सुबेदार शिवजितले बिरामी पत्नीको छातीमा गोली ठोक्छन् र छोरी जयमायालाई लिएर अघि बढ्छन्।
यो दर्दनाक दृश्य हेरिरहने नेपाली मन भत्कन्छ, बग्छ र स्तब्ध हुन्छ तर सुबेदारको दोष देख्दैन।
इन्द्रबहादुर राईको कथा 'जयमाया आफू मात्रै लिखापानी आइपुगी'लाई रंगकर्मी सुनील पोखरेलले नेपाली मनलाई स्तब्ध बनाउने गरी नाटकमा ढालेका छन्। नाटक मन्डला थिएटरमा मञ्चन भइरहेको छ।
नाटकमा सुबेदारले सुबेदार्नीको छातीमा मात्रै गोली ठोकेका होइनन्, यो त तत्कालीन नेपाली समाजमा लाहुरे गुमाएका लाहुरेनीको छातीमा परेको वज्रको विम्ब हो।
दोस्रो विश्वयुद्ध सुरु भएपछि बर्मामा बसेका नेपाली ज्यान जोगाउन आफ्नो पुर्ख्यौली थलोतिर फकर्ेेको घटनालाई कथाकार राईले कथामा उतारेका हुन्। कथामा सुबेदारको काखमा बिरामी सुबेदार्नीको प्राण गएको प्रसंग छ। नाटकमा भने सुनीलले ठूलो साहस गरेर विराट विम्ब प्रस्तुत गरेका छन्। कथाको लयलाई यस्तो मोडमा पुर्याउँछन्, जहाँ सुबेदारले आफ्नै पत्नीको छातीमा गोली नहानिरहन सक्दैनन्।
विश्वयुद्धको त्रासदि, बर्बरता र लाहुरे इतिहासको विवशता बुझेर नै सुनीलले यस्तो साहस गरेका हुन्, उनको साहस सराहनीय छ।
०००
भर्खर १५ टेकेकी जयमायालाई युद्धको सन्त्रासले छोपेको, छोएको त छ, तर ऊ युद्धको नियम र कार्य–कारण बुझ्ने भइसकेकी छैन। ऊ निर्दोष छे, उसको भावना र भावभंगीले यस्तै बोल्छ– उसमा जीवनजन्य बेग्लै रहर हुर्कंदो छ। उसको रहरको रेखालाई अरु बढी लम्बाउने गरी जयबहादुर आउँछ, नेपाली मन लिएर। जयबहादुरले उसलाई मन दिन्छ र मायाले कुतकुत्याउँछ।
यात्रामा जयमायाले आमाबाबुलाई गुमाउँछे, रहर र दिल छुन आउने जयबहादुरलाई पनि गुमाउँछे। अनि, ऊ आसामको लिखापानी एक्लै आइपुग्छे। उसको आफ्नो भन्नु कोही र केही हुँदैन, नेपाली मनबाहेक। प्रवासी जीवनबाट आफ्नो मातृभूमितिर फर्केको उसको यात्रा उदासलाग्दो हुन्छ। बाटोभरि बिरामी र लासहरू देख्छे।
लामो यात्राका थुप्रै घटना र पात्र नाटकमा सिलसिलाबद्ध आउँछन्, उत्तिकै उम्दा अभिनय गर्छन्, नाटक बुलन्द बनेको छ। नाटकमा अधिकांशले आंगिक अभिनय गरेका छन्, वाचिक अभिनय कम छ। जयमायाको भूमिका निभाएकी सुनिशा बजगाईंको अभिनय प्रशंसनीय छ। उनी बाबुआमाको अगाडि केटाकेटी नै लाग्ने प्यारी छोरी बन्छिन्, तर जयबहादुरको अगाडि प्रेमिकाको भाव ल्याउँछिन्। उनको बाबुआमाको चरित्र निभाउने सिर्जना अधिकारी र सुलक्षण भारतीको अभिनयमा निखार देखिन्छ।
त्यसमाथि उत्सवकुमार बुढाथोकी र विश्वराज काफ्लेको प्रत्यक्ष संगीतले पात्रको मनस्थिति बोल्छ, कथा र घटनाक्रमको भाव भन्छ। एक प्रकारले यो प्रत्यक्ष संगीत नाटकमा 'इन्टरल्युड'को रुपमा पनि छ। यसले नाटकको व्याकरणबमोजिम अंक र दृश्यलाई छुट्याउने काम पनि गरेको छ।
