कला

नवीन कथ्यशैलीका यथार्थवादी कथा

पुस्तक

कथाकार शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’ कथासङ्ग्रहभित्र अलि फरक खालका कथा छन्। साहित्य सिद्धान्तअनुसार क्रमबद्ध र योजनाबद्ध ढङ्गले अघि नबढेर मनमाफिक ढङ्गले लेखिएका कथाहरूले फरक बाटो समातेका छन्।

परम्पराभन्दा फरक बाटो र फरक पाटो पहिल्याउने प्रयासमा लेखिएका कथाहरू पुरानै कथावस्तुमा पनि नयाँपन र नयाँ स्वाद दिने खालका छन्। समाज उही हो। समस्या उही हो र विषयवस्तु उही हो। विषयवस्तु पुरानै भएर पनि नवीन कथ्यशैलीले कथामा नयाँपन थपेको छ। प्रस्तुतिमा भएको नवीनताले पाठकलाई कथापठनको भरपुर आनन्द प्राप्त हुनेछ।

‘ब्रह्मास्त्र’ कथासङ्ग्रहभित्रका कथामा कथाकारको कल्पनाशीलता बेजोड छ। त्यही बेजोड कल्पनाशीलताले कथाहरूलाई दूरसम्म डोर्‍याउन सघाएको छ। जति दूर पुगे पनि अत्यास लाग्दैन। बरु आनन्दको अनुभूति भइराख्छ। पाठकलाई कहिलेकाहीं भ्रमित चाहिँ बनाउँछ, कथा पढ्दै छु कि कथाकारको गन्थन सुन्दै छु भनेर। तैपनि कथा कथाजस्तै लाग्छ, गन्थनजस्तो फिटिक्कै लाग्दैन।

कथामा घटनाले भन्दा विविध पात्र र तिनको चरित्र अनि मनोवृत्तिले प्रधानता पाएको हुँदा समाजको दिशा र प्रवृत्ति बुझ्न पाउँदा पाठक पुलकित हुनेछन्। प्रयोगशील अथवा प्रयोगवादी जे भने पनि ‘ब्रह्मास्त्र’ भित्रका कथामा हाम्रै समाजको यथार्थ प्रतिबिम्बित भएको पाइन्छ। केही सुन्दर र केही कुरूप प्रतिबिम्बमा हाम्रै समाजका केही विकृति–विसङ्गतिहरू छर्लङ्गसित प्रतिबिम्बित भएका छन्।

‘ब्रह्मास्त्र’भित्रका कथा परम्परागत धारभन्दा फरक खालका छन्। कथा प्रयोगशील छन्। परम्परागत फ्रेमका कथा पढिरहेका पाठकका लागि ‘ब्रह्मास्त्र’भित्रका कथा अनौठा लाग्नेछन्।  

कथा नै होइन जस्तो पनि लाग्न सक्नेछ। लेखकको गन्थन वा कुण्ठाको वर्णन पनि भन्न सक्नेछन्। प्रयोगशीलको अर्थ परम्परालाई तोड्नु वा लत्याउनु मात्रै पनि होइन। केही नयाँपन दिन सक्नु र नवीन शिल्प स्थापित गर्न सक्नुलाई प्रयोग भन्न सकिएला। तर आफ्नो कल्पनाशीलता अथवा विद्वतालाई जथाभावी अभिव्यक्त गर्दैमा नयाँ प्रयोग हुन सक्दैन।

प्रयोग पनि पाठकका लागि स्वीकार्य र बोधगम्य हुनुपर्छ। दुर्बोधता, क्लिष्टता, अस्पष्टता र भिन्नता मात्रै प्रयोग हुन सक्दैन। ‘ब्रह्मास्त्र’ भित्रका कथाहरू यी दोषहरूबाट पूर्णतः मुक्त छैनन्। कथाशिल्पमा नवीनता चाहिँ अवश्य छ। छोटो दुरी होइन, लामो दुरीको यात्राझैं लाग्ने कथाहरूमा त्यो यात्राको रोमाञ्चकता पर्याप्त पाउन सकिन्छ।

अधिकांश कथा यौन सेरोफेरोमा लेखिएका छन् तर अश्लील छैनन्। यौनको विकृत मानसिकताले विकसित हुन पुगेका असङ्गत यौनजीवन र त्यसको परिणति स्वरूप मानिसले भोग्नुपर्ने पीडा तथा कुण्ठाको आहत–आवाज कथामा सुन्न सकिन्छ।

यद्यपि यौन जीवनका लागि अपरिहार्य हो भन्ने स्वीकारोक्ति कथामा छन्। सबै कथाको मेरुदण्ड यौन भएको छ। यौनलाई मियो बनाएर त्यसकै वरिपरि फनफनी घुमेका छन् प्रायः सबै कथाहरू। कतै यौनको आग्रह छ, कतै यौनको आवेग छ, कतै भने त्यही यौनको दुःखद परिणामले आहत जीवनको कथा छ।

