कला

गोपालको फोटोग्राफी अनुभव

काठमाडौं– पुराना फोटो पत्रकार गोपाल चित्रकारले आफूले फोटो खिच्दा र छाप्दाको अनुभव फोटो पारखीमाझ साटेका  छन्। नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित ‘फोटो नेपाल लङ मार्च अफ फोटोग्राफी’ नामक अन्तक्र्रियामा चित्रकारले आफूले काम गर्दाका अनुभव सुनाए। फोटो नेपालको आयोजनामा बोर्डमा ‘हुम्ला: द जर्नी अफ द हिडन सांग्रिला’ नामको फोटो प्रदर्शनी चलिरहेको छ।

पुरानो क्यामरा यासिका म्याटले फोटो खिचेर अहिलेजस्तै सहजै पत्रिकामा छपाउन सकिने अवस्था त्यतिबेला नरहेको उनले बताए । ‘फोटो खिच्थेँ, त्यसपछि बालाजुको फोटो स्टुडियोमा धुलाउँथेँ अनि पत्रिकाको अफिसमा पुगेर सम्पादकलाई देखाउँथेँ,’ उनले सम्झे।

हरेक दिन एउटा फोटोको मात्र काम गर्न सकिने जमानामा दिनको दुइटा फोटो खिचे पनि छाप्न नसकिने उनको भनाइ थियो।

उनले आफूले खिचेका पञ्चायकालीन अवस्था, राजतन्त्र र बहुदलीय व्यवस्थाका विविध घटनासँग सम्बन्धित तस्बिरबारे व्याख्या गरे । उनले खिचेका बिपी कोइरालासँग गरिएको अन्तर्वार्ताको फोटो होस् वा जनआन्दोलन ०४६ ताकाका फोटोहरु, सबै आकर्षक थिए । एनालग फोटोग्राफीबाट डिजिटल प्रविधिमा यात्रा गर्दा पहिले कस्तो जमाना थियो भनेर आफैँलाई अनौठो लाग्ने गरेको उनले बताए।

सरकारी र निजी विभिन्न ठूला साना पत्रिकामा फोटो पत्रकारिता गरेर उनले ६० वर्षे लामो अनुभव बटुलेका छन् । उनले पहिलेको तुलनामा अहिले पारिश्रमिक निकै कम रहेको अनुभव सुनाए। अन्तक्र्रियाको सहजीकरण देवेन्द्र सुवेदीले गरेका थिए।

प्रकाशित: २४ माघ २०७३ ०५:२५ सोमबार

गोपालको फोटोग्राफी अनुभव