कला

अथक साहित्य–साधक

उत्तम ओझा

काठमाडौं– विद्यालय पढ्दै गर्दा उनको लक्ष्य थियो– शिक्षक बन्ने । उनी शिक्षक बनेर समाजमा चेतनाको ज्योति फैलाउन चाहन्थे । ‘बुद्धिजीबी’ हुने भएकाले पनि उनी यसप्रति आकर्षित थिए । तर, नियतिलाई भने उनको चाहना मन्जुर थिएन । 
ज्योतिषी सिक्ने क्रममा रहरले कविता लेखेपछि डोटी, गाँजरीका मनिराज जोशी साहित्यमा आकर्षित भए । त्यसपछि सुरु भएको उनको साहित्य–यात्रा झण्डै साढे चार दशकयता अनवरत रूपमा जारी छ । यसैबाट उनी समाजलाई चेतनाको उज्यालो बाँडिरहेका छन्।

विद्यालयको पढाइ छाडेर २०२८ सालमा उनी ज्योतिषी सिक्न थाले । त्यस क्रममा उनलाई कविता लेख्ने रहर पलायो । त्यसपछि उनको जीवनले नयाँ मोड लियो । 

संस्कृतका श्लोक पढ्दै गर्दा कविता लेख्ने रहर पलाएको जोशी बताउँछन् । ‘संस्कृतका श्लोक पढ्दा यस्तै लेख्न सक्छु भन्ने लाग्यो, त्यसपछि लेख्न थाले,’ बाल्यकालको क्षण सम्झदै उनले भने, ‘लेखनलाई निरन्तरता दिएपछि साहित्यको नशा बसेको पत्तै पाइनँ ।’ पहिलोपटक लेखेको कविता उनी अझै सम्झन्छन्। 

सुरुमा संस्कृतका श्लोकबाट प्रभावित भएर कविता लेखेको उनी सम्झन्छन् । ‘सुरुमा आध्यात्म साहित्यत्यतिबेला दुई–तीन दिनमा कविता लेख्थे,’ उनले सम्झिएँ । 

बाल्यकालमा रहरले साहित्यमा लागे पनि केही समयपछि भने उत्प्रेरणा मिलेको साहित्यकार जोशी बताउँछन् । ‘जताततै विकृति देखेपछि साहित्यमा लागिरहन प्रेरणा मिल्यो,’ उनी भन्छन्, ‘समाजमा जे देखे, त्यही लेखेँ ।’

जीवनमा जतिसुकै उतारचढाव आए पनि उनले साहित्य–कर्म छाडेनन् । ज्योतिषी ‘कोर्स’ पूरा गरेको केही समयपछि २०३४ सालमा उनी बसाइँ सरेर धनगढी पुगे । त्यहाँ उनी झण्डै दुई दशक निजामती सेवामा काम गरे । निजामतिमा स्वच्छेकी अवकासपछि उनले ज्योतिषीलाई पेशा बनाए । २०३५ सालदेखि स्थानीय पत्रपत्रिकामा रचना प्रकाशित गरेको जोशी बताउँछन्। 

कविताबाट साहित्य यात्रा थालेका जोशीले अन्य विधामा समेत कलम चलाएका छन् । ‘हरेक विधाका छुट्टाछुट्टै पाठक भएकाले सबैमा लेख्नुपर्छ भन्ने लाग्यो,’ उनले कारण खुलाए, ‘त्यसपछि कथा, निबन्ध, खण्डकाव्य र महाकाव्य लेखेँ ।’ 
जोशीका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । तीमध्ये ६ महाकाव्य  र ७ खण्डकाव्य छन् । उनले सुदूरपश्चिमका प्रसिद्ध व्यक्तित्व एवम् धार्मिक तथा पर्यटकीय क्षेत्रबारे महाकाव्य लेखेका छन् । ‘जयपृथ्वीबहादुर’, ‘सहिद दशरथचन्द’, ‘पहलमानसिंह स्वाँर’, ‘प्रकाश’, ‘शैलेश्वरी’ र ‘खप्तड’  उनका महाकाव्य हुन्। 

हराउँदै गएको पूर्वीय सभ्यता र संस्कृतिलाई जोगाउन साहित्यकार जोशीको महत्त्वपूर्ण भूमिका रहेको छन्द नायकको उपाधि पाएका माधव वियोगी बताउँछन् । ‘६ ओटा महाकाव्य लेखेर उहाँले नेपाली साहित्यमा योगदान दिनुभएको छ, त्यति महाकाव्य लेख्नु चानचुने कुरा होइन,’ पोखरामा रहेर लामो समयदेखि साहित्य साधनामा क्रियाशील वियोगी जोशीबारे टिप्पणी गर्छन्, ‘जोशी नेपाली साहित्यमा छन्दका अग्रणी प्रतिभामा गनिन्छन् ।’ छन्द बचाउ आन्दोलन–२०५३ मा जोशीले सक्रिय भूमिका निर्वाह गरेको उनी बताउँछन् । महाकाव्यले सुदूरपश्चिम व्यक्तित्व र धार्मिक तथा पर्यटकीय स्थल चिनाउन महŒवपूर्ण भूमिका खेलेको वियोगीले उनले बताए। 

