कला

राजेश हमालदेखि प्रियंका कार्कीसम्मकाे दक्षिणा स्मृति

राजेश हमाल, अभिनेता

मेरो आफ्नै मामाघर नभए पनि मामा पर्ने धेरै हुनुहुन्थ्यो । दक्षिणा धेरै हुने भएकाले कुन घरबाट सुरु गरेर कुन घरमा अन्त्य गर्ने भन्ने अन्योल हुन्थ्यो । दिदीबहिनीसँग कसको कति दक्षिणा जम्मा भयो भनेर प्रतिस्पर्धा हुन्थ्यो । खाममा पाएको दक्षिणा घर गएर एकान्तमा बसेर कति भएछ भनेर राखिन्थ्यो ।

प्रियंका कार्की, अभिनेत्री

सानो बेलामा आफन्तहरूकोमा टीका लगाएर आशीर्वाद लिनुभन्दा दक्षिणा कति जम्मा भयो भन्नेमा पूरै ध्यान हुन्थ्यो । ५/१० रुपैयाँको नोट पर्समै नअट्ने हुँदा खुशी लाग्थ्यो ।

केकी अधिकारी, अभिनेत्री

सानोबेला दशैँमा विराटनगर जाने भन्यो कि रमाइलो लाग्थ्यो । त्यहाँ धेरै आफन्तहरू हुनु भएकाले दक्षिणा पनि धेरै संकलन गरिन्थ्यो । खाममा राखेर दक्षिणा दिँदा त ट्वाइलेट कुन बेला गएर खाम हेरौँजस्तो हुन्थ्यो । एकचोटि  मेरो दक्षिणा साटिएछ । ट्वाइलेटमा गएर खाम खोलेर हेर्दा त पाँच सय रुपैयाँ रहेछ । म खुशी भएर मलाई माइजूले पाँच सय रुपैया दक्षिणा दिनुभयो भनेर सुनाउन गएँ । मेरो एउटा विवाहित दिदीको दक्षिणा मेरो भागमा परेछ । पछि त्यो दक्षिणा दिदीलाई र मेरो दक्षिणा मलाई दिनुभयो मम्मीले । त्यो बेला बेकारमा भनेछु जस्तो लागेको थियो ।

कुञ्जना घिमिरे, हास्य कलाकार

मेरो घर ललितपुरको बीचको गाउँमा थियो । त्यो बेला दक्षिणाकै लागि भनेर टाढाको नाता पर्ने आफन्तहरूकोमा पनि टीका लगाउने बहानामा दक्षिणा संकलनका लागि गइन्थ्यो । त्यो बेला पाँच रुपैयाँ पनि एकदमै ठूलो पैसा लाग्थ्यो ।

सुजित थापा, हास्य कलाकार

मामाघर जाँदा मामा–माइजूले दक्षिणा खाममा दिनुहुन्थ्यो । कुन बेला खाम खोलौँ भनेर हतार हुन्थ्यो । धेरै दक्षिणा जम्मा भयो भने एकदमै खुशी लाग्थ्यो र थोरै भयो भने नरमाइलो लाग्थ्यो ।

पशुपति शर्मा, गायक

सानो बेलामा मामाघरमा धेरै दक्षिणा पाइने हुँदा दशैँमा मामाघर जान हतार हुन्थ्यो । त्यो बेला दाइ र मबीच कसको दक्षिणा धेरै भनेर प्रतिस्पर्धा हुन्थ्यो ।

जितु नेपाल, हास्य कलाकार

सानो छँदा दशैँमा पैसामा पनि नयाँ नोटको महŒव बढी हुन्थ्यो । अझ खाममा राखेर पैसा दिएपछि कतिखेर एकान्तमा खाम खौलौँ भन्ने हतार हुन्थ्यो ।
प्रस्तुतिः सन्जिना

 

प्रकाशित: २६ आश्विन २०७३ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App