कला

नेपाल प्रहरीको ‘पहुँच’ प्रिमियरमा अभिनेत्री अनुपस्थित

काठमाडौं- नेपाल प्रहरी र नागरिकबीचको पहिलो रियालिटी गेम शो ‘पहुँच’ शुक्रबारदेखि प्रसारण हुने भएको छ । सर्च फर कमन ग्राउण्डले तयार गरिरहेको १३ भागको ‘पहुँच’ रियालिटी गेम शो शुक्रबार साँझ ७ः३०देखि नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ । बुधबार पुल्चोकमा आयोजित एक औपचारिक कार्यक्रममा ‘पहुँच’ रियालिटी गेम शो कार्यक्रमकी संञ्चालिका अभिनेत्री ऋचा शर्मा भने अनुपस्थित भइन्।  

‘प्रहरीले कामका दौरान भोग्ने कठिनाइ तथा दैनिक सामना गर्नुपर्ने चुनौतीहरुबारे आम नागरिकलाई सचेतना गराउने उद्देश्यले हामीले यो  रियालिटी गेम शो निर्माण गरेका हौं,’सर्च फर कमन ग्राउण्डका युवाकरराज राजकर्णिकारले भने,‘रियालिटी गेम शोको दौरान आठ सहभागिहरुले सुरक्षासँग सम्बन्धित विभिन्न बौद्धिक कार्यका मानव हत्या, चोरी डकैती, मानव बेचबिखन तथा तस्करी र सडक सुरक्षा लगायत चरणहरु पार गर्नुपर्नेछ ।’

कार्यक्रममा रियालिटी गेम शो ‘पहुँच’को एक भागसमेत प्रस्तुत गरिएको थियो। त्यस्तै सहभागिहरुले ‘पहुँच’को अनुभव सुनाएका थिए । ‘बुबा इण्डियन आर्मीमा हुनु भएकाले सानैदेखि प्रहरी हुने रहर थियो । यो रियालिटी गेम शोको दौरान प्रहरीको कामबारे जानकारी लिन अवसर मिल्यो,’सहभागि शान्ता नेपालीले भनिन् ।

रियालिटी गेम शोलाई निर्देशक छिरिङरितार शेर्पाले निर्देशन गरेका हुन् । यो कार्यक्रममा विभिन्न सामाजिक र राजनीतिक सोच बोकेका मेकअप आर्टिस्ट सोफी सुनुवार, राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङ्तान र पूर्व माओवादी लडाकु ज्ञानबहादुर लामा, युवा अभियन्ता अकवर अन्सारी, डेरी सञ्चालक अजितकुमार कर्ण, राष्ट्रिय स्तरका तेक्वान्दो खेलाडी सीता भन्डारी, मोडल पर्वीना दहित र सञ्चारकर्मी शान्ता नेपाली सहभागि छन् । रियालिटी गेम शोलाई अभिनेत्री ऋचा शर्माले संञ्चालन गरेकी छिन् ।

रियालिटी गेम शोका विजेताले दुई लाख र अन्य पुरस्कारहरु जित्नेछन् । युकेएडको सहयोग र नेपाल प्रहरीसँगको सहकार्यमा सर्च फर कमन ग्राउण्डले मिला प्रोडक्सनले रियालिटी गेम शो ‘पहुँच’को निर्माण गरेको हो ।
 

प्रकाशित: ६ आश्विन २०७३ ०६:५० बिहीबार

नेपाल प्रहरीको पहुँच प्रिमियरमा अभिनेत्री अनुपस्थित