बाल्यकालमा रहरले साहित्यमा लागे पनि केही समयपछि भने उत्प्रेरणा मिलेको साहित्यकार जोशी बताउँछन् । ‘जताततै विकृति देखेपछि साहित्यमा लागिरहन प्रेरणा मिल्यो,’ उनी भन्छन्, ‘समाजमा जे देखे, त्यही लेखेँ ।’ तर, पछिल्लो समय लेखिएका साहित्यले समाजमा विकृति फैलाइरहेको उनको टिप्पणी छ । पछिल्लो समयको साहित्यमा समाज प्रभावकारी हुने कुरा भन्दा पनि वाह वाह कमाउने र क्षणिक बिक्ने कुरा मात्रै लेखिएको उनको टिप्पणी छ । 

‘साहित्यमा समाजलाई प्रभावकारी हुने कुरा आउनुपर्छ,’ पछिल्लो पुस्ताका साहित्यकार उच्छृङ्खल हुँदै गएको टिप्पणी गर्दै उनले भने, ‘साहित्यमा यौनवाद हावी हुँदै गएकाले विकृति भित्रिएको छ ।’ पछिल्लो समयको साहित्य पश्चिमा संस्कृतिबाट प्रभावित भएकाले विकृति भित्रिएको उनको टिप्पणी छ । 

साहित्यकार आरडी ‘प्रभास’ चटौतको भनाइमा जोशी नेपाली साहित्यका अनुपम प्रतिभा हुन् । ‘उनी उपल्लो तहका साहित्यकार हुन्,’ चटौत भन्छन् । 

जोशीले साहित्यका धेरै विधामा कलम चलाएका छन् । कथा, कविता, निबन्ध मात्र होइन, उनले संस्कार र संस्कृति सम्बन्धी पुस्तक पनि लेखेका छन् । ‘पश्चिमा राष्ट्रबाट आक्रमणमा परेको हिन्दू धर्म जोगाउन किताब लेखेको हुँ,’ उनले भने । उनले लेखेका कृतिमध्ये आधा धर्म सम्बन्धी पुस्तक नै छन् । 

मुलुकभरका विभिन्न साहित्यिक संस्थाले उनलाई सम्मानित र पुरस्कृत गरेका छन् । उनको योगदानको कदर गर्दै गत चैतमा धनगढीका दुई दर्जन संघसंस्थाले उनको रथयात्रासहित नागरिक अभिनन्दन गरेको थियो । ‘सम्मान र पुरस्कारले साहित्यकारलाई अझ क्रियाशील हुने ऊर्जा थप्ने गरेको छ,’ उनी भन्छन्, ‘यद्यपि, मैले सम्मान र पुरस्कारका लागि भन्दा पनि समाजको आवश्यकता बोध गरेर लेख्ने गरेको छु ।’ मुलुकका विभिन्न क्षेत्रका साहित्यकारले उनको जीवनीबारे कृतिसमेत लेखेका छन् । 

नेपाली साहित्यमा उहाँ (मनिराज) को योगदान अतुलनीय रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका ७ नम्बर प्रदेश संयोजक सुरत रावत बताउँछन् । ‘उहाँ त साहित्यका अनमोल ‘मणि’ नै हुनुहुन्छ,’ उनी भन्छन् । 

साहित्य यात्रा सुरु गर्द उनले लामो समय क्रियाशील हुँला भन्ने सोचेका थिएनन् । ‘लामो समयसम्म साहित्य–कर्ममा क्रियाशील रहुँला भन्ने सोचकै थिइनँ,’ उनी भन्छन्, ‘तर, समाजमा विकृति देखेपछि यसविरुद्ध लाग्न झन् प्रेरित भएँ ।’ पश्चिमा राष्ट्रबाट हिन्दू धर्ममाथि आक्रामण हुँदा पनि साहित्य मौन भएको उनको दुखेसो छ । ‘यसप्रति साहित्यबाट आवाज उठ्नुपर्छ,’ उनी भन्छन् । 

उनी साहित्य–कर्ममा मात्र होइन, समाजसेवामा पनि क्रियाशिल छन् । उनी थुप्रै संघसंस्थामा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । 

उनी धनगढीका ‘नामी’ ज्योतिष मानिन्छन् । उनीकहाँ चिना हेराउन तथा भविष्यबारे जान्न आउनेको दैनिक भिड लाग्ने गरेको छ । 

बाल्यकालको लक्ष्य पूरा नभएकोमा जोशीलाई कुनै पछुतो छैन । बरु, नेपाली साहित्यमा लेख्न पाउँदा उनी गर्व गी गर्व गर्छन् । ‘मेरो उद्देश्य समाजमा चेतना फैलाउने हो, चाहे शिक्षणबाट होस्, या साहित्यबाट, के फरक पर्छ र ?’ उनी भन्छन्। 

अब उनको एउटै सपना छ– समुन्नत समाज बनाउने । त्यो साहित्य–कर्म गरेर सम्भव हुने उनी बताउँछन् । त्यहीँ सपना पूरा गर्न उनी साहित्य साधनामा अनवरत लागिरहेका छन् । 

प्रकाशित: २८ श्रावण २०७४ ०६:४७ शनिबार

अथक साहित्य–साधक