कला

घोडाले डोर्याएको जिन्दगी

सङ्घर्षका कथा

भक्तपुरको सानोठिमी सडक छेउको पिपलबोटसँगै दुइटा टहरा छन्। एउटा टहराभित्र सेतो घोडा छ भने अर्को टहराभित्र एउटा परिवार बस्छ। त्यस परिवारमा पाँच सदस्य छन्। त्यही टहराबाहिर तबेलामा कालो रङको अर्को घोडा छ। घोडाका मालिक हुन् भक्तपुर थिमीका ३२ वर्षीय सुरेश ठकुरी। ठकुरीसँग जम्मा सात वटा घोडा छन्। ठकुरी दम्पतीसहित तीन जना बच्चा त्यही टहरामा बस्छन्।  

काठमाडौंमा हुर्केका ठकुरीले राजधानीका सडकमा घोडाहरू देख्थे। मनमा घोडा चढ्ने रहर थियो तर पूरा गर्न सकेका थिएन तर सात वटा घोडा पालेर व्यवसाय गर्छु भन्ने उनले सोचेका थिएनन्। यो यात्रासम्म आइपुग्न उनले आफ्नो उमेरभन्दा लामो संघर्षको यात्रा पूरा गरिसकेका छन्।  

सामान्य परिवारमा हुर्केका सुरेशलाई आमाले सानैदेखि कुनै न कुनै काम लगाउँथिन्। राजधानीको स्कुलमा ८ कक्षासम्मको पढाइ सकेपछि आमाले उनलाई मध्यपुरको नकदेशमा राँगाको मासु काट्ने काममा लगाइदिइन्। बिहान ३ बजे उठेर ८ बजेसम्म मासु काट्ने काम उनको दैनिकी थियो। उनलाई मासु काट्ने काम मन परेको थिएन। तीन वर्षपछि उनले पेसा फेरेर सुन्धाराको एक गेस्टहाउसमा वेटरको काम गर्न थाले। यो काम पनि धेरै वर्ष टिकेन। उनी गाडी सिक्नका लागि काठमाडौंदेखि खासाको ट्रकमा काम गर्न थाले। यही क्रममा उनले चालकको काम सिके र लाइसेन्स लिए। चालकको काम एक वर्ष जति गरे तर यसमा पनि निरन्तरता दिन सकेनन्। तीन वर्षपछि उनी टायल र मार्बलको काम गर्न थाले। यो काम दुई वर्ष गरे। टायलको मजदुरीको कमाइ मनग्गे थिएन। यही मजदुरी गर्दागर्दै उनले टायल र मार्बलको काम ठेक्कामा लिएर गर्न थाले। यसबाट राम्रै आम्दानी हुन्थ्यो। सबै खर्च दिएर पनि मासिक ५०–६० हजार बचत हुन्थ्यो।  

आँटका साथ घोडा व्यवसाय सुरु गरेका ठकुरी एक वर्षमै घोडापालनको हरेक कुरामा अभ्यस्त भइसकेका छन्। घोडा किन रिसाउँछ? कुन अवस्थामा घोडाले हान्छ र घोडा चढ्दा कुन बेला फाल्न खोज्छ? 

गत वर्ष चैतमा उनी बनेपा जाँदै थिए। बाटोको इँटाभट्टामा घोडा देखे। उनी नजिकै पुगे। भट्टामा घोडा र खच्चडले काँचो इट्टा ओसारपसार गर्थे। यो देखेपछि ठकुरी नजिकै पुगे। घोडाभन्दा खच्चड बढी थिए। घोडा हेर्ने एक जना नेपालगन्जका भाइसँग घोडाको भाउ सोधे। उनले फरक फरक मूल्य बताए। सबैभन्दा कम मूल्य १ लाख ५० हजार रूपैयाँ तिरेर घोडा मगाए। उनले गत वैशाखमा इँटाभट्टाबाटै घोडा लिएर सानो ठिमी पुगे। पहिलो दिन घर पुर्याएर राखे। खाना खाने बेलामा डोरी खोलेर खाना खुवाउन थाले। त्यही बेलामा घोडा भागेर भट्टामै पुग्यो। सुरेश त्यहीं पुगेर घोडा भोलिपल्ट लिएर आए।  

घोडा लिए पनि सुरुमा डर लागिरहेको थियो। दैनिक खाना दिन थालेपछि घोडाले बिस्तारै उनलाई चिन्न थाल्यो। उनी घोडा चढ्न थाले। अहिले सुरेश जहाँ जानु परे पनि घोडामा जान्छन्। मोटरहरू दौडिरहेको सडकमा घोडाको स्पिड पनि मोटरसाइकलकै जत्तिकै हुन्छ। यो देखेर मानिसहरू उनलाई हेर्छन्। कतिपय भित्री बाटोबाट टाढासम्म पुग्छन्। उनलाई मोटरसाइकल र घोडाबाट पुग्ने समयमा कुनै फरक लाग्दैन। ‘घोडा पनि साठीकै स्पिडमा दौडिन्छ। जहाँ पनि घोडाबाटै पुग्छु,’ उनले भने।  

 घोडा चढ्ने मानिसले भुल्न नहुने अर्को कुरा घोडा थाक्ने गरी चढ्नु हुँदैन। थोकेको बेला चढ्यो भने घोडाले खसाल्न सक्छ।  

