शरीरमा बेग्लै खालको स्फूर्ति छ। वैज्ञानिक शोधअनुसार मानिसको दिमागले हरियाली मन पराउँछ।

प्रकृतिको नजिकै सुत्नाले राति राम्रो निद्रा आउँछ। यदि प्रकृतिमा प्रशस्त समय व्यतीत गरे वा उसको वरिपरि रुख, विरुवा वा फूलहरू भएमा मानिसमा खुसीको वृद्धि हुन्छ। शोधको उक्त अंश पढेपछि त्यही भएर गाउँका मानिस गरिब भए पनि स्वस्थ र खुसी देखिएका हुन् जस्तो लागेको छ मलाई।

बिहानै कफीको तलतल मेटाउँछु। क्याम्पिङको दोस्रो दिन ‘बोडियम क्यासल’ अवलोकन गर्ने योजना स्वेडाले बनाइन्। उनले मेरै लागि छानेजस्तो बोडियम क्यासललाई रोजेकी थिइन्। मलाई म्युजियम, क्यासल, पुरातात्त्विक महत्त्वका ठाउँ, ऐतिहासिक स्थलहरू घुम्न मन पर्छ भन्ने उनलाई थाहा छ। उनी पनि त्यस्तै स्थल मन पराउँछिन्। क्यासल घुम्न जाने गाडीमा म, स्वेडा, हेमन्त, पुष्पप्रसाद छौं। गाडीका स्टेयरिङ समाएका छन् चिरागले। क्यासल जान मन नपराउनेहरूलाई क्याम्पमै छाडेर हामी निस्कन्छौं।

बेलायतको ‘इस्ट ससेक्स’मा अवस्थित बोडियम क्यासल अर्थात् विशाल महलको अवलोकनका लागि एकदम उत्साहित भएको छु। आतुरता छ त्यहाँ पुगिहाल्ने। बेलायतको एकदम सुन्दर फोटो आउने स्थान! सबैभन्दा बढी फोटो खिचिने थलो ! रोमान्टिक ठाउँ! विभिन्न फिल्महरूको छायाङ्कन भएको क्षेत्र। कविले कविता लेखेको र कलाकारले चित्र बनाएको सिर्जनस्थल। बोडियम क्यासलका बारेमा मलाई यति नै जानकारी थियो।

गाडीको झ्यालबाट बाहिर नियालिरहेछु। बाटामा बेलायती गाउँको हरियाली देखियो। खेतीपाती गरिएका विशाल फाँटहरू झुल्किए। बेगिएका छौं कारमा। दौडिरहेका छन् दृश्यहरू। तीभन्दा छिटो दौडिएको छ मेरो मन। गाडीका सहयात्रीहरू बेलायतको विकास र सभ्यताका कुरा गरिरहेका छन्।

बेलाबेलामा म पनि सहभागी हुन्छु वार्तालापमा। करिब पौने घण्टा कार चलाएपछि एउटा कार पार्कमा गाडी रोके चिरागले। मूल गेटअगाडि सूचनापाटीमा लेखिएको थियो-बोडियम क्यासल।

क्यासल पुग्न त अझै पैदल हिँड्नुपर्ने रहेछ। क्यासलकै बगैंचा र हरिया घाँसे मैदान छेउको बाटोमा एकछिन हिँडेपछि विशाल भवनअगाडि पुग्छौं।

पानी भरिएको पोखरीको चारैतिर ठुलठुला रुखहरू छन्। पोखरीबिचमा ढुंगाले बनेको एउटा विशाल महल गर्वसाथ उभिएको छ। त्यही महल थियो ‘बोडियम क्यासल’।

 क्यासलको छाया पोखरीको पानीमा तैरिरहेको छ। हल्लिरहेको छ पानीमाथि सुन्दर छाया। मेरो चञ्चल र तिर्खालु नयन घरी क्यासलमा त घरी पानीमा खसेको छायामा ठोकिन्छन्। त्यस सुन्दर दृश्यलाई फटाफट मोबाइल फोनको क्यामेरामा कैद गर्छु।  

‘सुरक्षाका लागि हो कि सुन्दरताका लागि, पानीले भरिएको पोखरीका बिचमा क्यासल बनाएका होलान्?’ विचार बुझ्न चिरागलाई सोध्छु। ‘सुन्दरता र सुरक्षा दुवैका लागि हुनसक्छ,’ उनले छोटो उत्तर दिए।

