कला

कालो पोथी उत्कृष्ट फिल्म

उत्कृष्ट फिल्म कालोपोथीका निर्माता अनुप थापा अवार्ड लिँदै ।

धरान–माओवादी द्वन्द्वले नेपाली समाजमा पारेको प्रभाव र दुई बालकको मित्रतामा आधारित फिल्म कालोपोथीले धरानमा आइतबार सम्पन्न पहिलो अन्र्तराष्ट्रिय चलचित्र महोत्सव(आइफोन)मा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

थुप्रै अन्र्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको मिनबहादुर भाम निर्देशक रहेको कालो पोथी आइफोनमा पनि अन्र्तराष्ट्रिय विधातर्फ उत्कृष्ट ठहरियो। महोत्सवमा उत्कृष्ट बन्दै कालो पोथीले एक हजार अमेरिकी डलरसहितको गौतम बुद्ध अवार्ड हात पा¥यो।

अवार्ड वितरणमा निर्देशक भाम अनुपस्थित भएपछि निर्माता अनुप थापाले ग्रहण गरेका थिए। यस्तै, अन्र्तराष्ट्रियतर्फ वेष्ट डकुमेन्ट्री अवार्ड रसियाको ब्लाङ्क पेजले हात पा¥यो । एइना मेरेडोभाले निर्देशन गरेको फिल्मले ५ सय डलर पायो भने उत्कृष्ट छोटो फिल्ममा भारतको जादुई मच्छीले बाजी मा¥यो । एकतारा कलेक्टिभ नामको समूहले निर्देशन गरेको फिल्मले ३ सय अमेरिकी डलर पायो।

यस्तै, नेपाली पानारोमातर्फ भने उत्कृष्ट चलचित्रको अवार्ड बालकृष्ण समले जित्यो । सामाजिक विभेदमा परेका एक बालकमा आधारित यो फिल्मको निर्देशन दिनेश पाल्पालीले गरेका हुन् । उत्कृष्ट चलचित्र घोषित हुँदै यो फिल्मले नगद ५० हजारको श्रीजंगा अवार्ड हात पा¥यो । यस्तै, नेपाली पानारोमातर्फ म अलप हुन चाहन्छुले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जित्यो ।

समाजशास्त्री डोरबहादुर विष्टको जीवनीमा आधारित यो डकुमेन्ट्रीले उत्कृष्ट हुदै नगद ३० हजारको रामप्रसाद राई अवार्ड थाप्यो । यो डकुमेन्ट्री सचिन घिमिरे र गौरव केसीले निर्देशन गरेका हुन्। यस्तै, फरक उमेर समूहका शिक्षक बौद्ध भिक्षु र विद्यार्थीबीचको कथा बोकेको फिल्म झलोले उत्कृष्ट छोटो फिल्मको अवार्ड जित्यो। सेनाङ ग्याम्जो तामाङले निर्देशन गरेको फिल्मले नगद २० हजारको चतुरमान राजवंशी अवार्ड पनि हात पा¥यो । विजेताहरुलाई आयोजक संघका अध्यक्ष केपी पाठक, प्रमुख अतिथि एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादर कार्की र प्रायोजक संस्थाहरुले नगद तथा अवार्ड प्रदान गरेका थिए।  

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा पुष २७ देखि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रेक्षालयमा महोत्सव आयोजना भएको थियो । महोत्सवमा नेपाल, भारत, श्रीलंका, जापान, वंगलादेश, रसिया, जर्मनीलगायत विभिन्न देशका ४८ वटा फिल्महरु प्रर्दशन गरिएको थियो ।

महोत्सवमा चीनका प्रख्यात चलचित्र निर्देशक प्राध्यापक सेइ फे प्रमुख निर्णायक थिए भने नेपालका लक्ष्मीनाथ शर्मा, राजेश हमाल, डा.ड्रागन मिलिनकोभिक र तास्मि अफरिन निर्णायकहरु थिए । जुरीकोतर्फबाट मन्तव्य राख्दै डा.ड्रागनले नेपालमा धेरै प्रतिभावान फिल्मकर्मीहरु भएकोमा खुशी व्यक्त गर्दै सिनेमा स्कुलको आवश्यकता रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित: ३ माघ २०७३ ०६:२३ सोमबार

पोथी उत्कृष्ट फिल्म