निर्वाचन विशेष

तनहुँको भानुमा कांग्रेसका त्रिपाठी र गोतामे निर्वाचित

तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शुक्रबार सम्पन्न आएको अन्तिम मतपरिणाम अनुसार नगरपालिकाको मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे विजयी भएका छन्।

त्रिपाठी १२ हजार २५२ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत मिनबहादुर कुँवरले जानकारी दिए। प्रतिष्पर्धी नेकपा एमालेका सीताराम बजगाइँले नौ हजार ४३ मत प्राप्त गरे।

उपप्रमुखमा गोतामे दशहजार ५४७ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत ल्याएका छन्। ४० हजार ९६६ मतदाता रहेको भानु नगरपालिकामा २५ हजार पाँच सय ७२ मत खसेको थियो।

१३ वडामध्ये नेपाली कांग्रेसले नौ, नेकपा एमालेले दुई र स्वतन्त्रले दुई वडामा विजय हासिल गरेका छन्। भानु–१ को वडाध्यक्षमा कांग्रेसकी कान्छीमाया तामाङ, २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा कांग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा कांग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा कांग्रेसका नहकुल अधिकारी, ६ को अध्यक्षमा कांग्रेसका धिरेश खनाल विजयी भएका छन्।  

यस्तै वडा नम्बर ७ को अध्यक्षमा कांग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा कांग्रेसका इश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा कांग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ को अध्यक्षमा कांग्रेसका बेलबहादुर अधिकारी र १३ को अध्यक्षमा स्वतन्त्रका कृष्णबहादुर अधिकारी विजयी भएका हुन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ०७:३० शुक्रबार

तनहुँको भानु