अरू कथाकारले लेख्ने कथाको स्रोत यो समाज र यो विश्वब्रह्माण्ड हो भने कथाकार शैलेन्द्र अधिकारीले लेख्ने अथवा लेखेका कथाको स्रोत पनि यही समाज र यही विश्वब्रह्माण्ड नै हो। कथाका स्रोत–सामग्री पनि उही हो, जुन अरू कथाकारले प्रयोग गर्थे। उही स्रोत–सामग्री शैलेन्द्रले पनि प्रयोग गरेका छन्।

फरक यत्ति हो, अरूले सुक्खा रोटी मात्रै बनाउन जाने, शैलेन्द्रले भने त्यो भन्दा अलि फरक पिज्जा बनाएर पस्किदिए। सुक्खा रोटी हिजोका पुस्ताले खाने खाजा हो भने पिज्जा आजका आधुनिक पुस्ताले खाने खाजा। रोटी खाइरहेकाले पिज्जा खान पाउँदा स्वाद र सन्तुष्टिमा केही फरक पाएझैँ भएको छ शैलेन्द्रका कथा पनि। यस अर्थमा शैलेन्द्र अधिकारी आजको पुस्ताका कथाकार हुन् भने उनका कथा आजका कथा हुन्।

अरूले लेख्ने कथामा जस्तै शैलेन्द्रका कथामा पनि उही जिन्दगीका कुरा छन्, प्रेमका कुरा छन्, यौनका कुरा छन्, विवाहेत्तर सम्बन्धका कुरा छन्। विषयवस्तु उही भए पनि फरक र नवीन प्रस्तुति भएकैले शैलेन्द्रका कथा अरूका भन्दा भिन्न भएका छन्। केही हदसम्म शैलेन्द्र अधिकारीका कथाले परम्परागत कथाको धारलाई परिवर्तन गर्ने कोसिस गरेको पाइन्छ।

परम्परालाई तोड्दा अथवा क्रमभङ्ग गर्दा हुने रोमाञ्च र नौलो आनन्द शैलेन्द्रका कथापठनबाट प्राप्त हुन्छ। तर परम्परालाई तोड्नु अथवा क्रमभङ्ग गर्नु नै नयाँ प्रयोग हो कि होइन? र यसले नयाँ प्रवृत्ति बसाल्न र नयाँ मान्यता स्थापित गर्न सक्छ कि सक्दैन? यो सबैका लागि स्वीकार्य हुन्छ कि हुँदैन? यो चाहिँ बहसकै विषय हुनसक्छ। यतिचाहिँ भन्नैपर्छ शैलेन्द्रका कथा अलिकति ट्रेन्ड सेटर र अलिकति ट्रेन्ड बे्रकर अवश्य हुन्।

मान्छेको विकृत मानसिकता उजागर गर्ने निकै लामो कथा ‘मथिङ्गल’ देखि अतृप्त यौनेच्छाको वर्णन गरिएको ‘चित्तरञ्जन’, अदृश्य शक्तिप्रतिको आशक्ति देखाइएको ‘अप्रतिम यात्रा’, विसङ्गत जीवनको उहापोह केलाइएको ‘हराएकी पात्र’ आदि कथाहरूले समाजको यथार्थलाई प्रतिबिम्बित गरेका छन्। कथ्यशिल्प र प्रस्तृति दुवैमा नवीनता भेट्न सकिने कथाहरूले पाठकलाई पठनको आनन्द दिनुका साथै कथापठनमा नौलो अनुभूति पनि दिलाउने छन्।

कथामा प्रेमका कुरा छन्, यौनका कुरा छन्, विवाहेत्तर सम्बन्धका कुरा छन्। विषयवस्तु उही नै हो तर प्रस्तुतिमा नवीनता छ। त्यसैले कथाले पठनको आनन्द दिन्छन्।

कथामा विचारभन्दा कल्पनाशीलताको उडान बेजोड छ। यही कल्पनाशीलताको जलपले कथाहरू राम्रैसँग चम्किएका छन्। कथाहरूमा धेरै बिम्ब र प्रतीकको प्रयोग भएको छैन। लक्षणा र अभिधा अर्थका भावहरू पनि छैनन्। तथापि कथाका बिम्बात्मक शीर्षक नै काफी छन्।

मथिङ्गल घोटेर लेखिएको कथा ‘मथिङ्गल’ले पाठकको मथिङ्गल हल्लाउनेछ। उता कथा खोज्दै पुगेको ‘बयलपुर’ मा गाउँको कथा छ। प्रेममा धोका, विश्वासमा घात, जातमा विभेद, हराउँदै गएको संवेदना आदिका कारण दुःखी गाउँको कथा हो ‘बयलपुर’।

लेखकले विभेद गरेका पात्रहरूको असन्तुष्टि र विद्रोहलाई कथावस्तु बनाइएको रमाइलो कथा हो ‘पात्रविद्रोह’। साँच्चै पात्रबिनाको कथा लेख्न सकिएला? लेखकका लागि एउटा चुनौती हो यो। पहिचानका नाउँमा जाति विशेष पक्षमा, राजनीतिक वादका पक्षमा, यौनका नाउँमा नारीका शरीरका अङ्गहरूको वर्णन गर्ने पूर्वाग्रही लेखकप्रति कटाक्ष पनि छ यो कथामा।