देख्नै नपरोस्जस्तो युद्धले निम्त्याएको नमीठो कथालाई निर्देशक पोखरेलले दिल छुने दर्शनीय बनाएका छन्। नाटकले लाहुरे इतिहासको एउटा अंश देखाएको छ।
०००
'जहाँका स्वतन्त्र आमाहरूले
छोरा होइन, लाहुरे मात्र जन्माउँछन्।'
भूपि शेरचनको कविताका यी दुई हरफले झन्डै दुई सय वर्षको इतिहास बोकेको नेपाली लाहुरे संस्कृतिलाई झल्काउँछ।
आमालाई एकसरो नयाँ लुगा फेरिदिन, पत्नीलाई सुनको शिरफूल ल्याइदिन, दुई–चार पैसा कमाएर धान फल्ने खेत किन्न, बेलायत सरकारले दिएको पेन्सनले राजालाई कर तिर्न र नुन भर्न भनी लाहुरे हुन गएका कतिपय हात–खुट्टा गुमाएर फर्कन्थे। कति खाली खुट्टा र रित्तो हात फर्कन्थे।
नेपाली समाजमा लाहुरे संस्कृतिको मूल जरो खासगरी पहाडी भेगमा बसोबास गर्ने गुरुङ, मगर, राई, लिम्बु आदि बस्तीमा गडेको छ। आज लाहुरे संस्कृतिको यो लहरो बाहिरबाट हेर्दा जति हरियो–परियो देखिन्छ, त्यति नै गहिरो चोटले भरिएको लामो कहानी पनि छोपिएको छ। यो लाहुरे संस्कृतिको लहरोलाई मलजल गर्नु भनेकै स्वतन्त्र आमाका छोराहरूले परदेशको भूमिमा रगत र पसिना बगाउनु हो।
भूपि शेरचनको कविताको मर्म र उनको युगलाई बोध गर्दा स्पष्ट हुन्छ, जहाँ स्वतन्त्र आमाहरूले छोरी मात्र होइन, लाहुरेनी पनि जन्माउँथे।
उता लाहुरेहरू परदेशको भूमिमा रगत र पसिना बगाउँथे, यता लाहुरेनीहरू लाहुरे छिटै फर्कियोस् भनी कामना गर्दै दिनरात बिताउँथे। कैयौँ लाहुरेनीले आफ्नो लाहुरे छिटै फर्कियोस् भनी कामना गर्दागर्दै देउरालीलाई फूलजस्तो जवानी चढाए, तर लाहुरे फर्किएन।
यो लाहुरे कथाको लहरो प्रवासी जीवनसम्म पुग्छ। झलक सुवेदी आफ्नो पुस्तक 'ब्रिटिस साम्राज्यका नेपाली मोहरा'मा लेख्छन्, 'ब्रिटिसहरूले आफ्नो सेनामा नेपाली जवानको आपूर्ति गरिरहन पल्टनेहरूलाई त्यतै घरजम गरी बस्न सजिलो नियम बनाइदिए।'
लाहुरे हुनु पहाडी आदिवासी जनजाति युवाका लागि जीवनशैली, संस्कृति र पेसा नै बन्न पुग्यो। यसले उनीहरु धेरैका सन्तानको जीवनस्तर उकासेको र राष्ट्रकै आयमा फाइदा पुर्याएको पनि छ। आफ्नै देशको सेना, प्रहरी, कर्मचारी प्रशासन, राजनीतितिर भने उनीहरूले सोच्नै भ्याएनन्। त्यसरी सोच्ने वातावरण राज्यले पनि बनाएन।
उनीहरू लाहुरे संस्कृतितिरै अभ्यस्त हुँदै गए। नाटकका सुबेदार शिवजित पनि लाहुरे संस्कृतिका एक उदाहरण हुन्।
पहाडमा जति दुःख गरे पनि खान नपुग्ने भएपछि युवाहरू जुंगाको रेखी बसेदेखि नै लाहुरे हुन लालायित हुन्थे। आफ्नो परिवारलाई सुखले राख्ने सपना देख्थे। यही सपनाको स्वरुप थियो, बर्माको प्रवासी जीवन।
नाटकमा बर्मामा नेपाली बस्ती छ, नेपाली संस्कृति र मन छ। त्यहाँका विभिन्न जातिका नेपालीलाई संस्कृतिले जोडेको छ।
