निर्वाचन विशेष

इलामको माइजोगमाईमा रोकियो मतगणना

इलामको माइजोगमाई गाउँपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर ६ को मतगणना हुनुअघि गठबन्धनका दलले १ नम्बर वडाको वडाध्यक्षको परिणाम घोषणा गर्न माग गरेपछि हिजो साँझ ७ बजेदेखि नै मतगणना रोकिएको हो।

वडा नम्बर १ मा नेकपा (एमाले)का यामबहादुर कार्की र नेपाली कांग्रेसका टेकबहादुर शाह (ठकुरी) को बराबर (१०८४) मत आएपछि परिणाम घोषणा हुन सकेको छैन। वडा १, २, ३, ४ र ५ को गणना सकिएर वडा ६ को मात्र बाँकी रहँदा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले वडा १ को परिणाम घोषणा गर्न माग गरेका छन्।

वडा १ मा एमालेले निविदा मतपत्रको गणना माग गरेको छ भने गठबन्धनका दलले गोलाप्रथा गर्न माग गरेका छन्। निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले भने निविदा मतपत्र निर्वाचन आयोगमा पठाइएको बताए। ‘गोलाप्रथा हो भने यहीं गर्न सकिन्छ तर निविदा मतको गणना यहाँ गर्न सकिन्न,’ उनले भने, ‘त्यसको गणना कि आयोगले कि अदालतले गर्ने हो।’

साँझदेखि रोकिएको गणना कहिले सुरु हुने भन्ने निश्चित भएको छैन। गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एस) का जितबहादुर राई र एमालेबाट कुशबहादुर थेवे अध्यक्षका उम्मेदवार छन्। वडा १ देखि ५ सम्मको गणनामा एमालेका थेवेले ४८ मतको अग्रता लिएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०३:२३ मंगलबार

इलामको माइजोगमाई गाउँपालिका गठबन्धनका दल निविदा मतको गणना