नेपालको शीर्ष डिभिजन टोली त्रिभुवन आर्मी क्लब मंगलबार इन्डियन आर्मी क्लबसँग स्तब्ध हुँदै डुरान्ड कप २०२५ को समूहचरणबाटै नै बाहिरिएको छ।
समूह ‘सी’ को अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब मंगलबार इन्डियन आर्मी क्लबसँग १–० को साँघुरो हार सामना गर्न बाध्य भयो। यो हारसँगै आर्मी तीन खेलबाट एक अंकका साथ समूह ‘सी’ को पुछारमा नै सीमित रह्यो। दुई हार बेहोरेपछि त्रिभुवन आर्मीको डुरान्ड कपअन्तर्गत १३४औं संस्करणको यात्रा समूहचरणमै सीमित हुन पुग्यो।
त्रिभुवन आर्मी यसअघि पहिलो खेलमा जमशेदपुरसँग पराजित भएको थियो। तर, दोस्रो खेलमा आर्मी लद्दाख एफसीसँग बराबरीमा रोकिन पुगेको थियो। तेस्रो खेलमा पनि हार बेहोरेपछि नेपाली टोलीको यात्रा समूहचरणमा नै सीमित हुन पुगेको हो। खेलको सुरुआतमा नै आर्मी १० खेलाडीमा सीमित भएको थियो।
इन्डियन आर्मीका पी. क्रिस्टोफर कामेईले गरेको एक गोल नै निर्णायक बन्यो। इन्डियन आर्मीले पहिलो हाफमा गोल गरेको थियो। त्रिभुवन आर्मीले तीन खेलबाट एक मात्र अंक प्राप्त ग¥यो। इन्डियन आर्मीले दुई खेलबाट तीन अंक जोडेको छ।
जमशेदपुर टाटा स्पोर्ट्स कम्प्लेक्समा खेलको सुरुआतमा नै त्रिभुवन आर्मीले आक्रामक खेल प्रस्तुत गरेको थियो। तर, भारतीय टोलीका गोलकिपर गगनदीप सिंहले जिलेस्पीजंग कार्कीको हेडरलाई रोक्न सफल भए। यसपछि भने भारतीय टोलीले सन्तुलन कायम राख्यो र खेलमा फर्कने प्रयास ग¥यो। इन्डियन आर्मीले गोलको अवसर पनि सिर्जना बनायो।
२१औं मिनेटमा पी. क्रिस्टोफर कामेईको गोलबाट भारतीय टोलीले अग्रता लियो। वाङ्देन तामाङले बायाँबाट दिएको क्रसलाई नियन्त्रणमा लिँदै क्रिस्टोफरले सटिक लो सटबाट गोल गरेका हुन्। नेपाली टोलीलाई २९औं मिनेटमा ठूलो झट्का लाग्यो।
गोलकिपर विकेश कुथुले रातो कार्ड बेहोरे। रक्षापंक्तिलाई पार गर्दै आक्रमणमा अगाडि बढेका लिटन शिललाई पेनाल्टी बक्सबाहिर नै रोक्न खोज्दा कुथु फाउल गर्न पुगेका थिए। यससँगै भारतीय टोलीले फ्रिकिक पायो र क्रिस्टोफर कामेईको प्रहार फ्रिकिक बारमा लाग्यो। एक खेलाडी कम भए पनि त्रिभुवन आर्मीले गोल फर्काउँदै बराबरी गर्ने प्रयास जारी राख्यो। तर, घरेलु टोलीको बलियो डिफेन्स र गोलकिपरलाई पार गर्न सकेन।
नेपाली खेलाडीको गोल गर्ने प्रयास उनीहरूले सफल हुन दिएनन्। दोस्रो हाफमा त्रिभुवन आर्मीले काउन्टर अट्याकमा धेरै मौका बनायो। तर गोल गर्न असफल रह्यो। डिसान्त राईले बायाँ पट्टिबाट आएको क्रसलाई गोलमा परिणत गर्न सकेनन्। यसअघि कर्नर प्रहारमा कप्तान जिलेस्पीजंग कार्कीको शक्तिशाली हेडर गरे। तर, उनको प्रहार सफल भएन र क्रस बारमा ठोकिन पुग्यो। अन्ततः क्रिस्टोफर कामेईको पहिलो हाफको गोल नै निर्णायक बन्यो र इन्डियन आर्मीलाई यस प्रतियोगिताको पहिलो जितसँगै तीन अंक दिलाउन पर्याप्त बन्यो।
प्रकाशित: २१ श्रावण २०८२ ०७:२८ बुधबार





