कला

बर्दिया भ्रमणमा सेलिब्रेटी

घुमफिर

बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा घुम्न किन जाने? यस प्रश्नले काठमाडौं, पोखरा, विराटनगर लगायतका सहरबाट घुम्न निस्कने पर्यटकलाई सोच्न बाध्य बनाउँछ। तर, यस्तै प्रतिप्रश्न गर्ने पर्यटक नजिकका गन्तव्यमा पुग्छन् र फर्कन्छन्। असली मजा मिस गर्छन्। बर्दियाबाहेक काठमाडौंबाट चितवन र पोखरा एक दिनमै गाडीमा पुुगिन्छ भन्ने धारणा छ।

बर्दियाको ‘वाइल्ड लाइफ’ आकर्षक छ तर प्रचारप्रसार नहुँदा ओझेलमा छ। कसरी आउने र जाने भन्नेबारेमा समेत अनविज्ञता छ। बर्दियाको ‘वाइल्ड लाइफ’सँग अन्तर्राष्ट्रिय जगत्को कनेक्सन छ। ‘दुर्लभ पाटेबाघ दर्शन गर्ने गन्तव्य हो बर्दिया’ भनेर चिनिन समय लागेको मात्र हो।

बाघ दर्शन गर्ने सेलिब्रेटी काठमाडौंमा झर्छन् र सिधै बर्दियाका लागि रमाना हुन्छन्। त्यस्ता व्यक्तिको भ्रमणतालिका सार्वजनिक गर्न अनुमति दिइँदैन।

‘गोप्य रूपमा आउँछन्, घुम्छन् र फर्कन्छन्। तिनैले देखेका र कैद गरेका वन्यजन्तुका कारण बर्दियामा अकल्पनीय परिवर्तन ल्याएको छ। बाघ दर्शन गर्ने तिनै सेलिब्रेटीले बर्दिया निकुञ्ज अलौकिक भएको बखान गर्दा पर्यटकको गन्तव्यका रूपमा चिनिएको छ,’ प्याराडाइच रिसोर्ट सञ्चालक शंकर भट्टराईले भने।

अन्तर्राष्ट्रिय जगत्का सेलिब्रेटीको कनेक्सन बर्दियासँग छ। काठमाडौं पुग्ने अन्तर्राष्ट्रिय व्यक्तित्व सिधै ठाकुरद्वारा झर्छन्। त्यसै दिन ठाकुरद्वारा पुग्छन्। चार रात बिताएर फर्कने सूचीमा पहिलो नम्बरमा हलिउड स्टार लियोनार्दो डिक्यापियो पर्छन्। २०६५ सालमा हलिउडका स्टार लियोनार्दोले चार रातको बसाइ सुखद बनेको बताएका थिए। लियोनार्दोले सम्झनास्वरूप स्थानीय मढेला विद्यालयमा रापेको बिरुवा हुर्कंदै छ। लियोनार्दोले लगाएको बिरुवा हुर्काउने जिम्मा विद्यार्थीले लिएका छन्।

उनले बाघको आक्रमणबाट आखा गुमाएका भदै थारुलाई चस्मा उपहार दिएका थिए। लियोनार्दो बर्दिया भ्रमण गरेको ८ वर्ष बिते पनि उनको सम्झना ताजै छ। फोटोग्राफरले खिचेका ५ वटा पाटेबाघको तस्बिर सार्वजनिक भएपछि बर्दिया भ्रमण अलौकिक छ भन्ने विश्वासले पर्यटक आउन थालेको संरक्षणकर्मी स्मरण गर्छन्।

बेलायतका राजकुमार ह्यारी र चिनियाँ नायिकाले बर्दिया निकुञ्ज बसाइको सुखद स्वाद चाखिसकेका छन्। काठमाडौंबाट हेलिकोप्टरमार्फत बर्दिया पुगेका ह्यारीले निकुञ्ज घुमेपछि डल्ला होमस्टे अवलोकन गर्ने रुचि देखाएका थिए। निकुञ्जको मुख्यालयदेखि दक्षिणतर्फ तीन किलोमिटर दुरीमा रहेको १४ नम्बर होमस्टे अवलोकन गर्दा ह्यारीले डेढ घण्टा बिताए।

यसरी निकुञ्ज घुम्नेमा नेपाली सेलिब्रेटी धेरै छन्। नायक राजेश हमालले संरक्षण दूतका रूपमा काम गरिसकेका छन्। नायक हमालले पटक पटक निकुञ्ज घुमिसकेका छन्। सन् २०१४ पछिका मिस नेपाललाई डब्लुडब्लु एफले संरक्षण दूत बनाएर निकुञ्ज घुमाउने गर्छ।

संरक्षणमा चासो राख्दा पाटेबाघ र अन्य वन्यजन्तु बढ्दै छन्। मृग, रतुवा, जरायोलगायतका जन्तुको पनि उल्लेख्य वृद्धि भएको छ। हात्ती र एक सिंगे गैंडाकोको संख्या उकालो लाग्दो छ। पछिल्लो समय सार्वजनिक गरिएको तथ्यांकमा बाघको संख्या १ सय २५ पुगेको छ।

सडक यातायातका माध्यमबाट बर्दिया डेढ दिनमा पुगिन्छ। हवाई यात्रा झन् सुखद छ। काठमाडौं र नेपालगन्जको हवाई यात्रा ५५ मिनेटको छ। नेपालगन्जबाट गाडी बुक गरेर जाँदा रमाइलोसँग पुगिन्छ। विमानस्थलबाट भाडाका गाडी लिएर पुग्ने हो ठाकुरद्वारा। खान, बस्न र घुम्नका लागि पर्यटकलाई कुनै कष्ट छैन। होटल विस्तारको क्रम तीव्र छ। २३ रिसोर्ट पर्यटकलाई निकुञ्ज अवलोकन गराउन तम्तयार छन्। 

प्रकाशित: १४ माघ २०७९ ०१:५९ शनिबार

अक्षर