साँच्चैका भगवान्हरू पनि शक्तिहीन हुँदै छन्, तर यो देशका कथित भगवान्हरू झन्झन् शक्तिशाली बन्दै छन्। कहिले अन्त्य हुन्छ शक्तिको पूजा गर्ने प्रवृत्ति र राजनीतिक विकृतिको? यस्तै लाक्षणिक प्रश्न छ ‘अप्रतिम यात्रा’ कथामा। बुद्धको नाउँ लिने धेरै छन्, तर उनको उपदेशलाई मान्ने र पथ अनुशरण गर्ने कोही छैनन्। जो बलियो छ, उही भगवान् हुने रहेछ। भगवान्को पनि अन्तिम निष्कर्ष यही छ। यही नै अहिलेको सामाजिक यथार्थ पनि हो।

कथाकारले भगवान्को मुखबाट समाजको यथार्थ ओकल्न लगाएका छन्। पढ्नेलाई अचम्म लाग्न सक्छ तर यो कथाको शीर्षकमै गल्ती भएको छ। शब्दकोश गलत होइन भने अप्रतिम सही शब्द हो, अप्रितम होइन। अप्रितमको अर्थ के हो, थाहा छैन। कथासारले पनि अप्रतिम नै सही हो भन्छ।

सभ्य अथवा असभ्य, जस्तो समाजमा पनि एउटा योनीकै कारण महिला असुरक्षित छन् भन्ने सन्देश छ ‘हराएकी पात्र’ मा। परम्पराको एउटा आधुनिक कथा हो ‘इतिहास’। कथामा वर्णन गरिएका सम्बन्धका कुराहरू पहिले विवाहपछि मात्रै हुन्थे। तर अहिले ती सबै सम्बन्धका कुरा विवाहअघि नै हन्छन् र विवाहपछि त्यसकै निरन्तरता मात्रै हुन्छ। यो पुरानो कथावस्तुको आधुनिक कथा हो। सङ्ग्रहका धेरै कथाले जीवन भ्रम हो, अभिनय हो र कल्पना मात्रै हो भन्ने कुरामा जोड दिएका छन्।

यस्तै कथा हो ‘मनोविकार’ पनि। अन्तिममा मृत्यु नै सत्य हो भन्ने जीवन दर्शन यो कथामा छ। यो कथाका पात्र भ्रम, अभिनय र कल्पनामा बाँचेका छन्। आत्महत्या गर्ने मनस्थितिमा पुगेको एउटा पात्रको विक्षिप्त मनोदशाको चित्रण गरिएको कथा हो ‘सुसाइड’। मान्छेभित्र धेरै मनोविकार छन्। त्यसलाई त्याग्न सके मोक्ष प्राप्त हुन्छ भन्ने सन्देश कथामा छ।

शैलेन्द्रका कथामा गर्भकथा हुन्छन्, जसले कथालाई तन्काएका मात्रै छैनन्, कथालाई गन्तव्यमा पनि पुर्‍याएका छन्। कतिपय ठाउँमा शब्दको लालित्य भरेर पाठकलाई नजानिँदो गरी छक्याउने चलाखी पनि कथाकारले गरेका छन्। कतैकतै कथा होइन, उपन्यासै पढिरहेजस्तो भान हुन्छ। कतैचाहिँ कहाँबाट सुरु भयो, कहाँ पुगियो र कहाँ पुगेर टुङ्गिन्छ भन्ने अन्योल पनि हुन्छ।

कथाहरू बहकिनु सामान्य भएको छ। कथा नै होइनजस्तो विषयलाई कथा बनाएर देशको राजनीति, नेता र नेताका खराब प्रवृत्ति अनि कर्मचारीतन्त्र तथा त्यसको भ्रष्ट कार्यशैली र मान्छेका अनैतिकताप्रति कडा व्यङ्ग्य प्रहार गर्न भने कथाकार सफल भएका छन्। ‘रिसर्च अ पोलिटिकल स्टोरी’ यस्तै व्यङ्ग्यचेत भएको एउटा जोडदार कथा हो।

परम्परागत शैलीका कथामा सहज प्रवाह हुन्छ र सरल कथ्यशिल्प हुन्छ तर शैलेन्द्रका कथाकारिता अलि घुमाउरो, सात घुम्तीको बाटोजस्तै छ। परम्परागत कथ्य शैलीभन्दा यही भिन्न शैली नै शैलेन्दको समग्र कथाकारिताको विशेषताका रूपमा देखिएको छ। साहित्यमा परम्परा भन्दा फरक धार मन पराउने पाठकले ‘ब्रह्मास्त्र’ कथासङ्ग्रहलाई असाध्यै मन पराउने छन्।

प्रकाशित: ३० भाद्र २०८० ०२:०६ शनिबार

अक्षर