आँटका साथ घोडा व्यवसाय सुरु गरेका ठकुरी एक वर्षमै घोडापालनको हरेक कुरामा अभ्यस्त भइसकेका छन्। घोडा किन रिसाउँछ? कुन अवस्थामा घोडाले हान्छ र घोडा चढ्दा कुन बेला फाल्न खोज्छ? घोडाबाट कस्तो अवस्थामा कसरी सावधान हुने? जस्ता विषयमा उनी पोख्त भइसकेका छन्। हालै किनेको नयाँ घोडाले लात्ताले हानेको दुखाइ उनमा अझै बाँकी छ।

दुई साताअघि उनले नयाँ घोडालाई दाना खुवाउँदै थिए। घोडाले लात्तीले हानेर भित्तामा पुर्याएको पत्तै पाएनन्। उनले दाना खुवाउँदा घोडाले दाना पोखेपछि लात्ताले हानेर भित्तामा पुर्यायो। उनले पुरानो घोडाजस्तो ठानेर उक्त घोडालाई एक सप्को हाने। ‘एक सप्को हानेको थिएँ, कतिबेला भित्तामा पुर्याइसकेछ। मैले पुरानै घोडालाई जस्तो हानेको थिएँ,’ उनले भने।  

उनले किनेर ल्याएका धेरैजसो घोडा तालिम पाएरै आएका हुन्छन्। उनी घोडालाई तालिम दिन पनि सक्ने भएका छन्। ठकुरीका अनुसार गाडीको हर्न, पालको फरफर आवाज घोडालाई डर लाग्ने खास कुरा हुन्। यी डर भगाउन भाँडा बजाउने, पालको आवाज सुनाउनेजस्ता विधि अपनाउनुपर्छ भने सानैदेखि लगाम लगाउने र फुकाल्ने बानी गरिरहनुपर्छ। यो बानीले घोडालाई लगामदेखि अभ्यस्त बनाउँछ। घोडा चढ्ने मानिसले भुल्न नहुने अर्को कुरा घोडा थाक्ने गरी चढ्नु हुँदैन। थोकेको बेला चढ्यो भने घोडाले खसाल्न सक्छ।  

सुरेशले सुुरुमा लिएको घोडा अलि महँगोमा बिक्री गरे र अर्को घोडा लिए। त्यो घोडा लिएपछि अर्का दुई घोडा र बग्गी लिन सफल भए। बग्गी नेपालगन्जबाट ल्याएका थिए। बग्गीबाट उनको खास व्यवसाय सुरु भयो। त्यसैकारण उनले टहरामा राखेको घोडालाई लक्की घोडाका रूपमा लिएका छन् र यो घोडा बिक्री गर्न चाहँदैनन्। थप घोडा र बग्गी भने उनले साथीभाइ मिलेर सेयरमा किनेका हुन्। उनी भन्छन्, ‘यो घोडाले मेरो भाग्य फेरिएको हो।’  

अहिले सुरेशको आम्दानीको मुख्य स्राेत  भनेकै घोडा व्यवसाय हो। विवाहमा बग्गी लैजाँदा भने क्याप्लरीका भुपू आर्मीले बग्गी हाँकिदिन्छन् र एक जना छेउमा बस्ने सहयोगी हुन्छन्। एकपटक प्रयोग गरेको बग्गीको भाडा एक लाख छ। त्यो एक लाखमध्ये २० हजार छेउमा बस्ने र बग्गी चालकलाई दिनुपर्छ।  

काठमाडौंमा बिहेको मौसममा मात्र बग्गी चल्छ। काठमाडौंका शाह तथा राणा परिवारको बिहे हुँदा बग्गी खोज्छन्। उनीहरूले बिहेमा परापूर्वकालदेखि नै बग्गी प्रयोेग गर्थे तर सर्वसाधारणका लागि बग्गीको माग खासै हुँदैन। सबैले तिर्न सक्ने शुल्क नभएकाले पनि बग्गी माग हुँदैन।  

सुरेशले सुुरुमा लिएको घोडा अलि महँगोमा बिक्री गरे र अर्को घोडा लिए। त्यो घोडा लिएपछि अर्का दुई घोडा र बग्गी लिन सफल भए। बग्गी नेपालगन्जबाट ल्याएका थिए। बग्गीबाट उनको खास व्यवसाय सुरु भयो। 

बिहेको मौसम सकिएका बेला ठकुरीले घोडा सहरका पार्क र खाली भागमा डुलाउँछन्। मनोहरा, दिव्यश्वरी प्लानिङ, लवडाँडा, बालुवाखानीमा साँझपख घोडा पुर्याउँछन्। पार्क घुम्न आउनेहरू एकछिनका लागि घोडा चढ्छन्। घोडा चढेबापत दुरी हेरेर एक सयदेखि तीन सयसम्म शुल्क लिन्छन्। यो हिसाबले घोडाबाट दैनिक पन्ध्र सयदेखि दुई हजार रूपैयाँ संकलन हुन्छ। यो आम्दानीले घोडाको दाना किन्न र बाँकी पैसाले पाँच जनाको परिवार पाल्न पुगेको ठकुरी सुनाउँछन्।  

जग्गाको अभावमा ठकुरीले घोडाहरू विभिन्न ठाउँमा राखेका छन्। राजधानीमा ठुलो क्षेत्रमा जग्गा किन्न महँगो भएकाले कठिन छ। भाडामा भए पनि सबै घोडा व्यवस्थित रूपमा राख्ने उनको योजना छ। उनी भन्छन्, ‘अबको मेरो मुख्य पेसा घोडा तथा बग्गी व्यवसाय नै हुनेछ।’ 

प्रकाशित: १३ जेष्ठ २०८० ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App