नाटक दुई लाहुरे दौँतरी (सुलक्षण भारती र आर्जेश रेग्मी) को खाइपिई, बातचित र देउसी गीतबाट सुरु हुन्छ। देउसीसँगै नेपाली दिल देखिन थाल्छ। टीका लगाएर छोरीको खुट्टा ढोगिदिने, हुर्केकी छोरीको मन नाचगानतिर जाने र त्यहाँ मनखाने कोही भेटिने– नाटकले आदिवासी जनजातिको जनजीवन दर्शाउँछ।
०००
जब जापानले बर्मामा आक्रमण गर्छ, नेपालीहरू ज्यान जोगाउन लामो यात्रा गर्नुपर्ने हुन्छ। झलक सुवेदीको पुस्तकमा चन्द्रमाया थापा भन्छिन्, 'हामी त बर्माको मचिनामै सैनिक क्याम्पमा जन्मेर त्यहीँ हुर्केको। ...बाबाहरू मचिनामै बस्नुहुन्थ्यो। अनि, ठूलो लडाइँ भयो नि (दोस्रो विश्वयुद्धका बेला बर्मामा लडिएको जापान र बेलायतको लडाइँ)! लडाइँ सुरु भएपछि हामीलाई गोराहरूले ज्यान जोगाउन जाऊ भन्यो। लडाइँ हार्दै गयो होला, मेरो नानीको बाबा पनि हामीलाई भेट्नु आइपुग्यो नि त, आफूसँग भएको गोलीगठ्ठा र राइफल बोकेर। यसको बाबालाई नभेटेको भए हामी पनि मर्थ्यौं होला। अब त्यो उकालो–ओरालो, कचिन पहाड, नागा पहाड के के हो के के। मेरो घरबाट हामीहरू १२ जना हिँडेको, पाँचजना त बाटोमै मरे।'
०००
नाटकमा जयमायाको यात्रा उस्तै कष्टदायी छ। सुनीलले नाटकमा मूल कथामा नभएका धेरै पटकथा र पात्र जोडेका छन्। उनले थपेको एउटा घतलाग्दो प्रसंग छ– एक लिम्बुले दमिनी बिहे गरेको त्यो प्रवासी समाजले पनि निको नमानेको व्यवहार छोइने गरी देखिन्छ। ती दमिनी यात्रामा बिरामी पर्छिन्। 'अब तिमीले लिम्बुनी नै बिहे गर्नू?' यति भनेर उनले आफ्ना पतिको काखमा प्राण त्याग्छिन्।
युद्धको सन्त्रासले भरिएको प्रवासी नेपालीको यात्रामा संस्कृतिसँगै रुढी परम्पराले पनि यात्रा गरेको छ। अप्ठेरो परिस्थितिमा साथ, सहयोग, मित्रतामार्फत् देखिने नेपाली मन भने साँच्चिकै संसारका अन्य मानिसको भन्दा भिन्न धातुले बनेझैँ लाग्छ।
संसारको जुनसुकै कुनामा होस्, नेपाली मन आकाशजस्तै असीम छ। तर देश, काल, परिस्थितिले निम्त्याएको दुःखको कुहिरो, कुसंस्कार र परम्पराले उब्जाएको विभेदको बादल, यी र यस्तै घटनाका कारण सतहमा देखिने सानातिना स्वार्थ, इर्ष्या आदिको तुँवालोले नेपाली मनको आकाश बेलाबेला छोपिन्छ। जसलाई निर्देशक पोखरेलले नाटकमा मिहीन ढंगले पस्केका छन्।
एउटा पात्र छन्, विधवा गर्भवती। उनको कुनै संवाद छैन तर उनको उपस्थितिले मात्रै पूरै विश्वयुद्धको व्याख्या र विवेचना गरेको छ। पहिलो र दोस्रो विश्वयुद्धमा लाखौँ निर्दोष नागरिक मारिए, कैयौँ घाइते भए, कति नारी बलात्कृत भए। नाटकमा युद्धको समग्र कालो पाटो एउटी सेतो पहिरिएकी गर्भवती विधवाले व्यक्त गरेकी छन्।
पाठ्यक्रममा राखिएको राईको कथामा 'लिखापानी' लेखिएको छ, निर्देशक पोखरेलले भने कथाको नामै मोडेर 'लेखापानी' बनाएका छन्। के उनले नाटकको सारलाई जयमायाको 'भावीको लेखा' भन्न खोजेका होलान्?