क्यासलको मनोरम दृश्य अनि त्यसको सुन्दरता पोखिएर पानीमा परेको छाया जति हेरे पनि अघाउने खालको थिएन। क्यासल सुन्दर कि पानीमा परेको छाया सुन्दर ? मसँग त्यसको उत्तर थिएन।

‘क्यासल कहाँबाट प्रवेश गर्ने होला? डुङ्गा पो तर्नुपर्ने हो कि?’ स्वेडालाई जिस्क्याउँछु।  

क्यासलको मुख्य प्रवेशद्वारअगाडि स्वेडाको पछि लागेर हामी पुग्यौं। क्यासलको प्रवेशद्वार पुग्न झन्डै एक फन्को लगाउनुपर्‍यो। त्यहाँ केही अवलोकनकर्ताहरू पनि देख्छु। देख्छु, क्यासलअगाडि ससानो बगैंचा। क्यासलभित्र प्रवेश गर्न त्यही बगैंचा अगाडिबाट एउटा काठको पुल तरेर जानुपर्दो रहेछ। सानो पुलमा पाइला चाल्दै गर्दा मनको एउटा कुनामा रोमाञ्चकता थपिन्छ।

बेलायतको लामो इतिहास बोकेको बोडियम क्यासलभित्र पाइला राख्छौं। लामो समयदेखि चलिरहेको फ्रान्स र बेलायत युद्धको समयमा फ्रान्सको आक्रमणबाट जोगिन र प्रत्याक्रमण गर्नका लागि भनेर राजाबाट अनुमति लिएर बनाइएको रहेछ उक्त क्यासल।

बेलायत र फ्रान्सको युद्ध एक सय सोह्र वर्षसम्म चलेको कुराले मलाई आश्चर्यचकित पारेको छ। के प्राप्तिका लागि त्यत्रो धनजनको क्षति पुर्‍याएर त्यति लामो समयसम्म युद्ध लडेका होलान्? एउटा गम्भीर प्रश्नले हिर्काउँछ मलाई बेसरी।

‘नेपालका राणाहरूले पनि यतैको सिको गरेर विभिन्न दरबार र महल बनाएका हुन्,’ अवलोकनका क्रममा हजुरबुबा पुष्पप्रसादले भन्नुहुन्छ।

बाहिरबाट हेर्दा दुई तले देखिने क्यासलको एक तला जमिनमुनि पनि रहेछ। क्यासलभित्र सानो चर्च, घरेलु अपार्टमेन्ट, भान्सा कोठा, भण्डार कोठा, हल, रोटी तथा घिउतेल राख्ने कोठा र थुनुवा राख्ने ससानो जेल पनि रहेछ। क्यासलभित्रको जेलमा कसलाई थुन्थे होलान्? एउटा धनी व्यक्तिलाई निजी जेल बनाउन कुन कानुनले अधिकार दियो होला? मनमा एकसाथ थुप्रै प्रश्न उठ्छन्।

क्यासल निर्माणको अन्तर्निहित उद्देश्य आरामदायी सुविधासम्पन्न क्यासलभित्र सुरक्षित जीवन बाँच्नका लागि पनि थियो होला भन्ने लाग्छ मलाई। त्यसैले क्यासलको सुरक्षाका लागि निजी सिपाही अर्थात् निजी सुरक्षाकर्मी राख्दा रहेछन्।

उक्त क्यासल सर एडवर्डको धन र शक्तिको तुजुकजस्तो पनि लाग्छ मलाई। विशाल क्यासल बनाएर नाम कमाउने उनको चाहना पनि थियो होला। नत्र बेलायतमा गृह युद्धको समयमा आफ्नै देशका विद्रोहीहरूको कब्जामा कसरी पुग्यो त त्यो क्यासल? त्यस घटनाले गर्दा एउटा सुरक्षित किल्लाका रूपमा मानिएको उक्त क्यासल सोचेजस्तो मजबुत रहेनछ भन्ने लाग्यो मलाई।

सन् १३८५ मा सर एडवर्ड ड्यालिनग्रिगले बनाइएको त्यस क्यासलको लामो आयुको रहस्य थाहा पाउन खोज्छु। विभिन्न व्यक्तिहरूको स्वामित्वमा पुगेको क्यासल आफैमा खर्चिलो थियो। मर्मत सम्भार नगरेपछि त्यहाँ कोही बसेनन्। त्यसपछि लामो समयसम्म त्यतिकै छाडियो। उन्नाइसौं शताब्दीमा क्यासललाई नेसनल ट्रस्टले जिम्मा लिएपछि मर्मत गरेर पर्यटकका लागि आकर्षक बनाइएको रहेछ।

