कला

नयाँ सूर्योदयले जन्माएको अपेक्षा

शुभकामना

फेरि नयाँ क्यालेन्डर भित्तामा फेरिएको छ। नयाँ सालमा कतै राता अंकले लेखिएका र कतै काला-निलाले भरिएका रंगीन क्यालेन्डरमा नयाँ पर्व र उत्साहको बेग्लै चमक थियो। क्यालेन्डरमा नयाँ ऊर्जा पलाएको अनुभव हुन्थो। हेर्दा केही त पक्कै छ। नयाँ क्यालेन्डरले आशाका किरणहरू देखिन्छन् कि साना साना आँखीझ्यालबाट पनि उज्यालोको संकेत गरिरहेको थियो।

अब लाग्छ, सबैको जीवनमा आशा पलाएको छ। नयाँ झिलिमिली क्यालेन्डरजस्तै जीवन पनि यस्तै आनन्दमय होस् र सुन्दर साथै झिलिमिली बनोस्। कसैसगँ दुश्मनी नहोस्, शत्रु नबढून्, सबैका आँखा ओभानो होऊन्, नयाँ जीवनको आशा बोकेका सबैका सपना पूरा होऊन्। नयाँ बिहानीसँगै सबैको घर घरमा चुलो बलोस्। गह्रौं मन लिएर कोही बस्न नपरोस्।

सयौं सपनाहरू लिएर दौडिएका छौं। उड्ने चाहना राखेका छौं। कसैको पंख नकाटियोस्, कसैका छोरीचेली बलात्कृत नहून्, नबेचियून्, कसैका छोराछोरी खाडी मुलुकमा नमासियून्। सपना पूरा गर्न घर धितो राखेर गएको ऋण तिर्न नसकेर घर लिलामी भएको खबर सुन्न नपरोस्।

घुम्दै फिर्दै अनगिन्ती वेदनाका चट्टानहरूले धेरै ठेस लगाए हामीलाई बारबार। धेरैको भाग्य फुट्यो। अब कसैको भाग्य नफुटोस्। भित्तामा टाँसिएको नयाँ क्यालेन्डर जस्तै रङ्गीचङ्गी होस् सबैको जिन्दगी।  

अब कोही पनि महँगो शिक्षाका कारण शिक्षाबाट नै वञ्चित नबनून्। धनी र गरिबबीचको जातपातको लडाइँ अन्त होस्। एउटा गरिबले औषधोपचार नपाएको भन्दै रोगीको मृत्यु भएको खबर सुन्न नपरोस्। अब कोही पनि धनको अभावमा कतै बिचलित नपरून्। बिदेसिएका मेरा आफ्नाहरूले आधा रातमा टिकटक बनाउँदै काम पाइएन भनेर भौंतारिएको दृश्य हेर्न नपरोस्।

सहज र सुलफ जिन्दगी बन्दै जाओस्, फेरिएको नयाँ क्यालेन्डरको जिन्दगीजस्तै। कुनै पनि सन्तानले आफ्ना बाआमालाई लाचार बनाएको खबर सुनेर वृद्ध बाआमाको आँखामा आँसु नआओस्। बाउले छोरीलाई बलात्कार गरेको खबरले संसार सुन्न नपरोस्।

धन र सांसारिक मोहमा फसेर कुनै पनि बाआमाले सन्तान टुहुरा नपारून्। कुनै पनि अबोध बच्चा भिर, पाखा, गल्लीमा नफालियोस्। कलिला प्रगतिका पोकाहरूको दुखेको मन र चर्केको छातीमा मलम लागोस्। राज्यको आँखा नपुगेका ठाउँमा राज्य पुगोस्। खालि भाषण र गफ मात्र गरेर जनता आत्तिने अवस्था नआओस्। अब अति भयो। समस्याको समाधान खोजौं, किनकि अब समय आइसक्यो। सबैले सबैको अनुहारमा हाँसो ल्याऔं। कुनै पनि बाआमाको बेवारिसे लास ढलेको देख्न नपरोस्।

हामी माझ बाच्नुका धेरै आश्वासन छन्। यहाँ सयौं सपना छन्। तिनै सपनाले दौडाउँछन् हामीलाई। हामी आफ्नो खुसी, परिवारको खुसी अनि समाजको खुसीका लागि दौडिरहेका छाैं। यसबीच कयौं पीडा त छँदै छन्। आफ्नाले आफ्नैलाई दिने पीडाले मन धेरै जल्छ। अब आलोचित बनाउनेभन्दा पनि ऊर्जा थप्ने बेला आएको छ।

सुकेका ओठहरू लिएर मुस्कुराई लाली खोज्न आफ्नै देशबाट परदेसिन बाध्य भएका छौं। आफ्नो खेती बाँझो राखेर अरूको मरुभूमिलाई हराभरा बनाउन बाध्य भएका छौं।

कम्तीमा दुईचार सपना आफ्नै देशमा पूरा होऊन्। नया वर्षको नयाँ क्यालेन्डरजस्तै जिन्दगी सुनौलो होओस्, हेर्दा आनन्द होओस्, सुन्दा मन फुरुङ्ग होओस्।

जीवनमा वेदनाको घाम पानीले पटक पटक हिर्काउ“छ। न रुन सकिन्छ न हाँस्न। न बाँच्न न मर्न। खालि चोट, वेदना, व्यथामाँझ माझिएका छौं। पहाडको उकालीओरालीमा घाम नपुगेका डाडाँहरूमा, गल्ली गल्लीका चापहरूमा कयौं चोट र व्यथाका घाउहरू अनगिन्ति छन्।

सडकका गल्लीका पेटीमा, मन्दिरमा, गाउँगाउँमा, भोका पेट, नाङ्गा शरीर देख्न नपरोस्। अरूको फाटेको लुगा लगाएर जिउ छोप्ने दिन कसैलाई नआओस्। अब सबैको जिन्दगी उज्यालो होओस्।

कुटिखाने ढिकी-जाँतो सबैको घरघरमा होओस्। विपत्तिको कारक तत्वमा पूर्णविराम लागोस्। बिस्तारै सुनियोजित योजनाहरू बनून्। अब यहाँ विद्यमान हरेक दुःखद घटनाहरू बन्द होऊन्। कसैले पनि कसैका लागि पासो नथापोस्।

कुहिरो फाट्न नसकेको देशमा कयौंका कयौं सपनाहरू फाटेका छन्। कयाैंका चाहना अलपत्र परेका छन्। ओत र आहरा खोज्दा खोज्दै सिकारीको पासोमा अल्झिन्छन् कति नारी। कति चिचिला चुँडिन्छन्। अबका दिनमा कसैले पनि यस्ता वेदना भोग्न नपरोस् किनकि नयाँ सुन्दर क्यालेन्डरजस्तै नयाँ जीवन चाहिएको छ, सुन्दर–शान्त।

प्रकाशित: २ वैशाख २०८० ०१:२२ शनिबार

अक्षर