'हो है, मैले यसरी सोचेको त थिइनँ तर यो जयमायाको लेखा पनि हो नि?' निर्देशक पोखरेल भन्छन्, 'वास्तवमा त्यो ठाउँको नाम लेखापानी नै हो, लिखापानी होइन, सोधपुछ गरेरै लेखापानी राखेको हुँ। मैले इन्द्रदाइको कथालाई नाटकमार्फत पुनर्व्याख्या गरेको छु। धेरै पात्र थपेको छु। विश्वास छ, इन्द्रदाइले मलाई गाली गर्नुहुन्न।'
नाटकमा पात्रले अनकन्टार वन, पहाडको लामो यात्रा गर्छन्। एक ठाउँमा सेतो कपडालाई पात्रले हातले हल्लाएर नदीजस्तै बनाउँछन्। पार्श्व संगीतको सुसाइले नदीकै आभास दिन्छ। योबाहेक वन र पहाडको यात्राको आभास नाटकले कमै दिन्छ। एउटै सेटजस्तोमा नाटक टुंगिन्छ। नाटकमा बेलाबेला सेट बदलेर त्यस्तो आभास दिन सकिन्थ्यो कि?
सुनील भन्छन्, 'यो कथा खासमा फिल्म बन्ने खालको छ, पूरै यात्राको कथालाई मञ्चमा अटाउने सक्ने कुरै भएन। मलाई यसपालि नाटकका लागि मञ्च साँगुरो भएको महसुस भयो।' साँच्चिकै त्यो लामो यात्राको कथालाई सुनीलले मञ्चमा सटिकसँग अटाएका छन्।
विश्वयुद्ध शक्तिशाली शासकहरूले जानिजानी निम्त्याएको दुर्घटना हो। त्यो दुर्घटनाको सिकार लाखौँ 'जयमायाहरू' हुन पुगे।
नाटकमा सुबेदारले सुबेदार्नीको छातीमा मात्रै गोली ठोकेका होइनन्, यो त तत्कालीन नेपाली समाजमा लाहुरे गुमाएका लाहुरेनीको छातीमा परेको वज्रको विम्ब हो। सुबेदारले आफ्नै पत्नीको हत्या गर्छन्, तर उनलाई दोषी करार गर्न दर्शकको मनले मान्दैन। किन? यसका लागि नाटक नै हेर्नुपर्ने हुन्छ।
बाटोमा सबै परिवार गुमाएपछि बाघवीर खुकुरी उजाउँदै बर्मातिरै फर्कन्छ। ऊ आफ्नो मातृभूमिका लागि लड्ने होइन, जापानविरुद्ध लडेर पाउने पनि केही होइन। फेरि पनि ऊ लड्न तयार हुन्छ। युद्धको उन्मादको यो एक उदाहरण हो।
नाटकमार्फत् जयमाया नेपाली मन लिएर काठमाडौं आइपुगेकी छे। यो नाटक विशेषगरी ती आदिवासी जनजाति युवायुवतीले हेर्न आवश्यक छ, जसले अझै पनि लाहुरे संस्कृतिमा गौरव गर्छन्। लाहुरे संस्कृतिका कारण आफूहरूको मौलिक संस्कृति ध्वस्त हुँदै गएको, राज्यका सेवा–सुविधा लिने चेतनाबाट विमुख हुँदै गएको वास्तविकता बुझ्दैनन्।
प्रकाशित: २३ वैशाख २०७४ ०६:३० शनिबार