अरूलाई फसाउन खोजेको आरोप लागेर हिरासतमा पुगेका प्रहरी हबल्दारले जिल्ला प्रहरी कार्यालय बाराको थुनुवा कोठामै आत्महत्याको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी हवलदार गयासुद्दिन मियाँले बारा प्रहरीको थुनुवा कोठामा झुन्डिएर आत्महत्याको प्रयास गरेका हुन् ।
हबलदार मियाँमाथि व्यक्तिगत रिसइबी साँधेर निर्दोष व्यक्तिलाई लागु औषध मुद्दामा फसाउन खोजेको आरोप लागेको छ । सोही आरोपको अनुसन्धानका लागि बिहीबारदेखि उनी बारा प्रहरीको हिरासतमा थिए ।
मियाँमाथि सिम्रौनगढ नगरपालिका– २ का रामसेवक साहलाई लागु औषध मुद्दामा फसाउन खोजेको आरोप छ ।
पुस १९ गते पचरौता नगरपालिका–४ बेलदारीबाट साहलाई ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका थिए । त्यसपछि जिल्लाका राजनीतिक दलहरूले आन्दोलन सुरु गरेका थिए । राजनीतिक दलहरूले साहलाई प्रहरीले साहलाई फसाउन खोजेको आरोप लगाउँदै दिनहुँ आन्दोलन गरिरहेका थिए ।
पछि त्यो विषयमा अनुसन्धान गर्दै जाँदा हबलदार मियाँले नै ब्राउन सुगर जस्तो पदार्थ आफ्ना सहयोगीमार्फत साह बसेको स्थानमा राख्न लगाएको र पछि प्रहरीलाई खबर गरेर पक्राउ गर्न लगाएको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताउँछन् ।
त्यसपछि हबलदार मियाँ बिहीबार पक्राउ परेका थिए । शुक्रवार भने उनले आत्महत्याको प्रयास गरे । उनलाई झुन्डिन देखेपछि ड्युटीमा रहेका प्रहरीले जोगाएका थिए । त्यहाँबाट उनलाई उपचारका लागि कलैया अस्पताल भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक(एसपी) महेन्द्र खड्काले हबलदार मियाँको अवस्था सामान्य रहेको जानकारी दिए ।
प्रकाशित: २७ पुस २०८१ १३:११ शनिबार