कला

समस्यापुर

लघुकथा

समस्यापुर देशको निमन्त्रणामा म दोस्रो पटक त्यहाँ पुगेको थिएँ। त्यो देश समस्यै समस्याले भरिएको थियो। समस्या समाधान गर्ने विशेषज्ञ भएकाले पहिले पनि त्यहाँ गएको थिएँ। त्यसबेला एयरपोर्टमा मात्र होइन ट्याक्सी चढेर होटलसम्म पुग्दा अनेक समस्या भोगेको थिएँ।

त्यसबेला समस्यापुर राज्यको समस्या समाधानका लागि मैले अनेक प्रयास गरेको थिएँ। विभिन्न उपाय बताएको थिएँ। त्यसैको प्रगति र जानकारी दिन यसपटक समस्या मन्त्रालययमा कार्यक्रम राखिएको थियो।

कार्यक्रममा समस्या मन्त्रालयका सचिवले समस्याका विवरणहरू सुनाए। उनको विवरणअनुसार प्रगति शून्य र समस्या झन् बढिरहेको थाहा पाउँदा छक्क परें।

‘समस्या किन समाधान हुन सकेनन्?’ मैले सचिवलाई सोधें।

‘समाधान गर्नका लागि एउटा समस्या छ।’ उनले भने।

‘समाधानका सरल उपायहरू बताएको थिएँ त।’ मैले पहिलेका कुराहरू उनलाई सम्झाएँ।

‘त्यो उपाय लागू गर्न समस्या छ।’ सचिवले भने।

‘कस्तो समस्या?’ मैले सोधें।

‘त्यो कुरा भन्नलाई समस्या छ।’ उनले भने।

उनको कुरा सुनेर उल्टै म समस्यामा परें। त्यसपछि त्यहाँका समस्याबारे अर्को कोणबाट विश्लेषण गरेपछि नयाँ कुरा थाहा पाएँ। समस्या मन्त्रालयको मुख्य काम समस्या समाधान होइन उत्पादन गर्नु रहेछ। त्यस देशमा गणतान्त्रिक भन्थे तर समस्या तान्त्रिक शासन व्यवस्था कायम रहेछ।

सरकारले जनतालाई समस्या ठान्दा रहेछन्। च्याउसरी उम्रेका राजनीतिक पार्टीहरू र तिनका नेताहरू देशको ठूलो समस्या रहेछन्। सबै जना समस्यामा रहने र समस्यामै रमाउने गर्दा रहेछन्। त्यहाँ  कहिल्यै समस्या समाधान नहुने कुरा थाहा पाएपछि यो काम गर्दिन अब मेरो देश फर्किन्छु भनेर सचिवलाई भनें।

‘तपाईं फर्केर जानुभयो भने त हामीलाई झन् ठूलो समस्या पर्छ।’ सचिवले  भने।

‘हे भगवान! यो समस्याबाट कसरी मुक्त हुनु? समस्यापुर राज्यबाट म कसरी बाहिर निस्कनु। म त ठूलो समस्यामा परें।’ एक्लै बर्बराएछु।

प्रकाशित: १० कार्तिक २०८० ०७:४२ शुक्रबार

अक्षर