कैयौं शताब्दी पार गरिसकेको बुढो क्यासल वास्तवमा तन्नेरीजस्तो देखिन्छ। क्यासलको बाहिरी भाग सुन्दर तरिकाले मर्मत गरिएकाले सिँगारपटार गरेकी सुन्दरीजस्तो देख्छु। बेलायतमा सबैभन्दा बढी मन पराइएको क्यासलको रूपमा त्यसै नाम कमाएको होइन त्यसले।

हामी क्यासलभित्रको भुइँतलामा छौं। त्यहाँ अलिकति खुला ठाउँ देख्छु। त्यस ठाउँमा भुइँका हरिया घाँसहरू घामको उज्यालोमा पर्खेर बसेका छन्। त्यहीं छन् इतिहास सम्झेर बसेका केही भत्केका पर्खालहरू।

अवलोकनका क्रममा भुइँतलामा पानी भएको एउटा इनार देख्छु। अलिक नियालेर हेर्दा इनारभित्र एउटा भर्‍याङ राखिएको पाउँछु। त्यस क्यासलमा बाह्य आक्रमण भएमा इनारमा राखिएको भर्‍याङ उत्रेर पानी मुनि हुँदै भाग्ने चोर बाटो रहेछ। उतिबेला बनाइएको सुरक्षाको त्यो तरिका मलाई खुब मन पर्‍यो।

क्यासलको हरेक कुनामा टावर थिए। सम्भावित आक्रमणबाट जोगिन टावर माथिबाट सुरक्षाकर्मीले निगरानी गर्दारहेछन्। ती टावरबाट तुरुन्त प्रत्याक्रमण गर्न सजिलो हुन्थ्यो। हरेक टावरबाट भित्र पस्न मिल्ने ढोका पनि छन्।

हामी एउटा टावरको माथिल्लो तलामा पुग्छौं। खुला आकाशमा सूर्य मुस्कुराइरहेको देख्छु। ठुल्ठुला रुखहरू र ससाना हरिया बोटविरुवाहरू पारिलो घाम तापेर बसेका छन्। समुद्र तरेर आउन सक्ने फ्रेन्च सैनिकलाई रोक्न बनाएको क्यासलको टावरको टुप्पाबाट परसम्म आँखा लगाउँछु। त्यहाँबाट मेरा खुला आँखाले ठम्याउन सकेनन् समुद्र। देखिरहेको छु खेतका मलिला फाँटमा हुर्किरहेका फसलहरू। आँखामा कुदिरहेछन् मनोरम दृश्यहरू।

‘दुरबिन पो ल्याउनुपर्ने रहेछ,’ हेमन्त मामाले भन्नुहुन्छ।

उतिबेला क्यासलबाहिरको खुला जमिनमा साप्ताहिक हाट लगाइँदो रहेछ। त्यति मात्र होइन, त्यहाँ बर्सेनि विभिन्न मेला पनि लाग्ने गर्थ्याे। त्यस क्यासलको नजिकै कुनै घर वा गाउँ देख्दिनँ।

बस्तीभन्दा अलिक परै बनाइएको रहेछ। क्यासलमा काम गर्ने नोकरचाकरहरूलाई पनि अलिक परै बस्ने व्यवस्था मिलाइएको रहेछ। क्यासलमा उतिबेला धनीमानी र सम्भ्रान्त परिवारका मानिस मात्र आउँदा रहेछन्।

चौधौं शताब्दीको अद्भुत नमुना बोडियम क्यासलका हरेक कोठा चहारें। इतिहासका अँध्यारा र उज्याला पक्षको जानकारी बटुलें। रोमान्टिक क्यासलको बाहिरी सौन्दर्य हेरें। भित्र घुमेर त्यसको प्राचीनता र ऐतिहासिकता खोजें। क्यासल अतीतको आफ्नै स्मृतिमा रमाइरहेको देखें।

क्यासलबाट बाहिर निस्कन्छौं। पोखरीको पानीमा आफ्नै दर्पण हेरेर क्यासल मुस्कुराइरहेको छ। म आफ्नै दर्पण हेरेर मुसुक्क मुस्कुराउँछु।

प्रकाशित: ९ मंसिर २०८० ०२:२४ शनिबार

अक्षर