कला

'मोडल हन्ट'मा र्‍याम्प शो

काठमाडौं- सौन्दर्य प्रतियागिता 'मोडल हन्ट नेपाल २०१७'को फिनालेमा अभिनेत्री प्रियंका कार्की, सिर्जना रेग्मी र 'मिस नेपाल २०१७' अस्मी श्रेष्ठ शो टपरका रुपमा प्रस्तुत हुने भएका छन्। युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकासलगायतको उदेश्य राखी आयोजना हुन लागेको प्रतियोगिताको फिनाले आगामी शनिबार हुँदैछ।

प्रतियोगिता आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको बताए। उनका अनुसार कार्यक्रममा संगीतकार कालिप्रसाद बास्कोटाको पनि विशेष प्रस्तुति हुनेछ।

कार्यक्रममा अन्तर्राष्ट्रिय फेसन डिजाइनर रेखा मोदी मित्रुका, इटालियन डिजाइनर रितेश घिमिरे, नेपाली डिजाइनर एलिसा श्रेष्ठ र नमुना कलेजका फेसन डिजाइनरले तयार पारेका पहिरन मोडल नेहा बानु, शशी श्रेष्ठ, जस्मिन गुरुङ, रोनाली अमात्य, प्रिज्मा कोसिनलगायतका मोडलले प्रस्तुत गर्नेछन्।

प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर प्रशान्त ताम्राकार, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, इन्डियन फेसन कोरियोग्राफर मिलन राई रहनेछन्।

प्रतियोगीताका विजेताले १ लाख नगद, अमेरिकामा आयोजना हुने 'वर्ल्ड फेसन परेड'देखि कोरियामा हुने 'लक्जरी मोडल' अवार्डमा विशेष प्रस्तुतिसँगै म्युजिक भिडियो र विज्ञापनमा पनि अभिनयको अवसर पाउनेछन्।

प्रकाशित: ६ भाद्र २०७४ ०४:४६ मंगलबार

मोडल हन्टमा र्‍याम्प शो